24 July 2009

प्रधानमन्त्रीलाई खुल्ला पत्र :


सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार,
सिंहदरबार, काठमान्डौं ।

बिषय : दिल रोएको बारे ।

प्रधानमन्त्रीज्यू,
बिहान उठ्ने बित्तिकै देशको खबर बुझ्न उत्सुक मेरा परदेशी नजर आज फेरी एउटी अबोध बालिका बलात्‍कृत भएको समाचार पढ्न वाध्य भए । नपढुम् भने आफ्नै देशमा निर्दोशीको अस्मिता लुटिएको कथा, त पढुम् भने आँशु चुहाउनै पर्ने बाध्यता । यसैकारणले 'मिठो सम्बोधन', 'भाषिक शुद्धता' हरुलाई पर सारी आँखाबाट झरेका आंशुका थोपाहरु यहाँ जथाभाबी राख्ने अनुमती चाहन्छु । नेपाली हुलाक सेवाले तपाईं सामु छिट्टै पुर्याएछ यो पत्र र तपाईंको हात लाग्यो भने मन लागे पढ्नुस् , नलागे प्रेस सल्लाहकारलाई सोध्नोस, के गर्ने भनेर !

प्रधानमन्त्रीज्यू,
नडराइ लेख्नुपर्छ कि, उपेन्द्र महतोका बाबुले बलत्कार गरेको घटना तपाईंहरुको आदेशले थन्किएको फाइलका कारण १२ बर्षकी कबिता (नाम- परिवर्तन) आज मालिकद्धारा बलात्‍कृत हुनुपरेको छ । तपाईं बस्ने 'सरकारी घर' कै छेउमा बत्ती मुनिको अध्यारो बनि कबिताले आफ्नो अस्मिता खोपिमा बुझाउनु पर्छ भने ति दुर्गम गाउंहरुकी चेलीको हालत के होला ? जनताका काम गर्न ?, कार्यालय जाने समयमा उपत्यका भरिका सडक जाम गराउदै तपाईं सवार हुनुहुँदा तपाईंका आँखै सामुन्ने रत्नपार्कमा निर्दोश महिला अकारण नाङ्गिनु पर्छ भने दुर्गम बस्तिहरुका हालत के होलान ? सरकार बचाउने निहुंमा तपाईं नयांबजारमा प्रचन्डजीको निवासको भर्र्याङ् उक्लदै गर्दा त्यही भर्र्याङ्को झ्यालबाट बिरेनले ख्यातिको शरीर टुक्रा-टुक्रा पारेको देख्नुहुन्छ भने कर्णालीका ति बिकट बस्तिका हालत के होलान ?

प्रधानमन्त्रीज्यू,
एक्काइसौ शताब्दिको यो आधुनिक युगमा हैजाले जाजरकोट लगायतका जिल्लाहरुमा करिब १५० ब्यक्तिहरु अनाहकमा मर्नुपरेको छ । एउटा जाबो सडेको जीबनजलको प्याकेट नपाएर यतिबिघ्न मृत्‍यु ? असंग्लग्न राष्ट्रको सम्मेलनमा तपाईं यूरोप जांदा यो कुरा थाहा पाएर कती हांसे होलान, तपाईंका समकक्षीहरु ? संसार बनाउने सपनाको सम्बोधन गर्नुभयो, तपाईंले यूरोपमा । तपाईं बोलिरहनुहुँदा नेपालको संबिधानसभामा सभासदहरु निदाएसरी निदाइरहेका थिए रे, मनमोहन सिंहहरु । किनकी तपाईंले समकक्षिहरुलाई नेपालमा मरेका ति १५० ब्यक्तिहरु झाडापखालाले नभइ "पहिरोले" मरेका भन्नुभयो रे । अनि नेपाल फर्किएर तपाईं लाग्नुभयो - जाजरकोट । सरर हेलिकप्टर चढेर । दुई रुपैयाको जीबनजल नपाएर मरेका जनताको लाश हेर्न दुई लाख भाडा तिरेर हेलिकप्टरमा सवार हुनुभो, तपाईं । १५० गुना दुई बराबर ३०० रुपैया । ३०० रुपैयां छैन राष्ट्रसँग ? कठै बिचरो नेपाल ! कठै बिचरा जीबनजल पीडित जनता !! कठै तिनका प्रधानमन्त्री !!! भारतीय भुसतिघ्रेहरुले सीमा मिच्दा सिमाबलोकन गर्न त तपाईं परै जाओस, न पररास्ट्र मन्त्रीज्यू सवार हुनुभो, न त रक्षा मन्त्रीज्यू ? के लोकतन्त्रमा म तपाईंलाई प्रश्न गर्न सक्छु ? किन पाल्नुहुन्छ, सिमाको बारेमा नबोल्ने मन्त्रीहरु ? सरकार टिकाउन मात्र हो भने ईतिहाससले तपाईंलाई फेरी अर्को असक्षम प्रधानमन्त्री भनेर सदैब धिक्कार्ने छ । होइन भने जाजरकोटका प्रमुख जिल्ला अधिकारिले तपाईंको स्वागत गर्दै माला पहिराउदैंमा घांटी फुलाउनु पर्दैन, प्रधानमन्त्रीज्यू ।

