19 August 2009

धेरै दिन हराउंदाको नमज्जा :


गत हप्ता एउटा कार्यक्रमको शिलशिलामा 'जुवा र रमाइलो'को शहरको नामले संसारभर परिचित 'लस भेगस' जाने अबसर मिल्यो । रातको एघार बजे झुपुझुपु उङगदै शक्ती दिने ओखती ? (लाले गोरु- रेड बुल) पिउदैं त्यहां पुगियो । होटेल त बूकिङ थियो रे दाइले भन्नुभएको तर साथीहरुको चापले कोठा भरिएर गाडीमै सुत्नु पर्‍यो । फेरी खोइ किन हो कुन्नी, सप्ताहन्तका दुई दिन शुक्र र शनिबार लस भेगसका सारा होटेलका सारा कोठाहरु भरिदां रहेछन ! दोब्बर पैसा तिर्छु नि त बाबा भन्दा पनि नपाईने, सुत्नको लागि कहीं कतै नमिल्ने केही प्रहरको लागि बास । भारतीय तर नेपाली मनका साथी चेतनको गाडीमा नै केही घण्टाहरु बिताइयो । सडकमा गाडी पार्क गरेर गाडीमै सुतौं भने सडक पनि गाडीले पुरै भरिभराउ । यसो बिचार गरेर एउटा होटेलको पार्किङ्को चौथो तल्लाको कुनामा गाडी खांदेर लुसुक्क सुतियो ।

भोलिपल्ट आफ्नो काम सकिवरी नेपाली रेस्टुराँमा खान खान सबै जना (त्यहा ब्यापारिक मेला भएकोले भाग लिन आउनुभएका सबै नेपाली हामीहरु) जम्मा भएर बडो मज्जाले खान खाइयो । हुन त जाजरकोट रोगले र हुम्ला भोकले रोएको बेलामा परदेशको खानाको मज्जा उल्लेख गर्नु उपयुक्त नहोला । सन्दर्भ यस्तो परेकोले मात्र उल्लेख गरेको हुँ । यत्तिकैमा काकाले आफ्नो होटेलमा आउन र कोठा मिलाइदिने आश्वाशनलाई हृदयमङगम गर्दै उनैको पछी लागियो । शनिबारको त्यो रात के का मिल्थ्यो कोठा ? चप्पल पड्काउदै साथी चेतन र म सुट्केश घिसार्दै लाग्यौं, आफ्नै गाडीतिर । बास मिल्लाकि भन्ने आशले यसो शेरोफेरो घुमियो, दुई चार होटेल चारियो । हामीलाई कसैले पत्याएनन गांठे । त्यहां त खाली युगल जोडी मात्र हुंदा रहेछन । पुरै सडक उनिहरुकै हिडाइले जाम । अनी सप्ताहन्तका ति दिनहरु किन खाली हुन्थे र मिल्ने कोठा ? हुन पनि निर्बस्त्र तिनिहरु भनुम भने पुरै भन्न नमिल्ने । लगाएका छन कपडा भनुम भने एक बित्ते टालोलाई कसरी बस्त्र भनुम ? धर्मले नै दिएन । धर्म सम्झदै कही पर राखिएको गाडी कता पार्क गरेर सुत्ने सोच्दै लाग्यौं, चेतन र म लस भेगसका चम्किला सडकतिर ।

