08 February 2010

पर्समा फोटो !


तपाईं खुरुक्क हेर्नु त, तपाईंको पर्समा केको-कसको फोटो छ ?
तपाईं जवान/अबिबाहित हुनुहुन्छ भने त अरु कसको फोटो होला र ?
बिबाहित हुनुन्हुन्छ भने चाँही प्राणप्यारी अर्धाङ्गिनी/जीबनसङीनी कै त होला । भाउजुको फोटो छैन भने तपाईंको खैंरियत ठीक छैन, कुनै दिन कुन चाहिंले पोल खोल्देला है, होसियार !

त पूरानो कुरो याद आयो । म र मेरो दाजु बर्षा याममा एक दिन दरौंदी नदीको फांटमा झाटेंको गहुंको नल लिन भनेर तेर्हकिलो बजार हुदैं झर्दै थियौं । ती दाजुका आफ्ना दाजु चाँही काठमान्डौ तिरका जागिरे । यसो दशैमा मेसो पारेर दिएका पैसा रहेछन्, उनिसित । त्यो पैसा सदुपयोग गर्न पैसा हाल्ने एउटा समान (पर्स} किन्ने कुरा निकाले । म सँग जम्मा सात रुपैया थियो, त्यसदिन । तर पर्सलाई १० रुपैया पर्दो रहेछ । मेरा ती दाजुले मलाई ३ रुपैया हालिदिएर सेन्थेटिकको पर्स किनिएछ है गांठे, जिबनमा पहिलो पटक्, त्यो बेला म आठ कक्षामा पढ्दो हुं !

यति त जतन गरेर राखिएन, मेड इन चाइनाको त्यो सेन्थेटिकको माललाई । पैसा हालेर गोजीमा राख्नुपर्ने बिखयलाई पूजा गरेर खोपिमा राखियो । स्कुलमा साथीहरुले बरफ् किन्दा 'पर्स' निकालेको देखेर सीको गर्न खोपी बाट झिकेर खोल्तितिर हालियो । त्यो भित्र पैसा राखेर गोजिमा हाल्न पाए त हुन्थ्यो नि, रित्तै भोकले गोडा दुई चारेक बर्ष आँशु झार्दै रोयो, बिचरो त्यो सेन्थेटिके । सधैं खाली । म त पेट भर्न च्याख्ला र ढिडो खान्थे, तर त्यसले पैसाको चामलको भात कहिल्यै पाएन, बिचरो । सधैं भोको राख्नु पाप ठानेर मैले बरु फोटोको खाजा दिने निधो गरें ।

केही त राख्नु पर्यो, सम्झना र कल्पनामा बुनिएकाहरुको चित्र मनले खिचेर राखियो । त्यतिबेला क्यामरा कसको बाउको पाउनु । पाखामा भलाया टिप्न जांदा तिनका दाजुहरुले मलायाबाट ल्याएका क्यामराले खिचेका फोटाहरु नदेखिनेगरी छिपाएर त्यो पर्समा राखियो । साल काट्न जादा भारीले किच्न लागेको 'साहिलि'को तस्बिर पनि राखिएछ । पछी काठ्मण्डौ आएपछी सेन्थेटिक छाडेर ल्यादरको पर्स बोक्न थालियो । अनी त्यसभित्र राखिने फोटाहरु पनि फेरिन थाले । ती सबै अहीले नै भन्नु पर्ला र भन्या ?

बिदेशतिर त पर्समा कुकुर र बिरालाका फोटाहरु राख्दा रहेछन्, तिनले 'प्रेमी र प्रेमिका' हरुको फोटो नपाएर हो कि त !
नढांटि हेर्नु त तपाईंको पर्समा कसको फोटो छ ?
Read more >>

20 January 2010

प्रेम, विवाह र एक दशक :


हिजो जस्तो लागेको थियो, बालाखामा स्कुल गएको । साथीहरुसँग तितेपातिलाई झुप्पो बनाएर चुङ्गी खेलेको, सडकको किनारामा बस्तुभाउका दिशापिसाब प्रबाह नगरि आँफैले बत्ताएको गुच्चा टिपेको । समय त धेरै अघि बढिसकेछ, गांठे, पत्तो नपाइकनै । जुनियर रेड्क्रस, स्काउट र बिद्धालय स्तरिय कर्यक्रममा जिल्लाका कुन कन्तरा घुमेका दिनहरु पनि हिजै जस्तो लाग्छ । झम झम पानी परिरहंदा लुदी खोलो तर्न नसकेर ढुङ्गा-गाडे भञ्ज्याङको उकालो हुँदै मामाघर जानेगरेको पनि हिजो जस्तो लाग्दैछ । दरौंदिमा मात्र होईन लुदी र सिर्दी खोलोमा पनि धेरै पनि र भेलहरु बगिसकेछन । बिगत सम्झदा झल्यास्स हुन्छु, यो जिन्दगीले पनि जवानी र सम्झनाका धेरै अत्यास र झेलहरु भोगिसकेछ ।

