Showing posts with label सम्झना. Show all posts
Showing posts with label सम्झना. Show all posts

06 March 2012

रंग पर्वको शुभकामना !


रंगहरूको पर्ब "होली-फागु पुर्णिमा"को उपलक्ष्यमा यहांहरू सबैलाई मंगलमय शुभकामना !
सात बर्ष भैसकेछ, स्वदेशमा फागु नखेलेको । परदेश, परदेश र परदेश । खप्परमा परदेश लेखेपछी फागु लगायतका अनेकौं आफ्ना प्यारा चाडहरू छुटेका छन् ।

एक टुक्रा :

खप्परमा लेखिएको परदेशले धेरै कुरा छुटेका छन,
प्रश्नका खातहरूले बोदो दिमाग भुटेका छन ।
कमाउने आशमा हातहरूले यहां गिट्टि कुटेका छन,
सम्झनाका सिरानीले मीठा सपना लुटेका छन ।
केलाउंदा बिगत आफ्नै आंशुले दिल चुटेका छन,
प्राप्तिका अभिलाशामा मेरा भाग्य फुटेका छन ।

यस्तै छ जिन्दगी । पिर बोकी बाटामा हिड्दा छेवैमा फुलेको रंगिन फुलले मन नाई भुरुङ्ग हुन्छ । निद हरामको रातमा छेउको रेडियोमा बजेको गजल कति आनन्ददायक हुन्छ ! यसरी नै जहाँ हामी भए-रहे पनि यो रंगिन बसन्तले खुशी र उमंगको उल्लासमय रंगिन बहार ल्याओस, यहांहरू सम्पुर्णलाई मंगलमय शुभकामना !!!
Read more >>

03 April 2010

तिम्रो चिट्ठीको जबाफ :


सुन्दर र हस्तलिखित तिम्रा सम्झनाका ति चिठिका पानाहरुको लागि धन्यवाद !

मलाई त के हुनु छ र ? अर्काको देशमा भांडा माझ्न आउनेको के नौलो समाचार हुन्छ र ? तिमीले आफ्न घरमा बसेकाहरु सँग प्रत्येक महिना माग्ने गरेकी भाडा जस्तो सजिलो हुंदोरहेनछ, परदेशको जिन्दगी । राजधानिमा आलिशान महल, सुन्दर फ्ल्याटहरु, घरकै सटरमा स्व-ब्यापार । त्यो पो जिन्दगि, तिम्रो पो जिन्दगी । अर्कैसँग ऋण काढेर दु:ख बेसाउन परदेशिएका हामी अभागिहरुको के नयाँ त के पुरानो अनि के को साँचो बिसन्चो ? तिमीले छाडेर गएका मायाका यादहरु जस्ता निर्घात बिझाउने खालका हुँदा रहेछन्, परदेशका दैनिकी । न कुनै समाचार, न खाने ठेगान, न त सन्तोष नै ।

'के काम गर्छौ ? कति कमाउछौ ?' भनेकी रहिछौ ।
तिमीलाई चिन्नु एउटा ठुलो भूल भएछ, मेरो । 'प्रेम' त्यो थियो भने त आज 'मेरो सम्झनालाई साक्षी राख, दुनियांमा प्रेम भन्दा ठुलो पैसा छैन' भन्थ्यौ हौली । तिमीले भगवानसँग भाकेका भाकलहरु भुले पछि अनी साचो मायाको साटो सपनाको धन तिमीमा फुलेपछी, तिमीले जसरी नै मान्छेले मान्छेलाई हेप्न रत्तिभर बांकी राख्दो रहेनछ । खैर, ठिकै छ । चाहना भन्दा ठुलो कुरो रहेछ, भाग्य । सांचो मायाको मेरो चाहना अपुरो रह्यो भने भाग्यमानी तिम्रो दर्हो खप्परले धन पायौ, सुख पायौ । त्यसैले त आज, सम्झनाको भकारिमा मुसा बनेर म धान चपाउने चेस्टा गर्दैछु भने तिमी महारानी मानेर मैले चाखेको भकारीको धानको चामलको भातमा घीऊ झानेर खादैंछयौ । पुर्पुरो हुनु त तिम्रो जस्तो, दिनभरी तिम्रो खेतमा आली लाउने खेतालाको माया भन्दा, साउने झरिमा कुलोको पानी चोर्न आउने 'पानी चोर' को महल पाउनु ।

