18 July 2009

तिमीलाई लेखेको चिठी :


तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद, सपनिमा देखिएको तिम्रो झझल्कोले होला । ती पुराना यादहरुले होलान । टुसुक्क बसेर मसी सकिन लागिसकेको कलम खाली पानाहरुमा कुदाएं । अनी शुरुवात गरें, लेख्न ;

"प्रियतम, सात समुन्द्रपारिको यो परदेशबाट धेरै धेरै सम्झना तिमीलाई । आरामै त हौली भनी आशा मात्र गरेको छु । भरोशा र विश्वाशका खातिर तिमीले अरु कसैको काखी च्यापेपछी मलाई सम्झना भन्दा फगत केही नमिल्नेरहेछ ।"

चिनाजानिमा मैले लेखेको पुरानो अपुरो चिट्ठी को याद आयो । त्यसैमा कोरिएको एक हरफको ;

"आंशु पिइ बांचिरेहें, सपनिमै नांचिरहें,
हेपिएको दिन सम्झन, औंलाहरु भांचिरहें ।"
(मैले लेखेको यो टुक्रा, हाम्रा आदरणिय गुरु, संगीतीज्ञ गुरुदेब कामतको संगीतमा साथी सबनमजीले ०५५ सालको गुरुपुर्णिमामा डोरेमी संगीत पाठशाला जमलमा रेकर्ड गराउनुभएको थियो । )

हो, यिनै माथिका हरफहरु चरितार्थ भएका छन, आजकाल मेरा दैनिकिहरुमा । अनी सकी नसकी मन बुझाई भन्नु परेको छ, म पनि यही संसारको कुनै कुनोमा केबल बांचेको छु । अहिले तिनै हरफहरुलाई सच्चाएर, तिमीलाई लेखेको चिट्ठीमा मैले यो लाइनहरु रिमिक्स गरेर थपेको छु ।

आंशु पिइ बांचिरहेछु म, तिमी आनन्दिको संसारमा डुले'नी,
बाडुल्की बनि कुक्कुकिदो रहेछ माया, तिमीले मलाई भुले'नी ।

तिमीलाई सम्बोधन गरेपश्चात झस्किएं म, म यो चिट्ठी किन लेखिरहेछु ? कसलाई लेखिरहेको छु भन्नेसम्म त याद छ । तर निर्जिब कलमको घांटी थिचि-थिची अर्थ लाग्ने 'अर्थहिन' वाक्यहरु किन ओकाल्न बिबश बनाउदैछु भन्ने बिषय कि त तिमीले भाकेकी भगवानलाई थाहा होला, कि तिमीलाई । त्यसपछी, त्यो चिट्ठीमा यि हरफहरु जोडें ;

"मायालु, तिमीले भाकेका भगवान त साह्रै पापी रहेछन । तिनले फोकटमा तिम्रो भेटी खाए । उनको नाममा मलाई पुकार्दै कुनैदिन तिमीले खुल्ला आकाशमा उडाएका परेवाका बचेँरा ती युगल जोडी, हुर्केर, प्रेममा मस्तले जिएका छन रे भन्ने खबर सुनें, मैले । तर जुन बस्तु प्राप्तिको लागि तिमीले धूप सल्कायौ, नैबेद्ध चढायौ । सल्केको त्यही धुपौरोमा तेलको सट्टा पानी हालेर निभायौ । अनी त तिम्रो पुकाराको के अर्थ लाग्यो ?"

"जे कुरो संसारमा असम्भब छ भन्छन, त्यो प्रेममा सम्भब हुन्छ रे, भन्थ्यौ । रे आखिर रे मै रह्यो । यतिबेला तिमी बडेमानको महलमा आकाशतिर नजर लगाउदै अरुले उडाएका परेवाका बचेरा पहिल्याउदै हुन्छ्यौ रे । मलाई लाग्छ, सुखमय महलको छत माथि त स्वच्छ हावाबाहेक केही उड्दैन । बरु, तिमीलाई तातोपानी दिलाउने सोलारको डब्बामा परेवाहरुले फोहर गरेर तिमीलाई गिज्ज्याउदै उड्छन रे । यो रे पनि अचम्मको हुलाकी भएर आउन थालेको छ मेरो जीबनमा, आजकाल तिम्रो सम्झना बनेर ।"

कलममा मसी सकिएला र लेखिएका हरफहरु धर्-यात धुरुत बनाइ टुक्रा-टुक्रा पारी कापिका पानाहरु फ्याक्छु भन्छु, बेदनामा मेरो सट्टा कलम रुदो रहेछ । मधुर आँखाबाट बलिन्द्राधारा आंशु चुहाए जसरी मरे नसिद्दिने रहेछ, कलमको मसिरुपी आंशु । म सम्झाउछु, कलमलाई । "तं जे मन लाग्यो तेही नलेख्, त्यो खाली कापीमाथि ।' ऊ त उल्टै मपट्टी निपरुपी मुन्टो बटार्दै मसीरुपी आशु चुहाउदो रहेछ र भन्छ, 'मलाई पनि तपाईंसँग रुन मन लाग्यो ।' अनी फेरी यो लेख्यो ;