प्रधानमन्त्रीज्यू,
तपाईंका गृह मन्त्रीज्यूले सात दिनमा देशमा शान्ती सुरक्षाको प्रत्याभुती दिलाउने आश्वासन दिनुभयो, हामीलाई । आज सात महिना बितिसक्दा सातओटा माखा मरेका छैनन । बरु माखाहरु कति बढेका छन् भन्ने त तपाईंलाई यूरोपबाट फर्कदा ङिचिक्क हांसिरहेको तिनकुनेको थुप्रोले बतायो होला वा जाजरकोटका 'हैजे झिङ्गाहरु'ले । हुन त टल्कने दौरा सुरुवाल त झिङ्गाहरुका शत्रु हुन् क्यार । अत्तर लगाएको तपाईंको काखी सुंघ्न ति झिङ्गाहरु पक्कै आएनन होला । आखिर जे होस् । दुई जना डनहरु समाउदैमा राझधानी आनन्दले सुत्छ ? तपाईं सुत्नुहोला, आनन्दले । तपाईंका मन्त्रीहरु सुत्लान, आनन्दले । तर, यो गर्मिमा जाजरकोट त रातभर जागा छ भने अब तराइमा असली 'डन'हरुसङै लामखुट्टेका डनहरुले गरेका तमसा, लाग्ने महामारी र मारिने जनताहरुको बेलिबिस्तार तपाईं भारत जादासम्म देखिएला शायद । मलाई लाज लाग्यो प्रधानमन्त्रीज्यू, एउटा मामुली लामखुट्टेको 'खतरा' बारे पनि मैले तपाईंलाई लेखी पठाउनुपर्ने ? तर तपाईंको राष्ट्र महामारिले बान्ता गरिरहेका बेला, तपाईंका 'युथ फोर्स' कता जान्छन् कुन्नी ? मैले बुझेको अर्थ त 'पिपल्स भोलेन्टियर्स' भनेका त 'जनताका सेबक' हुन् । तर यो महामारिमा तपाईंका ति भोलेन्टियर्स जाजरकोट जान सक्दैनन ? कथम कदाचित, यो पत्र तपाईंले पढुनु भयो भने भन्नुहोला, महामारिमा 'वाइ सि एल' किन गएन भनेर ? तर मेरो बिन्ती छ प्रधानमन्त्रीज्यू, तपाईंले अस्ती नयांबजारमा यो प्रश्न सोध्नुभएन ?

