29 September 2012

झापड, जुत्ता, बुइं र कुर्सी

बिद्धालयमा समयमा 'घरकाम' (होमवोर्क) बुझाउन नसक्दा शिक्षकका दाहिने हातबाट गालामा तोरीको फूल देख्ने गरि झापड खाएका सम्झना शायदै लाई होला । शैक्षिक भ्रमण जनाका लागि होस् या पिकनिक जानाका लागि, राम्रा झोला किन्न होस् या बरफ् चुस्नका लागि गरीब घरमा पैसाको माग हुंदा उदेश्य पुर्तीका अलावा बाबु-आमाका हातले मिलेका झापड सम्झदा कसैका मन अहिले पनि कुंडिंएलान । पार्क र सपिङ मलमा प्रेमिकाले इच्छाएका बस्तु करिद नगरिदिंदा सोझो प्रेमीले प्रेमिकाको कोमल हातबाट पाएको झापड पनि कतिलाई सम्झना होला । वा, अर्काकी धनी छोरीलाई मन पराउने गरीबले पाएको झापड, अर्काकी प्रेमिकालाई मन पराउंदा पाएको झापड, खेतमा पानी लगाउन जांदा कुलो बिगारेकोमा सदिंयारेले हानेको झापड र जढ्याहा श्रीमानलाई बाहुको बिहे देख्ने गरि श्रीमतीले बजारेका झापडहरुका पनि सबैमा आ-आफ्नै कहानी होलान् । साथीले माया गरेर गालामा दिने मायालु झापड, प्रेमीले मायालु पाराले प्रेमीकालाई दिने झापड र जहानमा, घरमा, बिद्धालयमा, पाटी-पौवामा हुने झाप्दको खेल-खेलाई र हांसी मजाक साच्चै भएपनि त्यसले खासै चर्चा पाउंदैन ।

तर जनताको जीवनस्तर बढाउंने कसम खाएका झलनाथहरूलाई हजारौं मान्छेका अगाडी एउटा कार्यकर्ताले हान्ने झापडको अर्थे कति हुन्छ, यहां बताएर क होला र ? झलनाथलाई हल्लिने गरि हानिएको देबीप्रसादको झापड, झक्कु सुबेदीलाई भक्कुमार हानिएको कसैको झापड र शुशिल कोइरालालाई सुरुक्क भर्खरै हानिएको फोटो फ्रेमको झापड देख्दा असामन्य लागे पनि तिनैका कार्यकर्ताले भगवान माने जस्तै मानिने पार्टिका नेताहरूलाई एक पछि अर्को गरि लाठी र कुर्ची किन प्रहार गरेका छन् भन्ने कुरो ठुलो हो । माधव नेपाललाई पाउमा ढोग्नुपर्ने कार्यकर्ताले उचित सम्मान पाउंदैन भने भोलि सार्वजनिक कार्यक्रममा माधव नेपाललाई झापड हान्नु ठुलो कुरो होईन । माधव नेपालको पाउमा जबर्जस्त ढोग्ने कार्यकर्ताले भोली माधव नेपाललाई गालामा सामान्य छोए भने पनि धुलिराम कुटाइ खाने त आखिर ढोगाएइका ती पीडित कार्यकर्ता हुनेछन्, तिनलाइ भरौटेहरूले मरणासन्न हुने गरी पिट्नेछन्, जसरी हिजो प्रबेश बस्नेत पिटिए । हो, सार्वजनिक कार्यक्रममा आगन्तुक पाहुनालाई हात हाल्नु मर्यादा र नितिगत बस्तु भन्दा बाहिरको कुरो हो । तर पार्टीको सम्पत्तिमा आफ्नो एकाधिकार जमाउने, आफ्नै बोलवाला मात्र बढाउने, परिवारबादलाई प्रश्रय दिने, कामको नाममा गुटको पूजा गर्नेहरूलाई 'झापड' काफी हुंदैन । त्यो पनि एक