28 July 2009

जननी, जन्मभुमी र जन्मदिन :


बालखामा मलाई झोलुङ्गोमा छाडेर निबेक लगाउन आमा सधैं मेला जानुहुन्थ्यो रे । सानै उमेरमा धन कमाउने उदेश्यले बुवा परदेशमा हुनुहुन्थ्यो । आफु थाहा पाउने बेला भएदेखी भन्नु नै पर्दा बुवासँग बसेर धित मरुन्जेल मासु खाइ दसैं मनाउने अबसर मिलेको छैन । सदाका दसैं ठुलोबाको घरबाट किनिने एक बिसौली मासुले टारियो । परिवार परदेशमा भारी बोक्न हिंडेपछी जस्तासुकै भनौते चाड पनि नमिठा लाग्दरहेछन । सधैंको निबेकको आमको दैनिकी, झुलुङगोमा अरुले नहल्लाएनी रुवाबासिको एकान्तताको रुवाइको आफ्नो बाल्यकाल र बुवाको परदेशी बासले आज सम्झदं'नी खल्ला लाग्दरहेछन, ति दिनहरु । च्यातिएको गुन्युको त्यो झोलुङ्गोमा हुर्किएनी, रिमोटले चल्ने आधुनिक झोलुङगोमा हुर्किएनी मान्छेले पाउने शरीरको रुपरेखा त एउटै हुनेरहेछ । स्वादिस्ट चनाको पिठो खानेहरुको ज्यान खदिंलो र खोले खानेहरुको ज्यान अली दुर्बिलो । आखिर फरक यति नै रहेछ । तर आमाको काख भन्दा न्यानो मायाको खानि, स्नेहको चौतारी र ममताको भन्डार यो संसारमा कही कतै नपाईने रहेछ ।

बाख्राका बरकम्लासँग खेलेको गोठ, आमालाई हजुरबुवाले पेवा दिनुभएको रतौली बाख्रा र गाई चराउने ति सुन्दर खोरियाहरु, आफुले लाले-चम्रे गोरु नारेर जोतेका कान्ले बारीहरु, त्यो समाज,अनि ति गोठाले साथीहरु । सब बिराना भए । जन्मेको सुन्दर गाउ सुनसान भयो । आज बाध्यताले आफु परदेशिनुपर्दा सोचिंदो रहेछ, के मैले घांस झार्ने टांकिका बुट्टाहरु अहिले सम्म जिबितै होलान ? ओराले बनका सालका ठुटाहरु लम्पसार परेर म बन्चरे-भाइ कहिले आउँला भनी हेरीरहेको होला ? बुवाको जडौरी पैन्टमा आइरन लगाउन मैले तताएको कसौडी आमाले अझै साचिराख्नु भएको होला ? अनि जुनियर रेडक्रस र स्काउट गठन गर्न हामीले धाएका जिल्लाभरिका स्कुलहरु कस्ता भए होलान ? साथीहरु पनि सबै परदेशमा छन । ठुलाबा पनि बुढा हुनुभो बिचरा । हजुरआमा बित्नुभो । उता मामाघरमा मलाई कपुरी क सिकाउने हजुरबुवा पनि बित्नुभो । गाउं यसै सुनसान छ । पहिला हामी हुंदा गडगडाउने दरौंदी नदी अहिले साउने झरिमा पनि सुसाउन डराउंछ रे । सिर्दी खोलो पनि सुक्यो होला । पानी नपरेर कसैले खेत रोप्न पाएका छैनन रे, यिनाताका माससम्म । सम्झेर बसेको छु, आफुले खेली बिताएका उकाली, ओराली र दरौंदी फांटका खेतहरु ।