टन्टलापुर घाममा घैया गोड्दा-गोड्दै के सुर चलेर पो हो, नेपाल(काठ्मान्डौं) छिरियो । हिजै जस्तो लाग्छ, कमाउन राजधानी छिर्दा साझा बसको झ्यालबाट बान्ता गर्दै बीर अस्पताल निर झरेको । त्यो सांझ बासको लागि गाउलेहरुको कोठा चाहारेको, गोङ्गबु जानु पर्ने मान्छे गल्कोपाखा तिर लागेको । अस्कलको अगाडि जीवनमा पहिलो चोटि म:म: खाएको, बुढी भैसिंका ती डल्लाहरु 'पाचन' नभएर साथीको कोठामा जीबन-जल पिउंदै सात दिन लम्पट परेको । कहिल्यै केही देखेको भए न हो, यो जिन्दगीले बुझ्ने । कहिल्यै केही सिके न हो यो ज्यानले जान्ने ! त्यसो त हिजो जस्तै लाग्छ, पहिलो जागिरमा अफिसको भुइं पुछीवरी टालो पखाल्न धारो खोल्दा सावर खुलेर जाडो याममा लगाएको सुइटर सहितको आफ्नो सारा कपडा भिजेको । अहिले हिजो सम्झदा दङ्ग लाग्छ, यो ज्यानले चाइनाका धेरै जाकेटहरु लगाइसकेछ, धेरै जोर गोल्ड्स्टार जुत्ताहरु फटाइसकेछ, कयौं जोर बङगाली मोजाहरु प्वाल पारिसकेछ ।

अनुभब र भोगाइ संगै जिन्दगीले 'प्रेम' पनि चाहंदो रहेछ । त्यो प्रेमलाई जसरी अर्थाए पनि मज्जाले सरल रुपमा अर्थिंदो रहेछ । नौलो जवानीको अनौठो प्रेमको खोजिमा शायद सबैका आत्मा लागेकै हुने होलान । मेरा कल्पनाहरु पनि लागे होलान । र भन्नै पर्छ, मेरो कल्पना केबल कल्पनामा मात्रै सिमित नरहेर 'त्यसको' खोजाइमा लाग्यो । वास्तविक बुझाइमा लाग्यो । प्रेम खोज्ने लालसामा कतिका किताब पढ्न मागेर फर्काउंदा 'पत्र' सामाबेश गरिकन फर्काइयो होला भनेर पनि कसरी भनुम ! स्कुलको कक्षामा भलाया सित कापिका पानाहरु साट्दा मनका तर्कानाहरु पनि त्यसैमा लेखी साटियो की भनेर पनि कसरी भनुम ? स्कुलको सदन छुट्याउंदा आफु टोली नेता हुँदाको बखतलाई मौका छोपेर 'मन परेका' हरुलाई आफ्नै टोलिमा पार्न पाए हुन्थ्यो या पारियो कि पनि कसरी भनुम ? मन परेकाहरुलाई कांचो आंप टिपेर मन जित्ने आशामा कति कांचा आंपका गेडाहरु हल्लाइयो पनि कसरी भनुम ? यस्तै सोचाइ र कल्पना हुदैं बित्दो रहेछ, जिन्दगी । र पो पत्तो नहुंदो रहेछ, यति चाडो समय बितेको र आफ्नो जिन्दगीले नेटो काटेको ।

राजधानी छिरे पछि पनि ती भलाया र आंपका गेडाहरु कसरी भुलिन्थे ? काँचो मासुको म:म:ले स्कुले जीवनको काँचो आंपको स्वाद कसरी भुलाउथ्यो र ? शहरको रमझमलाई वास्ता नगरी ती दिनहरुले 'शुरुवाती प्रेम पत्र'हरु सम्झन थाले । स्काउट , रेड्क्रस, बिरेन्द्र शिल्ड, हाजिरिजवाफ प्रतियिगिताहरु र सम्झनाहरु याद आउन थाले । त्यहि त हो, भरखरै लेख्न शुरु गरेको 'शुरुवाती पत्र'को अधुरो उपन्यासलाई पूरा गर्न मन लागेर आयो । राझधानीको कोलाहल बसाइमा जिन्दगीले नयाँ कलम र कापी खोज्न थालेछ । ठमेलको स्टेशनरिमा खोज्न थालिएछ, नयाँ डायरि । कलेजको कक्षा कोठामा खोज्न थालिएछ, उपन्यासको शिर्शक । पुस्तकालयमा खोज्न थालिएछ, उपन्यासलाई सहयोग पुर्याउने खालका अरु खजनाहरु । आफु जता पुग्यो त्यतै खोजिएछ, एउटै शिर्शकको त्यो 'प्रेम' र त्यसको तात्पर्य ।

