10 March 2013

हा हा मेरो देश !


लोडशेडिङको झिपिक्क अन्धकारमा नयाँ सिंगापुर बन्ने धोकोको साथ अझै पनि नेताहरूको झुटा बातमा नतमतस्क छ, नेपाल । एयरपोर्ट देखि गाऊंका गल्ली-गल्लीमा चेलीहरू बलत्कार भएका घटनाहरू छिपेका छन् । भ्रस्टाचार, घुसखोरी र अत्याचारले सिमा नाघेको छ भन्ने थेगो त सिन्को नभांच्ने नेता भनाउंदाहरूले अलाप्ने मन्त्र भैहाल्यो र पनि सत्यतामा देश घनघोर आपत्तीमा पारेको कुरा नकार्न सकिदैंन । खोला र नदीहरुका पानीमा संसारको दोस्रो धनी मुलुक दिनदिनै निभ्दै गएको छ । कुनै गुहिय खोलाबाट गाउंको धारामा पानी खस्दैन । टुकीमा बाल्ने मट्टितेल, चुलोमा बसाउने कसौंडी, कराईमा पकाउने बिखय, तिहुनमा मिसाउने मसला, चियामा राख्ने चिनीहरुका बात गर्न थालियो भने सम्झन मन लाग्छ, जनताका करले पालिएका ती देश बनाउनेहरुका समाजबाद, नौलो जनवाद, क्रान्तिकारिता, नयाँ नेपाल, गणतन्त्र र सिंगापुर बनाउने दस्तावेजहरू । अनी भन्न मन लाग्छ, हा हा मेरो देश ।

राम्रो भए आहा भन्ने न हो । दुनियाँ हसाउंने चैतेहरूको चालाले सतीले सरापेको आफ्नै मुलुकलाई 'हा हा' भन्नु परेको छ । आज बिनोद चौधरी संसारका अरवपतिमा नामाङ्कन भएकोमा त्यसै त ठुलो नाक झनै ठुलो बनाएर कखरे ऋशी धमलाहरुका क्यामेरा अगाडी धनको धमास लगाउंदै छन् । चन्दा दिन थाकेर कुनै न कुनै राजनैतिक पार्टीको 'नेता' बनेका बिनोद चौधरीहरूले छातीमा हात राखेर सोचुन्, बटुको थाप्दै एक छाक टार्न बसन्तपुर्, भक्तपुर र पशुपतीमा सुकी माग्नेहरुका लागि के गरे ? बांसबारी छाला जुत्ता कारखानामा गंगालाल मुटु अस्पताल बनाउने भगवान कोइरालाहरुका अगाडी देशभरका बन्द औद्धोगिक क्षेत्रमा कुहिएका छाप्राहरूमा ब्यवसाय संचालन गर्न के गरे ? तिनले चिल्लो प्राडो चढेर हिड्ने ठमेलका गल्लिहरुका फोहोरका थुप्राहरुमा भोकको उपाय खोज्ने सडक बाल-बालिकाहरुका लागि के गरे ? कुनै खेतान र चौधरीहरू अरवपती भएको डाहको आवेगमा नभै कहलिएका अरवपती बिल गेट्सहरूले गरेका सामाजिक कार्यहरूको सिको गरे पो आफ्ना मुलुकका कोही चौधरीहरूका नाम टाइम्स र फोर्ब्स पत्रिकामा आएकोमा हामीलाई गर्व हुनेछ । कयौंपटक बैंकहरूले कर नतिरेको कालोसुचीमा सुचित भएका नव-अरवपतीहरूले भारतमा किनेका ब्यक्तिगत जेटको बखानले, कांचको पर्दामा धमलाहरुले लिएका चौधरीहरुका अन्तर्वार्ताले हुम्ला र मुगुका गरिवहरूको छाक टारिन्छ र ? हे भगवान् ! शक्ति र पैसाको पछि-पछी कुद्ने संस्कार भएको मुलुकमा भगवान कोइरालाहरूले राजिनामा दिएका घटनाहरू महत्व हुंदैनन्, बिनोद चौधरीको सम्पत्ति बराबर समाजसेवामा लगाएका उपेन्द्र महतोहरुका चर्चा हुंदैनन्, बिकट पहाडी जिल्लाहरुमा नि:शुल्क आँखाको ज्योति बाल्ने रुइतहरु समाचार बन्दैनन र प्रविधीले डोको र नाम्लोमा संचार दिलाउने महाबीरहरुलाई सुन्दैनन र भन्न मन लाग्छ, आहा चौधरीहरूको सम्पत्ती, गरीब जनता र हा हा मेरो देश ।