जीबन सार्थक नभए पनि यो धर्तिमा आफ्नो जन्माइ बाचुन्जेल एउटा सम्झना भएर ब्युंतिदोरहेछ, हरेक सालको एक दिन । सफल र असफल भनेर जिन्दगी छुट्टयाउने कुनै तराजु नभएपनी आफ्नो जन्मदिन कसलाई पो नराम्रो लाग्दो होला र ? आज त्यही जन्मदिनमा यो सांझपख आफ्नी जननीको सम्झना आयो । ममतामयी मेरी आमाको प्यारो कोखको याद आयो । 'दिशा' खाँदै सकी नसकी मच्चिएको गुन्ये झोलुङ्गोको याद आयो । कस्तो बिचित्रको हुदोरहेछ, आमाप्रतिको माया, बुवाप्रतिको श्रद्धा र आफन्तहरुको सम्झना - त्यो पनि यो बिरानो मुलुकबाट ! आमाको आशिर्बाद लिन भरे फोन गरुम भने सधैं भन्नुहुन्छ, 'गाउका सबै दाजुभाइ कती चोटि आएर गए । तिमी आउने कहिले बाबु ?' लेख्दा त झर्ने यि आशुहरुलाई म आमाको सामु कसरी ब्यक्त गर्न सक्छु र ? गला अड्की-अड्की, रुमालले आशु पुछ्दै परदेशका यि सारा दु:ख, झन्झट र बाध्यता कसरी बिलौना गरौ । आमाको मन न हो । परदेशमा रहेको छोरोको स्वर अलिकती गडबड भयो कि आँफै सुक्सुकाउन थाल्नुहुन्छ अनि भक्कानिएर झरेको मेरा आंशु देखेर श्रीमती आशु पुछ्न रुमाल दिन्छिन भने हजुरआमा र हजुरबुवासँग गफ गर्न तम्सने छोरो मेरै काखमा आएर मसंगै रुन थाल्छ ।

केबल सम्झनामा दिन बिताउने त बानी नै हो, सबै परदेशिहरुको । अत; यो जन्मदिनमा म आमाको त्यो कोखलाई फेरी सम्झन चाह्न्छु । स्नेहमुर्ती आमाको आशिर्बादले यो जिन्दगी सधै सत्यको बाटो हिंड्ने साहसको लागि मेरी आमा सम्झेर भगवानसँग प्रार्थाना गर्दछु । बुवाको कर्मठ छोरो हो भनी छाती फुलाउंछु । जन्मभुमी नेपालको परदेशी पुत्रको रुपमा सम्झनाका आंशु चढाउदै सत्यताको प्रतिफलको आशमा जन्मदिनको आभार जननी र जन्मभुमिप्रती ।

16 Comments:

Basanta said...

साह्रै भावुक बनायो भाइको यो लेखले! आफ्नो परिवार, गाऊँ-घर र देशको याद झन् गाढा भएर आयो।

जन्मदिनको धेरै-धेरै शुभकामना!

Dilip Acharya said...

कतै पढेको थिए, हरेक मानिसकको जन्मदिनमा दुईजना पैदा हुन्छन। एकजना जन्मने शिशु र अर्को सो शिशुलाई जन्माउने नारीको "आमा" को रुपमा दोस्रो जन्म ।

तपाईको यो लेखोट पढिरहँदा आजको यो दिन, तपाईको भन्दा पनि तपाईकै ममातमयी आमाको जन्मदिन भएको महशुस भयो मलाई । जीवनका यथार्थतालाई कतै ढाकछोप नगरी खुलस्त लेख्‍ने तपाईको शैली एकदमै रोचक र भावनाप्रधान लाग्छन मलाई ।

आजको यो दिनमा तपाईको ममतामयी आमामा मेरो पनि प्रणाम र तपाईलाई मुरी-मुरी शुभकामना !!

ashok nepal said...

गोकुल सर तपाई को लेख पदेर मलाई पनी आफ्नो गाऊ,बस्ती , र ममता मई आमा को याददिलउनु भयो,! जून कुरा तपाई लेआफ्नो मन को कुरा लखनु भो, रोचक र भावनात्मक छन हजुर को यो सैली रार्मो छ, ! अजजा रार्मो रार्मो लेख हरु को आशा म छू , र अंत म हजुर लाई जन्म दिने आमाँ लाई नमस्कार अनि हजुर लाई सुवकामाना.....

Sujan Sharma said...

हामी अहिले जुन अवश्थामा यो धर्तीमा उभिन सक्षम भएका छौं, त्यो सबै देन आमाको हो । आमाको बात्सल्य र मातृत्व पाएर नै आज हामी आफ्नो पहिचान बनाउन पाएका छौं । आफ्नो जीवनलाई सही दिशामा बदल्यौं भने, समयको सही सदुपयोग गर्‍यौं भने र आफना जिम्मेवारी कतर्व्यनिष्ट भएर पूरा गर्‍यौं भने केही हदसम्म मातृत्वको सम्मान गरेको आभास हुने छ ।


तपाँईको आमामा मेरो पनि धेरै धेरै सम्झना साथै जन्मदिनको हार्दिक मंगलमय शुभकामना।

सुर्य/सिकारु said...

