22 December 2010

कात्रोमा खल्ति नहुनेरहेछ !


तेरो र मेरो । फलानाको यस्तो, ढिस्कानाको त उस्तो । म पराइ, तपाईं आफन्त । अचम्मको छ, यो संसारको रीत । "हेर, रामे पढेको, रात भारी बत्ती झिपिक्कै नपारी पढ्या र'च । हाम्रो चाँही !" एकाबिहानै पधेंर जांदा बत्ती बलेको देखि हजुरआमाको रिस हो यो, आफ्नै दुई नाती बीचको । बत्ती बाले रामे पराइ, नपढ्ने श्याम आफ्नु । आबैको गजबको भेदभाब । आबैको मायाले केही फुरुक्क देखिए पनि अल्छी श्यामे सम्झदो हो, आफ्नै कोखका दुई फरक छोराका हामी छोराहरु बीच किन आबैको फरक माया ? हो, यसरी नजानिंदो तरिकाले डेरा गाड्न थाल्दो रहेछ, मान्छेको मनमा इर्श्याले । राजाका जहानमा जन्मेका राजकुमारहरु होउन्, वा कटेराको छेउमा जन्मेका निमुखा हुन्, मात्रा मात्रै फरक, चिज हुंदोरहेछ, इर्श्याको ।

जब मान्छे ठुलो हुन्छ, परिवारमा सिकेको बानी र इर्श्यालाई फोटोकपी गर्न थाल्छ । रवाफ र घमन्ड माथि इर्श्याले राज गर्‍यो भने चितवनको लजमा सुजाताको ज्वाँई र पारसको गोली काण्ड जस्तो घटनाले स्थान पाउंछ । हावामा हानेको पारसको त्यो गोली 'ज्वाइं बिचरो'लाई लागेको भए, यो धर्तिबाट बिदा !!! अनी अबैध रुपमा नेपालमा बसेर दुई नम्बरी काम गर्ने उसको सपना चकनाचुर ! धन्न बांच्यो, अब सासूले हेर्लिन नि, ज्वाइसाहेबलाई पैसा कमाउने धन्दाका अबसरहरु । एउटी महिला शिक्षिकाले निरन्तर आफुमाथी शक्तिको भरमा बलत्कार गरेको आरोपमा छुरा रोपेर मारिदिइन, भारतका एक सांसदलाई । शक्तिको भरमा गाउंकी सोझी महिलालाई बलत्कार गर्ने बिहारीले ज्यान गुमायो । पाकिस्तानको पन्जाब प्रान्तका गभर्नरलाई आफ्नै अङ्गरक्षकले आज गोली हानी मारिदियो । जीवन मरणको सजाय पाएको पापीलाई बचाउन खोजेकोले गार्डले ६ गोली ठोकेको रे ! तर हाम्रो मुलुकका एउटा इमान्दार प्रहरीले समाएको अबैध पजेरोका भोकाहरु बन्दुकको भरमा प्रहरी अड्डामा चाबी बुझ्न शरम मान्दैनन्, कोहि यिनीहरुलाई गोली ठोक्नेहरु ? जहाज बेच्न खोज्नेहरु, जहाज किनेर कमिशन खाने र खान खोज्ने तस्करहरु, पत्रकार मार्ने हत्याराहरु, आफ्नै चेली बेच्ने पिपाशुहरु, भ्रश्टचारी र घूसखोरीहरुलाई जांकेर चिस्याउनेहरु खोइ ? कांग्रेसमा गगन थापा छन्, यिनी कहीले माथि आउने ?, जहाँ परिवारबाद मात्रै लागु हुन्छ । माओबादिका बाबुरामलाई कहिल्यै माथि आउन दिएनन, बन्दुकेहरुले । निर्बिकल्प प्रधानमन्त्री उनका हरेक काम लाग्ने बिषयहरु केबल 'नोट अफ डिसेन्ट' बनेर थन्किन्छ, जहाँ राणाबाद लागु हुन्छ । बरु पोइल आका प्रकाशहरुको बोलवाला हुन्छ तर डा. साहेबलाई कोहि सुन्दैनन । प्रहरीका रमेश खरेलले केही गर्लान भन्ने आश् थियो, चाकरिवाजको कारखाना नेपाल पुलिस । रावल र चन्दका भरौटे पुरस्क्रित, खरेल बिदामा ।

माथिका उदाहरण र सत्य चिजहरु जिबनमा मान्छेले पाउने कर्म रहेछ । जिम्मेवारी र कर्म सत्य सम्झेर गर्नेहरु जिन्दगीमा हार्दैनन भने सांसद भएर शिक्षिका बलत्कार गर्नेहरु, शक्तिको भरमा लाशमाथी राजनीति गर्नेहरु नै हुन, असफल हुने । सबैलाई थाहा छ, जिबनमा मरी लाने केही छैन । पृथ्वीनारायण शाहको पालादेखीको सम्पत्ति सोरेका राजा बिरेन्द्रको बंशै सखाप भो । त्यत्रो तागत भा'का तिनैका भाईलाई नपुग्दो के थियो र ? आज एउटा डांडांमा जोगी भएर बस्नु परेको छ । तिनी भन्दा चैनले बसेका छन, पल्लो पाटोमा बरु ओशो आश्रमका गुरुहरु । त्यसैले जन्मेर मान्छेले लाने भनेको सम्झना मात्र रहेछ । अरुले सम्झेर स्वर्गमा लाग्ने बाडुल्की रहेछ, जिन्दगीको धन । पैसा-पैसा भनेर नेपालको बिल गेटस बन्ने सपना बोकेका नारायण सिंह पुनलाई एक चम्चा ग्लुकोज खुवाउने मान्छे भएन रे, मर्ने बेलामा । उनका तरुनीहरु त नेपालको एउटा राम्रै पार्टीको भाइ संगठनका कार्यकर्ताहरु जति थिए रे । पैसाका पछाडि दकुरेका ती 'दुइ दिनेहरु' पुनलाई ओखती खुवाउन्जेल के बस्थे र ? भारतको अस्पतालमा रोइ रोइ प्राण त्यागे, बिचरा पुनले । नेपाली राजनेताका भन्दा बढी पावर चलाउने मोहन खेतान मरे, न गोरखा ब्रुवरी संगै गयो, न त पैसाको मारबाडी बोरा नै । रित्तो हात गए उनी पनि । सबैको प्राण केबल प्राण मात्रै त्यागेर जान्छ । मारबाडी, नेता, भ्रस्टाचारी, तपाईं, हामी सबैको ।

अपराध गरेर बनेको भारतिय ती सांसदको मरण पनि मरण्, माहात्मा गान्धीको पनि मरण । अङगरक्षकको गोलीले मर्ने गभर्नरको पनि मरण, बेनिजिर भुट्टोको पनि मरण । मिर्जा दिलसा बेगको पनि मरण, बी पी कोइरालाको पनि मरण । समर्पणमा जस्सका जिन्दगी त्यागले बिते, तिनका जिन्दगी सफल । बेइमान र रवाफले मर्ने बेलामा जेरि-जुलाफी दिंदोरहेनछ । मरेका सहि आत्माका सम्झना पो जिन्दगी, धनको रवाफले अडेको के जिन्दगी ? आफुले दुध हालेको चिया पिए, निमुखालाई कालो चिया पिलाउने साहस पो जिन्दगि, खीरको खाएर सुकुम्बासी बस्तिमा झुसीले डकार डकार्नेको के जिन्दगी ? झुपरीको सुखद दाम्पत्य पो जिन्दगि, आलिशान महलका महंगा बत्ती र फर्निचर भांचिने झगडाको के जिन्दगी ? संबिधान नै नलेखिएको बेलायती कानुनी राजको जनताको पो जिन्दगी, हाम्रा पसिना र करले एउटा मिटिङ्गमा जांदा तीन चोटि खाने अनी हामीलाई स्संबिधान नदिने ६०१ बेइज्जेतीहरुको के जिन्दगी ? त्यसो त जसले जसरी निर्बाह गरे पनि लास्टां कसैले साथमा लाने केही कुरो बनेको रहेनछ, यो धर्तिमा किनकी कात्रोमा खल्ती नहुने रहेछ ।
Read more >>

04 December 2010

आमा !


पाहुनाको कलममा भाई ईश्वरको रचना सान्दर्भिक लागेकोले कपि पेस्ट गरेको छु :

नरोउ अझै बलिन्द्र बलिन्द्रधारा आसुँ झारेर
नबुन, सपनाहरु छोराको आधार मानेर
बिर्स यो अभागीलाई।
यो कपुत अनी तिम्रो मुटु दु:खाइरहने
सधैं बाहाना मात्र बुनेर झुक्क्याइरहने गफाडीलाई।

सायद, छोरो जन्मियो भनेर
खुशीका आसुँहरु झारेकीथियौ होला
तर आज
त्यो आसुँ अभिसाप बन्दैछ, तिमीलाई
तिम्रो खुशीमाथी दुख र पिरहरु,
घाऊ र चोटहरु दिने
चर्किएको आलो घाऊमाथी
अमिलो घसेर नुन र बेसार छर्दैछ।
यो कपुत र बेइमानी छोरोले।

तैपनी हेर अझै केही बर्षहरु
तिम्रो आसुँ पुछ्ने रुमालका
एक एक धागाहरु बुन्दैछु म।
कती बर्षहरु लाग्ने हुन, थाहा छैन
तैपनी अझै धैर्ये गर।

फेरिपनी एक्चोटी गफ लडाउदैछु म
आसाका त्यान्द्रो गास्दैछु,
नटुटाउ धैर्येका बाधहरु
एकदिन त सक्छु कि
त्यो आसुँ पुछ्न
एदी अझैपनी सकिन भने,
गालामा थप्प्ड मारौली।

आजसम्म तिम्रो सपना साकार पार्न सकिन
सोच गरे धेरै सपनाका महलहरु,
बालुवाको दलदले हिलोमा
जग खनेर घर ठड्ड्याउन खोज्दैछु।
तर भात्किये सारा सपनाहरु