एउटा प्रधानमन्त्री भारत जान्छन्, समकक्षी सिंहहरू कतै गर्जदै गर्दा भारतीय प्रान्तको सहायक मन्त्री हाम्रा प्रधानमन्त्रीलाई बिमानस्थलमा फुलको गुच्छाले स्वागत गर्न आउंछ । अचम्म लाग्छ, हेप्नेको नि सिमा हुन्छ यार भैया । समकक्षी भट्टराईपट्टी लात्ती पलेटी फर्काउंदै बिप्पा सम्झौता हुन्छ । सिंहका दुतावासका स्यालहरू बिना सूचना नेताहरुका खोपीमा पुग्छन । नेताहरू ति प्रभुका पाऊ पर्छन । मन लागे प्रधानन्यायधिश, सन्की चढे सेनापती र फाईदा बढी मिल्ने भए सी डी ओ लाई प्रधानमन्त्री बनाउने आदेश दिन्छन् । नेताहरू ज्यु-हजुर गर्दै अगाडी इन्कार गर्न नसकेर महाधिवेशन, महासमितीको बैठकहरुबाट न्यायपालिकाका प्रमुखलाई राज्यप्रमुख बनाउने उद्घोश गर्छन । ति स्यालदुत आफ्नो दर्जा माथिको रास्ट्रपती भेट्न अचानक बेखबर चिसोनिवास पुग्छन् र आफैंले चाहेको हाम्रो देशको भावी प्रधानमन्त्रीको उम्मेदवारको लालमोहर लगाउन दवाव दिन्छन् । यहां सम्झन मन लाग्छ, कुनै बेला भैयाहरूको धम्कीलाई प्रवाह नगरि हेलिकप्टरबाट नेपाल मट्टितेल भित्र्याउने साहस गर्ने मरिचमान सिंहले झैं भैयाहरूलाई नै ढाडस दिने नेता कहीले जन्मेला ? मुलुक गरीब हुनाकै कारण र दहिचिउरेहरूको दोधारे चाकारीबाजले सगरमाथाको शिर भैयाहरूको पाउमा राख्नुपर्ने हाम्रो यो कस्तो भाग्य ? हा हा मेरो देश ।

सबैभन्दा राम्रो काम गर्ने भनि जनताले मन पराएका पुलिस रमेश खरेलले कहिल्यै काम गर्ने ठाउँ पाउंदैनन । जिर्ण जुत्ता कारखानालाई मुटु कारखाना बनाएका भगवान कोईरालालाई काम गर्ने वातावरण दिंदैनन । बिकट नेपालका गाऊंमा इन्टरनेट पुर्याउने माहाबीर पुनले सरकारको सहयोग पाउंदैनन । गरिबका आँखाको ज्योति दिलाउने डा. रुइतको कामको प्रशंशा छैन । देशमा सहि कुरा अबलम्बन गर्नेले प्रोसाहन पाए पो बन्छ देश । गरीब चुसी लुटेको धनको साहसमा डनहरूको चलेको देशको कसलाई चिन्ता ! निमुखाका सामु खाएका कसम भूली चप्पल त्यागी महलभोगी भएका मार्क्स, लेनिन, माओ, गान्धी र बि पि को नाममा झुटा राजनीति गर्नेहरुका रबैयाले त डुब्यो देश । डाडु पन्यु हुनेले हो रजाईं गर्ने । निमुखा हामीहरू लोडषेडिङको अंध्यारोमा किरा परेको असारे आंप खाए जसरी घुसखोरीहरूको आश्वाशन खांदै बस्नुको के बिकल्प छ र ? उज्यालोमा आफ्नै टाउको माथी उडेको संगै खुलेको थाइ एयरलाइन्सको हाजात हेर्यो अनि गच्छदारको लगानीको यातायातमा काठमाडौं जांदा थाइको दाइ नेपाल हाजात कम्पनीको सुनधारास्थित बाँकी रहेको जस्ताको छानो र ईंटाको छाप्रो हेर्यो, गोंगबु लाग्यो । हा हा मेरो देश ।




2 Comments:

Nabin KM said...

:(

Adams Kevin said...

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
ऋण। तपाईं यस इमेल मा अब हामीलाई सम्पर्क गर्न आवश्यक छ भने: adams.credi@gmail.com

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