दिनहरु बित्दै गए । खोजाइहरु रोजाइमा परे । कलेज शुरु भएदेखी पढाइ सकिंदा सम्म लेखिएका उपन्यासका भागहरु फेरी-फेरी बिस्तारमा लेख्दै जाऔंला । तर यो वास्तविक मैले भन्नै पर्छ कि, मैले उपन्यास लेखी सकेछु । बिडम्बना त्यहि हो कि, मैले लेखेको 'प्रेम उपन्यास' प्रकाशित गर्न सकिन । तर लाग्छ, प्रकाशित उपन्यास मात्र 'प्रेम' होईन । अथवा प्रेम सधैं सबै प्रकाशित र प्रचारित हुनु पर्छ भन्ने छैन र नहुंदो पनि रहेछ । मलाई त्यस्तै पर्‍यो र प्रकाशानार्थ असमर्थ भएछु । र पनि जीवनले शिर्शक र त्यसको भावनालाई भुलेन, सत्यतालाई भुलेन । लेखिएका भाबहरु अप्रकाशित भएपनि लेखकले दु:ख गरि लेखेको शिर्शक कहिल्यै भुल्दैन । मैले प्रेम भुलिन । कसैलाई भुलें होला तर अहं प्रेम भुलिन ।

भनिन्छ नि, धनले प्रेम कहाँ किन्न पाइन्छ । अप्रकाशित र असफल माया भन्दा मनले रोजेको आत्मिय प्रेम मेरो जीबनमा बिबाहमा परिणत भएको दिन जत्तीको खुशीको दिन कहीले आउला र ! गुमाएका चिजहरु त गुमिगए, झरेका फुलका थुङ्गाहरु झैं । तर फेरी आँफैले रोपेको गुलाबको बोटमै फलेको सुन्दर ताजा 'गुलाब'को थुङ्गा भन्दा प्यारो के हुन्छ र ? साचो प्रेमलाई शाइत पनि नचाहिदो रहेछ र त आजभन्दा ठीक दश बर्ष अगाडि सरस्वती पूजाको दिन भएको मेरो बिबाह आज 'एक दशक' पो भएछ । कत्ति छिटो बगेको समयको खोलाको पानी । नबगाएपनी बितेको पत्तै नपाइने । धन्य छ जिन्दगि, अनि सरस्वती माता । एक दशकको यो लामो बैबाहिक जिन्दगी आनन्द र सन्तोशका साथ बिताउन 'सरस्वती बरदान' मिलेकोमा । । अनी धन्यवाद मेरी अर्धाङ्गिनी, हरेक कस्ट र अड्चनहरुलाई सहजै सरल ठानी लामो जिन्दगीको प्रत्यक पाइलामा साथ बनेकोमा । धन्यबाद्, असल प्रेम - यो प्रेम, विवाह र एक दशकको दिन ।
Read more >>

31 December 2009

शुभकामना, नयाँ बर्षको !


निमुखाहरुको 'एउटा आश' बनेर आओस्, नयाँ बर्ष
सुकुम्बासीहरुको 'भरपर्दो बास' बनेर आओस्, नयाँ बर्ष,
भ्रस्टहरुको 'सत्या नाश, बनेर आओस्, नयाँ बर्ष
बिक्रितीहरुको 'खल्लास्' बनेर आओस्, नयाँ बर्ष ।

यो नयाँ बर्ष २०१० ले तपाईंहरुलाई सुख, शान्ति र उन्नतीहरु मात्र दिलाओस्, यही मेरो शुभकामना छ ।
Read more >>

24 December 2009

हत्कडी !