प्रकारको आन्दोलन हो । सुधिने मौका सिकाउने पाठ हो । सार्वजनिक कार्यक्रममा सुरक्षा दिन नसक्ने फितलो प्रशासनलाई पनि दरिलो झापड हो । देबीप्रसाद र बस्नेत पार्टीगत बिरक्तताको आन्दोलनको प्रबेश पात्र मात्रै हुन् । छ/छ बर्षसम्म जनताको नाममा सिन्को नभांच्नेहरूलाई दीइएको खुल्ला चुनौती हो । भोलि यसैगरि गच्छदार, यादब र प्रचन्डहरू पनि झापड नखालान भन सकिंदैन ।

जसरी पार्टीको अरबौं रुपैयां उपेन्द्र महतोसंग हाइड्रो पावरमा लगानी हुन्छ, गोल्छाको जस्तापाता कारखानामा लगानी हुन्छ, चौधरीको चाउचाउमा लगानी हुन्छ अनि खेतानसंग बैंकमा लगानी हुन्छ त भने तिनीहरूको वास्तविकता बाहिर नखुलुन्जेल अब क-कसले झापड खान बांके छ, त्यो त समयले देखाउने कुरो हो । होईन भने कर्मठ कर्मचारी ब्रिन्दा हाडा मन्त्री महेन्द्र यादबको भ्रष्टाचारकी बाधक बनेर किन सरुवा भइन ? एउटा साथी भन्दै थिए, गच्छादारको एक दिनको कमाई एक करोड हुन्छ रे । नक्कली नागरिकता र पासपोर्टको मात्र पनि हिसाब गर्ने हो भने उनको कमाई एक दिनको करोड नाघ्छ रे । सुन्दा 'रे' लागे पनि वास्तविकता यहि हो । बरियतामा परेका एउटा मामुली प्रहरीको बढुवा किन महिना दिन रोकियो ? बाबुरामले ५४ करोड वा गच्छदारले ७३ करोड घुस खाने बहानामा बिचरा निबर्तमान प्रहरी प्रमुखले साबिकको बिदा पाएनन । राणा, राना, शमशेर र थापा जो आएपनि हामीलाई चाहिएको सुरक्षा हो । तर एउटा सुरक्षा प्रमुखको नियुक्तीको प्रसंग आधा अरब भन्दा बढीको मिलमोलाइमा बिक्छ भने नेपाल सरकारका खाली रहेका प्राय सम्पुर्ण संस्था र आयोगगका प्रमुखहरूको नियुक्तीको लागि गच्छदार र भट्टराईहरुका स्विस बैंकका बचत खाताका ट्रान्जेक्सन कति बढ्लान्, स्विस बैंकमा अन्तराष्ट्रिय रेमिट्यान्स प्रमुखलाई थाहा होला । यी र यस्ता अप्रासांगाकिक कथाहरूले बढवा पाइरहेको अन्यौलतामा हिसिला यमीका चुरीफिरी किन नबढुन ? उनैका दिदिहरू संस्थानहरुका प्रमुख हुनु सानो कुरै भएन । तर निरन्तर जनताका कसम खाएका इमान्दार कर्मचारीले कुनै अधिबेशनमा गच्छदारहरूलाई झापड हान्नु कुरो नौलो भएन ।

यहां बोल्नेहरूको आवाज थुनिएको छ । लेख्नेहरुका निप थुतिएका छन् । पढ्नेहरुका किताब च्यातिएका छन । सांचोबोल्नेहरू मुक्तिनाथ अधिकारीहरूजस्तै गरि रुखमा झुन्ड्याइएका छन् । सहि काम गर्नेहरुका छाती गोलीले पड्काइएका छन् । के झुन्ड्याएको शरीर हेर्न जनाअन्दोलनको उदाहरण सापटी लिनु पर्छ र ? नत्र त किन मेलम्ची ठेक्का रद्ध हुन्छ ? कुनै ठेकेदार कम्पनीले सम्झौता पत्र टेबलमा राख्नु भन्दा पहिले कति घुस दिनुपर्छ ? त्यो त पोखरा बिमानस्थलमा बुझाएको घुसको नजिर नै काफी छ । अब फेरि रद्ध मेलम्चीको पुनर्बाहालीको लागि कति करोड घुस छुट्याउने ? त्यो कसले खाने ? कहीले टुंगो लाग्ने र पानीको पाइप गाड्न सुरङ्ग खनिने ? काकाकुल जनताले पांच तारे होटलमा भोलि हुने 'मेलम्ची परियोजना ?'