रातको ३ बजे लखतरान पर्दै हिजो गाडी राखेर सुतेको ठाउंमा लाग्यौं । मज्जाले कोदाली मच्चाउदै मकैबारिमा कोदो रोप्ने मेलो बनाउंदै बुवा र आमासँग हाँस्दै गरेको सपनी देख्दै थिएं, कसैले गाडीको शिशा ट्याक्-ट्याक पार्यो । चेतन मस्त निन्द्रामा थिए । मैले क्वाइक्-क्वाइक घुमाउने कुरो घुमाउदै गाडीको शिशा खोलें । होटेलको सुरक्षा वाला रहेछ । परिचय पत्र माग्यो । गाडीमा सुत्नुपर्नाको कारण सोध्यो । हामी किन गाडीमा सुत्नुपरेको बिबशता त्यो भुशतिघ्रेलाई के थाहा ? उपयुक्त कारण दिन नसकेपछी हामी त्यो पार्किङ क्षेत्र छोड्न वाध्य भयौं । नत्र भने पुलिस पो बोलाउछु भन्छ त, अम्रिकाने गार्ड त । चेतनले " आइ विल टेक केयर यु म्यान, गिभ अस फ्यु आवोरस टू स्लीप " भन्दै अङ्रेजी छाट्दै थिए । घूस लिन पटक्कै मानेन मोरोले । एका बिहानै आफ्नो देशको 'भ्रस्टाचार - धर्म' सम्झदै त्यो तिघ्रेलाई बाइ गर्दै निस्क्यौं हामी ।

गल्ली गल्लिका हरेक स्थानमा पैसा राखेर खेल्ने ठाम हुंदारहेछन । प्रत्यक स्टोर, रेस्टुरेन्ट लगायतका ठाउमा पैसा मास्ने भाडो राखेको हुदोरहेछ । मान्छेहरु त्यसलाई जुवा खेल्ने ठाउँ भन्दारहेछन । म आफु जुवाको चोखो हुन खोजेको होइन । सत्य धरोधर्म, अमेरिकि समाजलाई त्यो जिबिका उनिहरुको तरिका होला तर मैले त्यो छाडापन कहिल्यै देखेको थिइन र जीबनमा जुवा देखेको थिइन । फेरी अर्थतन्त्र संकट लाग्यो भन्थे बजारतिर । तर त्यहां त चौबिसै घण्टा मानिसहरु सुरा, सुन्दरी र जुवामा मस्त । अरुले खेलेका नजर लगाइयो, देखियो । खेलाउनेले पैसा सोरेको देखियो तर खेल्नेले जितौरी सोरेको यि आँखाले धेरै कम देखे । हारेका छन र पनि पैसा झिकेका छन, च्याखे थापेका छन गांठे । पिएका छन, झुम्म भा'का छन । कस्तो अचम्मको जिन्दगी, हे भगवान । ब्यापारिक मेला जांदा बिचमा पर्ने बाटाहरुमा पनि हाम्रो समाजले पचाउन नसक्ने खालका पत्रीकाहरु । पैतला टेक्ने हरेक पाइलामा अनैतीक सम्बन्धका लागि संपर्क गर्न भनी फालिएका रङगीन 'बिजनेस कार्डहरु' । होटेलहरु त यसै झिलिमिली भइहाल्छन नि । तर त्यहां त झिलिमिली पनि चाहिने भन्दा बढी श्रिङ्गार गरिएकी दुलही जस्ति । त्यस्तो पो रहेछ, लस भेगस ।

भन्न पनि लाज लाग्छ, यसो फोटो खिच्न भनेर क्यामेरा बोकेर नगएको पनि होइन । तर के को खिच्ने फोटो ? बाटामा देखिएका बस्तुका खिचुं भने नपच्ने ति चिजका तस्विर कुन ब्लगमा टांस्नु ? अरुले खेलेका जुवा खालको खिचु भने के खिच्यौ त बुढा भनेर श्रीमतिले क्यामेरा हेर्दा जुवा खेलेर आइछस होइन भनी गाली खाने डर ? अनिदै सुतेको तस्विर खिंचु भने तीन बजे बिहान निन्द्रामा लुक्दै खिचेको फोटोको के माने र ? साउदी अरबमा हाम्रा दाजुभाइलाई पैसा नदीइकन दलाउने शोषकहरुको लगानिका ति ठुला भवनहरुका पनि फोटो खिचिन मैले त । दुलही लिन गएर रित्तो फर्किएको ताम्दानी जस्तो भयो बिचरा मेरो क्यामेरा, यसपाली ।