पत्रकार महासङ्घ, गोरखाका सभापति किशोर थापा, टिका बिष्टलाई आक्रमण गर्ने अपराधी पक्रन, सरकारलाई "हतकडि" प्रदान गराउन,प्रमुख जिल्ला अधिकारीलाई "हतकडि" बुझाउदै,
फोटो साभार : अमेरिका दर्पण


हरे ! नेपालको कानुन,
र यो कसैको हातमा नबाधिंने हतकडि !
मनलाग्दि गर्यो, जेल गयो,
बाधिंदा-नबाधिंदै फुस्कने "आदेशी" हतकडि ।

उमा सिंह मरिन, मारीइन,
अपराधीको हातले देखेन त्यो हतकडि ।
'रणबीरहरु'का शेर ऋशिका हातले सलामी पाए,
महान ती पत्रकार ? ले हेर्नै परेन हत्कडि ।

जति बन्दुक छन्, त्यति त नहोलान,
हाम्रो मुलुकमा हतकडि ।
अशान्ती बन्दुकका नालहरु पड्किन्छन्,
तर खियाले खान्छ, त्यो हतकडि ।

नाबालकहरुको हातमा मज्जाले जेलिन्छ,
नयाँ नेपालको हतकडि ।
टिका बिष्ट कुट्नेहरुलाई,
किन चाहियो हतकडि ?

प्रयोगमा नआइ लोप हुने भो,
मोबाइल आए पछी, हतकडि ।
ब्वांसाहरुका सभामा, आहा कति मान्छे ?
खाली ताली र थपडि,
तिनैका भरौटे भए पछि,
के काम टिटानस सर्ने त्यो हतकडि ?
Read more >>

14 November 2009

कृत्रिम ओखतीले धानेको दिनचैर्या :


यतातिर बिहानिपख भालेहरु बास्दारहेनछन्, न त सुनौलो घाममा हिमाल नै हांस्दारहेछन । सबेरै उठ्ने परदेशको बाध्यता अनी आफ्नो मुलुकमा भाले बास्ने समयमा काममा पुग्नुपर्ने अपरिहार्यताले प्राय; सबै परदेशीहरुलाई सताएकै हुन्छ होला, शायद । अदभुत बिकासको यो जमनामा हाम्रा कति भाई बहिनीहरु नोकर चाकरको रुपमा स्वदेशमै पीडित रहेको बेलामा 'पैसा कमाउने' ध्येयले परदेशिनेहरुको दु:खको पोको दुई शब्दमा कहाँ लेखेर सकिएला र ?

आफ्नै देशमा हल गोरुले खोरिया जोत्दा कहिल्यै थकाईको आभाश भएन । बिहान चार बजे उठेर दांइ गर्दा यो ज्यान थाकेन । एक घण्टाको उकालोमा मुरिका मुरी धान यही पिठ्युले खेप्यो र पनि ज्यान गलेन । बाउ छोरा भएर घैयाका परालका टौवाहरु ठड्याइन्थ्यो र पनि ज्यान अझै फुर्तिलो हुन्थ्यो । परदेश, तर यो परदेशमा आफुले बिगतमा खेपेका भारिहरु भन्दा केही कम शक्ती लगाउनु पर्ने काम गर्दा पनि ज्यान सडेर छैन उही हल गोरु जोत्ने "नारा" जस्तो भएको छ । यताउती जांदा केही मोटाएका आफन्तीहरु पनि भेटिन्छन्, या बडा भूंडि हल्लाउदै हिडेका । तर तिनीहरु सहि रुपमा मोटाएका होइनन । उनीहरु आँफै भन्छन्, 'घन्टा हान्दा हान्दै (काम गर्दा गर्दै) मरिएला भनेर शक्ती दिने ओखती (इनर्जी ड्रिन्कस) को कमाल हो, बाबु यो मेरो बढेको भूडि ।" आफु पनि त्यहि ड्याङ्गको 'घन्टे' भएकोले ज्यादै थकित होइन्थ्यो, भइन्छ । बिहान सबेरै सुनसान सडकको किनारै किनार काम र दामका खातिर यो ज्यान चलाउंदा राती कति बेला फर्कने खासै ठेगान हुदैन । निरन्तर छलेको मेशिन त बिग्रन्छ भने हाम्रो त ज्यान, यही एउटा शरीर । कति थाक्दो हो, दर्द हुदो हो ! फेरी दु:ख सबैलाई भनिरहने कुरो पनि त होइन रहेछ । त्यसैले साच्चै के रहेछ त, इनर्जी ड्रिन्क ? यसले थकित शरीरलाई शक्ती दिलाउला त भनेर केही दिन खोजतलासमा भौतारिएं । आफ्नो जन्मभुमिमा मियो हल्लाउने ज्यान सडेर जाने पीरले कामको चापलाई कम तुल्याउन शक्ती पिलान अमृत खोज्न केही पसलहरु चाहारें, मैले पनि ।

