Showing posts with label अनुभुती. Show all posts
Showing posts with label अनुभुती. Show all posts

13 July 2011

प्रबासी संगठन, नामका लागि आफैंमा झगडा :


त्यसो त परदेशमा समय आफैमा भ्याइ नभ्याइ हुन्छ । र पनि, बचेका समयहरुलाई सामाजिक हकका लागि सदुपयोग गर्ने हेतुले प्रबासी नेपालीहरुले अनेक नाम दिएर जन्मेका सैंयौ संघ-संस्थाहरु छन् । प्रबासी नेपालीहरुको जनसंख्याको आधारमा त्यस क्षेत्रमा कति संघ-संगठनहरु छन् भनि अनुमान लगाउन सकिन्छ । नेपालीहरुको जनसंख्या धेरै भएको न्यूयोर्कमा भनिन्छ, १५० भन्दा बढी संघहरु छन् । बाल्टिमोरमा कम होलान् । सान्फ्रान्सिस्कोमा त्यति नै छन् । कोलोराडो मौलाउदैछ र डी सि जस्ता लस एन्जलस पनि संगठनको रुखका हांगाले झांगिने क्रममा छ । जन्मेका संघहरु, चाहे तिनलाई जे सुकै नामाकरण गरिएको होस् । बाहुनको छुट्टै, नेवारको भिन्दै, गुरुङको अलग, शेर्पाको बेग्लै, मगरको फरक र छेत्रीको छुट्टै । आफैमा संगठन जन्मनु नराम्रो कुरो पक्कै होईन । समेटिन नसकेका प्रबासी नेपालीका समस्याहरुमा कसले बढी नजरअन्दाज तवरले प्रभाबकारी भूमिका खेलेको छ भन्ने सवाल सायद ठुलो हुनुपर्ने हो । तर यहाँ, समस्याहरुका सामाधानका उपायहरु भन्दा आफ्ना नामहरु मिडियामा अगाडि ल्याउने 'नराम्रो रोगले' सबैजना उत्तिकै आशक्त छ । कसैलाई यो कुरो पचोस् वा नपचोस्, ध्रुब सत्य चुरो त्यहि गएर अड्किएको छ, कि जसले पनि आफ्नै नामको लागि लड्डु-पेडा बांडेको छ अनी प्रचारको धूप बालेको छ ।

ए एन ए नामको संस्था त्यस्तो संस्था हो, जसको नाममा अमेरिकी बैभबशाली आलिशान होटेलको इतिहासमा सबैभन्दा बढी मदिरा बिकेको छ । जुन संगठनको भेलामा सहभागीहरुको आपसी झगडाले निम्तालुहरुका टाउका फोरिन्छन । मदिराका बोतल टाउकेहरुले खोले पनि फोरिएका टाउकाहरुका उपचार कुनै दुतावासले गरिदिएको उदाहरण हामीसंग छैन । लस एन्जलसमा केही साल पहिला आयोजित भेला ? मा टाउका फोरिएका मैले चिन्ने केही मित्रहरु अहिले खाटो कोट्याउदै छन् । गत साल बोस्टनमा भेला भयो, कलाकारहरुका चेकहरु बाउन्स भएका फोटोकपीहरु तपाईं हामीले देखेकै हो । र यहाँ भन्न मन लाग्छ, ए एन ए जन्मे देखि मान्छेका टाउकाहरु फुटाउनु बाहेक के गर्‍यो ? रक्सी पिउनु बाहेक के गर्‍यो ? पैसा नभएका झुटा चेक् बांड्नु बाहेक क गर्‍यो ? नेपालको लागि के गर्‍यो ? मेरा लागि के गर्यो ? तपाइका लागि के गर्‍यो ? बर्शेनी गरिने भेलाहरुले पास गरेका तथाकथीत एजेण्डाहरुले नेपालमा बिजुली बाल्यो ? हुम्लाको भोकमा चामल बांड्यो ? शहिदको चोकमा सान्त्वना बाड्यो ? रुकुमको टाउको दुखाइमा सिटामोल बाड्यो ? सिराहाको हैजामा जीबनजल बांड्यो ? केही लछार-पटार गरेन । यो केबल नामको लागि आयोजक समितिको नाम् प्रचार भन्दा केही नगरेको संस्था भन्नुमा केही पाप लाग्दैन । यसपालीको भेला ? नाफामा गएको भए "बाउन्स चेकको भुक्तानी मागिरहेका छन् क्यार रामप्रसादहरु !