तैपनी आमा पर्खनुस्!
केही हिउद र बर्षाहरु
यो साउनको झरिले एकपटक
अबस्य पखल्छ मेरा ग्रह दशाहरु.
अनी नयाँ बसन्तका पलुवाहरु पलाउनेछन।
जिबनमा रङी-बिरङी फुलहरु फक्रनेछन
नयाँ मकर सक्रन्तीपछी
सुर्येले मलाई शुभ फल दिनेछ।
सधैं औशीमात्र आउने मेरो जिबनमा
पुर्णिमाको एक झुल्को उज्ज्यालो छाउनेछ।
अनिमात्र म तिम्रो मुख हेर्नेछु,
मेरो जिबनका उपहारहरु
तिम्रा सपनाका प्रतिफलहरु
म एउटा पछ्येउरीमा पोको पारेर
उपहारस्वरुप तिम्रो हातमा थम्याउनेछु।

पख्ननुस् आमा! केही हिउद र बर्षाहरु,
आउनेछ,औसीको रातपछीको पुर्णिमा
अनिमात्र हेरौला तिम्रो मुख
र पुछौला, तिम्रा आसुहरु
पुरा गरौला मेरा र तिम्रा अतितका सपनाहरु।

अनी बल्ल त्यती बेला
भन्लेउ मलाई शिरमाथी हात राखेर
"छोरा"! त कपुत होइन रहेछस।
तेसैले पर्ख आमा! पर्ख!!
Read more >>

27 October 2010

ब्लगिङको बार्शिकी : उकाली, ओराली र चौतारी


चिसो मौसम शुरु भयो कि ब्लग लेख्न शुरु गरेको याद आउंछ । नजानिकनै, जे आयो त्यहि र जे पायो त्यहि लेखेरै शुरु गरेको दुई बर्ष भएछ । परदेशमा कामकै चटारो । नगरी केही फेरि लाग्दैन, मुखमा माड । आफ्नै देशमा भए त केही अर्थ लाग्थ्यो होला । परदेशमा जिन्दगी सोचे जस्तो पटक्कै हुंदोरहेनछ । न खान भ्याइन्छ, न सुत्न पाईन्छ । दांत माझ्न र नुहाउन त जसरी पनि पर्‍यो । अरु कुराका कुनै ठेगान छैनन । राजदुत होउन् वा परदेशी कम्पनिका अफिसर । पत्रकार होउन वा लेखक, सबैको हालत यस्तै छ । बिद्धार्थी र घण्टामा काम गर्ने हामीहरु जस्ताको हबिगत त जापनी सरकारले फोहोर उठाउन गोरखालाई दिएको र दुई महिनामै बिग्रिएर झाडिमा थन्किएको 'डम्फर' जस्तो छ । जिन्दगी नै ब्लग, हालतै ब्लग, परिबेश र वरपरका सारा चिजहरु पनि ब्लग भा'का छन्, आजकाल । बाटामा हिंड्दा यसो सम्झियो केहि, लेखुंला भरे भन्यो, समयै मिल्दैन । निद्राले मरिसक्छ, ज्यान । सम्झेका र कल्पेका सारा 'शिर्शक'हरु भुलिन्छन । फेरि, रगत बगेको ब्लग भन्दा पसिना बगाउने 'त्यो फेसबूक्' भन्ने जन्तुले पनि सबै बिगार्यो । ब्लग लेख्न समय लाग्ने, बरु फेसबूक खोल्यो, नानाभाती हेर्यो, झपक्क निद्रा लागिसकेको हुन्छ, त्यतै पल्टियो । पल्टिन भ्याको छैन, बिहानी हुन्छ । भाले त यतातिर बास्दारहेनछन । भाले गाडीहरु कराउन थाल्छन्, बलजफ्ती उठ्यो, शुरु भो दैनिकी । फर्क्यो, फेरि फेसबूक । यताबाट एउटाले हेल्लो भन्छ, आर्कोले हाइ भन्छ । आफ्नो हाइ मरिसकेको हुन्छ, सकि-नसकी पल्टियो, पारा उही । र पनि एकचोटि नखोली सन्तोकै लाग्दैन । अनि, कहीले लेख्ने ब्लग ? के राख्ने लेखेर ? बर्बादै भाको छ ।

पहिला खुबै जांगर लाग्थ्यो, लेख्नलाई । ज्यान गलेर आजकाल त लेख्न मात्रै होईन, देख्न पनि जागर मरिसक्यो । यसो भनिरह्यो भने त एउटा बिरामी निद्रामा बरबराएको जस्तो ठहरिएला । तर सांचो के रहेछ भने, ओखती पसलमा पराय सबै रोग निदानका ओखती भए पो बिरामीले किन्छन । बिरामीले ओखती किने पो पसलेले अरु धेरै सिटामोलहरु राख्छन । यस्तै रहेछ, ब्लगमा पनि । हप्तै पिच्छे या नसके पाक्षिक तबरले सिटामोलहरु राख्न सके पो लेख्ने जांगर चल्छ र नयाँ सिटामोलरुपी शिर्शकहरुले पालो पाउंछन । सडेका सिटामोलले दोकान कुरेर बसेर यसै बित्यो, ब्लगको यो दुई बर्ष । पसिना पुछ्दै उक्लनु पर्छ भन्ज्याङ । उकालो बाटो सजिलो त कहां हुन्छ र ? जिम्मेवारी र कर्तब्यपछी बचेका समयमा जे जति टांसोहरु टांसे, त्यसप्रति खुशी नै लाग्छ । समय ब्यबस्थित गर्नै गार्हो हुन्छ । एउटा मुला संबिधान दिन त भत्तावाले ६०१ सभासदहरुले सकेका छैनन् भने म मामुलीले पनि मेरो यो ब्लगे संसदलाई समय दिनै सकेको छैन । चिसो कुलरमा पसेर "रेड बुल" भत्ता पीई बचेँको शक्तिले धेरै लेख्न सकिदोंरहेनछ । नसके पनि, एउटा उकालो पार गरेर दोस्रो बर्शे ओराली झर्दै छु, पल्लो डांडांको भञ्ज्याङ पुग्नलाई ।

ब्लागिङ उपन्यास जस्तो एउटै पुस्तक पनि भएन । भरिएको संगितको सि डि पनि भएन । धोका, सपना, रहर र पिडालाई अटाउने उकालीको सिढी रहेछ बरु, ब्लग । दुई बर्ष पहिले ब्लग नहुंदा जसरी मडारिन्थ्यो यो मन । अहिले २ बर्षको यो हुंदा जन्मेर बिरामी भएर पनि मुश्किलले बांचेको छोरोको जस्तै माया लाग्छ, भित्रैबाट । यो अबधिमा सबैभन्दा धेरै पढिएको, 'एउटा बिरामीको बिछोड प्रेम कथा' सम्झदां लाग्छ, म पनि कति भाग्यमानी । त्यो पिडा मैले ब्लगमा डिपोजिट गर्न पाएं । मन लागेको बेलामा ए टी एमले निकाल्छु, सम्झनाको नगद गन्छु, पिडाको नोट पढ्छु, आंशुले खर्च चलाउंछु म, म ब्लगबाट पिडा झिकेर । भावना र कल्पना संगाल्ने तर आवाज नआउने सि डि चाँही भएको छ, मलाई ब्लग । लखतरान जिन्दगीलाई छहारी दिने चौतारी भएको छ, मलाई ब्लग । ओरालिमा टेक्ने लौरी र उकालिमा 'तिर्खाएको भरियालाई महि' भएको छ, मलाइ ब्लग र उत्सब अनि उमंगमा अक्षताको दही भएको छ, मलाइ ब्लग । बैंकमा पैसा नभएपनि खाता भए जस्तो । मौसम सफा रहे पनि साथमा छाता भए जस्तो । एक हल गोरु नभएपनि अग्राखको हलो भए जस्तो भएको छ, मलाइ ब्लग । नराखे पनि, नभए पनि छ न त छ । हावा-हुरी, बर्शात्-असिना र उकाली-ओराली हुंदै दुई बर्शे यो चौतारिमा सुस्केरा सुस्काउन पाउनु पनि काम भाग्यमानी र आनन्ददायक कुरो होईन ।

यस अवसरमा मलाइ सहयोग गर्नुहुने सम्पुर्ण मित्रजन, टाढा टाढाबाट पनि हौसला प्रदान गराउनुहुने महानुभाब र सधैं उन्नति र प्रगति मात्रै रुचाउनुहुने शुभेच्छुकहरुमा हार्दिक आभार ब्यक्त गर्न चाह्न्छु । बिगतमा दौंतरीले गरेका ब्लगिङ भेलाहरु र अग्रज ब्लगर दाजुहरु र मित्रहरुको प्रयाशमा निकट भबिश्यमा आफ्नै मुलुकमा गरिन लागिएको 'ब्लगर भेला'को लागि मेरो पनि सात समुद्र पारीको यो परदेशबाट मंगलमय शुभकामना । तपाईं हाम्रो दैलोमा आएकी लक्ष्मीको पर्व शुभ दिपावलिको पुनित उपलक्ष्यमा यहाँहरुको उन्नति र खुशीको मंगलमय कामना गर्दछु । ह्याप्पी ब्लगिङ !!!
Read more >>

13 October 2010

बिजया दशमीको शुभकामना !