प्रधानमन्त्रीज्यू,
अरब गई पैसा कमाएर परिवार पाल्ने सपनामा झिटी झाम्टा बन्दकी राखेर उडेका नेपालीहरुका कथा यहाँ लेखिरहनु नपर्ला । तपाईंका महामहिम राजदूतहरुले त्यहां दु:खले, दर्दले र शोषणले मर्माहत नेपालीका राम-काहानी भन्न छाडेर अरबमा 'मट्टितेल र सुन बढी बिक्ने' कथा शायदै सुनाउलान ! प्रधानमन्त्रीज्यू, मेरा एक हितैशी मित्र ट्रेक्किङ गर्नुहुन्थ्यो । गाउंमा उहांको अथाह ॠण थियो । ट्रेक्किङ्को शिलशिलामा एक जना जापानी साथीसँग उहांको घनिस्टता बढेछ । पछी तिनै जापानिको सहयोगले मेरा मित्र 'श्रीमान' बन्दै सुन्दर सपनाका साथ जापान हानिनुभयो । जापान पुगेपछी मेरा मित्र ति 'जीबनसङ्गिनी'को साथमा पुलमुनी बास बसेछन । मतलब, मित्रकी जापानिज श्रीमतीको जेथा केही रहेनछ । भर्खरै परदेश छिरेका, त्यसमाथी पनि जापानजस्तो बिकसित देशको कुना-कुना उनलाई यती छिट्टै कसरी थाहा होस् ? 'श्रीमति'ले घांडो ठानेर मित्रलाई छाडिदिछन् । तीन महिने उनको भिसा सकियो । दुर्भाग्यले, अबैधानिक उनी पुलिसको फन्दामा परेछन । सपना बुनेर हरियो पासपोर्ट सहितको उनको जिन्दगी कालो पासपोर्टसहित नेपाल फर्काइए । उनी नेपाली दुताबास धाएछन, पुलिससंगै । नेपाली कर्मचारी न हुन, आइनो-वास्ता केही भएनछ । यसैले प्रधानमन्त्रीज्यू, जापानजस्ता देशमा त तपाईंका राजदूतहरु तास खेल्छन भने अरु कथा यो चिट्ठीमा नलेखुम होला । अहिले पनि २५ लाख तिरेर अमेरिका प्रबेश गर्न तयार छन, नेपालीहरु । हैजा लाग्यो भनेर अमेरिका र जापानहरु आफ्ना जनतालाई नेपाल घुम्न नजानु भनेर टि भि मा समाचार दिन्छन । तर २५ लाख ॠण तिरेर अमेरिका जाने नेपालीलाई २५ लाख कहिले काम गरेर उठ्छ भनेर सिकाउने निकाय छैन । देश बन्न टाइ सुटले सज्जित भाषण होइन, सानो सानो निकायदेखी नै पारदर्शिता र दुरदर्शिता चाहिने रहेछ । हुन त म मुलाले भनेर यो कुराहरुले यहाँको घैंटोमा घाम लाग्ला र ?

संसारमा जहाँ युद्ध छ, त्यसको पहिलो पंक्तिमा नेपाली हुन्छन रे । तपाईंका सुरक्षा सल्लाहकारलाई कत्तिको ज्ञान छ कुन्नी ? तर रणभुमिमा लडिरहेका लेबानानबाट मेरा साथी उमेशले भनेका कुरा हुन् यि । उनी हैटी, सोमालिया हुँदै अहिले लेबनानी नेपाली सेनामा छन रे । दोस्रो विश्व युद्धको 'गोर्खाली बिजय' लाई गर्ब ठान्छौं, हामी । तर कसैका स्वार्थका लागि बिजेता बनेका हामी गोर्खाली किन सदा अघिल्लो पंक्तिमा खुल्ला छाती थाप्नुपर्ने ? अमेरिकाको डरले ॠण नमाग्ने संयुक्त राष्ट्र संघको नियम हो यो ? तिनै युद्ध बिजेताको बेदना र अधिकार बारेमा बेलायति नायिकाले जुलुश गर्छे, भाषण गर्छे, गोर्खालिले मुद्दा जित्दा हर्शको आंशु चुहांउछे । तर यि यस्ता घटनाहरु हाम्रा सभासदहरु प्याला पिउंदै सुत्ने बेलामा बल्ल टेलिभिजनमा देख्छन । त्यही पनि फेशन टि भि हेरी सके पछी । हेर्दा-हेर्दै, राष्ट्रियताको लागि बिदेशिले आंशु बगाउनु पर्ने मुलुक भयो, नेपाल । हाम्रा लागि आंशु चुहाउने ति बेलायती नायिकालाई बोलाएर एक छाक भात खुवाउंदैन, नेपाल भने दिशा बस्न खुसुक्क नेपालको झाडीको छेल पार्ने मुखर्जीहरुलाई ल्याएर रातोदिन सम्मान गर्छ, नेपाल ।