जनसम्पर्क समिति नामको अर्को सगठन छ, अमेरिकामा । सबैलाई बिदितै छ, डी सी नेपालमा त्यसका टाउकेहरुका अन्तर्वार्ता आउनु बाहेक त्यसको प्रभाबकारिता संबिधान सभामा नेपाल परिवार दलको भन्दा कम छ । कांग्रेसी नेताहरु अमेरिका आएका बखत बिमानस्थलबाट 'पिक अप र ड्रप भन्दा' त्यसका पदाधिकारीहरुले माखो मार्न सकेका छैनन् । चाकरीले यही बसेर चुनाबको टिकट नपाउन्जेल सम्मको गुलामी रहेछ, प्रबासीहरुको राजनीति । अधिबेशन गराउंछु भनेर गमक्क फुलेका जी सी हरु राजिनामा दिएर 'समर टुर' लागेका छन् रे । अधिबेशन गराऊन रातभरी कारबाहिका "टेलिकन्फेरेन्स" गर्ने आयोजक समितिका महामहीमहरु चुपचाप छन्, आजकाल । अहिले खुलेका ५०० भन्दा बढी अन्लाईन पत्रिकाहरुमा भ्याए र सकेसम्म गुलामी गरि नाम छपाउनु र मरेका गिरिजा र भट्टराईको नाममा सम्झेको बेलामा 'जय नेपाल' भनि धूप बाल्नु मात्र रहेछ, तिनका कर्तब्य । मख्ख हुन्छन्, महान अंमेरिकी काग्रेसी अधिबेशन गराउन चाकरीको रातो टीका लगाएका नेताहरु, गणेशमान सम्झन्छन आफुलाइ, दोस्रो बी पि ठान्छन्, शिरै निहुर्याएर पाउ पर्छन जस्तो गर्छन् । कसले गन्छ, चाकरिवाललाई ? बाराक ओबामालाई नगनि नियममा हिंड्न सिकेका नेपालीहरुले गुलामीको नारा दिनेलाई कहिले पो दिमागमा राख्छ र ?

सबै संगठनहरुको बेलिबिस्तार गाउंदा कसैका नदुखेका टाउकाहरुमा भार पर्ला । मोफसेलका संगठनहरु, चाहे धर्मको नाममा खुलेका हुन या जातिका नाममा । राजनितिका नाममा खुलेका हुन या मानबाधिकारका नाममा । कुनै न कुनै रोगले पिल्सेका छन्, तिनीहरु । सुनिन्थ्यो, सानफ्रान्सिस्कोमा हिजो भएको 'पुराण' मा त्यहाका सक्रिया संघहरुको आपसी तालमेल थिएन रे । सात समुन्द्र पारीको देशमा आफ्नै आंगनमा झैं आयोजना भएको 'महायज्ञ' मा त हामि एक हुन सक्दैनौ भने समाज बनाउने बकम्फुसे नारा दिएर केबल जन्मेका संस्थाहरुको त के कुरो गर्नु र ? कोलोराडोमा ब्यक्तिहरुको आफ्नै मन्दिर छ, संगठन छ, तर नेपालीहरुको रोग न हो । मन अर्कै छ । जसरी भारतिय पन्जाबीहरु आपसमा जति बाजे पनि तिनीहरु बसेको सिटिमा "गुरुद्द्वार" हुन्छ । त्यहा उनिहरुको मन कहिल्यै बाझ्दैन । मिलेकै छन्, धोतीहरु । रास्ट्रलाई हामीले भन्दा बढी गरेका छन । आपसी बुझाई छ, सम्मन छ, उनिहरुमा । सेवेन एलेभेनमा कफी पिउंन हामी गयौं भने अग्रेजी बोल्छ, हाम्रो नेपाल । पैसा चार्ज गर्छ, जाबो एक कप कफीको । तर सोडा पिउन गएका तिनीहरु धोतीले ठ्याक्कै चिन्छ, दार्हिवाललाई र सोध्छ, "किथ्हें" ? एउटा कप नेपालीलाई फ्री दिएर कुनै पनि नेपाली कामदार बदनाम हुदैंन, तिनका साहु भोकले मर्दैन । भारतियहरुमा अङ्रेजिमा भनौं न 'उन्डर्स्ट्यान्डिङ' छ भने हामीमा नामका पछाडि दगुर्ने 'ओभरस्ट्यन्डिङ्' ।