महान चाड बिजया दशमीको सुखद उपलक्ष्यमा नेपाल र परदेशमा रहनुभएका सम्पुर्ण दिदी-बहिनि, दाजु-भाइ, बुवा-आमा लगायत मित्रजनहरुमा सु-स्वास्थ्य र उन्नतिको हार्दिक मंगलमय शुभकामना !!!
Read more >>

14 September 2010

भुइंमा खसेका सिक्काहरु संगाल्दै :


जीबन पाउन सजिलो भएसरी बांच्न त्यति सहज शायदै कसैलाई होला । दरबारमा जन्मेका राजकुमारहरु होउन वा झुपडिमा जन्मेका बिचराहरु अथवा ओढारमा जन्मेका राउटेका सन्तति नै किन नहोउन । दरबारमा जन्मेकाहरुले त तरबारको भरमा जीबन गुजार्छन, शक्ती र धनको आडमा । झुपडिमा जन्म लिनेहरुको हालत यहाँ शब्दमा कसरी लेख्न सकिएला र ? तिनका दर्द र बेदनाहरु, गुन्युका सुताइहरु, लाम्खुट्टेका टोकाइहरु । त्यो दु:ख त भोग्नेलाई मात्र थाहा हुन्छ ।

सादा जीबन सबैभन्दा उत्तम जीबन । धन हुने उपेन्द्र महतो, शिक्षा हुने डा. दुर्गा भण्डारीहरु र मन हुने मह जोडीका जिबनका अ-आफ्नै पाटाहरु छन । महाकबि देवकोटाले जीबनमा दिएरै सिद्ध्याए । महात्मा गान्धी अहिंस्रक भएरै मानब बने । अनुराधा कोइराला बेचिएकी चेलीहरुको अस्मिता अझै बचाउने अभियानमा लागेकी छिन् । त्यसैले त प्रख्यात अमेरिकि समाचार संस्था सिएनएनले आयोजना गर्ने "सिएनएन हिरो" मा मनोनयन भएकी छन । उत्तम संजेलको १०० रुपैयाको शिक्षा अभियान आज देशभर प्रख्यात छ । उपेन्द्र महतो - धन हुने देखी लिएर, मह - मन हुनेहरुले पनि दिलोज्यान सहयोग गरिरहेका छन, उनलाई । यसरी हेर्दा, जन्मनु मात्र जिन्दगी भन्दा पनि आफुले सकेको ठाउंबाट सकेको चीज गरेर मान्छे 'मान्छे' भएका रहेछन ।

चिन्तन र तपस्याले बुद्ध भगवान भए । त्यागले राम भगवान भए । दिएर र लिएर मात्र भन्दा पनि केही गर्न खोजेमा मात्रै मान्छे 'मान्छे' हुन सक्दोरहेछ । जीबन सार्थक बन्दोरहेछ । धनी कोही कसैको अपुताली पाएर हुन्छ । तर त्यो अपुताली पनि सहि रुपमा प्रयोग गरेर समाजसेवामा लाग्ने मान्छेहरु न महान हुन्छन । ठगेर, लुटेर र छद्मभेशि भएर कमाएको धन 'देखाउनको लागि' सेवामा लगाउनेहरुको कर्तुत त कति दिन पो टिक्छ र ? अत : देखासिकिमा गरिने समाजसेवा भन्दा आत्माबाटै प्रस्फुटित सेवाभाव शायद सर्बश्रेस्ठ हुंदो हो ।

एउटा स्टोरमा खुर्सानी बेच्ने रित्तो भांडोमा जम्मा भएका केही सिक्काहरु माथि नजर परे आज । धेरै बर्ष देखि परदेशको सडकमा खसेका, अरुले फालेका सिक्काहरु थिए, ति । एउटा ठीक्कैको पाथी जाने भांडो भरिएछ । अरुले गलत्याएर अर्थ नसम्झी फालेका एक पाथी सिक्काहरु पक्कै नै धेरै नै होलान । मानौं, एक पाथी गाई पैसा । परदेशको एक पैसाको मेरो देशमा कम से कम सत्तरी पैसा हुन्छ क्यार, आजकाल । परदेशको एकपाथी पैसाले मलाई लाग्दछ, सत्तरिले गुणा गर्दा मेरा गाउं वा छर-छिमेकका दुई जना निमुखा-गरिबले मज्जाले पढ्ने पैसा पुग्नेछ । मैले कसैकोमा कामा गर्दा पार्किङ बढार्दा टिपेका सिक्कहारु, सडकमा हिड्दा भेटिएका सिक्काहरु संगालिंदा गुणाले सयौं हुन्छ र एउटा निमुखाको शिक्षाको लागि काफी हुन्छ भने हामीले किन लजाउने ? आफ्नै अगाडिको टल्केको परदेशी सिक्का टिप्नलाई ?

हुन त सेवा प्रचार गरेर गरिने काम होइन । तर ब्लगरको काम जे शिर्शक भेट्यो, त्यसैलाइ कोट्याउनु हो । नजर परेर टिपिएका सिक्काहरु त मेरो देशमा कैयौं गुणा फलदायी हुन्छ भने त्यसमाथिको शिर्शक पनि शायद उपयोगी नै होला । प्रचार-प्रसार भन्दा पनि जम्मा भएका सिक्काहरुको उपयोगिता ठुलो लागेर टांसेको मात्र हो । महानहरु प्रचारले ठुला पक्कै भएका होइनन तर कतिपय बिषयगत कुराहरुलाई टांसो बनाउंदा फरक चाँहीं नपर्ला !

त्यसो त मान्छे बिदेशिएपछि उअसले गरेका काम-कर्तब्य प्रति नजर रहन्छ, समाजको । जसले जति सक्छ त्यति गर्ने हो । फेरी जसका पुर्पुरोमा जती लेखेको छ, पाउने त्यति नै हो, जति खप्पर फुटाएपनि । म चांही, गर्न केही नसके पनि सडकमा खसेका सिक्काहरु संगाल्न लागेको छु, आजकाल । एकपाथी सिक्काहरु सांटेर मेरा एक पत्रकार साथीको रोहबर पठाएर जेहेन्दार-निमुखा केही बिद्यार्थीहरुलाई सहयोग गर्ने धोको छ । धोको भएपछि सहयोग र समाधानका पोकोहरु अबश्य आउंदारहेछन । हेर्दा हेर्दै एक पाथी सिक्का जम्मा भए भने सेवाभाब र कर्मले भोली एकमुरी डलर जम्मा हुन पनि के बेर ? गरीब बिद्यार्थी पढाउने केही सपनाहरु बोकेर आजकाल म सडकमा खसेका सिक्काहरु टिप्दैछु । यसलाई घमन्ड र प्रचार ठान्नु सहि नहोला ।
Read more >>

10 September 2010

मलाई छाडि !


मलाई खोला पारी छाडि गै तिमीले के पायौ त,
एक्लै कुम्ल्याउन गएकि थ्यौ'नी, दर कति खायौ त ?

मैले त मुख छोप्ने टालो पनि पाइन नि यहाँ,
तिमी सिंगारिन कुन कम्पनिको सारी लायौ त ?

म त हारें, तिरस्कार तिम्रो, म जसरी बांचे'नी,
तिम्रो भु पु मायालु भेट्न तिमी कति धायौ त ?

मैले दे'का फूलहरु त पत्थर भए तिमीलाई,
तिम्रो 'मायालु' संग तिजको मन्दिर घुम्न आयौ त ?

चोखो माया मेरो बदनामी भयो तिमीलाई है,
तिम्रो गुणगान त कतै सुन्दिन, खै कता छायौ त ?
Read more >>

25 August 2010

अल्छि, खल्ति र बल्छि :


सोचेको जस्तो नहुने रहेछ, जिन्दगी । सोचे जसरी प्रयोग गर्नै गार्हो, यो बलवान समयलाई । करिब दुई बर्ष अगाडि रहरै रहरमा कोर्न थालेको ब्लगमा निरन्तर कहिल्यै लेख्न सकिएन । हुन त, आफैलाई धेरै कुरो लेख्न नआउने वा नजान्ने हुनाले पनि होला, लेखाइमा ढिलासुस्ति भएको । शिर्शकहरु फटाफट दिमागमा आउँदा पनि भन्ने बित्तिकै थपक्क राख्नै सकिएन । त्यसैले लाग्छ, रहरले मात्रै पनि ब्लग चल्दो रहेनछ । फेरि, आफैलाई अचम्म लाग्छ, अग्रज ब्लगरज्यूहरुले कसरी भ्याउनु भएको होला, प्रत्यक हप्ता टांसो टांस्न ? यसो त्यहि हेर्यो, मेसो मिले पढ्यो, चित्त बुझायो अनि पल्टियो । अग्रज ब्लगरहरु पनि बेला बेलामा लामो समय हराएर फर्कंदा उहांहरुलाई लागेको 'अल्छिपनाको शिर्शक' नपढेको त होईन । तर फोकटमा गफै गरेर कति समय काटिंदा पनि लेख्नै जांगर नलाग्नु र भोलिबादी हुनु चाँही महा-अल्छि भएर नै हो । यस्तो अल्छि लाग्छ कि ! भनि साध्यै छैन । फेरी यो परदेशि सोडा र पिज्जाले पेट र गिजा बढेर नि होला, जता बस्यो उतै ढल्न मन लाग्छ । अनि मनमा आएका शिर्शकहरु चाहिं नेपालको संबिधान जस्तो, कहीले लेखिने हो कहीले ?

नभ्याउनुको प्रमुख कारण चाँही खल्ति नै हो । रित्तो खल्तिले कहिल्यै दिमाग भराउंदो रहेनछ । खाली खल्तिले मगजमा आएका शिर्शकहरु पनि मेटाउंदा रहेछन । बिहान उठेदेखीको अनाबश्यक चिन्ताको कारण नै हो - रित्तो खल्ती । जिम्मेवारि, कहिल्यै तिरेर नसकिने - तिर्न नभ्याउंदै शुरु हुने परदेशका बिलहरुले खल्ती सधैं रित्तो । रुखमा चढेर पैसाका हांगा हल्लाउंदै असारमा झरेका आंपहरु सरी टिपिने पैसाका सपना जस्ता सजिला रहेनछन्, खल्ती भर्ने हिजाका सपनाहरु । सपना बोकेर त उडिन्छ । आफ्ना भन्दा ठुला हुन्छन् फेरी परिवारका सपना । अब त कमाउंछ र पठाउंछ अनि खान पाईन्छ चामलको भात । यस्तै हुन्छन परिवारका सपना पनि । एउटा महलको सपना पनि बोकेका हुदांरहेछन्, परिवारले । तर कथामा अभिनय गर्ने वास्तविक अभिनय एउटा नायकलाई मात्र थाहा भए जस्तै हुदोंरहेछ, रित्तो खल्तिका हामी परदेशी खलनायकहरुको पिडा । नाम चलेका कथाकारहरुले कल्पना गरेका भन्दा धेरै गहन र वास्तविक हुदांरहेछन, रित्तो खल्तिवालाहरुको कथा । जसमा आफै कथाकार, आफै निर्देशक र आफै कलाकार । करोडौं रुपैयां लगानी गरेर, नाम चलेका कलाकार भर्ती गरेर, होनहार निर्देशकले बनाएका चलचित्र त फ्लप हुन्छन् र चल्दैनन भने जाबो परदेशमा गोरा र धोतीहरुले तुर्काइ-तुर्काइ दिने गाई पैसाले कहीले भरिने खल्ति ?, के खाने आफु ?, के किनिदिने स्वास्नी र छोराहरुलाई ? बचाउने के ? र पठाउने के ? यस्ता परम सत्य घटनाका हामी कमजोर पात्रहरुले अभिनय गर्नुपर्ने वास्तविक जिवनको दुखदायी नाटक त झन कसरी चल्छ त ? सबेरै देखिको यो वास्तविकता र रित्तो खल्तिको पिडाले पनि जांगर लाग्दो रहेनछ, लेख्नलाई ।

