05 November 2009

एउटा परदेशबाट :


सम्झना छ जलेको मुलुकलाई, ढलेको सगरमाथालाई
एउटा परदेशबाट !
सदैब दिन मात्र सक्ने, लिन कदापी नजान्ने आमालाई
सम्झना, एउटा परदेशबाट !

आमाको शरिरमा रातोदिन बलत्कार गर्नेहरुलाई
धिक्कार छ, एउटा परदेशबाट ।
आउने केही बांकी नहुंदा'नी, लाम्टो लुछिरहनेहरुलाई
पुछिदैं नपुछिने आशुंहरुलाई हर रात पुछिरहनेहरुलाई
सम्झना छ, एउटा परदेशबाट !


आफ्नै बस्तिमा अगुल्टो सल्काउनेहरुलाइ,
धिक्कार्दो रहेछ मन, एउटा परदेशबाट !
आफ्नै घरमा शत्रु पल्काउनेहरुलाई
धिक्कार्दो रहेछ मन, एउटा परदेशबाट !

आमालाई ढांट्नेहरुलाइ,
भाइ लाई काट्नेहरुलाई
परदेशीको चाकरिमा
जुठो थाल चाट्नेहरुलाई,
के नै पो भन्न सक्दो रहेछ र मन
एउटा परदेशबाट !
Read more >>

13 October 2009

ब्लगिङको बार्षिकी र एउटा उकालो :



खुबै चिसो शुरु भएको छ, आजकाल । र, यो हो जाडोको मौसम । आज भन्दा ठीक एक बर्ष अगाडि सुन्दर शहर बोस्टनको जाडोमा रहंदा फुर्सदमा के गर्ने भन्ने चिन्ता हुन्थ्यो । बाहिर निस्केर कतै जाऔं भने आंफुलाई पुर्ने हिंउ । केही नगरी खाली हात त्यसै बसौं भने झिन्झ्यार लागेर आउने पिरलो । कामबाट फर्कंदा बेलुकीको समय हुने, र त्यो समय नेपालमा बिहानी पर्ने हुनाले केही साथीभाइ सँग च्याट गरेर बिताइन्थ्यो । रामे र श्यामे लाइनमा आउला र च्याट् गरी समय गुजारौंला भन्ने पनि सधैं कहाँ सम्भब थियो र ? सबैको समय मिल्नु पर्यो, त्यसमाथी पनि नेपालको लोडसेडिङ ! सार्है दिग्दारी लाग्थ्यो, मनमा ।

आफुलाई कम्प्युटर भित्रको गुदीहरु त्यति ज्यादा नआउने । लटर-पटर हटमेल र कोल्डमेल खोल्न र हेर्न मात्र । केही नजाने पछि समय बिताउन गार्हो हुदोरहेछ । साझा डट कममा प्रख्यात 'चौतारी'मा छिरें, एकदिन । त्यहां उपस्थित चौतारिया र भारदारहरुको छुट्टै नाम हुन्थ्यो । जुन अहीले पनि यथाबतै छ क्यार । राहुलभाइ, बसन्त, गोतामे, नेपालियन्, ठरकी दादा लगायत सयौं भारदार मित्रहरुको बिचमा म एउटा बटुवा भएर छिर्दथें ( अझै सयौं साथीहरुको नाम सम्झन नसके पनि मेरो ब्लगिङको यो पुण्य दिनमा सबै मित्रहरुको सम्झना गर्न चाहन्छु )। जानी नजानी केही लेखिन्थ्यो । रमाइलो हुन्थ्यो, रमाइलो लाग्थ्यो अनी खुशी पनि । बोस्टनमा आयोजना गरिन लागेको एउटा साहित्यिक सम्मेलनमा आगमनको निमन्त्रणाको लागि राहुलभाइ दाजुसँग कुराकानी गर्ने अबसर मिल्यो, साझा मार्फत । उहांको संपर्क नम्बर प्राप्तिपछीको कुराकानीले एउटा नातामा एउटा इट्टा थपिदिने काम गर्‍यो । कुराकानीकै क्रममा मैले राहुलभाइ दाजुलाई डट कम मा कुनै साइट चलाउने इच्छा जाहेर गरें । उहांले यसमा जानकारी हुनुपर्ने अनी समय पनि दिनुपर्ने हुनाले बरु भर्खरै खुलेको "दौंतरि"मा सहभागी हुन आग्रह गर्नुभयो । तत्काल "दौंतरि" खोलेर मैले नेपालियनजीलाई संपर्क गरें । उहांले मलाई ब्लग, यसको उपयोगिता र आनन्दको बारेमा जुन जानकारी र सहयोग गर्नुभयो, त्यो अमुल्य सहयोगको लागि उहाँप्रती म खुल्ला दिलले आभारी छु ।