'अनि, फर्किने कहीले'नि' अं रे ?
यसो हुन्छ नि, तिम्रा महलमा फस्टाएका 'बिचरा, ती मेरा भतिजाहरु', जस्तै मेरो परदेशी भाडाको कोठामा हुर्कदैं गरेको बिचरोको के छ त खबर, भन्नु । तिमी भन्दा अलिकती अभागिनी 'मेरी' को हालखब्रर के छ त भन्नु, यसो सोध्नु ! ठाडै, मलाई सोधेको छ यार्, अनी मैले कमाउने पैसा र म फर्कने मिती ? खोइ भुपू मायालु, मैले तिम्रो ताल बुझिन । न म स्वदेश फर्केर तिम्रो र मेरो बीचको कालिगण्डकी माथि तुरतुरेतिर फर्कन्छ, न 'ती भतिजाहरुले' मलाई चिन्दछन र न त तिमो महलमा पाइला राख्ने हैसियतको भएको छु, म । गोजिमा दुई चार पैसो त मेरो कहिल्यै भएन र पनि मनमा माया चाँही सधैं भैरह्यो, चाहे त्यो केबल तिम्रो लागि नै किन नहोस्, सदाको लागि । तर अधुरो चाहना, बिझाउने सम्झना र असम्भब बर्तमानको अगाडि तिमीले भाकेका कुनै माइकालाल भगवानको पनि केही लाग्दो रहेनछ ।
खोलाको दुई किनारा भो, तिम्रो र मेरो पिरती !


मायाको त्यहि खोलाको यता पट्टिको किनारामा म 'सिंचाइको पानी' भएर सिन्चिएको छु, दुनियांका खेतमा भने , एउटै बाटो भएर पनि उता पट्टि चाँही गरीब किसानहरुको भर्खर लगाइएको आलीहरुको खेत भत्काउने 'भेल' भएकी छयौ, तिमी । संगै बहेर पनि तिमी भेल र म सङ्लो पानी जस्तै भयो, यो अनौठो पिरतीको मेल र बिमेलको मायाको खेलमा, हाम्रो जिन्दगी । मेरो पुकारा छ, म जसरी बांछे पनि तिमीलाई केही नहोस्, तिम्रा कसैलाई कृपया केही नहोस्, तिम्रा सुन्दर महलका भित्ताहरुमा अरुहरुका दाग नलागुन्, धर्ती फाटेपनी हासिरहोस्, तिम्रो मुहार । यही छ तिमीलाई मेरो शुभकामना र तिम्रो चिट्ठीको जबाफ ।
Read more >>

30 September 2009

तिमीसँग मैले के-के मागें !


तिमीसँग मैले फूल मागें,
तिमीले मलाई भूल दियौ ।
आशा मागें, खुशी मागें,
दिल मागें, सुख मागें,
तिमीले केबल खेलौना दियौ ।
प्रोत्साहन मागें, उमंग मागें,
तिमीसँग मैले सान्त्वना मागे ।
तिरस्कार दियौ, निराशा दियौ,
तिमीले मलाई खरानी दियौ ।

एक चोटि होइन, लाखौं पटक मागें
यसै होइन, हात जोडी मागें,
निहुरेर मागें, ढोगेर मागें,
मलाई तिमीले श्राप दियौ ।
लेखेर मागें, चिच्याएर मागें,
जोगी भै मागें अनि भोगी भै मागें,
तिमीसँग मैले रोगी भै मागें ।
उपहास दियौ, अन्धकार दियौ,
अब कहिल्यै नखुल्ने ढोका दियौ,
तिमीले मलाई धोका दियौ ।


तिमीसँग मैले वाह्-वाही मागें
तिमीले मलाई रिस दिलायौ,
मैले तिमीसँग ओखती मागें,
मलाई तिमीले बिश पिलायौ ।
मल्हम मागें, पट्टी मागें,
एउटा टेक्ने लठ्ठी मागें,
म फलेको फल सम्झेर होला
तिमीले मलाई झट्टी दियौ ।

मैले बिलौना मागें, फेरी आंशु मागे,
मलाई तिमीले रवाफ दियौ, घमन्ड दियौ ।
तिमीसँग मैले थपडी मागें,
तिमीले मलाई थप्पड दियौ,
सम्झना मागें, बिर्सना मागें
मलाई तिमीले झझल्को दियौ ।
तिमीसँग मैले,
एक त्यान्द्रो जिन्दगी बांच्ने रहर मागें,
मलाई तिमीले,
रातका हजारौं प्रहरहरु दियौ ।

मैले तिमीसँग के-के मागें ?
तिमीले मलाई के-के दियौ ?
Read more >>

28 July 2009

जननी, जन्मभुमी र जन्मदिन :


