22 December 2010

कात्रोमा खल्ति नहुनेरहेछ !


तेरो र मेरो । फलानाको यस्तो, ढिस्कानाको त उस्तो । म पराइ, तपाईं आफन्त । अचम्मको छ, यो संसारको रीत । "हेर, रामे पढेको, रात भारी बत्ती झिपिक्कै नपारी पढ्या र'च । हाम्रो चाँही !" एकाबिहानै पधेंर जांदा बत्ती बलेको देखि हजुरआमाको रिस हो यो, आफ्नै दुई नाती बीचको । बत्ती बाले रामे पराइ, नपढ्ने श्याम आफ्नु । आबैको गजबको भेदभाब । आबैको मायाले केही फुरुक्क देखिए पनि अल्छी श्यामे सम्झदो हो, आफ्नै कोखका दुई फरक छोराका हामी छोराहरु बीच किन आबैको फरक माया ? हो, यसरी नजानिंदो तरिकाले डेरा गाड्न थाल्दो रहेछ, मान्छेको मनमा इर्श्याले । राजाका जहानमा जन्मेका राजकुमारहरु होउन्, वा कटेराको छेउमा जन्मेका निमुखा हुन्, मात्रा मात्रै फरक, चिज हुंदोरहेछ, इर्श्याको ।

जब मान्छे ठुलो हुन्छ, परिवारमा सिकेको बानी र इर्श्यालाई फोटोकपी गर्न थाल्छ । रवाफ र घमन्ड माथि इर्श्याले राज गर्‍यो भने चितवनको लजमा सुजाताको ज्वाँई र पारसको गोली काण्ड जस्तो घटनाले स्थान पाउंछ । हावामा हानेको पारसको त्यो गोली 'ज्वाइं बिचरो'लाई लागेको भए, यो धर्तिबाट बिदा !!! अनी अबैध रुपमा नेपालमा बसेर दुई नम्बरी काम गर्ने उसको सपना चकनाचुर ! धन्न बांच्यो, अब सासूले हेर्लिन नि, ज्वाइसाहेबलाई पैसा कमाउने धन्दाका अबसरहरु । एउटी महिला शिक्षिकाले निरन्तर आफुमाथी शक्तिको भरमा बलत्कार गरेको आरोपमा छुरा रोपेर मारिदिइन, भारतका एक सांसदलाई । शक्तिको भरमा गाउंकी सोझी महिलालाई बलत्कार गर्ने बिहारीले ज्यान गुमायो । पाकिस्तानको पन्जाब प्रान्तका गभर्नरलाई आफ्नै अङ्गरक्षकले आज गोली हानी मारिदियो । जीवन मरणको सजाय पाएको पापीलाई बचाउन खोजेकोले गार्डले ६ गोली ठोकेको रे ! तर हाम्रो मुलुकका एउटा इमान्दार प्रहरीले समाएको अबैध पजेरोका भोकाहरु बन्दुकको भरमा प्रहरी अड्डामा चाबी बुझ्न शरम मान्दैनन्, कोहि यिनीहरुलाई गोली ठोक्नेहरु ? जहाज बेच्न खोज्नेहरु, जहाज किनेर कमिशन खाने र खान खोज्ने तस्करहरु, पत्रकार मार्ने हत्याराहरु, आफ्नै चेली बेच्ने पिपाशुहरु, भ्रश्टचारी र घूसखोरीहरुलाई जांकेर चिस्याउनेहरु खोइ ? कांग्रेसमा गगन थापा छन्, यिनी कहीले माथि आउने ?, जहाँ परिवारबाद मात्रै लागु हुन्छ । माओबादिका बाबुरामलाई कहिल्यै माथि आउन दिएनन, बन्दुकेहरुले । निर्बिकल्प प्रधानमन्त्री उनका हरेक काम लाग्ने बिषयहरु केबल 'नोट अफ डिसेन्ट' बनेर थन्किन्छ, जहाँ राणाबाद लागु हुन्छ । बरु पोइल आका प्रकाशहरुको बोलवाला हुन्छ तर डा. साहेबलाई कोहि सुन्दैनन । प्रहरीका रमेश खरेलले केही गर्लान भन्ने आश् थियो, चाकरिवाजको कारखाना नेपाल पुलिस । रावल र चन्दका भरौटे पुरस्क्रित, खरेल बिदामा ।