अब आफू बसेको "कटेरो गाऊ" को कुरा गरौं । भन्नलाई यसलाई लस एन्जलस भन्छन् । संसारकै प्रतिस्ठित ब्यापारिक केन्द्र । प्रसंगमा आफ्नै गाऊ र घरको बखान गाएको जस्तो हुन्छ र भन्नै पर्छ कि राजनीति बाहेक यो क्षेत्रमा नेपालीहरु साँच्चै एकत्रित छन् । यो क्षेत्रको राजनीति किन घिन लाग्दो छ भनेर नलेखौं, तिनका टाउकेहरुलाई नै यसबारे अवगत छ । बढी भन्यो भने फेरि 'चिर्पट' लिएर यही कुट्न आउलान । जे भएपनि यस क्षेत्रमा नेपालीहरु एक छन् भन्ने ज्वलन्त उदाहरण हो, भर्खरै सम्पन्न 'श्रीमद भागवत महापुराण - सप्ताह महायज्ञ' । सात करोड रुपैया भन्दा बढी रकम उठेको, एकै ब्यक्तिले ८० लाख भन्दा बढी दिएको र ४० लाख भन्दा बढी दिने ब्यक्तिहरु १०/१२ जनै भएर एकताको फुर्ती लगाएको होईन । र पनि त्यो दान, महायज्ञ, ती दान दाताहरु साच्चिकै महान हुन र एकताका शुत्रहरु हुन । फुट्न लागेको कमल थापाको पार्टिमा को प्रबेश गर्छ ? मतलब, नेपालीहरु एक्जुट छन्, आपसमा बिबाद नभएको बिश्वाशले धर्मको नाममा दाताहरु झन एक भए । हुन पनि एक पेन्नी देखि एक लाख डलर सम्मको रकमलाई सम्मनका साथ प्रमाण्-पत्र दिलाए, आयोजकले । प्रफुल्ल भक्तजनले दिल खोलेर सेवा गरे, यज्ञको । 'बाचन प्रबिण' दीनबन्धु पोख्रेलको जादुमय वाचनशैलीको मुक्तकुन्ठाले गुणगान गाए । कार्यक्रम सफल भयो । आयोजक संस्था मख्ख नहुने कुरै भएन ।

संसारभर समाचार छायो । नेपालमा टेलिभिजनमा पनि आयो रे । अन्लाइन पत्रिकाहरुमा फोटाहरु छाप्पिए । फेसबूकका पानाहरु भरिए, कमेन्ट गड्गडाए, ट्याग भयो । कार्यक्रम समापन भयो । भक्तालुहरु खुशी भए, बाचन प्रबिण पण्डित पोख्रेल खुशी भए । सबी आ-आफ्ना आश्रममा लागे । भोलिपल्ट नागरिकमा एउटा समाचार आयो । समाचार कसले दियो कुन्नि, त्यो दिनेलाई मात्र थाहा होला या भगवानलाई, त्यो चासो कुरो भएन । र, चासोको कुरो पनि भयो किनकी एक जनाको नाम्को गुणगान गाउनु बाहेक त्यसमा संस्थाको बारेमा केही लेखिएको थिएन । रातमा पं पोख्रेलले फोन गर्नु भयो । कान्तिपुरका सम्पादक सुधिर शर्मासंग कुरा भएको जानकारी गराउनुभयो । आयोजक समितिका संयोजक र प्रबिण पोख्रेलले निश्पक्ष समाचार ड्राफ्र्ट गरि सम्पादक शर्मालाई पठाउन अनुरोध भयो । कान्तिपुरमा त्यहि ड्राफ्ट समाचार बनेर आयो । हामी एअरपोर्ट लाग्यौ, गुरुलाई पुर्याउन . । बिहान ५ बजे फेसबूकमा ट्याग भएको समाचार मेटिएर 'नाम चाहने' हरुको नाममा समाचार राखिएछ । एउटा सानो समाचार काटिएर त्यहि ठाउमा जसलाइअ मन लाग्यो, त्यसैको समाचार आउनु कसैलाई टाउको दुखाइको बिषय त भएन, यो त एउटा उदाहरण मात्र न हो । तर आफ्नो पहुंछको भरमा 'सम्पर्क देखाउन' 'बल बुझाउन' छापिएका समाचार चाकरीको भरमा काटिनु लस एन्जलस्मा मात्र होइन, डी सि मा पनि राम्रो हुदैंन र बाल्ट्मोरमा पनि राम्रो हुदैंन । डी सी नेपालमा मेरो चिनेको मान्छे छा भनेर मैले दाताहरुको नाम् छुटाएर आफ्नै भक्ति गान गाएर चाकरीको भजन गाएं भने संस्थाको लागि सायद् त्यो राम्रो नहोला । कुनै संस्थामा नरहेको र अन्जान अनी अरुले जे भन्यो त्यहि मान्ने 'घोसे' सिद्धान्तमा आधारित भएर अरुको नाम मात्र छपाउन कार्यक्रमको बिल्ल लगाउनु राम्रो हुंदोरहेनछ । बाहिरै बसेर भन्नुपर्दा, ६०० भन्दा बढी ओन्लाइन पत्रिकाहरुमा मेरा, तपाइका र उनिहरुका आफन्त पक्कै रहन्छन्, संचालकमा । तर देखिएका सत्य र लेखिएका मालहरु गलहत्याउनु पाप ठहरन्छ । हामिले पुराणमा सुनेका गीतका पाठहरुले 'सकेसम्म थप्नु भन्छ, काट्नु होइन' । यसर्थ: समाजका लागि केही गर्न कस्सिएका प्रबासी संगठनहरु ब्यक्तिबाजी प्रचारको खेलमा लागे भने केही गर्न नसक्ने ए एन ए र संपर्क समिति नहोला भन्न सकिन्न । श्री पशुपतिनाथले सबैलाई सद्बुद्धी दिउन । अस्तु !
Read more >>