हलुका जानकारी भएपछी ब्लग शुरु गर्ने नशाले छुन थाल्यो । राजाको काम, कहीले जाला घाम भनेजस्तो । कहीले काम सकिएला र जानी नजानी कम्प्युटरमा ब्लगको कखरा कोरुं झै हुन्थ्यो । नाम के राख्ने भन्ने कुरोले नि सतायो । यसो सोचें, घोत्लिएं, खोतलें । मरे जुर्दैन नाम । गोडा बिसै मिनेट सोच्यो, खेस्रा बनायो अनी त्यो नाम राम्रो लाग्दैन । फेरी घोत्लियो, जुरायो अनी चित्त बुझ्दैन । जे पर्ला पर्ला, नाम मात्रै के हो र भन्ने सोचेर आफ्नो ब्लगको नाम "खुल्लामन्च" राख्ने निधो गरें र तत्कालै आफैं त्यसको न्वारान गरिदिएं । खुल्लामन्च लाई 'खुलामन्च' लेख्ने वा 'खुल्लामन्च' राख्ने, त्यो पनि सोच्नु पर्यो भनेर गोड्याड्डी डट कममा 'डोमैन' खोज्न थालें । 'खुलामन्च' नामको साइट पहीलेदेखी नै सुचारु रहेछ । तराइबाट धेरै पहीले एउटा मित्रले सन्चालन गरेर छाड्नुभएको 'एक्स्पाएर-डोमैन्' "खुल्लामन्च" नै मिल्यो । मिती नाघिसकेको, सन्चालनको प्रयास पून: नगरिएको र प्रतिलिपी अधिकारको कानुनपनि नलाग्ने ठहर गर्दै, यसरी मैले आँफै ब्राहमण र वकिल भएर "खुल्लामन्च" आफ्नो नाममा पास गराएं ।

शुरुका दिनमा बोस्टन वरपर कर्यक्रममा वाचित कबिता र साझाको ब्लगमा राखिएका कबिताहरु राखें । गूगलबाट ब्लगभित्र छिरेर जानी नजानी चलाउदा चलाउदै एउटा रुप निस्क्यो । नेपालियनजीको निरन्तर सहयोग र बसन्त गौतम दाजुको सल्लाहलाई हृदयमंगम गर्दै अघि बढें । धन्यबाद, नेपालियनजी । निरन्तर तपाईंको सहयोगको लागि । धन्यबाद्, बसन्त गौतम दाजु, सल्लाह र सुझाबको लागि । र पनि ब्लगिङ एउटा उकाली रहेछ । पारिबाट हेर्दा सजिलो देखिने उकाली चढ्दै जांदा पसिना नचुहाइ त कसरी शिखरमा पुगिइन्छ होला र ? हरपल एउटा आशा लिएर हिड्दै जांदा भगवानले मलाई दिलिप आचार्य दाजुसँग अन्लाईन मार्फत भेट गराए । खुल्ला दिलका धनी उनै दिलिप आचार्य दाजुले झारै झार भएको एउटा पाटीलाई "खुल्लामन्च" बनाइदिनुभएको छ । र यो पक्की मन्च, दरिलो घर र आंटिलो सहयोगको लागि दिलिप दाजुलाई मुरी मुरी धन्यवाद ।

