25 August 2010

अल्छि, खल्ति र बल्छि :


सोचेको जस्तो नहुने रहेछ, जिन्दगी । सोचे जसरी प्रयोग गर्नै गार्हो, यो बलवान समयलाई । करिब दुई बर्ष अगाडि रहरै रहरमा कोर्न थालेको ब्लगमा निरन्तर कहिल्यै लेख्न सकिएन । हुन त, आफैलाई धेरै कुरो लेख्न नआउने वा नजान्ने हुनाले पनि होला, लेखाइमा ढिलासुस्ति भएको । शिर्शकहरु फटाफट दिमागमा आउँदा पनि भन्ने बित्तिकै थपक्क राख्नै सकिएन । त्यसैले लाग्छ, रहरले मात्रै पनि ब्लग चल्दो रहेनछ । फेरि, आफैलाई अचम्म लाग्छ, अग्रज ब्लगरज्यूहरुले कसरी भ्याउनु भएको होला, प्रत्यक हप्ता टांसो टांस्न ? यसो त्यहि हेर्यो, मेसो मिले पढ्यो, चित्त बुझायो अनि पल्टियो । अग्रज ब्लगरहरु पनि बेला बेलामा लामो समय हराएर फर्कंदा उहांहरुलाई लागेको 'अल्छिपनाको शिर्शक' नपढेको त होईन । तर फोकटमा गफै गरेर कति समय काटिंदा पनि लेख्नै जांगर नलाग्नु र भोलिबादी हुनु चाँही महा-अल्छि भएर नै हो । यस्तो अल्छि लाग्छ कि ! भनि साध्यै छैन । फेरी यो परदेशि सोडा र पिज्जाले पेट र गिजा बढेर नि होला, जता बस्यो उतै ढल्न मन लाग्छ । अनि मनमा आएका शिर्शकहरु चाहिं नेपालको संबिधान जस्तो, कहीले लेखिने हो कहीले ?

नभ्याउनुको प्रमुख कारण चाँही खल्ति नै हो । रित्तो खल्तिले कहिल्यै दिमाग भराउंदो रहेनछ । खाली खल्तिले मगजमा आएका शिर्शकहरु पनि मेटाउंदा रहेछन । बिहान उठेदेखीको अनाबश्यक चिन्ताको कारण नै हो - रित्तो खल्ती । जिम्मेवारि, कहिल्यै तिरेर नसकिने - तिर्न नभ्याउंदै शुरु हुने परदेशका बिलहरुले खल्ती सधैं रित्तो । रुखमा चढेर पैसाका हांगा हल्लाउंदै असारमा झरेका आंपहरु सरी टिपिने पैसाका सपना जस्ता सजिला रहेनछन्, खल्ती भर्ने हिजाका सपनाहरु । सपना बोकेर त उडिन्छ । आफ्ना भन्दा ठुला हुन्छन् फेरी परिवारका सपना । अब त कमाउंछ र पठाउंछ अनि खान पाईन्छ चामलको भात । यस्तै हुन्छन परिवारका सपना पनि । एउटा महलको सपना पनि बोकेका हुदांरहेछन्, परिवारले । तर कथामा अभिनय गर्ने वास्तविक अभिनय एउटा नायकलाई मात्र थाहा भए जस्तै हुदोंरहेछ, रित्तो खल्तिका हामी परदेशी खलनायकहरुको पिडा । नाम चलेका कथाकारहरुले कल्पना गरेका भन्दा धेरै गहन र वास्तविक हुदांरहेछन, रित्तो खल्तिवालाहरुको कथा । जसमा आफै कथाकार, आफै निर्देशक र आफै कलाकार । करोडौं रुपैयां लगानी गरेर, नाम चलेका कलाकार भर्ती गरेर, होनहार निर्देशकले बनाएका चलचित्र त फ्लप हुन्छन् र चल्दैनन भने जाबो परदेशमा गोरा र धोतीहरुले तुर्काइ-तुर्काइ दिने गाई पैसाले कहीले भरिने खल्ति ?, के खाने आफु ?, के किनिदिने स्वास्नी र छोराहरुलाई ? बचाउने के ? र पठाउने के ? यस्ता परम सत्य घटनाका हामी कमजोर पात्रहरुले अभिनय गर्नुपर्ने वास्तविक जिवनको दुखदायी नाटक त झन कसरी चल्छ त ? सबेरै देखिको यो वास्तविकता र रित्तो खल्तिको पिडाले पनि जांगर लाग्दो रहेनछ, लेख्नलाई ।

बल्छी जस्तै भएर पनि होला जिन्दगी, स्वतन्त्र कहिल्यै नहुने । माझी दाईले गल्छीको किनारामा बसेर बल्छिको टुप्पोमा माछा झुक्याउने खानेकुरो राखी टन्टलापुर घाममा अल्छी गर्दै माछा मारे जस्तो लाग्यो यो जिन्दगी त । माझिदाइलाई जांगर लागेर र भाग्यबश मरे केही माछा भने भरे घरको कुनोमा कुटो र कोदालो संगै थन्किने बल्छी जस्तै जिन्दगी । भाग्य र समयले मनोपरी प्रयोग गरि बल्छी जस्तै थन्किने, निर्जिब हाम्रो जिन्दगी । कथा र भूमिका बेग्ला-बेग्लै भए पनि अभिनय एकै प्रकारका, सबैका जिन्दगी । जो भाग्यमानी भयो, राम्रो अभिनय गर्‍यो । राजेश हमालका जस्ता चले, उसका जिन्दगिका फिलिम । जसले सकेन, अभागि भयो । फ्लप भए उसका नाटकहरु, बिना दर्शक मन्चमा देखाइएका जस्ता । समयको बल्छिमा अल्झिने अभागि जिन्दगीलाई समय नमिलेर पनि सकिंदो रहेनछ, ब्लगलाई साथ दिन ।

यहांहरुको आफ्नै मजबुरी होला, यस्तो छ मेरो कथा त ।
जय ब्लगिङ । ह्याप्पी ब्लगिङ ।

3 Comments:

वेदनाथ पुलामी (उमेश ) said...

अल्छी , रित्तो खल्ती हुदै बल्छी सम्म ल्याएर कुरो टुंग्याउनु भएको रहेछ ...साच्ची मेरो पनि कथा उस्तै छ ....
यता हाम्रो यस्तो जात्रा छ - गोकुल दाइ ! तर मुलुकामा ...गाइ जात्रै गाइ जात्रा रहेको छ !

सूर्य/सिकारु said...

मलाई त लाग्यो यो सत्यता तपाई हाम्रो मात्र नभई लाखौ नेपालीको जस्तो । यसरि ढिलो नै भएपनि ब्लगमा मिठा कुराहरु पढन पाइयोस ।

Dilip Acharya said...

तपाईँको अरु लेखहरुमा जस्तै यसमा पनि भावना मात्रै हैन्, सुलभ सत्य पनि झल्कन्छ।

यो सबै पढेपछि एउटा कुरा लेख्न मन लाग्यो :
खल्ती खाली भए पनि लेख्न सकिन्छ, तर खल्ती नै खाली हुने गरी भने लेख्न हुँदैन

यति भन्दा भन्दै पनि फेरि अर्को एक लाईन पनि लेख्छु:
तर समय र परिस्थितिले साथ दिँदा भने लेख्दै गर्नु होला, किन कि तपाईँको लेख्ने शैली म र म जस्तै धेरै जनालाई पक्कै मन पर्छ ।

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