बालखामा मलाई झोलुङ्गोमा छाडेर निबेक लगाउन आमा सधैं मेला जानुहुन्थ्यो रे । सानै उमेरमा धन कमाउने उदेश्यले बुवा परदेशमा हुनुहुन्थ्यो । आफु थाहा पाउने बेला भएदेखी भन्नु नै पर्दा बुवासँग बसेर धित मरुन्जेल मासु खाइ दसैं मनाउने अबसर मिलेको छैन । सदाका दसैं ठुलोबाको घरबाट किनिने एक बिसौली मासुले टारियो । परिवार परदेशमा भारी बोक्न हिंडेपछी जस्तासुकै भनौते चाड पनि नमिठा लाग्दरहेछन । सधैंको निबेकको आमको दैनिकी, झुलुङगोमा अरुले नहल्लाएनी रुवाबासिको एकान्तताको रुवाइको आफ्नो बाल्यकाल र बुवाको परदेशी बासले आज सम्झदं'नी खल्ला लाग्दरहेछन, ति दिनहरु । च्यातिएको गुन्युको त्यो झोलुङ्गोमा हुर्किएनी, रिमोटले चल्ने आधुनिक झोलुङगोमा हुर्किएनी मान्छेले पाउने शरीरको रुपरेखा त एउटै हुनेरहेछ । स्वादिस्ट चनाको पिठो खानेहरुको ज्यान खदिंलो र खोले खानेहरुको ज्यान अली दुर्बिलो । आखिर फरक यति नै रहेछ । तर आमाको काख भन्दा न्यानो मायाको खानि, स्नेहको चौतारी र ममताको भन्डार यो संसारमा कही कतै नपाईने रहेछ ।

बाख्राका बरकम्लासँग खेलेको गोठ, आमालाई हजुरबुवाले पेवा दिनुभएको रतौली बाख्रा र गाई चराउने ति सुन्दर खोरियाहरु, आफुले लाले-चम्रे गोरु नारेर जोतेका कान्ले बारीहरु, त्यो समाज,अनि ति गोठाले साथीहरु । सब बिराना भए । जन्मेको सुन्दर गाउ सुनसान भयो । आज बाध्यताले आफु परदेशिनुपर्दा सोचिंदो रहेछ, के मैले घांस झार्ने टांकिका बुट्टाहरु अहिले सम्म जिबितै होलान ? ओराले बनका सालका ठुटाहरु लम्पसार परेर म बन्चरे-भाइ कहिले आउँला भनी हेरीरहेको होला ? बुवाको जडौरी पैन्टमा आइरन लगाउन मैले तताएको कसौडी आमाले अझै साचिराख्नु भएको होला ? अनि जुनियर रेडक्रस र स्काउट गठन गर्न हामीले धाएका जिल्लाभरिका स्कुलहरु कस्ता भए होलान ? साथीहरु पनि सबै परदेशमा छन । ठुलाबा पनि बुढा हुनुभो बिचरा । हजुरआमा बित्नुभो । उता मामाघरमा मलाई कपुरी क सिकाउने हजुरबुवा पनि बित्नुभो । गाउं यसै सुनसान छ । पहिला हामी हुंदा गडगडाउने दरौंदी नदी अहिले साउने झरिमा पनि सुसाउन डराउंछ रे । सिर्दी खोलो पनि सुक्यो होला । पानी नपरेर कसैले खेत रोप्न पाएका छैनन रे, यिनाताका माससम्म । सम्झेर बसेको छु, आफुले खेली बिताएका उकाली, ओराली र दरौंदी फांटका खेतहरु ।

जीबन सार्थक नभए पनि यो धर्तिमा आफ्नो जन्माइ बाचुन्जेल एउटा सम्झना भएर ब्युंतिदोरहेछ, हरेक सालको एक दिन । सफल र असफल भनेर जिन्दगी छुट्टयाउने कुनै तराजु नभएपनी आफ्नो जन्मदिन कसलाई पो नराम्रो लाग्दो होला र ? आज त्यही जन्मदिनमा यो सांझपख आफ्नी जननीको सम्झना आयो । ममतामयी मेरी आमाको प्यारो कोखको याद आयो । 'दिशा' खाँदै सकी नसकी मच्चिएको गुन्ये झोलुङ्गोको याद आयो । कस्तो बिचित्रको हुदोरहेछ, आमाप्रतिको माया, बुवाप्रतिको श्रद्धा र आफन्तहरुको सम्झना - त्यो पनि यो बिरानो मुलुकबाट ! आमाको आशिर्बाद लिन भरे फोन गरुम भने सधैं भन्नुहुन्छ, 'गाउका सबै दाजुभाइ कती चोटि आएर गए । तिमी आउने कहिले बाबु ?' लेख्दा त झर्ने यि आशुहरुलाई म आमाको सामु कसरी ब्यक्त गर्न सक्छु र ? गला अड्की-अड्की, रुमालले आशु पुछ्दै परदेशका यि सारा दु:ख, झन्झट र बाध्यता कसरी बिलौना गरौ । आमाको मन न हो । परदेशमा रहेको छोरोको स्वर अलिकती गडबड भयो कि आँफै सुक्सुकाउन थाल्नुहुन्छ अनि भक्कानिएर झरेको मेरा आंशु देखेर श्रीमती आशु पुछ्न रुमाल दिन्छिन भने हजुरआमा र हजुरबुवासँग गफ गर्न तम्सने छोरो मेरै काखमा आएर मसंगै रुन थाल्छ ।