बल्छी जस्तै भएर पनि होला जिन्दगी, स्वतन्त्र कहिल्यै नहुने । माझी दाईले गल्छीको किनारामा बसेर बल्छिको टुप्पोमा माछा झुक्याउने खानेकुरो राखी टन्टलापुर घाममा अल्छी गर्दै माछा मारे जस्तो लाग्यो यो जिन्दगी त । माझिदाइलाई जांगर लागेर र भाग्यबश मरे केही माछा भने भरे घरको कुनोमा कुटो र कोदालो संगै थन्किने बल्छी जस्तै जिन्दगी । भाग्य र समयले मनोपरी प्रयोग गरि बल्छी जस्तै थन्किने, निर्जिब हाम्रो जिन्दगी । कथा र भूमिका बेग्ला-बेग्लै भए पनि अभिनय एकै प्रकारका, सबैका जिन्दगी । जो भाग्यमानी भयो, राम्रो अभिनय गर्‍यो । राजेश हमालका जस्ता चले, उसका जिन्दगिका फिलिम । जसले सकेन, अभागि भयो । फ्लप भए उसका नाटकहरु, बिना दर्शक मन्चमा देखाइएका जस्ता । समयको बल्छिमा अल्झिने अभागि जिन्दगीलाई समय नमिलेर पनि सकिंदो रहेनछ, ब्लगलाई साथ दिन ।

यहांहरुको आफ्नै मजबुरी होला, यस्तो छ मेरो कथा त ।
जय ब्लगिङ । ह्याप्पी ब्लगिङ ।
Read more >>

15 July 2010

सुन्छ्यौ भने मेरा कथाहरु ....!


सुन्छ्यौ भने मेरा कथाहरु अनेकन चिसा रातहरुका छन्,
पत्थरले मेरै खप्परमा हानेका तिम्रा कठोर घातहरुका छन् ।

हेर्यो, पढ्यो अनि थन्कायो, तिम्रा प्यारा सम्झनाहरु,
झुटो मायाका ठेलीहरु, त्यस्ता अनगिन्ती खातहरुका छन् ।

दुनियाँ हांस्ने त्यो कस्तो जाली माया भो हाम्रो,
तड्पाइ तड्पाइ तिमिले मलाई बजारेका लातहरुका छन् ।

संगै पानी हालेका सम्झनाका बोटहरु त मरी सके,
हावामा उड्न तयार तिनै फुस्रा पातहरुका छन् ।

कटक्क मन खानेको प्याला एउटै मात्र ओखती,
सडक पेटिमा छादिएका मेरा थुप्रै मातहरुका छन् ।

तिरस्कारले बोछोड खेप्दा मलाई लागेका रोगहरु,
कसैले छुट्याउनै नसक्ने अनौठो जातहरुका छन् ।


सुन्छ्यौ भने मेरा कथाहरु अनेकन चिसा रातहरुका छन्,
पत्थरले मेरै खप्परमा हानेका तिम्रा कठोर घातहरुका छन् ।
Read more >>

01 July 2010

साइबाबा : आस्था, विश्वाश वा रहर ?


नेपाली समाजमा धर्मको आफ्नै रामकहानी छ । तेत्तिसकोटी देबताहरु, तिनका मठ-मन्दिर र आस्थाका पाटी-पौवाहरु अनगिन्ती । धर्म र मानवताको शान्त मुलुक नेपालमा हरेक किसिमका धर्म र त्यस्तै प्रकारका धर्मालम्बीहरु त छंदैछन । र पनि धर्म अबलम्बन गर्ने तरिकाहरु फरक । पूजा गरिने तरिका फरक होलान् तर गन्तब्य त जुन बाटो गए पनि एकै हो रे । यसरी धर्मलाई प्रचार गर्ने बाहानामा नेपाल र भारततिर उदाएका सयौं- हजारौं गुरुहरु, पास्टरहरुबारे हामीलाई थाहा छदैंछ । आजकालका रामदेब सबैतिर छाएका छन् । राजनीति र नैतिकताको सिन्को भांच्न नसक्ने हाम्रा महान नेताहरुका च्यापू, कम्मर र भूंडि पनि हल्लाइदिए - उनले खुल्लामन्चमा । त्यसरी नै धेरै बर्ष देखि भारतको बैंङ्लोरमा आश्रम गरि बसेका साइबाबाका चर्चा पनि कम छैनन ।

भनिन्छ, मरुभुमी सरहको बैंङ्लोरलाई हराभरा शहर बनाए रे - साइबाबाले । प्रकृतिको चिनो केही नभेटिने साइ आश्रमको बर्तमान थलो आज पर्यटकिय रुपले संसारभर प्रख्यात छ रे । पांच रुपैंयामा मुटुको अप्रेशन हुन्छ रे । साइबाबालाई भेटेपछी वा त्यो ठाउं टेकेपछी ब्यक्तिजिबन नै परिवर्तन हुन्छ रे । म त आजसम्म गएको छैन, बैंङ्लोर । तर 'रे' का यी याबत हल्ला र भाकाहरु साँच्चै सांचो होलान् ? नायक शिव श्रेष्ठ हरेक कामको पछाडि 'बाबाको आशिर्बाद' को फुर्को झुन्डाउछन । नेता महेश आचार्य लगायतकाहरुलाई साइबाबाले सुनको औंठी उपहार दिए रे । तर सामान्य नागरिकले बहुमुल्य त्यस्ता औंठी-उपहार पाउंदैनन रे । सबै 'रे' का यी फुर्काहरु के सांचो होलान् ? त्यो त नायक श्रेष्ठ, नेता आचार्य लगायत आश्रम टेकेकाहरुलाई थाहा होला । तर पनि संसारभर करोडौ साइभक्तहरु रहेको चाँही साचो हो । नेपाल, भारत, पुरै एसिया, युरोप र अमेरिकामा उनका लाखौं भक्तजन छन्, रहेछन । प्रायश: नेपालीका डेरा र घरका भित्ताहरुमा साइबाबाको फोटो र 'बिभुती हुंदारहेछन । र परदेशतिर पनि धेरै साइ संगठन र सभाहरु रहेछन ।

महाराजगंन्ज, काठमाडौंमा रमेश नेपालीको घरमा रहेको साइ थलोमा साथीहरुसंग धेरै पहिले साइ जन्मोत्सबको कार्यक्रममा जाने 'चानास' मिलेको थियो । दिनभरि आस्थाको लागि भनेर भोकै बसियो । त्यसदिन मान्छेहरु पनि हजारौं आएका थिए । अत्यन्त ब्यबस्थित र अनुशाशित थियो, त्यो कार्यक्रम । एकै स्वरमा साइ भजन, पालै-पालो पूजा । लाग्थ्यो, मान्छेहरुमा साइबाबाप्रति ठुलो आस्था रहेछ । यो सांचो थियो कि, एउटा राजनैतिक पार्टीले आयोजना गरेको आन्दोलनमा आउने बेरोजगारहरुको भिड अबश्य थिएन, त्यो । उपस्थितहरुको अगाडि साइबाबाको बडेमानको फोटो राखिएको थियो । भजन किर्तन पछि त्यसबाट खरानी 'बिभुति' झरेको मेरै आंखाले देखेको पनि सांचो हो । तर अचम्म, एउटा फोटोको फ्रेमबाट बिभुती कसरी झर्छ र झर्यो, त्यो त साइबाबा नै जानुन । त्यसपछी साइ सम्बन्धि केही पुस्तकहरु पनि पढियो । हातमा साइ औंठि लगाइयो । हार्मोनियम बजाउंदै केही बिहान साइ भजन पनि गाइयो । एक दुई महिना शाकाहरी भैयो । धेरै नै साइ पुस्तकहरु पढियो । भनिन्छ नि, संगित र पुस्तक सबै राम्रा हुन्छन् । हामीहरुको लागि गीता, महाभारत, कुरान र बाइबलहरु ठुला हुन रे । बिद्धानहरुले लेखेका किताब पढ्नु नराम्रो त कहाँ हो र ? साइबाबाले पनि धेरै पढेका छन रे । उनी त अझ डा. हुन रे । तर उनका किताब पढेरै मान्छेहरु साइभक्त भएका हुन त ? रहर त पक्कै होईन होला । यही गुदी कुरो भने बुझ्न सकेको छैन ।

बत्तिसै लक्षणले त शिव भगवान पनि युक्त थिएनन रे । बुढा गांजा खाने, पार्वती कुट्ने । सतिदेबिसित लभ गर्ने । कृष्णजी गोपिनीहरु भनेपछि भुतुक्कै । राम सिता हरण गर्ने राबणलाई केही गर्न नसक्ने । यस्तै होला, ठुला धर्म गुरुहरुलाई लाग्ने आक्षेपहरु । साइबाबालाई 'यौन' सम्बन्धि लागेको एउटा आक्षेप वा काण्ड पनि बढो प्रख्यात रह्यो । त्यो कति सत्य थियो । देख्नेहरु जानुन । हामिसंगै पढ्ने कलेजका एक साथी थिए । गांजा भनेपछि शिव भगवानलाई भन्दा बढी चाहिने । पढ्न फेरी 'खतरा' । साथी टाठो । राजनितिमा खप्पिस । सबै त भन्न मिल्दैन । जे होस्, सफलता सधैं उसका दाहिने हुन्थे । साथी पुट्टपर्ती लाग्यो, साइबाबा भेट्न । साइबाबालाई भेट्ने अबसर पनि पाएछ, सोल्टीले । फर्केर कलेज आएको थियो त शब्दै पिच्छे 'साइराम्' र 'साइकसम' भन्दा केही भन्दैन बा । तर हामीले उसको बानी र ब्यबहारमा चाँही साँच्चै उन्नति पायौं, जुन कुरो सबै साथिमाझ चर्चा पनि हुन्थ्यो । अहीले त उनी धेरै ठुलो मान्छे भएका छन् । तर उनी आफ्नो सफलता लगन्, मेहनत अनि साइ आशिर्बादको कारण भन्दछन । यो बैज्ञानिक युगमा एउटा ब्यक्तिमाथिको आस्था त 'रुढिबादी' ठहरिएला । तर पनि अरु धर्म, गुरु र प्रबचन संगै आजका मान्छेहरुमा साइबाबा प्रतिको भक्तभाब आस्था हो वा विश्वाश वा हो रहर ! गांठि कुरो बुझ्न सकेको छैन ।
Read more >>