19 January 2009

नेपाल, नेता र मार्टिन लुथर :

उमा सिंहको हत्या अनी ईन्द्र लोहनिको असामयिक निधनले आँखाहरु ओभाउन नपाउदै काठमाण्डौको फोहोरले सबैको नाकमा ढुसी लाग्न थालेको छ । नेताहरु त पजेरोमा हुइकिन्छन, साहु महाजनहरु कारमा सवार त राजा महाराजाहरु दरवारमा । फोहोर गन्हाउने त सडकमा लडेका बेसहरा खाते बालकहरु र जिबिकोपार्जनको लागि रात दिन खट्ने हाम्रा दाजुभाइ-दिदी बहिनिहरुलाई न हो । राजा महाराजाका नाम फेर्न मात्रै ब्यस्त छन, हामीले चुनेर पठाएका "गणतान्त्रिक राजाहरु" । गोर्खाली बिरताको ईतिहास मेट्न शायदै कस्सैले सक्ला तर एकिकरणका मालिकको नाम फेरियो । गणतन्त्रको कसम खाएर छातीमा हात राखी भन्नु सक्छौ हामी कि पृथ्वीनारायणको नेपालमा कुनै योगदान थिएन ? यसरी परिबर्तन हुँदै छ नेपाल, नयाँ नेपालको बाटोतिर । प्रचन्डलाई दुई लाख मुल्य पर्ने पलङ फेर्न मन लाग्यो । एकाएक त्यो फेरियो । आज त्रिभुबन विश्वबिद्धालय बन्द छ । त्यसको चापी फेरिएन न त पुस्तकालयमा कुनै पुस्तक फेरियो । महाजनहरुका इच्छा केहीबेरमै परिवर्तन हुन्छ तर काठमाडौंलिहरुले सित्तैमा पाइने स्वच्छ सास पेर्ने सपना कहिले फेरिए होला ? कर नतिर्ने ब्यापारीहरुका बिज्ञापनका होर्डिङ बोर्डहरु दिनदिनै फेरिन्छन तर सरकार तिनिहरुसँग कर खिचेर फोहोर थन्काउने भाडोहरु किन किन्न सक्दैन ? हामीले तिरेका करबाट सुनहरु भित्रिन्छन, नेताहरुको लागि । हाम्रा भुँडीमा माड लाग्दैनन नेताहरुलाई बनारसबाट निर्यात गरिएको रसबरी खानु पर्छ । यसरी नेपाली जनताका चाहहरु दिनानुदिन तुशारापात हुँदैछन त नेताका नातेदार्हरुलाई सधैं दशै । महाकाली प्वाल परेको छ त्यसैले देशले लोड्सेडिङमा दिन गुजार्नु परेको छ । मेलम्ची पनि भारततिरै फर्किएर बगेको छ त्यसैले काठमाडौं प्यासमै रमाउनु परेको छ । सगरमाथाको उचाइ घटेको छ अनी बुद्द भारतमै जन्मेका छन त्यसैले हाम्रा ईतिहासअहरु धुजा धुजा भएका छन । नेपालको खाता पाता साउथ ब्लकको दराजमा थन्किएको छ । तेही हिसाब किताब पल्टाउदै भारतीयहरुले दिने निर्देशनले देशका नेताहरु चलेका छन भने बिकासको आशामा रहेका हाम्रा मनहरुमा हुस्सु लागेर गलेको छ ।