हुदैं जांदा केही कोरिदैं गैयो । केरिदैं आइयो । ब्लग, यो गार्हो काम र गर्हुङो भारी रहेछ । एउटा बालकलाई फकाएसरी फकाइ रहन पर्ने । कुराउनी जसरी पकाइरहन पर्ने । त्यसैले लाग्छ, ब्लगको नाम जुराउनु मात्र भन्दा पनि यसको गुणस्तरियताले ज्यादा महत्व लिंदोरहेछ । कोर्दा र केरिदां भावना र अर्थहिन टासाहरु बेकार लाग्दा रहेछन तर बेकार जिन्दगीका बेकारका सम्झनाहरु भने ब्लगमा आँफै टांसिदो रहेछ । आ-आफ्नो परिभाशा छ, ब्लगको । मेरो लागी ब्लग एउटा बैंक हो । म यसमा च्यातिएका नोटरुपी भावनालाई डिपोजिट गर्छु । बहादुर शाहका पालाका पुराना सुका र मोहोररुपी सम्झनाहरु डिपोजिट गर्छु । तर ब्याजको आशा छैन, न जिन्दगीले ब्याज पायो, न जिन्दगी ब्याजमा राखिन्छ, न जिन्दगी डिपोजिट नै हुन्छ । नपाउने चिजहरु पाउन ब्लग चाहिंदो रहेछ । पाउने चिजहरु राख्न ब्लग चाहिदो रहेछ । बिरक्त, उमङ, सम्झना, कथा र जिन्दगीको सारांश रहेछ - ब्लग । मैले त यसरी पो बुझेछु ।

'एउटा बिरामीको बिछोड प्रेम कथा' लेखें । आँफैलाई रमाइलो लाग्यो । सत्य घटनालाई यसरी मज्जाले राख्न पाउंदा । 'प्रधानमन्त्रीलाई खुल्ला पत्र' टांसे, दु:ख लाग्दो रहेछ, देश रोएको लेख्न । 'तिमिलाई लेखेको चिठ्ठी' राखें, मन कुडिंदो रहेछ, बिरक्तका दिनहरु सम्झदा । र पनि ब्लग एउटा नशा भएको छ । बरु श्रीमतीको माया छोड्न सकिंदो रहेछ । तर ब्लग त अ हं, मरेपनी भुल्न गार्हो । यो कस्तो अनौठो नशा गांठे । 'श्रीमती, कम्प्युटर र सौता' धेरै पढिएको लेख भएछ । सधैं श्रीमतीको सौतामाथी लर्बराउने हातहरु लजाउदां रहेछन्, श्रीमतीको नजिक जान । खै, कुन डरले पो हो ! त्यसो त, यात्रा, स्मरण, अनुभब, घटना र सम्झना जति कुवाए पनि नअघाउने भएको आजकाल, यो ब्लग भन्ने जात ।


र, अन्तमा, मेरो खुल्लामन्चे एक बर्षको यो उकालिमा साथै यो चौबाटो जिन्दगीको अनौठो उकालिमा चौतारी, दौतरी, मित्र भएर हौसला, साथ र प्रोत्साहन दिनुहुने सम्पुर्ण तपाईंहरुमा खुल्ला दिलले यो "खुल्लामन्च" को आभार छ । आगामी दिनमा पनि यो जिन्दगीको उकालिमा हामीहरु सबै, सधै, संगै उक्लने नै छौं । दिपावलीको मंगलमय शुभकामना सहित्, फेरी पनि धन्यवाद । ह्याप्पी ब्लगिङ !!!
Read more >>

30 September 2009

तिमीसँग मैले के-के मागें !


तिमीसँग मैले फूल मागें,
तिमीले मलाई भूल दियौ ।
आशा मागें, खुशी मागें,
दिल मागें, सुख मागें,
तिमीले केबल खेलौना दियौ ।
प्रोत्साहन मागें, उमंग मागें,
तिमीसँग मैले सान्त्वना मागे ।
तिरस्कार दियौ, निराशा दियौ,
तिमीले मलाई खरानी दियौ ।

एक चोटि होइन, लाखौं पटक मागें
यसै होइन, हात जोडी मागें,
निहुरेर मागें, ढोगेर मागें,
मलाई तिमीले श्राप दियौ ।
लेखेर मागें, चिच्याएर मागें,
जोगी भै मागें अनि भोगी भै मागें,
तिमीसँग मैले रोगी भै मागें ।
उपहास दियौ, अन्धकार दियौ,
अब कहिल्यै नखुल्ने ढोका दियौ,
तिमीले मलाई धोका दियौ ।


तिमीसँग मैले वाह्-वाही मागें
तिमीले मलाई रिस दिलायौ,
मैले तिमीसँग ओखती मागें,
मलाई तिमीले बिश पिलायौ ।
मल्हम मागें, पट्टी मागें,
एउटा टेक्ने लठ्ठी मागें,
म फलेको फल सम्झेर होला
तिमीले मलाई झट्टी दियौ ।