25 May 2010

परदेशमा हामीले खेलेको भकुन्डो र संबिधान :



सानै छंदा कपडालाई पोको पारी बनाइएको पोके भकुन्डो खेलिन्थ्यो, गांउमा । पछी स्कूलको नि मा बि तह देखी यसो छुन सम्म पाइन्थ्यो, स्कुलको भकुन्डो वा भलिबल । आफु सानो कदको भएकोले ठग्थे सबैले । रहर हुंदा पनि छुन र खेल्न पाईदैनथ्यो । कहिले कहिले त छुन नपाएको रिसले स्कुलमुनी भलयो टिप्न जांदा मैदानबाट कसैले "स्याटर" हानेको बल आयो भने क्यात्तुक्केको कांडाले घोचेर हावा फुस्काइदिन्थे, म बलको ।

हाफछुट्टिमा मलाई सबैले भलिबलको रेफ्री बनाउंथे । साथी र मास्टरहरुका घडी बाँया हातभरी बोकेर दाँया हातले 'रेफ्री-सिट्ठि' फुक्थें, म । जीबनमा धेरै बढिएन, त्यसैले रहर लागे पनि जांगर पुर्याएर भलिबल कहिल्यै खेलिएन । 'सर्भिस' गरेर नेट कटाउन चांही मज्जाले सक्छु ।

परदेशमा भए पनि हप्तामा एक्/दुइ दिन साथीहरु भेट्ने निहुंले आजकाल हामी भकुन्डो खेल्न थालेका छौं । आनन्द आउंदो रहेछ । खेल्यो, बिदेशी पानी पियो, त्यहि चौरमा सबै जना ब्यायाम गर्यो, ज्यान मर्कायो, दु:ख सुखका गफ गर्यो, समाजका-देशका कुराहरु गर्यो, लास्टां (अन्तमा) देशको कन्तबिजोक सम्झदैं दु:खले आ-आफ्ना छाती पिट्यो, अनि सबै जना बाटो लाग्यो ।

हामीले खेल्ने भकुन्डो र नेपाली राजनितिका खेलाडीले खेल्ने भकुन्डो (संबिधान) 'उस्तै उस्तै हो, नानू,' रहेछ । भेला भएका १४/१५ जना साथीहरु हामी यति अनुशाशित भएर खेल्छौं नि राम्रा रेफ्री आएभने अनुशाशनमा हामीलाई पुरस्कार दिनेछन् । हामी दुई टिम बांडिएर बाजी खेल्छौं । त्यो बाजी सबैलाई जित्नुको हुनेछ, बाजि जितेको पैसा हामी जम्मा गर्छौं । केही धेरै भएपछी नेपालमा कुनै गरीब बिद्धार्थी पढाउन पठाउछौं । बचेका रकमले कसैलाई सहयोग गर्ने पाटो त एकापट्टि छदैंछ । तर भन्न खोजेको चाँही के भने, 'गर्नुपर्छ' भन्ने जिम्मेवारीले कर्तब्यलाई अंगाल्न वाध्य बनाउंदोरहेछ । हामी दुई टिम जो जिते-हारे पनि नेपाली दाजुभाइ बीचको हार त हो आखिर । त्यो बाजीको पैसा नेपालै त जाने हो आखिर । बैमनश्यता केहिमा नराखे हामी अझै अगाडि बढ्न सक्थ्यौं होला, जस्तो लाग्छ । थकित हाम्रा ज्यानहरु पनि परदेशमा त्यहि भन्छन्, किन हामी हामी नमिलेका हौंला र ६०१ जनाले खेल्ने संबिधान सभारुपी त्यो 'भकुन्डो' किन जसले जता पायो त्यतै "स्याटर" हानेको होला ।

खेलमा नियम हुन्छ, अबधि हुन्छ । रेफ्रीको हातमा सिट्ठी हुन्छ । त्यो सिट्टिले सतर्कता बनाउंदो रहेछ । हाम्रो देशमा धेरै पटक भए, भकुन्डोका म्याच । २०५ जनाले खेले, मैदानको बालुवा समेत खाएर भ्याए । मैदानको दुबाहरु आफ्ना करेसाबारिमा रोपाए । आफ्नो घर सुन्दर बनाए, तर आफैले खेलेको मैदानमा हगे, मुते । अरुहरु जानै नहुने-नसक्ने गरि दुर्गन्धित बनाए । पछी हामीले मैदान सफा गर्यौं, दुर्गन्धको प्रबाह नगरी । तिनैलाई '६०१' बनाएर खेल्न पठायौं, एउटा राम्रो भकुन्डो दिएर । भकुन्डो खेल्न गा'काले कुस्ती खेले । अहिले भकुन्डो हराए । तिनका कर्तब्य एकातिर, खेल एकातिर । तिनलाइ न लिनु, न दिनु । तिनैमा बैमनश्यता र घमन्ड । हामीलाई थाग्नामा सुताए, आफुहरु आलिशान महलमा । हाम्रा रित्तो हात, तिनका हातमा रोलेक्स र राडो घडिहरु ।

भकुन्डो खेलेर पदक दिलाउने बाचा गर्नेहरुले हामीलाई नै हराए, बिदेशी मन पराए । न देशले पदक पायो, न सम्मान । तारे होटेलहरुमा तिनका लन्च र डिनर पाक्छन्, हाम्रा बच्चाहरुको 'कुरि' छोप्ने एकसरो 'जांगे' छैन । संबिधान त यिनले दिएनन र अब ती बच्चाहरु आफ्ना नाङ्गा ज्यान लिएर यिनका थाङ्ना च्यात्न आउन मात्रै बाँकी होला, अब । जय संबिधान ।
Read more >>

28 April 2010

तिमी त शहर पो पसेछौ !


भोकले तिम्रा सन्तान थुतुनो आं गरि बसेका छन् ।
तिमी भने भाईबहिनी पढ्ने स्कुल कब्जा गरि
मासु र भात खाएर 'आन्दोलन' गर्न ? शहर पसेका छौ ।
तिमी चामल खोज्न हिंडेको भए
कम से कम एक मानो कोदो त पाउथ्यौ ।
अनि,
तिम्रा जहानका मुखमा एक फांको आहार पर्थ्यो,
र तिमीलाई शायद्, सन्तोश मिल्थ्यो होला ।

तिम्रो घरको टुकिमा टालो मात्रै छ,
मट्टितेल छैन,
तिम्रा गह्राहरुमा बिजुलिका खम्बाहरु छन्,
करेन्ट छैन,
न तिम्रो बचेरो पढ्ने स्कुल खुलेको छ,
न महाजनका छोराहरु पढ्ने बोर्डिङ नै !
बीरामी ती तिम्रा बुढा बालाई अस्पताल लाने डोको छैन गाउंमा,
तीनलाई बोक्न न छिमेकी भतिजो छ, न तिम्रो भाई
न त तिमी नै छौ ।
एउटा डोको खोज्न हिंडेको भए
कम से कम थुन्से त पाउथ्यौ ।
तर,
तिमी हो-हल्लामा 'आन्दोलन्' ? गर्न
शहर पसेका छौ ।

तिमी किन तामाका ती कलिला मुनाहरु काट्छौ ?
र कटबांसहरु तिखार्छौ ?
तिमिले कटबांसले बजाउने टाउकाहरु पनि त
आफ्नै भाइ-भतिजाहरुका हुन नि ।
तिनका घाउबाट निस्कने रगतले तिम्रो ज्यान शिरिङ्ग हुदैन र ?
बरु, तिमी कलम खोज्न हिंडेको भए
मलम पाउथ्यौ होला ।
तिमी त सलाम खाने लालशामा
शहर पो पसेछौ ।

हिजो भरौटे बनेर हिडेका हाम्रा दाजुहरुले के पाए ?
हेर त तिनका कन्तबिजोक ।
आन्दोलनमा गोली खाए,
फटाहा नेताका बोली पाए,
तिनका छोराहरु ओहोदामा,
हाम्रा दाजुहरु, गाउ फर्के ।
यसरी फर्केका अपाङ्ग दाजुहरु तर्साउन तिमी
गोली बोक्दै छौ ?
खुकुरी भिर्दै छौ ?
दाजु 'तह लाउन' टुडिखेलमा कसरत गर्दै छौ ?
हलो कांधमा हलेर बरु बांजो जोत्न हिंडेको भए हुन्थ्यो,
तिमी त खुल्लामन्चमा नेताको योगा हेर्न,
चमात्कार हेर्न, होटेल भत्काएर बनाएको नेताको निवासमा
मासु भात खान हिंडेछौ,
तिमी त शहर पो पसेछौ !
Read more >>

03 April 2010

तिम्रो चिट्ठीको जबाफ :


सुन्दर र हस्तलिखित तिम्रा सम्झनाका ति चिठिका पानाहरुको लागि धन्यवाद !