राणाहरुले चुस्न मात्र थालेका थिए आमालाई । पन्चेहरुले आन्द्रा-आन्द्रा लुछे । त्यसपछिका शाहहरुले फोक्सो सम्म लुछ्न सके भने बर्तमानका श्रीहरुले मुटु पनि लुछेर भ्याइसके । अब त बाँकी के नै पो छ र लुछ्नलाई ? हाम्रा हजुरबाहरुले तीन तीन चोटि प्रतिनिधि बनाएर पठाए, आमालाई लुछ्न बाट जोगाउन । तिनिहरु पनि त्यस्तै रहेछन । बानी लागेकाहरुलाई कसरी छुटाउन सकिदो रहेछ र ? फेरी महासङ्राम पछीको खेलबाट हामीहरुले नयाँ जबानहरु पठायौ - आमाको घर, सन्सदमा । कतिका त हामीले जमानत पनि जफत गर्यौ । तर तिनका बाउ र मामाहरुले तिनलाई लुछ्ने नियुक्ती दिलाए । तिनै जमानत जफतिहरुकै बोलवाला छ अहिले नेपालमा । क्सैको जिन्दगीको कुनै ठेगान छैन न त कसैको भरोसा । सत्ताको लागि दाजु काटिएको मुलुकमा कसको भरोसा ? भत्ताको लागी श्रीमतिहरु बेचिने मुलुकमा कसको विश्वाश ? निती कहिल्यै प्रधान भएन मुलुकमा । नेताका बोलिहरु संबिधानका धाराहरु ठहरिए । कसैले राम्रो कुरो बोलेको नपच्ने, भोलिपल्टै देश कब्जा गर्ने धम्की सुनिन पाइने । राज्यको लागि सुरक्षा दिने सेनाको टकरावको लागि अरु पनि सेना ? सबै जातिका आफ्ना आफ्ना सेना ? जहाँ कसैको सुरक्षा छैन त्यहा सेनै सेना । अचम्म छ, खेतमा पानी लगाउन गएको भाई फर्केने कुनै भरोशा छैन । साल काट्न बन गएकी बहिनी बलत्कार हुने घटना सामान्य भैसके । तर नेपालमा जसले राजनीति गरे, उनिहरु मात्रै सुरछित । तिनका भाई क्याप्टेन, बहिनी हाकिम, श्रीमती सभासद, सालो महाप्रबन्धक अनी साली राजदुत । कपुरी क नजान्ने साँहिलाहरु निती निर्माता । जङलताकाका सहयोगिहरु सबै रेडियो नेपाल र टेलिभिजनका कर्मचारी । यसरी नै चलाएका छन, श्रीहरुले नयाँ नेपाल । हामीहरु तथास्तु भन्दा अरु केही भन्न सक्ने वाला छैनौ । फेरी भोली गिडिएला भन्ने डर ।
आज जनवरी १९ । मार्टिन लुथरलाई सम्झने दिन । यतिबेला विश्व नतमतस्क छ, समानताको लडेको उनको लडाईं सम्झदै । पि. एच.डि. को प्रमाण पत्रलाई दराजमा थन्काएर सत्यको राजनीति गरे उनले । उनको बारेमा स्वस्थानी जस्ता धेरै पवित्र लेखानहरु पढ्न सक्छौ हामीले, किनकी दुई हरफमा उनका बलिदानहरु यहाँ उल्लेख गरेर सकिदैन । हामी मात्र यती भन्न सक्छौ कि जनताको मुक्तिको लडाईं लडे उनले । रेलमा काली केटीलाई गोराले गरेको दुर्व्यबहार देखेर मुक्तिको बिगुल फुके उनले । तर तीन करोड हामी नेपाली बेचिएको नाटक टुलुटुलु हेरिरहेका छन, मुक्ती भनाउदो लडाईं लडेको धमास लगाउने - हाम्रा प्रचन्डहरु । कसैको गोलिले जिन्दगी हावामा उडाएपनी मार्तिन लुथरको मुक्तिको लडाईंको सास फेर्छन अमेरिकिहरु । सत्य, समानता र निस्वार्थ उनका निती थिए, उनी लडे सफल भए । उनी मारिए, मरे तर पनि बाचेका छन । यि नेताहरुले हामीलाई लोप्राएपनी हाम्रा सन्ततिहरुले मुक्तिको स्वच्छ सास फेर्न सकुन । काठमाडौं नगनाओस । जय डा. लुथर ! जय मुक्ती !! जय नेपाल !!!
Read more >>