परदेशका सबै किराना पसलहरुमा पाइने लाले गोरु (रेड बुल) र राक्षस (मोन्स्टर्) नामका शक्ती दिलाउने भनि लेखिएका झोलहरु फेला परे । आफु काम गर्ने ठाउंमा पनि त पाइने रहेछ, त्यो झोल । तर के थाहा ? कुन चराको नाम हो, पहीले त्यो ! शक्ती पाउने लालसामा कूलरमा लुकी लुकी खुबै पिएं, पहीले मैले त्यो । अरुण थापा दाईले प्याला पिए जसरी नै । पिएर बोत्तल सक्न पाएको छैन, के का शक्ती दिने ? ज्यान त काठ्मण्डौको सडकमा टेम्पो चढे जस्तै थर थरी काम्न थाल्ने । ग्राहकको सेवाको लागि हात बढाउंदा त गैडाको खाग चोरेर भाग्दै गर्दा सिमाका पुलिसले समाउंदा अभियुक्तको काम्ने हात जसरी काम्न पो थाले त हातहरु त लाले गोरुका बलले ।

केही दिन रमाइलाका लागि पीइयो । नारायाण गोपाल दाईले 'सुखमा पिएं, दु:खमा पिएं, पिउंदा पिउंदै ............ ' गाए जसै । धेरै पिउन थालियो । बास्तबमा यि राक्षसहरुले हामीलाई नचिनेर पो हो की, त्यति बिघ्न फाइदा गर्दोरहेनछ । लमतन्न हुने गरी सुतिरहन मात्र मन लाग्ने । ज्यान त सधैं भजन नाचे जस्तो । तर क गर्ने काम त गर्नै पर्‍यो । कि हात उठाएर लाग्न पर्‍यो बाटो । हैन बस्न नै छ, यो परदेशमा दु:खको भारी अझै घिसार्नु छ भने त नपीइकन सुख पाइएला जस्तो छैन । सक्नेले किनेर पिउंछन्, कोही कूलरमा छिरेर पिउंछन त म भने पिउन त पिउंछु, कसरी अहिल्यै नभनुम होला । गोठमा पालेको हल गोरु बीच जोडा मीलेन र एउटा गोरुको बलमा अर्को चम्रे गोरु जोत्न सकेन भने बिकल्प खोजिए जस्तै काम कम लाग्ने यी पिउने लाले गोरुहरुको पनि बिकल्प खोज्न थालें, म । परदेशको बिकसित बजारहरु न हो । नपाउने चिज केही रहेनछ, यो दुनियांमा ।

जति डोरी बाटे पनि एउटै गांठो । जति दु:ख गरे पनि एउटै जिन्दगी । त्यसमाथी पनि सात समुन्द्र पारीको, दु:खको यो खैराती जिन्दगी । काम गर्ने स्थानमा पनि सधैं ग्राहकहरु कहाँ बाट आउंथे र ? तिनिहरुका पनि खल्ती रित्तेका छन्, आजकाल । हिजो डेबिट कार्डहरुले भरिने खल्तीहरु हिजोआज 'इबीटी कार्ड' (सरकारले खाना खान दिने नि:शुल्क कार्ड)ले थल्थलिएका छन् । कोही नभएको सुनसान अर्काको त्यो पसलमा मलाई नै हेरिरहेको घन्टाघरको भन्दा अलिकती सानो घडी हेरेर आफ्ना दैनिकी बाँकी घण्टा गन्न थाल्छु, म । 'अझै १३ घण्टा छ, तं पाजी उभिनलाई', यसरी उत्तर दिन्छ मलाई घडीले, मैले सोध्नु अगाबै । आलस्य हुन्छ, मन । जिउ लत्र्याक्क पर्छ । हात पनि चलाएको र चलेको आभास हुदैन, र मनको त के कुरा । कता उड्छ, उड्छ मन । आँफैलाई थाहा नहुंदोरहेछ । आनायसमा बहकिने मन र थिलथिलो परेको ज्यानलाई तन्दुरुस्ती दिलाउनका खातिर काउन्टर अगाडि रहेको '७ घन्टे शक्ती अमृत' राखिएको लोगो पढ्दै म सुटुक्क पिउन थालेको छु । कम से कम सात घण्टा सम्म भने पनी धान्यो भने अरु बाँकी घण्टालाई बासी कफी पिएर चलाउंला भनेर चलाउने गरेको छु । भोली भन्या देखाजायगा ।