प्रधानमन्त्रीज्यू,
यि 'न' बाट निस्कने चिज नेपाललाई फाप्दा रहेनछन । निती, नियम र नैतीकता । पैसा हुनेका बहुबलले जे गरेपनी हुने । सँगै थुनिएका साना 'रणबिर'हरु जेलको चिसो छिंडिमै छन भने 'पावर' भएका ठुला रणबिर 'रिपोर्टर ॠशी' पत्रकारिताका महान पुरुशको परिचयले सम्मान थाप्न सभा हलका पिंडि-पिंडिमा, तपाईंले झै जमिनमा गूड्ने हेलिकप्टरबाट सवार छन । प्रधानमन्त्रीज्यू, यसको उत्तर दिनुस्, एउटै मुद्दामा ॠशी छुट्ने, ति शिशीहरु सड्ने ? मेरा कोही पर्दैनन, कोही पनि । अपराध गरेका हुन् तिनले अनि हामी जनताको ठहरमा त्यो मुद्दाको ठुलो अपराधी र मतियार ॠशी धमला हो । तपाईंलाई लाज लाग्नु पर्ने हो प्र मज्यू, तपाईं प्रधानमन्त्री हुंदाका बखतको भन्दा बढी घांटी भरी माला लगाउन ब्यस्त छन, त्यस्ता अपराधी । तपाईंले त एकचोटी लगाउनु भयो, उसको त कामै सम्मान ग्रहण गर्ने छ, आज हरेक दिन । अनि सम्मान गर्न बोलाउनेहरु को ? माला लगाइदिनेहरु, तपाईंका मन्त्रीज्यूहरु ! के रहरले लगाइदिएका हुन् माला कि अपराधलाई संरक्षण गरेको हो, तपाईंको सरकारले ?

र अन्तमा, प्रधानमन्त्रीज्यू,
झाडापखालाबाट बच्न झोल्-पदार्थ खानु पर्छ रे भनेर पढेको जस्तो लाग्छ । एक किलो दालको भाउ १२० रुपैया ! दुई रुपैयाको जीबनजल किन्न हुती नभएको तपाईंको सरकारले १२० रुपैया किलो पर्ने दाल र गेडा-गूडी खुवाउला ? सुनिदैछ, बडेमानका जहाज आउँदैछन रे, हतियार आउँदैछन रे, तपाईंसङै भारतबाट । सम्झनोस, उसको सिमनामा महामारी फैलदा हामीलाई सडेको जीबनजल नपत्याउनेले किन हतियार बेच्दैछ ? अनि तपाईं किन जानुपर्‍यो भारत ? जानुस्, तपाईंको ब्यक्तिगत कुरा हो । तर हामीले तिरेका करले तपाईं 'सिङ्हहरु'को दर्शन गर्न जांदै हुनुहुन्छ भने सोध्ने अधिकार छ, हामीलाई । यो पनि सोध्ने अधिकार छ कि, अब किन चाहियो हतियार ? जजरकोटको घटनाले जनताको जिउमा तागत छैन भन्ने प्रमाणित भएन तपाईंलाई ? कमजोर जनताको शरीरले अब हतियार होइन काम नगर्ने नेतालाई खोलामा फाल्नेछन । जिबनजल नपाएर सडेका शरीरले हतियार खोज्छन कि तागत वा ओखती ? सोध्नोस, एकचोटी स्वकिय सचिबलाई ।