"प्रिय, बाबा परदेश जानुभो भने घर-ग्रिहस्थिको खबर लेखिने चिट्ठी पुरा हुदोरहेछ । तिमीसँग जान्नु अगाडि म अनो समाउदै चम्रे र लाले गोरु नारेर जोत्दा बाबालाई सबैकुरो लेखी पठाउथें । बाबा भन्नुहुन्थ्यो, अर्को चिट्ठीमा अझ बढी खबर लेखी पठाउनु । भैंसी कम्लाएको, रत्यौली बाख्रीले पाठो पाएको, परेवाको गूड् बनाएको खबरहरु उहा खुशी मानि मानि आंशु चुहाउदै पढ्नुहुन्थ्यो रे । खैर, मेरो बिगत जे होस् । त्यो तिमीलाई सरोकारको बस्तु भएन । तर पनि बरु, मरुभुमिको लडाईंमा भाई मरेको चिट्ठी पुरा हुदोरहेछ । लड्न गएको थियो, शत्रुले मार्यो । अभागी रहेछ, बिचरा मर्यो । मृत्‍युको त्यो चिट्ठी, मृत्‍युको खबर लिएर आयो, पुरा भयो, सकियो ।"

"तर प्रिय, तिम्रा नाममा लेखिएका मेरा हरेक चिट्ठीहरु सदैब अपुरा हुने गर्दछन । खै कुन्नी किन हो ? तिनले बिषय पाएनन भनुम् भने, संसारमा अरुले जस्तै बिषय(प्रेम) गरेको हुँ मैले । रोमियो र जुलियट हुन नसके पनि मुनामदनको पाठकजस्तै बनुम् भन्ने अभिलाषाले पनि मेरा प्रयासहरु सधैं अपुरा रहे । म मात्रै पछी लागेको थिएं भने मेरो कलमले एउटा वाक्य राख्न अनुमती माग्यो ;

मरी सक्यो त्यो भन्ने लाग्छ भने, मेरो चित्र चौबाटोमा टासी देऊ,
बेकार रहेछ मिलन भने, तिमी सँग भएको मेरो बीउ पनि मासी देऊ ।"

बिलखबन्धनमा झेलिएको कथा कलमको निपबाट लगातार छादिरहदा शायद मेरो भावनाको सहारा कलमको पेट अती सारो निमट्ठियो होला । पेट दुख्यो भन्दै अन्तमा मेरो कलम लेख्छ ;

"एकचोटी अप्रेशन गरेको घाऊ डाक्टरले भने जस्तो पुरै निको नहुने रहेछ । फेरी, घाउको दुखाइ केबल बिरामीलाई मात्र थाहा हुदोरहेछ । पैसाको लागि भुँडी नाप्ने तार बोक्ने डाक्टरलाई के थाहा, बिरामिको पिडा ? मायाको बाहनामा रक्तपूर्ण घाउमा धनीले प्रयोग गरी फ्यांकेको 'ब्यान्डेज'ले दुखाइमा सहानुभुति नदिंदोरहेछ । सबैका तिरस्कार र अबहेलनाले जर्जर घाऊमा स्याउ-स्याउती किराहरु पर्दारहेछन । अनी एक एक गरी मायाका अङ्गहरु झर्दारहेछन । निको नभएको रोगिको हालत, तिमीले सारथी बनाएकी लखपतीसँग दांज्न मिल्ला र प्रिय ?"

"भो, नदांज । मेरो माया, अकुत सम्पत्तिसित । किरा लागेको मायाको घाऊ धमिरा लागेको धनको महल भन्दा ठुलो हुन्छ रे ।"

त्यसैले अर्धलिखित यो गन्तब्यहिन चिट्ठी म फेरी तिमीलाई पठाउं कि नपठाउं ? दोधारमा थिएं । सडकमा बसेर चिच्याइ सुनाइदिउंकी झैं पनि नलागेको होइन । यही भित्तामा टांसिदिएको छु । मन लागे पढ । नलागे थुक, आफ्नो बाटो लाग । तिमी बाटो लागे पनि यो मनबाट सम्झना कहिल्यै बाटो लाग्दोरहेनछ । ठिकै छ । तिमीलाई यो हरफ उपहारस्वरुप, कलम बन्द !

"मै मरे भने फेरी मेरो, त्यो प्याला कसले भर्छ नि,
नसक्ने रैछु केही गर्न आँफै, जे लेख्छ भावी उहि गर्छ नि ।"

14 Comments:

दूर्जेय चेतना said...