माथिका उदाहरण र सत्य चिजहरु जिबनमा मान्छेले पाउने कर्म रहेछ । जिम्मेवारी र कर्म सत्य सम्झेर गर्नेहरु जिन्दगीमा हार्दैनन भने सांसद भएर शिक्षिका बलत्कार गर्नेहरु, शक्तिको भरमा लाशमाथी राजनीति गर्नेहरु नै हुन, असफल हुने । सबैलाई थाहा छ, जिबनमा मरी लाने केही छैन । पृथ्वीनारायण शाहको पालादेखीको सम्पत्ति सोरेका राजा बिरेन्द्रको बंशै सखाप भो । त्यत्रो तागत भा'का तिनैका भाईलाई नपुग्दो के थियो र ? आज एउटा डांडांमा जोगी भएर बस्नु परेको छ । तिनी भन्दा चैनले बसेका छन, पल्लो पाटोमा बरु ओशो आश्रमका गुरुहरु । त्यसैले जन्मेर मान्छेले लाने भनेको सम्झना मात्र रहेछ । अरुले सम्झेर स्वर्गमा लाग्ने बाडुल्की रहेछ, जिन्दगीको धन । पैसा-पैसा भनेर नेपालको बिल गेटस बन्ने सपना बोकेका नारायण सिंह पुनलाई एक चम्चा ग्लुकोज खुवाउने मान्छे भएन रे, मर्ने बेलामा । उनका तरुनीहरु त नेपालको एउटा राम्रै पार्टीको भाइ संगठनका कार्यकर्ताहरु जति थिए रे । पैसाका पछाडि दकुरेका ती 'दुइ दिनेहरु' पुनलाई ओखती खुवाउन्जेल के बस्थे र ? भारतको अस्पतालमा रोइ रोइ प्राण त्यागे, बिचरा पुनले । नेपाली राजनेताका भन्दा बढी पावर चलाउने मोहन खेतान मरे, न गोरखा ब्रुवरी संगै गयो, न त पैसाको मारबाडी बोरा नै । रित्तो हात गए उनी पनि । सबैको प्राण केबल प्राण मात्रै त्यागेर जान्छ । मारबाडी, नेता, भ्रस्टाचारी, तपाईं, हामी सबैको ।

अपराध गरेर बनेको भारतिय ती सांसदको मरण पनि मरण्, माहात्मा गान्धीको पनि मरण । अङगरक्षकको गोलीले मर्ने गभर्नरको पनि मरण, बेनिजिर भुट्टोको पनि मरण । मिर्जा दिलसा बेगको पनि मरण, बी पी कोइरालाको पनि मरण । समर्पणमा जस्सका जिन्दगी त्यागले बिते, तिनका जिन्दगी सफल । बेइमान र रवाफले मर्ने बेलामा जेरि-जुलाफी दिंदोरहेनछ । मरेका सहि आत्माका सम्झना पो जिन्दगी, धनको रवाफले अडेको के जिन्दगी ? आफुले दुध हालेको चिया पिए, निमुखालाई कालो चिया पिलाउने साहस पो जिन्दगि, खीरको खाएर सुकुम्बासी बस्तिमा झुसीले डकार डकार्नेको के जिन्दगी ? झुपरीको सुखद दाम्पत्य पो जिन्दगि, आलिशान महलका महंगा बत्ती र फर्निचर भांचिने झगडाको के जिन्दगी ? संबिधान नै नलेखिएको बेलायती कानुनी राजको जनताको पो जिन्दगी, हाम्रा पसिना र करले एउटा मिटिङ्गमा जांदा तीन चोटि खाने अनी हामीलाई स्संबिधान नदिने ६०१ बेइज्जेतीहरुको के जिन्दगी ? त्यसो त जसले जसरी निर्बाह गरे पनि लास्टां कसैले साथमा लाने केही कुरो बनेको रहेनछ, यो धर्तिमा किनकी कात्रोमा खल्ती नहुने रहेछ ।
Read more >>

04 December 2010

आमा !