मैले बिलौना मागें, फेरी आंशु मागे,
मलाई तिमीले रवाफ दियौ, घमन्ड दियौ ।
तिमीसँग मैले थपडी मागें,
तिमीले मलाई थप्पड दियौ,
सम्झना मागें, बिर्सना मागें
मलाई तिमीले झझल्को दियौ ।
तिमीसँग मैले,
एक त्यान्द्रो जिन्दगी बांच्ने रहर मागें,
मलाई तिमीले,
रातका हजारौं प्रहरहरु दियौ ।

मैले तिमीसँग के-के मागें ?
तिमीले मलाई के-के दियौ ?
Read more >>

26 September 2009

बड़ा दशै - ०६६ को शुभकामना !


बड़ा दशै - ०६६ को सुखद उपलक्ष्यमा संसारभर छरिएर रहनुभएका बुवा-आमा, दाजू-भाई, दीदी-बहिनी तथा मित्रहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु / तपाइका हरेक पाइलाहरु सदा प्रगतिपथतिर लम्किरहुन अनि दुर्गा भबानी सदा दाहिना रहुन /
Read more >>

05 September 2009

हाम्रो इज्जत :


एक लाख अर्जेन्टिनी सेनालाई १० हजार गोर्खाली बिरहरुले खुकुरिको भरमा युद्ध जितेकाले संसारभर प्रख्यात 'द्धितिय विश्वयुद्ध र गोर्खालिको बहादुरी' हाम्रा लागि बिरताको एउटा इज्जत भएर बचेंको छ । चाइनाले सगरमाथा आफ्नो भु-भागमा परेको दावा गरिंरहदा हाम्रो तर्फ "टाकुरो" को मुख परेकाले ? सगरमाथा छ है भन्ने सत्यताले हाम्रो इज्जत बचिंरहेको छ । नेपालबाटै अलिशान दरबारको मोह त्यागेर एकाबिहानै बोधगया भागेका ति महान बुद्ध भगवानलाई आफ्नो साख्खै छोरो दावी गर्ने भारतको अगाडि लुम्बिनिमा केही अस्थिपन्जर बचेँकाले बुद्ध नेपाल भन्ने मुलुकमा जन्मेको भन्ने दबाबले हाम्रो इज्जत बचेँको छ ।


बालककालमा सोंचिन्थ्यो, घरमुनिको दरौंदी नदी बगेर त्यो पानी कहाँ पुग्ला भनि ? पांच र छ कक्षा हुँदैं भुगोल बिषयमा पछी पढियो, दरौंदी मात्र होइन सप्तगण्डकी जस्ता सयौं बिशाल नदीहरु बगेर भारत जांदा रहेछन । बाफ भएर नसकिने अमुल्य ति सयौं खोलाहरु हामीले सित्तैमा भारतलाई दिंदा पनि पानी र सम्झौतामा भारतसँग हाम्रो इज्जत कहिल्यै रहेन । सयौं सरकार बने, तिनले हजारौं हस्ताक्षार गरे - भारतसँग । ति हस्ताक्षारिहरुले सयौं किल्लाहरु उपहार दिए, फर्कदा श्रीमतिलाई एउटा सारी र राष्ट्रलाई भारतिय होटेलको बासी तन्दूरी पोको पारी ल्याए । ताज महलमा फोटो खिचाए, साउथ ब्लकमा गएर हस्ताक्षर गरे । तिनलाई थाहा छैन, हस्ताक्षार के मा गरेको ! भारतीयहरुले स्वागत पुस्तिका भनि हस्ताक्षार गर्न फुल्टिनी कलम तेर्साउंथे, तिनका बाउका के जान्थ्यो र ? आँखा चिम्लेर धस्काइदिन्थे - पुस्तिकामा सहि । नेपाल फर्कदां सिमा स्तम्भहरु सारीन्थे, सब चुप । किनकी तिनले स्तम्भ सार्ने इजाजत दिन सहि गरेर आ'काथे । यस्ताका सोझा प्रजा हामी,आफ्नै घरको खांबो भत्काउंदा'नी हेरिरहने तिनका कार्यकर्ता, अनी कता हुने हाम्रो इज्जत ?