सल्केको त्यही धुपौरोमा तेलको सट्टा पानी हालेर निभायौ । अनी त तिम्रो पुकाराको के अर्थ लाग्यो ?"बढो गाह्रो भएछ गोकुलजी। त्यही एउटा आशा भने भइरहने है? मननै त हो, लोभी हुदो रहेछ सायद।
साह्रै मार्मिक लाग्यो है यो तपाईको गुनासो( माफ गर्नु होला मैले गुनासोनै भने)।
सुन्दर लेखाई, मन छोयो मेरो। धन्याबाद

Dilip Acharya said...

"...एकचोटी अप्रेशन गरेको घाऊ डाक्टरले भने जस्तो पुरै निको नहुने रहेछ । फेरी, घाउको दुखाइ केबल बिरामीलाई मात्र थाहा हुँदोरहेछ ..."

मार्मिक तर सुन्दर प्रस्तुति ।

Sujan Sharma said...

वाह! गोकुल जी साहैं राम्रो, मन छुने रचना।

Shiva Prakash said...

भाइ,
कलम र मान्छे उस्तै हो, जे मन लाग्यो त्यही गर्छ !
भाव,शिल्पी र शैली अनुरूप भाषागत शुद्दतामा अलिकति ध्यान दिनु पर्ला कि !
यो एउटा स्मरणात्मक निवन्ध जस्तो पनि छ कताकता कथाको छाँटछन्द पनि आउँछ । मेरो सुझाव- यसलाई एउटा विधाभित्र बाँधेर लेखेको भए सायद अझ सुन्दर हुने थियो । यध्यपि आफैंमा सुन्दर छ ।
लेख्दै रहनु, शुभकामना !

दिनेश राज said...

गोकुल जी , निचोरिएको मनले कलम निचोर्दा शब्दहरु वजनदार हुँदा रहेछन । प्रस्तुतिकरणमा मीठास छ ।

Umesh Gajurel said...

"प्रियतम, सात समुन्द्रपारिको यो परदेशबाट धेरै धेरै सम्झना तिमीलाई । आरामै त हौली भनी आशा मात्र गरेको छु । भरोशा र विश्वाशका खातिर तिमीले अरु कसैको काखी च्यापेपछी मलाई सम्झना भन्दा फगत केही नमिल्नेरहेछ ।"
यो रभना पढे पछि बिर्सिसके को मायालुको संझना अायो,
साहैं राम्रो छ यो रचना ले मेरो मन छोयो,

बेदनाथ पुलामी ( उमेश ) said...

"भो, नदांज । मेरो माया, अकुत सम्पत्तिसित । किरा लागेको मायाको घाऊ धमिरा लागेको धनको महल भन्दा ठुलो हुन्छ रे ।"
ओहो ! कति मज्जाको शब्द समायोजन ! निकै भाव मा डुबेर लेख्नु भएको रहेछ | दामी लाग्यो | अनि Shiva Prakash दाईको सुझाब मा अलिक ध्यान्दिनु होला - गोकुल दाई |

Milan said...

मन छुने पोष्ट लेख्नु भएछ ..धन्यबाद है...

Jotare Dhaiba said...

अनौठो संयोजन खिपेर पत्र तयार गर्नुभएछ ।
आफ्नै कुरा आएकाले पत्र जीवन्त बनेको लाग्यो ।
भाउजूको अघि भूपू मायालुको कुराले अलि गाह्रोसाह्रो भने पर्ला है ! :)


मर्मस्पर्शी छ, ठक्कर खाएको मनले समृद्धिको दुनियाँदारीबारे पोखेको सत्य उवाच पनि यसैमा मिसिएको बोध भयो ।

Anonymous said...

wooooooow,if you guyzs have a drink and this letter,you'll be in air not in land.bravo!!


your brother from
Pasadena

Ashok Nepal said...

गोकुल जी को लेख पढे राम्रो अनि मिठो लाग्यो सबैको जिंदगी माँ यस्ता घटना हरु हुन्चन तर पनी तपाईको लेख रार्मो लगेयो .....

B.J. Dummali said...

Fantastic post keep it up Gokul jee.

Anonymous said...

गोकुल जी,धेरै धन्यबाद छ है । पत्र त ज्यादै मर्मस्पर्शी लाग्यो।यसले मेरो पनि मन चसक्क छोयो । यसमा लेखकले सायद आफ्नो भावनालाई पनि अभिब्यक्त गरेको हो कि भन्ने पनि आभास मिल्छ।
शभकामना छ यस्ता कोसेलीहरु पाठकहरुलाई पस्कदै जानुहोस।

Adams Kevin said...

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
ऋण। तपाईं यस इमेल मा अब हामीलाई सम्पर्क गर्न आवश्यक छ भने: adams.credi@gmail.com

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