पाहुनाको कलममा भाई ईश्वरको रचना सान्दर्भिक लागेकोले कपि पेस्ट गरेको छु :

नरोउ अझै बलिन्द्र बलिन्द्रधारा आसुँ झारेर
नबुन, सपनाहरु छोराको आधार मानेर
बिर्स यो अभागीलाई।
यो कपुत अनी तिम्रो मुटु दु:खाइरहने
सधैं बाहाना मात्र बुनेर झुक्क्याइरहने गफाडीलाई।

सायद, छोरो जन्मियो भनेर
खुशीका आसुँहरु झारेकीथियौ होला
तर आज
त्यो आसुँ अभिसाप बन्दैछ, तिमीलाई
तिम्रो खुशीमाथी दुख र पिरहरु,
घाऊ र चोटहरु दिने
चर्किएको आलो घाऊमाथी
अमिलो घसेर नुन र बेसार छर्दैछ।
यो कपुत र बेइमानी छोरोले।

तैपनी हेर अझै केही बर्षहरु
तिम्रो आसुँ पुछ्ने रुमालका
एक एक धागाहरु बुन्दैछु म।
कती बर्षहरु लाग्ने हुन, थाहा छैन
तैपनी अझै धैर्ये गर।

फेरिपनी एक्चोटी गफ लडाउदैछु म
आसाका त्यान्द्रो गास्दैछु,
नटुटाउ धैर्येका बाधहरु
एकदिन त सक्छु कि
त्यो आसुँ पुछ्न
एदी अझैपनी सकिन भने,
गालामा थप्प्ड मारौली।

आजसम्म तिम्रो सपना साकार पार्न सकिन
सोच गरे धेरै सपनाका महलहरु,
बालुवाको दलदले हिलोमा
जग खनेर घर ठड्ड्याउन खोज्दैछु।
तर भात्किये सारा सपनाहरु

तैपनी आमा पर्खनुस्!
केही हिउद र बर्षाहरु
यो साउनको झरिले एकपटक
अबस्य पखल्छ मेरा ग्रह दशाहरु.
अनी नयाँ बसन्तका पलुवाहरु पलाउनेछन।
जिबनमा रङी-बिरङी फुलहरु फक्रनेछन
नयाँ मकर सक्रन्तीपछी
सुर्येले मलाई शुभ फल दिनेछ।
सधैं औशीमात्र आउने मेरो जिबनमा
पुर्णिमाको एक झुल्को उज्ज्यालो छाउनेछ।
अनिमात्र म तिम्रो मुख हेर्नेछु,
मेरो जिबनका उपहारहरु
तिम्रा सपनाका प्रतिफलहरु
म एउटा पछ्येउरीमा पोको पारेर
उपहारस्वरुप तिम्रो हातमा थम्याउनेछु।

पख्ननुस् आमा! केही हिउद र बर्षाहरु,
आउनेछ,औसीको रातपछीको पुर्णिमा
अनिमात्र हेरौला तिम्रो मुख
र पुछौला, तिम्रा आसुहरु
पुरा गरौला मेरा र तिम्रा अतितका सपनाहरु।

अनी बल्ल त्यती बेला
भन्लेउ मलाई शिरमाथी हात राखेर
"छोरा"! त कपुत होइन रहेछस।
तेसैले पर्ख आमा! पर्ख!!
Read more >>