भोली बिहान उठ्ने बित्तिकै १५० रुपैंया खल्तिमा हालेर तरकारी किन्न निस्कनुहुन अनुरोध छ, प्रधानमन्त्रीज्यूलाई । त्यो किनाइ पक्कै एउटा अभिनय नहोला । तपाईंको निवासमुनिका ति पसलेले अभिनय ठानेर वा तपाईं छड्के हान्न आएको नठानी १५० रुपैंयाको बस्तु दिए भने तपाईं त्यहीं ढल्नुहुनेछ । हाम्रा बा-आमालाई दुख्ने टाउको तपाईंलाई पनि दुखोस् । महङ्गिले आकाश छोएको मुलुकका प्रधानमन्त्रीले आँफै भाउ बुझ्न सामान किनेको पढ्न पाइयोस । "सुर्य ग्रहण' हेर्न अबतारी चस्मा लगाउन समय हुने तपाईंलाई दुइ मिनेट तरकारी किन्ने समय हुँदैन ? हुँदैन भने तपाईंबाट हामीले केही आश राखेका छैनौं । तपाईं पनि हिजो फल्न नसकेका त्यही ड्याङ्का मुला हुनुहुनेछ । धन्यवाद !

17 Comments:

hariram said...

यो लेख असाध्यै समसामयिक छ। यो नेपालको बर्तमान यथार्थ हो। गोकुल जी संगै म पनि हाम्रो प्रधानमन्त्री ज्यूलाई एक पटक पत्र पढेर तीन पटक सोच्न सादर अनुरोध गर्दछु ।

आशा said...

साह्रै मार्मिक र समय सान्दर्भिक पत्र लेख्नु भयो सबै नेपाली जनताका पीर,ब्यथाहरु समेतेर गोकुल जी पक्कै ब्लगका चिट्ठीपत्रको लागि त उँहा सँग फुर्सद मिल्दैन होला तैपनी
कम्तिमा यो पत्र कसैले हात पारी हाम्रा प्रधानमन्त्री ज्युलाई सुनाउन पाएदेखि शायद कतै निन्द्रा बाट ब्युँझी यथार्थको धरातलमा उभेर जनताका पक्षबाट कतै न्याय भए साँचै एउटा अनौठो उपलब्धी मान्नुपर्छ हामीले ।

तर बिडम्बना! हाम्रा प्रधानमन्त्री र उनका शाखा तथा उपशाखाहरु कुर्सीका अगाध प्रेममा कर्णाली,रुकुम्,रुम्जाटार जस्ता बिकट र सबै कुराबाट बन्चित अनि कुन्चित नेपालीहरुका निम्ती उनिहरु त अन्धो,लाटो र लगँडो नै भए भन्दा अन्यथा नलाग्ला ।
खै हाम्रा नेताहरुलाई राजधानी,की त भारत नत्रभने बिदेशमा चाँही किन यस्तो मोह जागेको होला र आफ्नै भुमिको सिमास्तम्भ देखि चाँही किन यस्तो घ्रिणा उत्पन्न भएको होला..म त अवाक् नै भए ।

अन्त्यमा हामी सबैको प्रतिनिधित्व गरेर यो खुल्ला पत्र प्र जी को लागि लेखिदिनुभएकोमा तपाईं प्रति आभार ब्यक्त गर्न चाहन्छु।

दूर्जेय चेतना said...

बास्तबमा एक मात्रहैन अनेकौ खुल्ला पत्रहरु लेख्नु भयो। हाम्रा समस्या कति धेरै भए त्यसको लेखाजोखानै नहुने भयो। कुनै एउटा समस्यामा ध्यान दिएको पनि नदेखिनु आफैमा बिडम्बना हो। हामि मुलाहरुको कुरा कस्ले सुन्ला र त्यै पनि तपाईले आफ्नो कर्तब्य निभाउनु भयो। तपाईको यो प्रयास उल्लेखनिय छ। धेरै धेरै धन्यबाद है

Anonymous said...

dherai ramro lagyo, politicians haru le desh banaune bare sochna badhya kahile hune hola? bela bela ma dhyan akarshan gardai garnu parchha....