मलाई त के हुनु छ र ? अर्काको देशमा भांडा माझ्न आउनेको के नौलो समाचार हुन्छ र ? तिमीले आफ्न घरमा बसेकाहरु सँग प्रत्येक महिना माग्ने गरेकी भाडा जस्तो सजिलो हुंदोरहेनछ, परदेशको जिन्दगी । राजधानिमा आलिशान महल, सुन्दर फ्ल्याटहरु, घरकै सटरमा स्व-ब्यापार । त्यो पो जिन्दगि, तिम्रो पो जिन्दगी । अर्कैसँग ऋण काढेर दु:ख बेसाउन परदेशिएका हामी अभागिहरुको के नयाँ त के पुरानो अनि के को साँचो बिसन्चो ? तिमीले छाडेर गएका मायाका यादहरु जस्ता निर्घात बिझाउने खालका हुँदा रहेछन्, परदेशका दैनिकी । न कुनै समाचार, न खाने ठेगान, न त सन्तोष नै ।

'के काम गर्छौ ? कति कमाउछौ ?' भनेकी रहिछौ ।
तिमीलाई चिन्नु एउटा ठुलो भूल भएछ, मेरो । 'प्रेम' त्यो थियो भने त आज 'मेरो सम्झनालाई साक्षी राख, दुनियांमा प्रेम भन्दा ठुलो पैसा छैन' भन्थ्यौ हौली । तिमीले भगवानसँग भाकेका भाकलहरु भुले पछि अनी साचो मायाको साटो सपनाको धन तिमीमा फुलेपछी, तिमीले जसरी नै मान्छेले मान्छेलाई हेप्न रत्तिभर बांकी राख्दो रहेनछ । खैर, ठिकै छ । चाहना भन्दा ठुलो कुरो रहेछ, भाग्य । सांचो मायाको मेरो चाहना अपुरो रह्यो भने भाग्यमानी तिम्रो दर्हो खप्परले धन पायौ, सुख पायौ । त्यसैले त आज, सम्झनाको भकारिमा मुसा बनेर म धान चपाउने चेस्टा गर्दैछु भने तिमी महारानी मानेर मैले चाखेको भकारीको धानको चामलको भातमा घीऊ झानेर खादैंछयौ । पुर्पुरो हुनु त तिम्रो जस्तो, दिनभरी तिम्रो खेतमा आली लाउने खेतालाको माया भन्दा, साउने झरिमा कुलोको पानी चोर्न आउने 'पानी चोर' को महल पाउनु ।

'अनि, फर्किने कहीले'नि' अं रे ?
यसो हुन्छ नि, तिम्रा महलमा फस्टाएका 'बिचरा, ती मेरा भतिजाहरु', जस्तै मेरो परदेशी भाडाको कोठामा हुर्कदैं गरेको बिचरोको के छ त खबर, भन्नु । तिमी भन्दा अलिकती अभागिनी 'मेरी' को हालखब्रर के छ त भन्नु, यसो सोध्नु ! ठाडै, मलाई सोधेको छ यार्, अनी मैले कमाउने पैसा र म फर्कने मिती ? खोइ भुपू मायालु, मैले तिम्रो ताल बुझिन । न म स्वदेश फर्केर तिम्रो र मेरो बीचको कालिगण्डकी माथि तुरतुरेतिर फर्कन्छ, न 'ती भतिजाहरुले' मलाई चिन्दछन र न त तिमो महलमा पाइला राख्ने हैसियतको भएको छु, म । गोजिमा दुई चार पैसो त मेरो कहिल्यै भएन र पनि मनमा माया चाँही सधैं भैरह्यो, चाहे त्यो केबल तिम्रो लागि नै किन नहोस्, सदाको लागि । तर अधुरो चाहना, बिझाउने सम्झना र असम्भब बर्तमानको अगाडि तिमीले भाकेका कुनै माइकालाल भगवानको पनि केही लाग्दो रहेनछ ।
खोलाको दुई किनारा भो, तिम्रो र मेरो पिरती !


मायाको त्यहि खोलाको यता पट्टिको किनारामा म 'सिंचाइको पानी' भएर सिन्चिएको छु, दुनियांका खेतमा भने , एउटै बाटो भएर पनि उता पट्टि चाँही गरीब किसानहरुको भर्खर लगाइएको आलीहरुको खेत भत्काउने 'भेल' भएकी छयौ, तिमी । संगै बहेर पनि तिमी भेल र म सङ्लो पानी जस्तै भयो, यो अनौठो पिरतीको मेल र बिमेलको मायाको खेलमा, हाम्रो जिन्दगी । मेरो पुकारा छ, म जसरी बांछे पनि तिमीलाई केही नहोस्, तिम्रा कसैलाई कृपया केही नहोस्, तिम्रा सुन्दर महलका भित्ताहरुमा अरुहरुका दाग नलागुन्, धर्ती फाटेपनी हासिरहोस्, तिम्रो मुहार । यही छ तिमीलाई मेरो शुभकामना र तिम्रो चिट्ठीको जबाफ ।
Read more >>

23 March 2010

श्रद्धान्जली गिरिजाबाबु !


परिबर्तनिय नेपाली क्रान्तिका नायक एबम् नेपाली कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको दुखद निधन प्रति हार्दिक समबेदना !!!


देशका अभिभाबक, नेपाली राजनितिका 'मियो' श्री कोइरालाको निधनले देशले अपुरणिय क्षति बेहोरेको छ । १४ हजार नेपालीको अनाहकमा गुमेका नेपाली ज्यानहरुलाई 'अरु' मर्न बाट बचाउन उनले गरेको शान्तिको प्रयास अधुरो कहानिमा अल्झे पनि उनको आत्माले शान्ति पाओस ।

जीबनमा उनको बोली र व्याबहारिक कठोरताले नेपाली राजनितिमा 'एउटा अर्थ" लगायो । बोलेको कुरा पुर्याउने उनको बानी र सरल राजनैतीक जीबनले गिरिजाबाबुको जिन्दगीमा लागेको "पारिवारिक दाग्" पनि छांयामा पार्यो । अख्तियार सँग पनि नडराउने साहस, सदैब कार्यकर्ताको भरोसाको केन्द्र र नेपाली राजनितिमा 'बिश्वासको आधार' बन्नु उनको ठुलो सफलतालाई काम आंक्न नमिल्ला ।

जिन्दगिभर श्रापको पात्र र मरेपछी 'गुणगान' गाउने नेपाली परम्परा त कहाँ पुरानो भएको छ र ? छापा र समाचारका बिभिन्न माध्यामहरुबाट बेलाबखतमा 'उडेका पात्र' 'गिरिजाबाबु' भएपनि आज उडेको उनको हंसले नेपालीको दर्हो आश पनि उडेको छ । तिम्रा आत्माले सुख पाओस्, श्रद्धान्जली गिरिजाबाबु !!!
Read more >>

12 March 2010

कांग्रेस : जहाँ संगठन, त्यहिं गुट !



(एक महिना भएछ, ब्लग बाट हराएको । साथीहरुको लेख चाँही अरुको साधन सापट मागेर पनि पढेको थिएं, तर आफु लेख्न कापी र मसि नै पुगेन । यो बिचमा अमेरिकाका लागि नेपाली राजदुत र कलाकार मनोज गजुरेल संग भेट भयो । त्यो अर्को लेखमा अबश्य राख्नेछु । तर आज म बडो ठुलो नेता बनेर आको छु, यो बिचमा । हा हा !!! राजनीति गर्‍यो भनेर श्राप नदिनु होला । अलि अलि चाख त भैहाल्छ, यो रोगमा । तर आफ्नै आँखा अगाडिको गाइ-जात्रालाई यसो पोतेको छु, हतारमा । )

नेपाली राजनीति र नेपाली कांग्रेसको परिपुरकता बडो अनौठो छ । बि पि लाई जपेर राजनीति थाल्नेहरु कांग्रेस र नेपाली राजनीति परिपुरक हो भन्ठान्लान्, जुन केही हद सहि होला । तर लालशा र चाकरितालाई नैतिकता ठानी कांग्रेस र यसको वरपर 'महाजनका भजन' भट्याउनेहरुले गरेका चारित्रिक राजनीतिले देखाइदिएको छ, कांग्रेसको चालामाला, यसको हालत, भताभुङ्ग संगठन र गुट । संगठन खोलिनु कुनै नौलो बिषय भएन, कांग्रेसलाई । चाहे अमेरिकामा होस् या युरोपमा । मन परेका नेताका 'भनेको मान्ने' मालिक हुनु नयां संगठनको चासो हुन्छ, कांग्रेसलाई । नव निर्मित संगठनको लेखाजोखा र यसलाई मलपानी कहिल्यै मिल्दैन, हेद्क्वारटरबाट । खाली पानारुपी थालीबाट टिका र जमाराहरु चाँही जति चाहिए पनि मिल्दोरहेछ । एउटा कार्यकर्ता अस्पतालको शैयामा भगवान पुकारी रहंदा सुन्दैन, बी पी नगर कसैको बिलौना । जीबनभर कांग्रेस भनेर लडेकाहरु 'कपुत' भएर मरेका छन्, बिचरा । सबैलाई थाहा छ, मर्ने बेलामा दाल भात लिएर शैलाजा भेट्न अस्पताल कोही गएन । शुभकामनाको बडेमान गुच्छा लिएर सुजाता कहाँ लागे, काङ्रेसीहरु । बेसहारा शैलजाको खुस्केको प्राण सम्हाल्ने कोही भएनन् । उनको चिरायूको लागि चितामा चढ्नुपर्ने श्रद्धाको फूल सुजाताको शुभकामनाको लागि टक्रिन्छन । कयौ शैलजाहरु मरेर गए, न फूल त न सम्झना । एउटा कर्मठ कार्यकर्ताले स्वस्फुर्त पुण्यतिथिमा धूप बालेर एकचोटी सम्झिइएका छन्, ती शैलजाहरु । भने, यता जर्मनी झोलामा नेपाली राजनीतिको 'गुट' बोकेर हिडेका छन्, नव नेताहरु । यसैले त बार्दलिमा बसेर झम्-झम झरिमा सुकाएको बिस्कुन हेरेर बसेको छ, आज कांग्रेस । र, चार हल गोरु लिएर बगरमा रोपाइं गर्न हिडेका छन्, यिनका नेताहरु ।


त्यत्रो बर्ष शासन गरेको पार्टीको कार्यलय धन्न मैयादेबीको चन्दाले छाइएको छ । त्यसलाई 'पुर्ण' गर्न अमेरिकामै धेरै चोटि सवार भए, पूर्व मन्त्रीहरु । इमानको राजनीति गरेको हो भने, लाज लाग्नु पर्ने हो तीनलाई, सात समुन्द्र पारी आएर भाडा मांझेर कमाएको पैसा 'चन्दा' माग्नलाई । तै पनि माया न हो, सक्नेले दिए । नसक्नेको र नदिनेका कुरै नगरौं । त्यो चन्दाले छानो छाउन अपुग भएको भए चार वटा पिल्लर मात्रै हालेको भए पनि त हुन्थ्यो होला । त्यो पैसाले त एक ट्रक 'प्रिन्टिङ कागज' किनिएछ, चार ग्यालेन मसी किनिएछ । त्यसैले आजकाल ती खुल्ला पानाको शिरानमा चारतारा मुन्तिर जसलाई मन लाग्यो, त्यसैलाई लेखिएको 'संगठन निर्माण' को चिठि जता ततै छापिएका हुदांरहेछन् । जो नेपाल गयो, चट्ट बी पी भवनको चमेना गृहमा नास्ता खायो, अमेरिकामा जन्मदै गरेको गुट र हराइसकेको एकताको फुर्ती लगायो । एउटा 'प्रेम-पत्र' कोरिदिन अनुरोध गर्‍यो । सुट्केशमा ग्रीन कार्ड भन्दा बढी जगेर्ना गरेर अमेरिका ल्यायो, शुक्रबार बेलुका स्कयान गर्यो, तुरुन्तै गूगल ग्रुपमा 'पेस्ट' गरिदियो । शनिवार बिदा हुनेहरुले हेर्छन्, नेपाली काङ्रेसको आशिर्बादी 'चमेना चिठि', नभ्याउनेले आईतवार । आईतवार पनि नभ्याउनेले फोन मार्फत थाहा पाउछन्, सोमबार हेर्छन । गत महिना आएको चिट्ठीको करामत के सकिएको हुन्छ, अब यो चमेना चिट्ठीको बखान शुरु हुन्छ । आरोप-प्रत्यारोप, इमेली घम्सा-घम्सी । अनी धेरै पहीले प्रवक्ताले घोषणा गरेका चुनाबी मितीको समाप्तिको बिन्दु । नयाँ नेपाली संबिधानको हालत्, प्रबासी कांग्रेसी चर्तिकला, एकताको नाममा युद्ध र बर्खिलाप । अमेरिकामा एकताको यो एउटा साधारण नमुना । प्रवासमा कांग्रेस, स्वस्थानीमा शिवको अङग पतन भए जस्तो । अङग पतन भएका ठाम त धाम भएर रहे, तर जहाँ - जहाँ कांग्रेस, काहानी र गुट ।