केबल सम्झनामा दिन बिताउने त बानी नै हो, सबै परदेशिहरुको । अत; यो जन्मदिनमा म आमाको त्यो कोखलाई फेरी सम्झन चाह्न्छु । स्नेहमुर्ती आमाको आशिर्बादले यो जिन्दगी सधै सत्यको बाटो हिंड्ने साहसको लागि मेरी आमा सम्झेर भगवानसँग प्रार्थाना गर्दछु । बुवाको कर्मठ छोरो हो भनी छाती फुलाउंछु । जन्मभुमी नेपालको परदेशी पुत्रको रुपमा सम्झनाका आंशु चढाउदै सत्यताको प्रतिफलको आशमा जन्मदिनको आभार जननी र जन्मभुमिप्रती ।
Read more >>

18 July 2009

तिमीलाई लेखेको चिठी :


तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद, सपनिमा देखिएको तिम्रो झझल्कोले होला । ती पुराना यादहरुले होलान । टुसुक्क बसेर मसी सकिन लागिसकेको कलम खाली पानाहरुमा कुदाएं । अनी शुरुवात गरें, लेख्न ;

"प्रियतम, सात समुन्द्रपारिको यो परदेशबाट धेरै धेरै सम्झना तिमीलाई । आरामै त हौली भनी आशा मात्र गरेको छु । भरोशा र विश्वाशका खातिर तिमीले अरु कसैको काखी च्यापेपछी मलाई सम्झना भन्दा फगत केही नमिल्नेरहेछ ।"

चिनाजानिमा मैले लेखेको पुरानो अपुरो चिट्ठी को याद आयो । त्यसैमा कोरिएको एक हरफको ;

"आंशु पिइ बांचिरेहें, सपनिमै नांचिरहें,
हेपिएको दिन सम्झन, औंलाहरु भांचिरहें ।"
(मैले लेखेको यो टुक्रा, हाम्रा आदरणिय गुरु, संगीतीज्ञ गुरुदेब कामतको संगीतमा साथी सबनमजीले ०५५ सालको गुरुपुर्णिमामा डोरेमी संगीत पाठशाला जमलमा रेकर्ड गराउनुभएको थियो । )

हो, यिनै माथिका हरफहरु चरितार्थ भएका छन, आजकाल मेरा दैनिकिहरुमा । अनी सकी नसकी मन बुझाई भन्नु परेको छ, म पनि यही संसारको कुनै कुनोमा केबल बांचेको छु । अहिले तिनै हरफहरुलाई सच्चाएर, तिमीलाई लेखेको चिट्ठीमा मैले यो लाइनहरु रिमिक्स गरेर थपेको छु ।

आंशु पिइ बांचिरहेछु म, तिमी आनन्दिको संसारमा डुले'नी,
बाडुल्की बनि कुक्कुकिदो रहेछ माया, तिमीले मलाई भुले'नी ।

तिमीलाई सम्बोधन गरेपश्चात झस्किएं म, म यो चिट्ठी किन लेखिरहेछु ? कसलाई लेखिरहेको छु भन्नेसम्म त याद छ । तर निर्जिब कलमको घांटी थिचि-थिची अर्थ लाग्ने 'अर्थहिन' वाक्यहरु किन ओकाल्न बिबश बनाउदैछु भन्ने बिषय कि त तिमीले भाकेकी भगवानलाई थाहा होला, कि तिमीलाई । त्यसपछी, त्यो चिट्ठीमा यि हरफहरु जोडें ;

"मायालु, तिमीले भाकेका भगवान त साह्रै पापी रहेछन । तिनले फोकटमा तिम्रो भेटी खाए । उनको नाममा मलाई पुकार्दै कुनैदिन तिमीले खुल्ला आकाशमा उडाएका परेवाका बचेँरा ती युगल जोडी, हुर्केर, प्रेममा मस्तले जिएका छन रे भन्ने खबर सुनें, मैले । तर जुन बस्तु प्राप्तिको लागि तिमीले धूप सल्कायौ, नैबेद्ध चढायौ । सल्केको त्यही धुपौरोमा तेलको सट्टा पानी हालेर निभायौ । अनी त तिम्रो पुकाराको के अर्थ लाग्यो ?"