बजारमा सामान किन बिक्छ ? अर्थशास्त्रका मित्रहरुलाई बढी थाहा होला । मलाई भने यत्ती थाहा छ । मेरा घरका भकारीहरु रित्तिए भने, कोदो र मकैले पनि छाक टरेन भने म चामल किन्न बजार जान्छु । मेरा छिमेकिहरुका भकारी पनि यसरी नै रित्तिए भने डांडां गामका रत्नेको पसलको चामल बिक्छ । अतएब; दु:खमा पिल्सिएर हामी परदेशिएकाहरुको मनको भकारी जब कमजोर हुन थाल्छ, अनी कमजोर मन प्रफुल्ल पार्न, रोएको आत्माको खुसियाली चेहेरा देखाउन शक्तीको चामलको झोल नपीइ परदेशी साहुहरुका फांटहरु जोत्न साहस नआउने रहेछ । त्यसैले '७ घन्टे शक्ती-बर्धक' झोलहरु पिउंदै म आफ्ना घण्टाहरु कटाउंदै दैनिकी ढाल्दै छु । उन्नाइस घण्टा हर दिन र रात परदेशमा अनेक तरहले खट्ने दाजु-भाइ दिदी बहिनीहरुको पनि आ-आफ्नै दु:खका पोका हरु छन् । फेरी बढी बिकसित देशमा हुदैमा दु:ख कम हुने कदापी सत्य होइन । कुरुप भए पनि आफ्नै जन्मभूमी भन्दा प्यारो अन्त कहाँ के छ र ? त्यसैले जन्मभूमी र आमालाई छोडेर परदेशिएपछि अंमेरिका, भारत्, मलाया, दुबइ, कतार्, जापान्, युरोप सबै एकै हुन । त्यो त परदेशमा दु:खले छाला खुइलिएकाहरुलाई थाहै छ । यी यस्तै परदेशिनुपरेको पिडा, परदेशिएपछी मुखमा माड लगाउन शक्ती मिल्ने लालशामा शक्तिबर्धक कृत्रिम ओखती पिएर हनिएको छ घण्टा र चलेकै छ, जिन्दगी ।
Read more >>

05 November 2009

एउटा परदेशबाट :


सम्झना छ जलेको मुलुकलाई, ढलेको सगरमाथालाई
एउटा परदेशबाट !
सदैब दिन मात्र सक्ने, लिन कदापी नजान्ने आमालाई
सम्झना, एउटा परदेशबाट !

आमाको शरिरमा रातोदिन बलत्कार गर्नेहरुलाई
धिक्कार छ, एउटा परदेशबाट ।
आउने केही बांकी नहुंदा'नी, लाम्टो लुछिरहनेहरुलाई
पुछिदैं नपुछिने आशुंहरुलाई हर रात पुछिरहनेहरुलाई
सम्झना छ, एउटा परदेशबाट !


आफ्नै बस्तिमा अगुल्टो सल्काउनेहरुलाइ,
धिक्कार्दो रहेछ मन, एउटा परदेशबाट !
आफ्नै घरमा शत्रु पल्काउनेहरुलाई
धिक्कार्दो रहेछ मन, एउटा परदेशबाट !

आमालाई ढांट्नेहरुलाइ,
भाइ लाई काट्नेहरुलाई
परदेशीको चाकरिमा
जुठो थाल चाट्नेहरुलाई,
के नै पो भन्न सक्दो रहेछ र मन
एउटा परदेशबाट !
Read more >>

13 October 2009

ब्लगिङको बार्षिकी र एउटा उकालो :



खुबै चिसो शुरु भएको छ, आजकाल । र, यो हो जाडोको मौसम । आज भन्दा ठीक एक बर्ष अगाडि सुन्दर शहर बोस्टनको जाडोमा रहंदा फुर्सदमा के गर्ने भन्ने चिन्ता हुन्थ्यो । बाहिर निस्केर कतै जाऔं भने आंफुलाई पुर्ने हिंउ । केही नगरी खाली हात त्यसै बसौं भने झिन्झ्यार लागेर आउने पिरलो । कामबाट फर्कंदा बेलुकीको समय हुने, र त्यो समय नेपालमा बिहानी पर्ने हुनाले केही साथीभाइ सँग च्याट गरेर बिताइन्थ्यो । रामे र श्यामे लाइनमा आउला र च्याट् गरी समय गुजारौंला भन्ने पनि सधैं कहाँ सम्भब थियो र ? सबैको समय मिल्नु पर्यो, त्यसमाथी पनि नेपालको लोडसेडिङ ! सार्है दिग्दारी लाग्थ्यो, मनमा ।