जमातले जनमत सिर्जना हुदैन भन्ने कुरा कहिल्यै बुझेन, कांग्रेसले । संगठन निर्माणको युरोपी लम्बि-कहानी किन बेलिबिस्तार गर्नु पर्ला र ? संगठनमा टाउके पशुपतिमा भट्टहरु नियुक्त भए जस्तो । जसरी निर्मल भक्तहरु भट्टहरुले सम्झाएसरी पूजा गर्छन्, भेटी चढाउंछन् । पवित्र मन्दिरमा नित्य पूजा गरि भक्तालुहरु आफ्नो बाटो लाग्छन् । यता, सांझ एक सर्को गांजाको मातमा भट्टहरु भेटी गन्न थाल्छन्, कोही भट्टहरु सुन्दरी समाउंदै डिस्कोमा लडेका भेटिन्छन त कोही मनीग्रामबाट दिनदिनै नेपाली भेटी 'भारत भेज्दै' गरेका । ती भेटी र मुम्बैमा बेचिएकी सोझी बहिनी केटीको एउटै काहानी हुन्छ । तर यहाँ काहानीले होईन, चर्तिकलाले मान्छे चर्चित र ठुलो बन्दोरहेछ । बेचिने चेलीको आवाज कसले सुन्ने ? 'दलाल' झन पावरफुल हुन्छ, अब । यसरी नै घोटिएका कार्यकर्ताहरुको आवाज सुन्दो रहेनछ, कांग्रेस । त्यहि रोग सरेर त होला, कांग्रेस भित्रका ढुन्डिराजहरु हराए, जसले चर्तिकलाको साटो सदैब 'समाजबाद्' मात्र लेखे । बिस्वप्रकाशहरु पाखा लाग्दैछन्, जो सोझो आंखाले देखेको सत्य बोल्छन्, त्यहि लेख्छन् । निर्बाचित गुरुराजहरुको नामै सुन्न छाडियो । यी सबै कुराहरु संगठन भित्रको चाकरी र गुटबादका प्रश्रयहरु न हुन । धेरै बिभाग र डा. हरु भएका जिर्ण अस्पतालजस्तो भएको छ, कांग्रेस । जिवनजल पनि नपाउने दुर्गम स्वास्थ्य चौकी जस्तो, यसको प्रबासी संगठन । जहाँ पियनले अप्रेशन गर्ने गर्दछन । ओखतिमुलो नपाएर मरेको लाशजस्तो बनेको छ, तिनै भट्टरुपी खुराफातहरुले बिग्रदैं गरेको, कांग्रेसको प्रबासी साख ।


राजनीतिमा इमान र पालो हुनुपर्ने र आउने कुरा हुन रे । इमान कमै कांग्रेसीहरुमा होला । फेरी कांग्रेसमा पालो पनि कमैका आएका होलान् । सांचो बोल्नेहरुलाई 'बिद्रोहि'को पगरी गुथाइन्छ, जुन मान पाएका थिए, गगन थापाले । पालो सबैको आउला शायद्, जसरी नरहरी आचार्य सदैब सभापति लड्ने आंट गर्दछन । पन्चायती मान मर्दन र बहुदलको हावामात्र लागेकाले आचार्य जसरी सदैब लड्ने साहस गदैनन । उम्मेद्वारी केबल जित्नको लागि मात्र नहुने रहेछ । आवाज र बिचार मन्थनका लागि गरिने उम्मेद्बारीले 'एउटा राम्रो अर्थ' लाग्दोरहेछ । जसरी कांग्रेस भित्र नरहरीको उम्मेद्वारीले बिचारको नेत्रित्व गर्दछ । तर खुराफातीहरुलाई 'एक चोटि जित्नु र नाम लेखाउनु' माधव दाईलाई 'प्रधनमन्त्री'को रहर जस्तै हुदोरहेछ । दुई पट्टि चार जनाको जमात र मनोनयन खुराफाती राजनीति गर्नेहरुको अनौठो लालशा हुदोंरहेछ । झरिमा गगल्स लगाएर खुराफाती बाटो हिड्दा लाटोले फालेको केराको बोक्रामा टेकिएर 'पिलित्त' लडेको जमात बढी छ, कांग्रेसमा । सुनिएको थियो, सधैं समाजवादको भजन गाउने प्रदिप गिरीलाई खुराफातीहरुले बोरामा पोको पारेर बगरमा मिल्काएका थिए रे । त्यत्रो एतिहासिक आन्दोलनका नेता 'लौह पुरुश्' मा थन्किए, एउटै जिबित संस्थापक बिचरा भट्टराई'बा लाई पारी भित्तामा कुटीमा थन्काइदिएको छ, कांग्रेसले । अवसरको, बिचारको र नेत्रित्वको पालो होइन, इमान हुनेहरुको त बेइमानिहरुबाट बेइज्जती त सत्तोसराप मात्र उपहार दिलाउंछ्, आंफै बुढो कांग्रेस ।

र अन्तमा, अमेरिकाको एउटा उदाहरण । केही बर्ष सम्पन्न भएको प्रबासी कांग्रेसको प्रथम अधिबेशन आफैंमा केराको थामसरी ढलेर दोस्रो अधिबेशनको लागि भनेर कोदोबारिमा बांकी रहेको मकैको ढोंड सरि 'कानुन' मा अड्किएको छ रे । न कुनै गोपनियता, न कुनै तरिका । आपसी झगडा । बालखाहरुले घैया गोडे जसरी '३६ सदस्यिय' तयारी समिती राजाको कामको घाम कुरेर बसेको छ । लाखौं प्रबासी अमेरिकी कांग्रेसीहरुको पत्तो बिना जसलाई मनलाग्दि 'आयातित चिठि'मा झारा टारेर 'कानुनी कान्लो' माथि भुटेको मकै चपाउदै छ रे, शक्तिशाली समिती ! पहीले बनेका र हिजो खुलेका संगठन र तिनका साना माछाहरुलाई बल्छी थाप्दै, पाखामा फ्याक्दै, पशुपतिका भट्टरुपीहरुको सल्लाह र आशिर्बाद थाप्दै अघि बढेको छ रे । 'एकताको खातिर' सानाहरुको आवाज नसुनी 'बिद्रोहि'को सापटी गालि उपहार प्रदान गराउंदै पौडी खेलिरहेको छ रे, अमेरिकी प्रवासी कांग्रेस । हिजो अधिबेशन गरेको समुह, अब गराउन तयारी भएको समुह, हुन्छ र हुन्नको समुह, आरोपीहरुको समुह, लान्छना लगाउने र तयार गर्नेको समुह, चिट्ठी आयत गर्ने समुह, त्यसलाई पेस्ट गर्ने अर्को समुह, भाग नलिने धमास लगाउनेहरुको समुह गरि बनेको आ-आफ्नै तालका डम्फुका समुहरु देख्दा देख्दै, बिद्रोही यी आँखाले किन नभनुन ? बिग्रियो कांग्रेस : जता संगठन, त्यतै आफ्नै गुट !
Read more >>

08 February 2010

पर्समा फोटो !


तपाईं खुरुक्क हेर्नु त, तपाईंको पर्समा केको-कसको फोटो छ ?
तपाईं जवान/अबिबाहित हुनुहुन्छ भने त अरु कसको फोटो होला र ?
बिबाहित हुनुन्हुन्छ भने चाँही प्राणप्यारी अर्धाङ्गिनी/जीबनसङीनी कै त होला । भाउजुको फोटो छैन भने तपाईंको खैंरियत ठीक छैन, कुनै दिन कुन चाहिंले पोल खोल्देला है, होसियार !

त पूरानो कुरो याद आयो । म र मेरो दाजु बर्षा याममा एक दिन दरौंदी नदीको फांटमा झाटेंको गहुंको नल लिन भनेर तेर्हकिलो बजार हुदैं झर्दै थियौं । ती दाजुका आफ्ना दाजु चाँही काठमान्डौ तिरका जागिरे । यसो दशैमा मेसो पारेर दिएका पैसा रहेछन्, उनिसित । त्यो पैसा सदुपयोग गर्न पैसा हाल्ने एउटा समान (पर्स} किन्ने कुरा निकाले । म सँग जम्मा सात रुपैया थियो, त्यसदिन । तर पर्सलाई १० रुपैया पर्दो रहेछ । मेरा ती दाजुले मलाई ३ रुपैया हालिदिएर सेन्थेटिकको पर्स किनिएछ है गांठे, जिबनमा पहिलो पटक्, त्यो बेला म आठ कक्षामा पढ्दो हुं !

