03 April 2010

तिम्रो चिट्ठीको जबाफ :


सुन्दर र हस्तलिखित तिम्रा सम्झनाका ति चिठिका पानाहरुको लागि धन्यवाद !

मलाई त के हुनु छ र ? अर्काको देशमा भांडा माझ्न आउनेको के नौलो समाचार हुन्छ र ? तिमीले आफ्न घरमा बसेकाहरु सँग प्रत्येक महिना माग्ने गरेकी भाडा जस्तो सजिलो हुंदोरहेनछ, परदेशको जिन्दगी । राजधानिमा आलिशान महल, सुन्दर फ्ल्याटहरु, घरकै सटरमा स्व-ब्यापार । त्यो पो जिन्दगि, तिम्रो पो जिन्दगी । अर्कैसँग ऋण काढेर दु:ख बेसाउन परदेशिएका हामी अभागिहरुको के नयाँ त के पुरानो अनि के को साँचो बिसन्चो ? तिमीले छाडेर गएका मायाका यादहरु जस्ता निर्घात बिझाउने खालका हुँदा रहेछन्, परदेशका दैनिकी । न कुनै समाचार, न खाने ठेगान, न त सन्तोष नै ।

'के काम गर्छौ ? कति कमाउछौ ?' भनेकी रहिछौ ।
तिमीलाई चिन्नु एउटा ठुलो भूल भएछ, मेरो । 'प्रेम' त्यो थियो भने त आज 'मेरो सम्झनालाई साक्षी राख, दुनियांमा प्रेम भन्दा ठुलो पैसा छैन' भन्थ्यौ हौली । तिमीले भगवानसँग भाकेका भाकलहरु भुले पछि अनी साचो मायाको साटो सपनाको धन तिमीमा फुलेपछी, तिमीले जसरी नै मान्छेले मान्छेलाई हेप्न रत्तिभर बांकी राख्दो रहेनछ । खैर, ठिकै छ । चाहना भन्दा ठुलो कुरो रहेछ, भाग्य । सांचो मायाको मेरो चाहना अपुरो रह्यो भने भाग्यमानी तिम्रो दर्हो खप्परले धन पायौ, सुख पायौ । त्यसैले त आज, सम्झनाको भकारिमा मुसा बनेर म धान चपाउने चेस्टा गर्दैछु भने तिमी महारानी मानेर मैले चाखेको भकारीको धानको चामलको भातमा घीऊ झानेर खादैंछयौ । पुर्पुरो हुनु त तिम्रो जस्तो, दिनभरी तिम्रो खेतमा आली लाउने खेतालाको माया भन्दा, साउने झरिमा कुलोको पानी चोर्न आउने 'पानी चोर' को महल पाउनु ।

'अनि, फर्किने कहीले'नि' अं रे ?
यसो हुन्छ नि, तिम्रा महलमा फस्टाएका 'बिचरा, ती मेरा भतिजाहरु', जस्तै मेरो परदेशी भाडाको कोठामा हुर्कदैं गरेको बिचरोको के छ त खबर, भन्नु । तिमी भन्दा अलिकती अभागिनी 'मेरी' को हालखब्रर के छ त भन्नु, यसो सोध्नु ! ठाडै, मलाई सोधेको छ यार्, अनी मैले कमाउने पैसा र म फर्कने मिती ? खोइ भुपू मायालु, मैले तिम्रो ताल बुझिन । न म स्वदेश फर्केर तिम्रो र मेरो बीचको कालिगण्डकी माथि तुरतुरेतिर फर्कन्छ, न 'ती भतिजाहरुले' मलाई चिन्दछन र न त तिमो महलमा पाइला राख्ने हैसियतको भएको छु, म । गोजिमा दुई चार पैसो त मेरो कहिल्यै भएन र पनि मनमा माया चाँही सधैं भैरह्यो, चाहे त्यो केबल तिम्रो लागि नै किन नहोस्, सदाको लागि । तर अधुरो चाहना, बिझाउने सम्झना र असम्भब बर्तमानको अगाडि तिमीले भाकेका कुनै माइकालाल भगवानको पनि केही लाग्दो रहेनछ ।
खोलाको दुई किनारा भो, तिम्रो र मेरो पिरती !


मायाको त्यहि खोलाको यता पट्टिको किनारामा म 'सिंचाइको पानी' भएर सिन्चिएको छु, दुनियांका खेतमा भने , एउटै बाटो भएर पनि उता पट्टि चाँही गरीब किसानहरुको भर्खर लगाइएको आलीहरुको खेत भत्काउने 'भेल' भएकी छयौ, तिमी । संगै बहेर पनि तिमी भेल र म सङ्लो पानी जस्तै भयो, यो अनौठो पिरतीको मेल र बिमेलको मायाको खेलमा, हाम्रो जिन्दगी । मेरो पुकारा छ, म जसरी बांछे पनि तिमीलाई केही नहोस्, तिम्रा कसैलाई कृपया केही नहोस्, तिम्रा सुन्दर महलका भित्ताहरुमा अरुहरुका दाग नलागुन्, धर्ती फाटेपनी हासिरहोस्, तिम्रो मुहार । यही छ तिमीलाई मेरो शुभकामना र तिम्रो चिट्ठीको जबाफ ।

3 Comments:

सूर्य/सिकारु said...

जवाफी चिठीमा भरिएको मायाको भाव र बेदनाका तरङ्ग मा तैरिएका बिगतका स्पन्दनहरुले एकपल्ट फेरी उनीलाई मुटु मिच्न लगाउने छ गोकुल जी तपाइको यो तिखो कलमले।
म पनि चिठिकै सहारामा भन्छु माया प्रेम पैसामा बिक्दैन भन्ने कुरा मिथ्या हो।

Asha said...

मिठा सपनाहरुमा तिता यथार्थले छोपिदिदाँ मनभित्र उब्जिएका द्द्वन्दहरु स्वभाविक लाग्छन् गोकुल जी जुन तपाईंले पोख्नुभयो , माने तपाईंको कलमलाई धन्यवाद

Chaitanya said...

गहिरो भावना र जोडदार लेखाइ !

तपाईं र तपाईंका पाठकहरुलाई नयाँ साल २०६७ को हार्दिक शुभकामना !सदा झैँ यो बर्ष पनि मेरो ब्लगमा तपाइंलाई स्वागत छ है!

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