को बैठकमा तिनका टाउकेहरूलाई झापड हान्दा के बिग्रन्छ ? हरेक कुरोको बिकसित घटनाक्रम हुंदोरहेछ । इराकमा जर्ज बुशलाई झापड हान्न अल्छी लागेर ती पत्रकारले जुत्ता हानिदिए । संसारले हेरेको त्यो टी भी स्क्रीनले कुशल शिकारीले धनुवाण हाने जसरी बुशलाई जुत्ता हानेको सर्लक्क देखाइदियो, जुत्ता हान्दा बिचरा के सोचे होला, बुशले ? त्यो भन्दा लाजमर्दो कुरो केही हुन्छ र थियो ? समाचार र शक्तिले घटनालाई जसरी जता मोडेपनि दुनियांको शक्तिवाललाई जुत्ताको गोली प्रहार सानो तिनो इज्ज्तको सवाल होईन । बुझ्नेले जुन हर्कतले बुझे पनि हुन्छ । तर सामान्य भाषामा त्यो पत्रकारको मुटु सानो थिएन । भनिन्छ, जब मान्छेले मान्छेलाई मान्छे गन्दैन, तब मान्छेले मान्छे हुन मान्छेकै साहारा लिन्छ । तर मान्छेले मान्छे हुन झापड र जुत्ताको पनि साहारा लिने दिन आएछन अब । र त आफ्नो गुम्सिएको रिस पोख्न पत्रकारले जुत्ता हनिदियो । हाम्रा नाममा कसमा खाएका ती ६०१ 'भत्ते' हरूलाई भोली कथमकदाचित हुने चुनाबको भतेरमा हजारौंले स्वागत स्वरुप जुत्ताका माला लगादिए ठुलो कहानि नहुने भो अब । साझा बस बिलायो, गच्छदारको अग्नि यतायातले किन दिनानुदिन नयाँ बस थपिरहेको छ ? दुर्-संचार डुबिसक्यो, किन संचालक थाहा नभएको एनसेलले एकछत्र राज गरिरहेको छ ? बाबुरामको गाउंको र दक्षिण एसियाको ठुलो गोरखकाली टायर बन्द हुन लाग्यो, किन महिन्द्राको टायर कन्टेनरका कन्टेनर आयत हुन्छन् ? बनका सारा जडिबुटी सकिए, किन यार्सागुम्बाहरू बेच्न गच्छदारका भरौटेहरुका ट्रक रातारात भारत जान्छन ? गोर्खे खुकुरीको शान मासियो, हरेक पार्टीका भिजिलान्तेहरू कसरी थ्री नट थ्री पकेटमा बोकी हिड्छन ? चौध घण्टा लोड्सेडिङ हुन्छ, किन कालीगनडकी र मर्स्याङ्दीको पानीमा राजनीति हुन्छ ? जीबनजल छैन, किन आफैले खाएको गरीबको धुरी उडाउने रवाफ देखाउंदै ४ लाख खर्च गरेर प्रधानमन्त्री जुम्ला जान्छन ? क्यान्सर भएर जगदिश घिमिरे मार्न लागि सके, नारायणकाजीको उपचारको लागि केटी पी ए सहित जापानमा ४ करोड सरकारी ढुकुटी रित्याइन्छ ? गरिबका घरमा भुटुन छैन, किन प्रचन्डका टाउकामा जेल टल्किन्छन ? राउटेलाई एकसरो लुगा छैन, किन शेरबहादुरलाई छाकै पिच्छे बियर चाहिन्छ ? झमक घिमिरेलाई लेख्न मसी छैन, १ किलोमिटर परै फ्रान्सेली अत्तरले किन झलनाथ बासाउंछन ? दशैंमा पाहुना पाछा सम्याउन गरीबको हैसियत छैन, किन सुजाता इटलीमा करोडको झोला किन्छिन ? यस्तै असमानताले जब जागजेहर गर्ने मैदान पाउंदैन, तब त्यहि असमनताका भुक्तभोगीहरू मैदानबाटै गोल्ड्स्टार जुत्ता र पायल चप्पल नेताहरुका मुखमा हान्न पछि पर्दैनन ।

आफूलाई क्रान्तीका नायक भन्नेहरू कार्यकर्ताका बुइं चढेर खोला तर्छन । झलनाथले प्ररायु संघका कार्यकर्ताको बुइं चढेर खोला तरेको सबैले देखे । अर्जुननरसिंहले नुवाकोटको खोला पनि त्यसरी नै तरे । तराइमा यादब र गच्छदारहरूलाई त भारतीय ट्रयाक्टरले ने खोला तारिदिन्छ क्यार ! प्रचन्डजीलाई बुइ चढाउनेहरू कति-कती ! मुस्ताङ वारी पार्क गरेर सुरक्षाकर्मीका लावालस्कर सहित राउटेको घरमा भात खा'को जनबाद र कम्युनिज्म देखाउन भट्टराई बुइ चढे । आखिर यो ढोंग किन ? समाजबादको लागि जीवनको सर्बश्व दिएको भनि नथाक्ने कांग्रेसीहरू एउटा खोलो तर्न सक्दैनन ? त्यसो भए लौह पुरुष गणेशमान जेलको ढलबाट कसरी बाहिर निस्के त ? १५ हजार नेपालिको रगतको खोलो बगाएर संसारको अलौकिक क्रान्ती गरेका र गोरखा जेल ब्रेक गरेका कार्यकर्ताका नेताहरु खोलो तर्न सक्दैनन ? जनताको रगतमा होली खेल्नेहरु, हिलोमा पाइला राख्न सक्दैनन ? के हिलो र खोलोमा टेक्दा प्रचन्डको ३ लाख पार्ने घडिमा पानी पस्छ ? कस्तो चिमचिमे घडी उपहार पाएका रहेछन् तिनले ? पानीमा पाइला राख्दा प्रचन्डको ४ लाख पार्ने खाटमा सेप लाग्छ ? जुका टांसिन्छ ? झलनाथको अत्तर पानीले चिस्याउछ ? के सीको कपाल पानीले तालु बनाइदिन्छ ? पसिनाले डुङ-डुङ गनाउने यादब र गच्छदारहरूलाई त पानीले फ्रेश गराइदिनु पर्ने हो । तर पनि हामी खोला तार्ने बाहानमा यिनीहरूलाई किन बुइ चढाउंछौं ? त्यति सस्तो छ, हाम्रो बुइं ? हाम्रो इमान ? त्यति नालायक पिठ्युं हो हाम्रो ? भ्रष्टाचार र लाचारहरूलाई बुइंमा राखेर दासताको असली 'भरौटे' भएका छौं, हामी । नेताको पहुंचमा पुग्ने विश्वाशपात्र न हो कांध थापी आउने, तिनलाई बोक्न । एउटा हैसियतवाला कार्यकर्ताको हबिगत त यसरी भरौटेको पारा हुन्छ भने, नेतालाई ईन्द्र भगवान जस्तो मान्ने अबुझ सर्बसाधारणको बुझाई के होला ? राष्ट्रियता र आन्दोलनको नाममा धेरै बर्षहरू दियौं हामीले । अवसर दियौं, भत्ता दियौं, खानलाई भनेर छानी-छानी मन्त्रालय दियौं, मेलम्ची दियौं, सुस्ता दियौं, कालीगन्डकी दियौं, संगसंगै खोलेको थाइ एयरलाइन्स हेरेर आंशु झार्दै नेपाल वायुसेवा निगम दियौं, आयल