"जे कुरो संसारमा असम्भब छ भन्छन, त्यो प्रेममा सम्भब हुन्छ रे, भन्थ्यौ । रे आखिर रे मै रह्यो । यतिबेला तिमी बडेमानको महलमा आकाशतिर नजर लगाउदै अरुले उडाएका परेवाका बचेरा पहिल्याउदै हुन्छ्यौ रे । मलाई लाग्छ, सुखमय महलको छत माथि त स्वच्छ हावाबाहेक केही उड्दैन । बरु, तिमीलाई तातोपानी दिलाउने सोलारको डब्बामा परेवाहरुले फोहर गरेर तिमीलाई गिज्ज्याउदै उड्छन रे । यो रे पनि अचम्मको हुलाकी भएर आउन थालेको छ मेरो जीबनमा, आजकाल तिम्रो सम्झना बनेर ।"

कलममा मसी सकिएला र लेखिएका हरफहरु धर्-यात धुरुत बनाइ टुक्रा-टुक्रा पारी कापिका पानाहरु फ्याक्छु भन्छु, बेदनामा मेरो सट्टा कलम रुदो रहेछ । मधुर आँखाबाट बलिन्द्राधारा आंशु चुहाए जसरी मरे नसिद्दिने रहेछ, कलमको मसिरुपी आंशु । म सम्झाउछु, कलमलाई । "तं जे मन लाग्यो तेही नलेख्, त्यो खाली कापीमाथि ।' ऊ त उल्टै मपट्टी निपरुपी मुन्टो बटार्दै मसीरुपी आशु चुहाउदो रहेछ र भन्छ, 'मलाई पनि तपाईंसँग रुन मन लाग्यो ।' अनी फेरी यो लेख्यो ;

"प्रिय, बाबा परदेश जानुभो भने घर-ग्रिहस्थिको खबर लेखिने चिट्ठी पुरा हुदोरहेछ । तिमीसँग जान्नु अगाडि म अनो समाउदै चम्रे र लाले गोरु नारेर जोत्दा बाबालाई सबैकुरो लेखी पठाउथें । बाबा भन्नुहुन्थ्यो, अर्को चिट्ठीमा अझ बढी खबर लेखी पठाउनु । भैंसी कम्लाएको, रत्यौली बाख्रीले पाठो पाएको, परेवाको गूड् बनाएको खबरहरु उहा खुशी मानि मानि आंशु चुहाउदै पढ्नुहुन्थ्यो रे । खैर, मेरो बिगत जे होस् । त्यो तिमीलाई सरोकारको बस्तु भएन । तर पनि बरु, मरुभुमिको लडाईंमा भाई मरेको चिट्ठी पुरा हुदोरहेछ । लड्न गएको थियो, शत्रुले मार्यो । अभागी रहेछ, बिचरा मर्यो । मृत्‍युको त्यो चिट्ठी, मृत्‍युको खबर लिएर आयो, पुरा भयो, सकियो ।"

"तर प्रिय, तिम्रा नाममा लेखिएका मेरा हरेक चिट्ठीहरु सदैब अपुरा हुने गर्दछन । खै कुन्नी किन हो ? तिनले बिषय पाएनन भनुम् भने, संसारमा अरुले जस्तै बिषय(प्रेम) गरेको हुँ मैले । रोमियो र जुलियट हुन नसके पनि मुनामदनको पाठकजस्तै बनुम् भन्ने अभिलाषाले पनि मेरा प्रयासहरु सधैं अपुरा रहे । म मात्रै पछी लागेको थिएं भने मेरो कलमले एउटा वाक्य राख्न अनुमती माग्यो ;

मरी सक्यो त्यो भन्ने लाग्छ भने, मेरो चित्र चौबाटोमा टासी देऊ,
बेकार रहेछ मिलन भने, तिमी सँग भएको मेरो बीउ पनि मासी देऊ ।"

बिलखबन्धनमा झेलिएको कथा कलमको निपबाट लगातार छादिरहदा शायद मेरो भावनाको सहारा कलमको पेट अती सारो निमट्ठियो होला । पेट दुख्यो भन्दै अन्तमा मेरो कलम लेख्छ ;

"एकचोटी अप्रेशन गरेको घाऊ डाक्टरले भने जस्तो पुरै निको नहुने रहेछ । फेरी, घाउको दुखाइ केबल बिरामीलाई मात्र थाहा हुदोरहेछ । पैसाको लागि भुँडी नाप्ने तार बोक्ने डाक्टरलाई के थाहा, बिरामिको पिडा ? मायाको बाहनामा रक्तपूर्ण घाउमा धनीले प्रयोग गरी फ्यांकेको 'ब्यान्डेज'ले दुखाइमा सहानुभुति नदिंदोरहेछ । सबैका तिरस्कार र अबहेलनाले जर्जर घाऊमा स्याउ-स्याउती किराहरु पर्दारहेछन । अनी एक एक गरी मायाका अङ्गहरु झर्दारहेछन । निको नभएको रोगिको हालत, तिमीले सारथी बनाएकी लखपतीसँग दांज्न मिल्ला र प्रिय ?"