गोकुल जी यो लेखमा समेटीएका शब्द र आमाप्रतिका सदभाव अनि मातृभावका खदिला बिचारहरु तपाइहामी जस्तै परदेशिएका हरेक मनले मागेको यथार्त नै हो । जसले आफ्ना पलपलहरुलाई खर्चेर बुढ्यौली साहारामा टेक्ने लटठी भन्दै हुर्काईन बढाइन तर बिडम्बना उनैको महानतालाई गुमाएर हामी तडपीरहेछौ अनन्तमा र मारेका छौ मातृआशाका डोबहरु ।

तपाइको आमा लगायत सम्पूर्ण नेपाली आमाहरुप्रति सदभाव र प्रणाम जगाउदै तपाइलाई जन्मदिनको मंगलमय शुभकामना ।

आशा said...

गोकुल जी तपाईंको लेख पढेर म पनि भाबुक भएँ , फेरि अतितका ती यादहरुसँग झस्किन पुगेँ र सधैं झै आमालाई सम्झेँ ,परदेशी भएपछिका दिनहरुमा मात्रै एउटा अभाब खट्किरहयो आमाको र उनको ममताको, स्नेहको...


अन्त्यमा तपाईंलाई जन्मदिनको शुभकामना । तपाईंका हरेक पाइलाहरु प्रगतिको बाटोतिर लम्किरहुन र हरेक साल सफलता,सुखमए तथा सम्बृदिका साल बनि आइरहुन् ...

Milan said...

जन्मदिनको शुभकामना

DEEPENDRA said...

Belated happy birthday!

दीपक जडित said...

'परदेशबाट आमासँगको ममतामयि सम्बन्ध सबैको उस्तै उस्तै
हुनेरहेछ ' यहि बुझेँ तपाईंको यो लेखाईमा । भावुक भएं निक्कै बेर । म ढिलो आएको छु तथापि ढिलै भएपनि तपाईंको जन्मदिनको शुभकामना ! साथै आमालाई मेरो पनि प्रणाम !

B.J. Dummali said...
This comment has been removed by the author.
B.J. Dummali said...

जन्मेको ठाउँ, हुर्केको ठाउँमा जन्म दिन मनाउन नपाएनी गोकुल जी जनम दिन त मनाउनु भयो नी, एकदिन अबस्य जन्म भुमीमा पनि मनाउनु हुनेछ। र रह्यो देश प्रेम मा डुबेको क्षणहरु त्यो सबै बिदेशमा बस्नेलाई महसुस हुन्छ गोकुल जी तपाईंले भावना पोखेर मनलाई शान्त पर्नु भयो सबैले तपाईको महससुलाई बाँडनु भएकोमा धन्यबाद।

साथै तपाईंको जन्म दिनको हार्दिक हार्दिक शुभकामना!!!

एकल यात्री said...

हास्यव्यंग्यको चाड गाईजात्रामा
हाँस्ने केही विषयहरुः
१. महँगीले थिच्नु
२. कार आएर पेटीमै किच्नु
३. चामल खाएर पखालाले मर्नु
४. सीमारेखा रातारात सर्नु
५. पहिरोले मान्छे पुरिनु
६. अपराधीहरु सुरिनु....
... ... ...
... ... ...
आउनुहोस्, मरी मरी हाँसौँ ।

दूर्जेय चेतना said...

साथीहरुले धेरे कुरा लेखिसक्नु भयो तर गोकुलजी मलाई केही लेख्नै आएन।।। पढ्दै थिए, बिचमै रोकिए।।।। जन्मदिनको शुभकामना

Umesh Gajurel,"Dev, Raj", उमेश गजुरेल , said...
This comment has been removed by the author.
Umesh Gajurel,"Dev, Raj", उमेश गजुरेल , said...

पढ्दा पढ्दै आखाँ बाट आसुँ झर्यो, खै केही कमेन्ट गर्नै सकिन,

Any Way many many happy Birthday,

बेदनाथ पुलामी ( उमेश ) said...

गोकुल सर म त ब्लगको संसार देखि अन्तै पो हराएछु ..... यता छिर्न अलिक ढीला गरेछु है ...
ढिलै भए पनी ... जन्म दिनको शुभकामना ...अनि सलाम छ तपाईको आमा र मातृभूमि प्रतिको आस्था प्रति |

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