आफुलाई कम्प्युटर भित्रको गुदीहरु त्यति ज्यादा नआउने । लटर-पटर हटमेल र कोल्डमेल खोल्न र हेर्न मात्र । केही नजाने पछि समय बिताउन गार्हो हुदोरहेछ । साझा डट कममा प्रख्यात 'चौतारी'मा छिरें, एकदिन । त्यहां उपस्थित चौतारिया र भारदारहरुको छुट्टै नाम हुन्थ्यो । जुन अहीले पनि यथाबतै छ क्यार । राहुलभाइ, बसन्त, गोतामे, नेपालियन्, ठरकी दादा लगायत सयौं भारदार मित्रहरुको बिचमा म एउटा बटुवा भएर छिर्दथें ( अझै सयौं साथीहरुको नाम सम्झन नसके पनि मेरो ब्लगिङको यो पुण्य दिनमा सबै मित्रहरुको सम्झना गर्न चाहन्छु )। जानी नजानी केही लेखिन्थ्यो । रमाइलो हुन्थ्यो, रमाइलो लाग्थ्यो अनी खुशी पनि । बोस्टनमा आयोजना गरिन लागेको एउटा साहित्यिक सम्मेलनमा आगमनको निमन्त्रणाको लागि राहुलभाइ दाजुसँग कुराकानी गर्ने अबसर मिल्यो, साझा मार्फत । उहांको संपर्क नम्बर प्राप्तिपछीको कुराकानीले एउटा नातामा एउटा इट्टा थपिदिने काम गर्‍यो । कुराकानीकै क्रममा मैले राहुलभाइ दाजुलाई डट कम मा कुनै साइट चलाउने इच्छा जाहेर गरें । उहांले यसमा जानकारी हुनुपर्ने अनी समय पनि दिनुपर्ने हुनाले बरु भर्खरै खुलेको "दौंतरि"मा सहभागी हुन आग्रह गर्नुभयो । तत्काल "दौंतरि" खोलेर मैले नेपालियनजीलाई संपर्क गरें । उहांले मलाई ब्लग, यसको उपयोगिता र आनन्दको बारेमा जुन जानकारी र सहयोग गर्नुभयो, त्यो अमुल्य सहयोगको लागि उहाँप्रती म खुल्ला दिलले आभारी छु ।


हलुका जानकारी भएपछी ब्लग शुरु गर्ने नशाले छुन थाल्यो । राजाको काम, कहीले जाला घाम भनेजस्तो । कहीले काम सकिएला र जानी नजानी कम्प्युटरमा ब्लगको कखरा कोरुं झै हुन्थ्यो । नाम के राख्ने भन्ने कुरोले नि सतायो । यसो सोचें, घोत्लिएं, खोतलें । मरे जुर्दैन नाम । गोडा बिसै मिनेट सोच्यो, खेस्रा बनायो अनी त्यो नाम राम्रो लाग्दैन । फेरी घोत्लियो, जुरायो अनी चित्त बुझ्दैन । जे पर्ला पर्ला, नाम मात्रै के हो र भन्ने सोचेर आफ्नो ब्लगको नाम "खुल्लामन्च" राख्ने निधो गरें र तत्कालै आफैं त्यसको न्वारान गरिदिएं । खुल्लामन्च लाई 'खुलामन्च' लेख्ने वा 'खुल्लामन्च' राख्ने, त्यो पनि सोच्नु पर्यो भनेर गोड्याड्डी डट कममा 'डोमैन' खोज्न थालें । 'खुलामन्च' नामको साइट पहीलेदेखी नै सुचारु रहेछ । तराइबाट धेरै पहीले एउटा मित्रले सन्चालन गरेर छाड्नुभएको 'एक्स्पाएर-डोमैन्' "खुल्लामन्च" नै मिल्यो । मिती नाघिसकेको, सन्चालनको प्रयास पून: नगरिएको र प्रतिलिपी अधिकारको कानुनपनि नलाग्ने ठहर गर्दै, यसरी मैले आँफै ब्राहमण र वकिल भएर "खुल्लामन्च" आफ्नो नाममा पास गराएं ।