"भो, नदांज । मेरो माया, अकुत सम्पत्तिसित । किरा लागेको मायाको घाऊ धमिरा लागेको धनको महल भन्दा ठुलो हुन्छ रे ।"

त्यसैले अर्धलिखित यो गन्तब्यहिन चिट्ठी म फेरी तिमीलाई पठाउं कि नपठाउं ? दोधारमा थिएं । सडकमा बसेर चिच्याइ सुनाइदिउंकी झैं पनि नलागेको होइन । यही भित्तामा टांसिदिएको छु । मन लागे पढ । नलागे थुक, आफ्नो बाटो लाग । तिमी बाटो लागे पनि यो मनबाट सम्झना कहिल्यै बाटो लाग्दोरहेनछ । ठिकै छ । तिमीलाई यो हरफ उपहारस्वरुप, कलम बन्द !

"मै मरे भने फेरी मेरो, त्यो प्याला कसले भर्छ नि,
नसक्ने रैछु केही गर्न आँफै, जे लेख्छ भावी उहि गर्छ नि ।"
Read more >>

19 May 2009

एउटा बिरामीको बिछोड प्रेम कथा :


सधैं आमा मेलामा जानुहुन्थ्यो । बुवा परदेशमा भारी बोक्न । पत्याउनुहुन्छ भने मैले आफु नौ बर्षको हुँदादेखी खेतबारी जोत्न थालेको । त्यसैले त मान्छे पनि हलोको अनोक भन्दा अल्को [अग्लो] नभा'को, हा हा !!! त्यही त गाउले जिन्दगी । घरबाट धेरै तल सिर्दी खोलामा बुवाले केही सुर्को खेत जोड्नुभएको थियो । आफुभन्दा लामो हलो, घरमा भएको लाले गोरु अनी ठुलो बुवाको घरमा भएको चम्रे गोरु लिएर एक बिहानै म खोलाको खेतमा गोरु नार्न पुग्थे । सानो मान्छे, टाढाको खेत र अफ्ट्यारो बाटो । जाबो दुई घण्टामा कति नै जोत्न सकिन्छ र ? आफु फेरी पाठशाला पुग्नु छ । बन पार गर्दै उकालीदा बाटामा पर्ने १३ किलो बजारबाट आफ्नै स्कुल पढ्ने साथीहरु आठै बजे बसमा चढेर स्कुल लाग्थे । कोही छतमा बसेर फ्रूटी चुस्दै त कोही बसको ढोकामा झुन्डेर वाइ-वाइ चपाउदै । तर प्राय म हलो खेतमा गाडेर जुवा चाँही अरुले चोर्लान भनेर आफ्नै काधमा लट्ठिले अड्याउदै उकालीन्थे ।

यसरी नै चले आफुले जाने देखिको बालकाल र स्कुले जिबन । एक दिन परिवार सँग टन्टलापुर घाममा घैया गोड्दै गर्दा दिउसै कता कता एकदम डर लागेर आयो । किनकी एस एल सिको नतिजा आउने बेला भइसकेको थियो । आफु हिसाब भने पछी कुनी के हो आउने । अगाडि परेकी साथीको [जो कक्षामा दोस्रा थीइन] को चोरेर पास हुने आस । रामाराम, त्यो एस एल सि फेल भएको भए म आजसम्म हिसाबकै परिक्षा दिइरहेको हुन्थे । त्यसै डरको बिचमा आफुमा पनि सपनाको नगरि "नेपाल शहर" जाने रहर जागेर आयो । १५ बर्षको उमेरमा बुवा सँग ५०० रुपैया लिएर काठमाडौं आएपछी हामीहरुले गाउबाट आएपछी गरिने दु:ख त पहिले नै लेखिराखेको हुन्छ नै । छैटौ दिनमा पुर्पुरोमा जस्तो लेखिएको थियो, त्यस्तै दु:ख गरियो, बसियो, चलियो अनी चलाइयो । खैर प्रसँग अर्कै तिर गयो जस्तो छ ।

जसरी शहरी दिनचैर्या गाउले तरिकाले चलेको थियो । प्रेम भन्ने नौलोचैर्या त्यतिखेर मेरो जिन्दगीमा शायद शहरी तवरले चल्यो झै लाग्यो । दिनभरी ठमेलमा अरुकोमा काम गरिन्थ्यो । साझ लेखनाथ मार्गको म:म: खाएर क्याम्पस पढिन्थ्यो । राती पढेपनी किन किन दिउसो पढ्न मन लागेर आयो । अलिअली राजनीति गर्ने बानी त्यतिबेला । बढी नै बोल्न पर्ने । साथीहरु अनेक तरहका हुन्थे । काम र अली अली आम्दानी अनी नचढिएको नौलो मायाको ताम्दानिले कता कता काउकुती लागे झै हुन थाल्यो ।