बहुजाती र बहुभाशी मिलेर बस्ने कुनै जमानाको 'एकताको' देशमा आज राष्ट्रप्रमुखहरु तिनका आमाले बोकेका दर्दका भाषा बुझ्दैनन । सपथ खानु त मामुली भैसक्यो हिन्दिमा । अब हामी छिट्टै नेपाली मन्त्रालयहरुका बोर्डहरु हिन्दी भाषामा लेपन भएका देख्नेछौं । नेपाली राजनेताहरुले बोल्ने भाषा अब हिन्दी मात्र हुनेछ । सुदहरुले भित्र-भित्रै भारतीय भाषा विश्वबिद्धालयहरु खुला गरिसके । केन्द्रिय क्याम्पस किर्तिपुरमा प्रमुखहरु कुटीइरहंदा लैनचौर विश्वबिद्धालयमा हाम्रा राजनेताहरु सुदहरुसँग कक्षा लिइरहेका हुन्छन । त्यसैले त हाम्रा राष्ट्रप्रमुखहरु सुदको आदेशमा चुप लाग्छन, न सपथ खान्छन त न राजिनामा दिन्छन । परदेशी भाषा र नैतीकतामा मानार्थ ति बिद्धानहरुका अनुयायी हामी सोझाका के इज्जत ?

हाम्रा प्रधानमन्त्री भारत जान्छन, बिचरा स्वागत गर्न फुर्सदमा बसेकी बिना बिभागीय मन्त्री आउंछिन । हात मिलाउंछिन, संगै लिएर जान्छिन । तिनतारे होटेलमा बस्छन, प्रधानमन्त्री । ससुराली जांदा बरु बढी इज्ज्त पाईन्छ गांठे । भारत जांदा राम बनबास गए जस्तो । मनमोहन सिंह ससुराली गएका रहेनछन भने झुल्दै आउँलान भेट्न नत्र सोनियासँग हात मिलायो, कोलकोटा गयो, भतिज भेट्यो अनी फर्कन्छन, हाम्रा राजनेता । न तिनका मन्त्रीका बोली सुनिन्छ ! न तिनका सम्झौताका फाइल खोलिन्छन ! तर, उता भारतका बकम्फुसे जो आए पनि राष्ट्रपती पहिल्यै बिमानास्थल पुग्लान भन्ने डर ! हिन्दी बोल्ने भारतीय मामुली अधिकारी नेपाल आउने बेला रुखका पात पनि हल्लिन छोड्छन, सुर्यका तेज काम हुन थाल्छन, हंसिया सोझिन थाल्छन, मादल बज्न छाड्छन् । मार्क्सका फोटोहरु टेबलमुनि घुसारिन्छन । पुरा नेपाल बन्द हुन्छ । कस्तो अचम्म, हाम्रा राजनेता सत्तरी जना साथ भारत सवार हुंदा रिक्सामा साउथ ब्लक पुग्छन भने पाजी भारतीय अधिकारी नेपाल आउंदा सब ठप्प । तिनलाई राजाकिय सम्मान । स्वर्गबाट ईन्द्र झरे जस्तो । अनाहकमा दु:ख दिने यस्ता रैथानेहरुका जनता हामीहरुका के इज्जत ?

भैरहवा हुंदै कलकत्ता बन्दरगाह निर्यात हुन्छ, हाम्रो इज्जत । रक्सौलबाट मुम्बई थुपारिन्छ, हाम्रो इज्जत । साउथ ब्लकमा निर्णित हुन्छ, हाम्रो इज्जत । नेपाली बिद्धालयका भन्दा बढी पूजित हुन्छ, भारतीय प्रमाण-पत्रहरु । गोल्ड स्टार जुत्ता भन्दा शानदार लाग्छन, भाईयाका उत्पादनहरु । तिनका धोतीहरु बढी बिक्छन, हाम्रा सुतिका कपडा भन्दा । हामीले फेर्ने श्वास पनि उतैबाट आए जस्तो । जन्मेदेखी अन्तसम्म जिबनका हरेक पाइलाहरुमा प्रभाबित हाम्रा यस्ता दिनचैर्याहरुमा के चैन अनि हाम्रो के इज्जत ?
Read more >>

02 September 2009

मेरो देश बन्द :


निमुखाको मुख सदा बन्द
गरीबको गांसै बन्द,
रुकुम जाने बाटो बन्द
जाजरकोटमा जीबन जल बन्द ।

पाइपबाट आउने पानी बन्द
सुन पग्लने खानि बन्द,
खुन बग्ने शरीर किन हुँदैंन, मर्न बन्द ?
हामी केबल जन्मेका हौं र आमाको मुख, गर्न बन्द ?