यति त जतन गरेर राखिएन, मेड इन चाइनाको त्यो सेन्थेटिकको माललाई । पैसा हालेर गोजीमा राख्नुपर्ने बिखयलाई पूजा गरेर खोपिमा राखियो । स्कुलमा साथीहरुले बरफ् किन्दा 'पर्स' निकालेको देखेर सीको गर्न खोपी बाट झिकेर खोल्तितिर हालियो । त्यो भित्र पैसा राखेर गोजिमा हाल्न पाए त हुन्थ्यो नि, रित्तै भोकले गोडा दुई चारेक बर्ष आँशु झार्दै रोयो, बिचरो त्यो सेन्थेटिके । सधैं खाली । म त पेट भर्न च्याख्ला र ढिडो खान्थे, तर त्यसले पैसाको चामलको भात कहिल्यै पाएन, बिचरो । सधैं भोको राख्नु पाप ठानेर मैले बरु फोटोको खाजा दिने निधो गरें ।

केही त राख्नु पर्यो, सम्झना र कल्पनामा बुनिएकाहरुको चित्र मनले खिचेर राखियो । त्यतिबेला क्यामरा कसको बाउको पाउनु । पाखामा भलाया टिप्न जांदा तिनका दाजुहरुले मलायाबाट ल्याएका क्यामराले खिचेका फोटाहरु नदेखिनेगरी छिपाएर त्यो पर्समा राखियो । साल काट्न जादा भारीले किच्न लागेको 'साहिलि'को तस्बिर पनि राखिएछ । पछी काठ्मण्डौ आएपछी सेन्थेटिक छाडेर ल्यादरको पर्स बोक्न थालियो । अनी त्यसभित्र राखिने फोटाहरु पनि फेरिन थाले । ती सबै अहीले नै भन्नु पर्ला र भन्या ?

बिदेशतिर त पर्समा कुकुर र बिरालाका फोटाहरु राख्दा रहेछन्, तिनले 'प्रेमी र प्रेमिका' हरुको फोटो नपाएर हो कि त !
नढांटि हेर्नु त तपाईंको पर्समा कसको फोटो छ ?
Read more >>

20 January 2010

प्रेम, विवाह र एक दशक :


हिजो जस्तो लागेको थियो, बालाखामा स्कुल गएको । साथीहरुसँग तितेपातिलाई झुप्पो बनाएर चुङ्गी खेलेको, सडकको किनारामा बस्तुभाउका दिशापिसाब प्रबाह नगरि आँफैले बत्ताएको गुच्चा टिपेको । समय त धेरै अघि बढिसकेछ, गांठे, पत्तो नपाइकनै । जुनियर रेड्क्रस, स्काउट र बिद्धालय स्तरिय कर्यक्रममा जिल्लाका कुन कन्तरा घुमेका दिनहरु पनि हिजै जस्तो लाग्छ । झम झम पानी परिरहंदा लुदी खोलो तर्न नसकेर ढुङ्गा-गाडे भञ्ज्याङको उकालो हुँदै मामाघर जानेगरेको पनि हिजो जस्तो लाग्दैछ । दरौंदिमा मात्र होईन लुदी र सिर्दी खोलोमा पनि धेरै पनि र भेलहरु बगिसकेछन । बिगत सम्झदा झल्यास्स हुन्छु, यो जिन्दगीले पनि जवानी र सम्झनाका धेरै अत्यास र झेलहरु भोगिसकेछ ।

टन्टलापुर घाममा घैया गोड्दा-गोड्दै के सुर चलेर पो हो, नेपाल(काठ्मान्डौं) छिरियो । हिजै जस्तो लाग्छ, कमाउन राजधानी छिर्दा साझा बसको झ्यालबाट बान्ता गर्दै बीर अस्पताल निर झरेको । त्यो सांझ बासको लागि गाउलेहरुको कोठा चाहारेको, गोङ्गबु जानु पर्ने मान्छे गल्कोपाखा तिर लागेको । अस्कलको अगाडि जीवनमा पहिलो चोटि म:म: खाएको, बुढी भैसिंका ती डल्लाहरु 'पाचन' नभएर साथीको कोठामा जीबन-जल पिउंदै सात दिन लम्पट परेको । कहिल्यै केही देखेको भए न हो, यो जिन्दगीले बुझ्ने । कहिल्यै केही सिके न हो यो ज्यानले जान्ने ! त्यसो त हिजो जस्तै लाग्छ, पहिलो जागिरमा अफिसको भुइं पुछीवरी टालो पखाल्न धारो खोल्दा सावर खुलेर जाडो याममा लगाएको सुइटर सहितको आफ्नो सारा कपडा भिजेको । अहिले हिजो सम्झदा दङ्ग लाग्छ, यो ज्यानले चाइनाका धेरै जाकेटहरु लगाइसकेछ, धेरै जोर गोल्ड्स्टार जुत्ताहरु फटाइसकेछ, कयौं जोर बङगाली मोजाहरु प्वाल पारिसकेछ ।

अनुभब र भोगाइ संगै जिन्दगीले 'प्रेम' पनि चाहंदो रहेछ । त्यो प्रेमलाई जसरी अर्थाए पनि मज्जाले सरल रुपमा अर्थिंदो रहेछ । नौलो जवानीको अनौठो प्रेमको खोजिमा शायद सबैका आत्मा लागेकै हुने होलान । मेरा कल्पनाहरु पनि लागे होलान । र भन्नै पर्छ, मेरो कल्पना केबल कल्पनामा मात्रै सिमित नरहेर 'त्यसको' खोजाइमा लाग्यो । वास्तविक बुझाइमा लाग्यो । प्रेम खोज्ने लालसामा कतिका किताब पढ्न मागेर फर्काउंदा 'पत्र' सामाबेश गरिकन फर्काइयो होला भनेर पनि कसरी भनुम ! स्कुलको कक्षामा भलाया सित कापिका पानाहरु साट्दा मनका तर्कानाहरु पनि त्यसैमा लेखी साटियो की भनेर पनि कसरी भनुम ? स्कुलको सदन छुट्याउंदा आफु टोली नेता हुँदाको बखतलाई मौका छोपेर 'मन परेका' हरुलाई आफ्नै टोलिमा पार्न पाए हुन्थ्यो या पारियो कि पनि कसरी भनुम ? मन परेकाहरुलाई कांचो आंप टिपेर मन जित्ने आशामा कति कांचा आंपका गेडाहरु हल्लाइयो पनि कसरी भनुम ? यस्तै सोचाइ र कल्पना हुदैं बित्दो रहेछ, जिन्दगी । र पो पत्तो नहुंदो रहेछ, यति चाडो समय बितेको र आफ्नो जिन्दगीले नेटो काटेको ।

राजधानी छिरे पछि पनि ती भलाया र आंपका गेडाहरु कसरी भुलिन्थे ? काँचो मासुको म:म:ले स्कुले जीवनको काँचो आंपको स्वाद कसरी भुलाउथ्यो र ? शहरको रमझमलाई वास्ता नगरी ती दिनहरुले 'शुरुवाती प्रेम पत्र'हरु सम्झन थाले । स्काउट , रेड्क्रस, बिरेन्द्र शिल्ड, हाजिरिजवाफ प्रतियिगिताहरु र सम्झनाहरु याद आउन थाले । त्यहि त हो, भरखरै लेख्न शुरु गरेको 'शुरुवाती पत्र'को अधुरो उपन्यासलाई पूरा गर्न मन लागेर आयो । राझधानीको कोलाहल बसाइमा जिन्दगीले नयाँ कलम र कापी खोज्न थालेछ । ठमेलको स्टेशनरिमा खोज्न थालिएछ, नयाँ डायरि । कलेजको कक्षा कोठामा खोज्न थालिएछ, उपन्यासको शिर्शक । पुस्तकालयमा खोज्न थालिएछ, उपन्यासलाई सहयोग पुर्याउने खालका अरु खजनाहरु । आफु जता पुग्यो त्यतै खोजिएछ, एउटै शिर्शकको त्यो 'प्रेम' र त्यसको तात्पर्य ।

दिनहरु बित्दै गए । खोजाइहरु रोजाइमा परे । कलेज शुरु भएदेखी पढाइ सकिंदा सम्म लेखिएका उपन्यासका भागहरु फेरी-फेरी बिस्तारमा लेख्दै जाऔंला । तर यो वास्तविक मैले भन्नै पर्छ कि, मैले उपन्यास लेखी सकेछु । बिडम्बना त्यहि हो कि, मैले लेखेको 'प्रेम उपन्यास' प्रकाशित गर्न सकिन । तर लाग्छ, प्रकाशित उपन्यास मात्र 'प्रेम' होईन । अथवा प्रेम सधैं सबै प्रकाशित र प्रचारित हुनु पर्छ भन्ने छैन र नहुंदो पनि रहेछ । मलाई त्यस्तै पर्‍यो र प्रकाशानार्थ असमर्थ भएछु । र पनि जीवनले शिर्शक र त्यसको भावनालाई भुलेन, सत्यतालाई भुलेन । लेखिएका भाबहरु अप्रकाशित भएपनि लेखकले दु:ख गरि लेखेको शिर्शक कहिल्यै भुल्दैन । मैले प्रेम भुलिन । कसैलाई भुलें होला तर अहं प्रेम भुलिन ।

भनिन्छ नि, धनले प्रेम कहाँ किन्न पाइन्छ । अप्रकाशित र असफल माया भन्दा मनले रोजेको आत्मिय प्रेम मेरो जीबनमा बिबाहमा परिणत भएको दिन जत्तीको खुशीको दिन कहीले आउला र ! गुमाएका चिजहरु त गुमिगए, झरेका फुलका थुङ्गाहरु झैं । तर फेरी आँफैले रोपेको गुलाबको बोटमै फलेको सुन्दर ताजा 'गुलाब'को थुङ्गा भन्दा प्यारो के हुन्छ र ? साचो प्रेमलाई शाइत पनि नचाहिदो रहेछ र त आजभन्दा ठीक दश बर्ष अगाडि सरस्वती पूजाको दिन भएको मेरो बिबाह आज 'एक दशक' पो भएछ । कत्ति छिटो बगेको समयको खोलाको पानी । नबगाएपनी बितेको पत्तै नपाइने । धन्य छ जिन्दगि, अनि सरस्वती माता । एक दशकको यो लामो बैबाहिक जिन्दगी आनन्द र सन्तोशका साथ बिताउन 'सरस्वती बरदान' मिलेकोमा । । अनी धन्यवाद मेरी अर्धाङ्गिनी, हरेक कस्ट र अड्चनहरुलाई सहजै सरल ठानी लामो जिन्दगीको प्रत्यक पाइलामा साथ बनेकोमा । धन्यबाद्, असल प्रेम - यो प्रेम, विवाह र एक दशकको दिन ।
Read more >>