दसैंमा घर गएर फर्के पछी सँगै बस्ने मेरो साथी केही महिना नफर्कने कारणले म कोठा सर्ने निधोमा पुगे । कती हुन्थ्यो र सामान ? एउटा कम्बल, फमको ओछ्यान, कुकर र दुई चार वटा किताब अनी एउटा रातो प्लास्टिकको बाल्टी । आधा घण्टामा सरियो बास । सरेको ठाउमा सामान सार्दै गर्दा मुल ढोका खुलै थियो । भोक लागेकोले कालो चिया र एक पाउन्ड पाउरोटी भकुर्ने जोहोमा पसलबाट फर्केको त ढोका बन्द। अब परेन फसाद !!! कसलाई बोलाउने ? को को बस्छन त्यहा, आफुलाई थाहा छैन । त्यती बेला कसैको मोबाईल थिएन । के गर्ने ? यसो हेरेको घन्टी बजाउने ठाम र'छ । बजाउनै पर्‍यो । टिङ्डिङ पारेको त, दुई सेकेन्डमा एउटी पार्वतीको उपस्थित भयो त्यहा । जालन्धरले पार्वती देख्दा मुर्छा परे सरि भए म त्यस बखत ।

अब ठमेलको म:म: होइन, कोठामा भात पकाएर खाने बहानारुपी जागर जागेर आयो । त्यतिबेला हिट्स एफ एम को "मेरो कथा - मेरो गीत" खुबै प्रख्यात थियो । सन्योग, मेरो खाने छुट्टी पनि त्यती नै बेला हुने । मेरो कथा नआउने दिनमा माया र पिरतिका गीत बजाउन थाल्ने भएछु । बजाए पनि । कोठाको कुनापट्टी त्यो फ्ल्याटमा बस्नेहरुले प्रयोग गर्ने पाइखाना रहेछ । जब मैले बजाएका गीत अनी अरुले एफ एम मा भनेका गीत बज्दथे, त्यो पाइखाना र मेरो कोठाको जोडीएको झ्यालमा ति "पार्वती"को आवागमन हुन थाल्यो । उनी कहिले लुगा धोएकी हुन्थिन त्यता त कहिले बिचरी पाइखाना जादी हुन । म भने मैले बजाएका संगीत सुन्न आएकी मोरी भनेर कुन्ता त फोन्द्रे नाक झन ठुलो बनाउथे अनी बोल्ने बहाना बनाउथे । "कस्तो राम्रो गीत बजाएको दाई ?" कुनै किताब पढिरहेको मेरो दिमाग उनको प्रश्नोत्तरका खातिर आतुर भए । उत्तर कस्तो हुन्थ्यो, त्यो यहाँ किन लेख्नु पर्‍यो र । कुर्कुरे बैशको मायाको उत्तर कसलाई पो थाहा हुँदैन होला र ?

एबम रितले चल्न थाले दिनहरु । उनी पनि म पढ्ने क्याम्पसमा पढ्ने रहिछन । उनको दाजुहरु मेरा सहपाठि-समकक्षी रहेछन । उनकी दिदी मैले काम गरेको ठाउबाटै अफिस जानुहुदो रहेछ । उहालाई म सधैं देख्दथे । विश्वकप फूटबल हेर्न उनको कोठामा जम्मा भएका साथीहरु सबै नजिकका रहेछन । मेरो आँखा उनको सिसाको दराजमा उनको आँखा सँगै त अरुका आँखाहरु टि भि तिर । परिचय, सम्बन्ध र बोलाकिले उनका सबै आफन्तहरु अब मेरा पनि हुन लागे । जिन्दगीमा नयाँ उन्माद र तरङहरुले छाल र तप्काहरु छोडे झै हुन थालयो । निचोड्मा भन्नुपर्दा, अब उनको मेरो बारेमा सबैलाई ज्ञात हुन थाल्यो । अनी सबैले स्विकार्न थाले - हाम्रो आत्मिय मायालाई । क्याम्पसमा हामीले आयोजना गरेका बनभोज र अन्य कृयाकलापमा एउटा पारिवारिक सदस्यले जसरी उनले मलाई सहयोग गर्न थालिन ।

मेरा अती हितैशी मित्र एक दिन मेरो कोठामा आउनु भएको थियो । मेरो निमन्त्रणामा - साग र भात पकाएर सँगै खाने रहरले । त्यस दिन जिन्दगीमा पहिलो चोटि प्याला पियौ हामीले । तर प्रेमको उन्मादमा भने पक्कै थिएन त्यो पिलाई । मलाई सन्चो नभएको जस्तो लागेको थियो । कती बखत के भयो थाहा भएन । अर्धचेत अवस्थामा म त बिर अस्पातलको आकास्मिक कक्ष पो लडिरहेको रहेछु । भोलीपल्ट अली होशमा याद भयो, मैले लगाएको मोजा कसैले खोल्दिदै शरीरलाई आराम महसुश गराउने कोशीश गर्दै थियो । यस भित्र धेरै कथाहरु छन । जुन यहाँ सबै खोलेर अबश्य सम्भब छैन ।