झापामा चामलको डिपो बन्द
कुलेखानिको मुहानै बन्द,
अस्पताल बन्द,
मेलम्चिको आश अब बन्द,
त्यो गाउं बन्द, यो गाउं बन्द
सतिले सरापेको बुद्धभुमी बन्द !

यो युद्धभुमी सधैं हुने भो बन्द
यो रणभुमी नखुल्ने गरी हुने भो बन्द,
मेरो आँखाको आंशु नहुने भो बन्द
आशाको श्वास बरु हुने भो बन्द ।

हामीलाई ठग्नेहरुको काम नहुने भो बन्द
चुस्नेहरुको अभिलाषा पनि नहुने भो बन्द,
सिमामा गोरुले चर्न नगर्ने भो बन्द
राष्ट्रघातीले आश्वासन छर्न नगर्ने भो बन्द !!

त्यो ढोका बन्द, उनको गोठै बन्द,
बोल्नेको मुख बन्द, नबोल्नेको आस्था बन्द,
गांस बन्द, कपास बन्द, म बन्द, तिमी बन्द,
मेरो घर बन्द, गांउ बन्द, शहर बन्द
गरीबका ति कठोर रहर बन्द ।
सब चिज बन्द अनी सबथोक बन्द
कहीं नभएको मेरो मात्र देश किन बन्द ?
मेरो देश सधैं बन्द,
मेरो देश बन्द ।
Read more >>

25 August 2009

नेपाली बालिका उपाधी जित्न सफल :


गोरखा जिल्लाबाट करिब चार बर्ष अगाडि बुवा ध्रुब घिमिरेको ग्रिन कार्डमा सुनौलो सपना बोकेर आफ्नी माता राधिका घिमिरे सँग अमेरिका छिरेकी नौ बर्षकी बालिका ओशिन घिमिरे म्यासाचुसेट्स राज्यमा 'नेशनलस, इन्क, प्रेजेन्ट्स' द्धारा आयोजित 'मिस जुनियर प्रि-टीन, बोस्टन - २००९', उपाधी जित्न सफल भएकी छिन् । अमेरिकाका प्रत्यक राज्यबाट छानिएर एक बिजेता लाइ आगामी डिसेम्बर महिनामा फ्लोरिडा राज्यको ओर्ल्यान्डओमा आयोजना गरिने 'मिस जुनियर प्रि-टीन, यू यस् ए - २००९' मा प्रतिस्पर्धा गराइने प्रतियोगितामा ओशिन म्यासाचुसेट्स राज्यको प्रतिनिधित्वको साथमा प्रतिस्पर्धा गर्नेछिन ।

कक्षा चारमा अध्यरनत समरभिल नगर निवासी ओशिन म्यासाच्युसेट्स राज्यका १३५ प्रतिस्पर्धिलाई उछिनेर उक्त उपाधी चुम्न सफल भएकी हुन । तीन बर्षको उमेरदेखी नेपालमा रहंदा आफ्ना समाजमा आयोजना हुने सांस्कृतिक कार्यक्रमदेखी सहभागिता जनाइरहेकी उनी अमेरिका आएदेखी बोस्टन क्षेत्रमा आयोजना गरिने र गरिएका हरेक कार्यक्रममा आफ्नो सभागिताले प्रतिभा प्रदर्शन गर्दै आएकी छिन् । यसै शिलशिलामा अर्की बालिका श्वेता तमाङले पनि उक्त कार्यक्रममा ओशिनसङै 'फोटोकेनिक' को उपाधी जितेकी छिन् ।

सात समुन्द्र पारी आएर आफ्नो कला र कौशलताले प्रख्यात परदेशी उपाधी हात पार्नु पक्कै तमाम नेपालीको इज्जत र गौरबको कुरो त छदैंछ, र फेरी अमेरिका भरिका प्रतिस्पर्धिलाई उछिनेर एक निश्चल नेपाली बालिका आगामी डिसेम्बरमा आयोजना हुने 'मिस जुनियर प्रि-टीन, यू एस् ए', मा सफल नहुने के नै कारण छ र ? त्यो गौरबमय उपाधिको लागि ओशिन घिमिरेलाई शुभकामना !!!
Read more >>