धेरै दिन भयो, देशका समाचार पनि पढ्न पाइएन । मित्रहरुका रमाइला र सुन्दर प्रस्तुतिका ब्लग पनि पढ्न पाइएन । चट्ट लाएर होटेलको आठौं तलामा बसेर समाचार हेरुम्ला भनेर दाजुको भरमा गा'को, आँफै गाडीमा सुत्नुपर्‍यो । अनी कता जोड्ने कम्प्युटर ? कम्प्युटरको ब्लग बैङ्लोरको दिशातिर फर्काउदैमा इन्टरनेट आउंदो रहेनछ न त नासातिर फर्काउंदा नै ! जे भए पनि आफ्नै मुन्टो सधैं दुर्घटना हुने लस भेगसका सडकमा पिल्पिलिएका पुलिसका गाडीतिर फर्काउंदै कर्मठाम फर्कीइयो । यो ब्लगको नशा त यस्तो पिडादायक हुदोंरहेछ कि ? जिन्दगिको दैनिकिमा के छुटे के छुटे जस्तो क्या ! गाली गर्नुभए पनि म त भन्छु, बरु श्रीमतिको अनुहारको याद आउंदो रहेनछ, तर यो ब्लगको अनुहार भने ! के भनुम र खै ? के नपाए के नपाए जस्तो । ब्लगको अनुहार हेर्न नपाउंदा त मन ज्यादै नमज्जा हुदोंरहेछ । ढिलै भएपनी यो साहिलि (ब्लग) सँग भेट भा'को छ । अब मिलाएर कुरा मिलाउनुपर्ला, साहिलिको अनुहार हेर्दै उनको अनुहारमा यो 'क्रिम'(लेख) दलिदिएको छु, यिनलाई फकाउन आजलाई ।

11 Comments:

Basanta said...

हा हा हा! गोकुल भाइको लेखाई साह्रै रसिलो हुँदै गईराखेको छ। भाइले कम्प्युटरलाई एकचोटि माईक्रोसफ्टको अफिस भएतिर पनि फर्काएर कोशिश ग-या भए हुन्थ्यो, काम बनिहाल्थ्यो कि:)

ब्लग साहिली भे' माहिली चाहिँ को हो नि:)

B.J. Dummali said...

ल गोकुल जी तपाईंसँगै "लस भेगस" पनि घुमियो यार, मलाई त अब पुग्यो क्यानडाको सपना गाडीमा सुत्न पर्ने रहेछ बरु मलाई मेरै देशको पराले गुन्द्री ठिक लाग्यो खुल्ला-खुल्ला लहै क्यानडा भ्रमण गराउनु भएकोमा धन्यबाद।

D DUS JI said...

जिन्दगीमा कहीले काहीँ रमाइललो गर्न जादा बिभिन्न समस्यामा परीन्छ, अझ बिपरीत संस्कृती वा बिपरीत सोच भएका मानिसहरू भेट भए भने त अझ गाह्रो हुन्छ, यो लेख पढेर मलाइ यस्तो लाग्यो कि जुन ठाउामा घुम्न जाने हो त्यो ठाउको बारेमा पुर्ब जानकारी लिनुपर्ने र गोजिमा सोचेभन्दा बडि ............ राख्नु पर्ने,

Dilip Acharya said...

फेरि पनि यौटा रमाईलो लेख ।

कुनै बिधा वा औपचारिकतामा बाँधिएर लेखिएका भन्दा मलाई यस्तै अनौपचारिक कुराहरु मनपर्छ ।

साँच्चै हो !, यो ब्लग चलाउन थाले पछि १-२ दिन कतै निक्लीयो र ईण्टरनेट चलाउन पाऐइन भने त ज्वरो नै आउला जस्तो हुँदो रहेछ हो !

राजेश......रुपान्तरणको खोजीमा said...