Sujan Sharma said...

अत्यन्तै गम्भीर विवेचना र सान्दर्भिक विषयमा कुरा उठाउनु भयो। तपाँईको यो उल्लेखनिय प्रयाशको लागी धेरै धेरै धन्यबाद!

Umesh Gajurel said...

सर, सान्दर्भिक विषयमा कुरा उठाउनु भएको छ, एक पटक त कन्सिरी तातेर अायो, कति सहनु अब त हद भइ सक्यो, अाखिर नेपालमा कहीले सम्म यस्तो भइ रहन्छ, अब त नेपा????

Dilip Acharya said...

कुरा सहि हो तर हाम्रा प्रमहरु साह्रै व्यस्त छन रे, कत्रा कत्रा काम, सेमिनार, गोष्टी र उद्धाटनमा जानु पर्छ । केही दिन अगाडि कतै पत्रिकामा निरिक्षण हेलिकप्टरबाट र औषधि खच्चडबाट भन्ने समाचार पढेको थिएँ ।

खबर सुन्दा पनि उदेक लाग्छ, खै के लेख्‍ने?, बरु यो पत्र वा यसको लिन्क हाम्रा प्रमको वेबपेज खोजखाज गरेर पठाउनु पर्ला जस्तो लाग्यो ।

हावा De Wind said...

एस्ता सानातिना घटनामा आसु धेरै नचुहौनोस गोकुल ब्रो तपाईं को आसुका भकारीनै सुक्लान फेरी

Shiva Prakash said...

आँस त चुहिएनन्, बाँकी भए चुहिनु
तर मन भने कुडियो ।

Basanta said...

साह्रै मार्मिक! मनै कुँडियो। हाम्रा नेताहरुमा यस्ता चिठ्ठी बुझ्ने संवेदनशीलता कहिलेबाट पलाउला?!

कृष्णपक्ष उज्यालोको खोजिमा said...

जिबनजल नपाएर सडेका शरीरले
हतियार खोज्छन कि तागत वा ओखती ?


हामी आफैमा विभाजनको रेखा कोरेर हिँसाको खेल खेल्न अभ्यस्त राजनीति, किन बुझ्थ्यो मानवीय मर्म?
साह्रै मन बिझाए तपाईका पत्रले ।

Anonymous said...

This is the reality of Nepal

B.J. Dummali said...

यसलाई अदभुत कला भनिन्छ र त्यो अदभुत शक्ती जसलाई देशको पिंडा छातीमा दुख्छ उनीहरुले लेख्न सक्छन। यस लेखाईमा जतिपनि लेखन छन सबै सत्य छन वास्तबिक्तालाई अँगालेर कोरिएको छ, यस्ता लेखन कार्यमा कलम चलाउनु हुने मित्रलाई मेरो सलाम। आगमी दिनहरुमा पनि यस्तै दमदार प्रस्तुती पढ्न पाउ धन्यबाद।

Anonymous said...

It;s reality man keep it up.

Baniya Bikram said...

हा हा हा हा हा हा नाम पनि हावा काम पनि हावा बिचार पनि हावा क्यगजब छ यार। हावाको उद्देस्य के हो? सानो तिनो घटना रे ओ बाबु तेरो बहिनी र दिदी ख्याती श्रेष्ठ भएको भए सानो तिनो घटना हुन्थ्यो?अलि पडेर कमेन्ट गर न बाबु हावा तालमा कुनै पनि काम गर्दा कहिलेकाहीं नराम्रो हुन्छ ।

World is a Dramma..! said...

Kya chha, yasto lekahru hunai parchha. malaaii dherai dukhita ra aakrosita banaayo. Thank you for everything.

Adams Kevin said...

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
ऋण। तपाईं यस इमेल मा अब हामीलाई सम्पर्क गर्न आवश्यक छ भने: adams.credi@gmail.com

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