मलाई ब्यथाले छोडेन । परिवारको जेठो सन्तान म । घर अनी आफन्तहरु सबै पिरोलिन थाले । म आफुलाई पनि लाग्यो । अब म कदापी बाच्दिन । बीर अस्पातलको कथित प्रख्यात सर्जन डि बि शाह भनाउदोले मलाई केटी र प्रेमको कारणले चिन्ता जागेर त्यो हालत भएको बताएछ । म त प्राय सधैं बेहोश । कहिले कहिले खुल्थ्यो होश । आफन्त र उनै "पार्बती" को घना उपस्थिती भएको पाउथे - ब्युझदा । उनले पनि सुनिछन, डा. को त्यो भनाइ । यस्ता कुरा होश आउँदा आफुले साथी मार्फत थाहा पाएपछी बेहोश भए पनि म निको भएको बहनाले डिस्-चार्ज हुने निधो गरे । म मेरो करणले कसैले दु:ख नपाउन भन्ने मनसिकताले सार्है ग्रसित भए । मेरा आफन्तहरुले अब उनी र मेरो विवाह गर्ने निर्णय सहित् भोलिपल्ट उनको परिवारलाई भेट्न जाने निधो गरेछन । कोठामा मलाई ल्याको अली अली याद थियो - अस्पातलबाट । तर ब्यथाले मलाई छोडेन । भोलिपल्ट कोही बिहेको कुरा गर्न त कोही डा. उपेन्द्रसँग न्यूरो सम्बन्धी जचाउन लाने कुरो भएछ । म फेरी बेहोश । छट्पटिदै बीर् अस्पातलमा उपेन्द्र देवकोटा कुरेको याद छ । मेरो ब्यथाले अरु बिरामीले मलाई निर्धारित पालो भन्दा अगावै जान अनुमती दिएर ठुलो मानवता देखाएछन । भित्र कोठामा गएपछी उनले भने रे कि चार मिनेट ढिलो भा'को भए, मेरो मृत्‍यु निश्चित । कारण, मलाई म्यानेन्जाइटिस भएको रहेछ । न्यूरो वार्डमा लगेर एक हातको सुइ दिएपछी बल्ल मैले पुनर्जन्म पाएको महसुश हुन थाल्यो ।

अस्पताल बसेको झन्डै एक महिना भैसकेको थियो । बाहिरको संसारमा के भइरहेको थियो, म जानकार कदापी थिइन । हल्ला अनी अनेक हल्ला मात्र । भए नभएका कुरा हरु मात्र । कल्पना अनी ममता मात्र । मलाई पुरै निको भयो । एक हाते सुइ लाएपछी मैले उनलाई केही दिन त देखेको थिए । अस्पातलबाट बाहिरिएपछी मलाई कसैले फोन गरेन । उनिले पनि वास्ता गरिनन । शायद मेरो दोश थियो होला । एउटा बिरामीको, रोगिको अनी बिबशताको दोश । म फेरी कर्मथलो ठमेल फर्कन थाले । मैले गरेका उनका फोनका घन्टिमा बिद्रोहका अरु कसैका तिरस्कारहरु सुनिन थाले । म यूरोप गए । मेरो बिहे भयो । मेरी श्रीमती बिरामी भइन । मेरो छोरो जन्मियो । यती पस्चात मैले उनको बिहेको कुरा सुने । म बस्ने नजिकैको मन्दिरमा उनको धुमधाम बिहेको उन्माद सुनिन्थ्यो । उनी अन्मी रहदा म र मेरी आमा काठमाडौं आउँदै गर्दा मैले आमालाई भने - " आमा त्यो कबिताको बिहेको रमिता हो । " आमा दङ्ग पर्नु भो । म पनि अहिले सम्म दङ्ग छु । सुनेको छु, उनको दुई वटा छोरा जन्मिसकेका छन । म चाहन्थे, 'कम से कम भगवान एउटा छोराको नाम मेरो जस्तो जुराइदेउ ।' तर थाहा छैन के भइरहेको छ उनको दुनियाँ । म त परदेसिएको पनि पाचौ बर्ष पुरा भएछ । तर ममताको साहराले उनिसङै जिउने मेरो मनको रहर शायदै पुरा भयो !!! उनलाई सदा सुख होस् । मंगलमय दिनहरुले सदा सर्बदा प्रगती गराउन । यो भन्दा म के नै तथास्तु पुकार्न सक्छु र ?
Read more >>