गोकुल जी तपाईको यो प्रस्तुती मलाई सार्‍है मन पर्‍यो ।
साँच्चै तपाई र दिलीप दाईले भनेझै ब्लगको अनुहार एकचोटी नहेरिकन त न्रि्रै लाग्दैन मलाई । सारै बोर लाग्छ हप्ताभर ।

अनि तपाईको ब्लग लिस्टमा म छुइन त । सम्बन्ध एकतर्फी मात्र हो - मैले निम्ताई सके मेरो छिमेकमा तपाईलाई ।
टाँसोका लागि धन्यवाद ।
www.onlinekhaskhas.blogspot.com

Milan said...

होटेलको आठौं तलामा बसेर समाचार हेर्न लस भेगास गए पछी पाउनु पर्ने दुख चाहिं यस्तै हो - झन्डै नेपाली उखान "झोल" खान गएकी बुढी झोलमै डुबेर मरी भने झैं भएछ ..

म नि छुट्टिमा लस भेगास जाने विचार गर्दै छु.... दाइका अनुभबहरु सतर्क हुन काम लाग्ने रहेछन .. शेयर गर्नु भाकोमा धन्यबाद छ है

आशा said...

रमाइलो लाग्यो तपाईंको यात्रा संस्मरण गोकुल जी शब्दहरुसितै भए पनि कल्पनामा लस भेगास नि घुमियो..जीबनका आईपर्ने गोरेटाहरुको अनुभब पनि मिठै हुन्छन्, भबिष्यमा अतितका पानाहरुसँग झस्किदाँ शायद रसिला अनुभितिहरु दिलाउन मद्घत गर्लान् ...


अनि यो साँहिलीको माया त जेठी भन्दा नि प्यारो हुदोँ रहेछ जस्तो छ तर कामना गरौ, कुनै दिन कान्छीले र साँहिलीले यो स्थान नलियोस *wink*

अन्त्यमा तीजको पावन अबसरमा तपाईं लगायत सम्पूर्ण नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना ...

बेदनाथ पुलामी ( उमेश ) said...

प्रस्तुति निकै सरल र राम्रो लाग्यो गोकुल दाइ |
कुरो ठिकै हो -एक / दुइ दिन नेट मा बसेर ब्लग हेर्न पाइएन भने त ... खै के कै के भए जस्तो हुने !

खैरे ले खुस लिन मानेर भन्नेर मुर्मुरिनु पनि भएछ है - सबै हाम्रै मुलुकका जस्ता कहा हुन्छन र ? अनि तस्विर टसाउन हच्किनु भए पनि , सहज तरिकाले शब्दै द्रारा त्यहाको बस्तु स्थिति लाइ दर्शाउन सफल रहनु भएको छ |

अनि बसन्त दाइ ले भन्नु भए जस्तो -ब्लग साहिली भे' माहिली चाहिँ को हो नि ?

Shiva Prakash said...

हेइ
लसभेगसमा गएपछि धरैले श्रीमतीको अनुहार विर्सिन्छनि । कतै यो भनाइ प्रतिकात्मक त हैन ? हा हा हा हा

सूर्य/सिकारु said...

गोकुल जी को अनौपचारिक यात्रामा अलि-अलि कष्ट र नमज्जा भएपनि शब्द तरंगमा बगेको लस भेगसको यात्रा चाही रमाइलो लाग्यो मलाई ।
तर खैरेको देशमा घुस लिन नमानेको हो की थोरै भएर होला हात नथापेको हो? हा. हा.. हा...
त्यै त भन्या एक दुई दिन इन्टरनेटले बाटो बिराउन पुग्यो की के नभा नभा जस्तो लाग्ने है गोकुल जी ।

Adams Kevin said...

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
ऋण। तपाईं यस इमेल मा अब हामीलाई सम्पर्क गर्न आवश्यक छ भने: adams.credi@gmail.com

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