शुरुका दिनमा बोस्टन वरपर कर्यक्रममा वाचित कबिता र साझाको ब्लगमा राखिएका कबिताहरु राखें । गूगलबाट ब्लगभित्र छिरेर जानी नजानी चलाउदा चलाउदै एउटा रुप निस्क्यो । नेपालियनजीको निरन्तर सहयोग र बसन्त गौतम दाजुको सल्लाहलाई हृदयमंगम गर्दै अघि बढें । धन्यबाद, नेपालियनजी । निरन्तर तपाईंको सहयोगको लागि । धन्यबाद्, बसन्त गौतम दाजु, सल्लाह र सुझाबको लागि । र पनि ब्लगिङ एउटा उकाली रहेछ । पारिबाट हेर्दा सजिलो देखिने उकाली चढ्दै जांदा पसिना नचुहाइ त कसरी शिखरमा पुगिइन्छ होला र ? हरपल एउटा आशा लिएर हिड्दै जांदा भगवानले मलाई दिलिप आचार्य दाजुसँग अन्लाईन मार्फत भेट गराए । खुल्ला दिलका धनी उनै दिलिप आचार्य दाजुले झारै झार भएको एउटा पाटीलाई "खुल्लामन्च" बनाइदिनुभएको छ । र यो पक्की मन्च, दरिलो घर र आंटिलो सहयोगको लागि दिलिप दाजुलाई मुरी मुरी धन्यवाद ।

हुदैं जांदा केही कोरिदैं गैयो । केरिदैं आइयो । ब्लग, यो गार्हो काम र गर्हुङो भारी रहेछ । एउटा बालकलाई फकाएसरी फकाइ रहन पर्ने । कुराउनी जसरी पकाइरहन पर्ने । त्यसैले लाग्छ, ब्लगको नाम जुराउनु मात्र भन्दा पनि यसको गुणस्तरियताले ज्यादा महत्व लिंदोरहेछ । कोर्दा र केरिदां भावना र अर्थहिन टासाहरु बेकार लाग्दा रहेछन तर बेकार जिन्दगीका बेकारका सम्झनाहरु भने ब्लगमा आँफै टांसिदो रहेछ । आ-आफ्नो परिभाशा छ, ब्लगको । मेरो लागी ब्लग एउटा बैंक हो । म यसमा च्यातिएका नोटरुपी भावनालाई डिपोजिट गर्छु । बहादुर शाहका पालाका पुराना सुका र मोहोररुपी सम्झनाहरु डिपोजिट गर्छु । तर ब्याजको आशा छैन, न जिन्दगीले ब्याज पायो, न जिन्दगी ब्याजमा राखिन्छ, न जिन्दगी डिपोजिट नै हुन्छ । नपाउने चिजहरु पाउन ब्लग चाहिंदो रहेछ । पाउने चिजहरु राख्न ब्लग चाहिदो रहेछ । बिरक्त, उमङ, सम्झना, कथा र जिन्दगीको सारांश रहेछ - ब्लग । मैले त यसरी पो बुझेछु ।

'एउटा बिरामीको बिछोड प्रेम कथा' लेखें । आँफैलाई रमाइलो लाग्यो । सत्य घटनालाई यसरी मज्जाले राख्न पाउंदा । 'प्रधानमन्त्रीलाई खुल्ला पत्र' टांसे, दु:ख लाग्दो रहेछ, देश रोएको लेख्न । 'तिमिलाई लेखेको चिठ्ठी' राखें, मन कुडिंदो रहेछ, बिरक्तका दिनहरु सम्झदा । र पनि ब्लग एउटा नशा भएको छ । बरु श्रीमतीको माया छोड्न सकिंदो रहेछ । तर ब्लग त अ हं, मरेपनी भुल्न गार्हो । यो कस्तो अनौठो नशा गांठे । 'श्रीमती, कम्प्युटर र सौता' धेरै पढिएको लेख भएछ । सधैं श्रीमतीको सौतामाथी लर्बराउने हातहरु लजाउदां रहेछन्, श्रीमतीको नजिक जान । खै, कुन डरले पो हो ! त्यसो त, यात्रा, स्मरण, अनुभब, घटना र सम्झना जति कुवाए पनि नअघाउने भएको आजकाल, यो ब्लग भन्ने जात ।


र, अन्तमा, मेरो खुल्लामन्चे एक बर्षको यो उकालिमा साथै यो चौबाटो जिन्दगीको अनौठो उकालिमा चौतारी, दौतरी, मित्र भएर हौसला, साथ र प्रोत्साहन दिनुहुने सम्पुर्ण तपाईंहरुमा खुल्ला दिलले यो "खुल्लामन्च" को आभार छ । आगामी दिनमा पनि यो जिन्दगीको उकालिमा हामीहरु सबै, सधै, संगै उक्लने नै छौं । दिपावलीको मंगलमय शुभकामना सहित्, फेरी पनि धन्यवाद । ह्याप्पी ब्लगिङ !!!
Read more >>