निगम दियौं, प्रहरी प्रशासन दियौं, दूर्-संचार र केही त बांकी छ अब सिध्याउन । सत्र हजार बुवा-आमा, दाजु-भाइ, दिदि-बहिनी र नावालक दियौं, गोला बारुद दियौं, साथमा भा'को बन्दुक दियौं र हातमा भा'को पौरख दियौं । हामीले के दिएनौं र ? र यिनीहरूले हामीलाई त्यस्तो के दिए, जसको पुरस्कार स्वरुप अब बांकी रहेको एउटा कांध पनि दिंदैछौं ? सुन्दा, देख्दा र पढ्दा क्रान्तिकारिता लागे पनि पाउंन्जेल कसैले कांध दिन्छ, जसले धोका खान्छ उसले झापड दिन्छ अनि जुत्ताले झटारो हान्छ ।

झक्कु पनि झुक्किदैनन अब, झलनाथलाई चेत आयो नै होला । तर क्रम सकिएको छैन । अस्ति भर्खर एमालेका कार्यकर्ताले एउटा केन्द्रिय नेतालाई गोरखामा मोसो दल्दिए क्यार ! र यिनिहरुका गन्तब्य भनेका केबल कुर्सी रहेछन् । आफूले त पाए-पाए । अरुलाई दिदैंनन । भतिज, काका, सासु, साला र सालीहरू यी सबैका पार्टीमा आसिन छन् र आश्रीत छन् । श्रीमती र छोरा छोरी त हकदार नै भए । हामीले सर्वश्व दिए पनि यिनको सर्वश्व कुर्सी मात्र रहेछ । तर गुलियो पनि बढी खायो भने तितो हुन्छ । तिनीहरू बस्ने कुर्सी नै तिनिहरुका टाउकामा बजारिन थालेका छन्, आजकाल । हो आजकाल, आजकाल तिनका पार्टीका सम्मेलनहरुमा कुर्सी हानहान छ । बालाजुमा आफु-आफु कुर्सी हान्दै भाइहरू छुट्टिएर बसेका छन् । हिसाब-किताब प्रतिशतमा मिलाउने सम्झौतामा कुर्सीको लहरो हल्लिएको छ । अरबौंको हिसाब-किताब त कसरी मिल्ला र सजिलै ? भोलि कसको टाउको फुटेको पढनु पर्ने हो, त्यहि छ पिरलो । कारोबारमा नमिलेको उकालीको कुर्सी झगडा सानु बाटो छा भिरालो -- । भाई भाइको कुर्सीले के देखाउने हो, यहि छ पिरलो । कुर्सी झगडा होईन भने, ने बि संघको सम्मेलन किन गर्न सक्दैन, कांग्रेस ? एमालेको अनेरास्वबियुको हानथाप र परशुरामहरूको बोलवालाले स्थगित भएको धेरै भएको छैन । माओबादीहरुका जबस सम्मेलन पुरै स्थगित छन् । भाइ-भाइको कुर्सीरुपी अंश र पैसाको हिसाब-किताबको लेखा जोखाले कट्टेल र पन्तका भारदारहरू बिच हानथाप छ । भट्टराई र दाहालहरू त ठुलै खालका हिसाब मिलाउनेहरू भए । यी यस्ता मेसोमा गगन थापाहरू हराएका छन् । रबिन्द्र अधिकारीहरू सेलाएका छन् । हेमराज भन्डारीहरू ओइलाएका छन् । लेखनाथ न्यौपानेहरूलाई लत्त्याइयो । बिश्वप्रकाश शर्माहरू हराए । आशाका भांटाहरू पनि टांट पल्टिएपछी तिनीहरू पनि कुर्सीको लागि दगुरेको प्रमाण हुन्छ । होईन भने, हिजो गोदावरी रिसोर्टको न्यानो कोठा, चिसो चुस्की र पिरो चिकेन चिल्लीको बिरोध गर्ने थापा, अधिकारी र भन्डारीहरू अनेक बहानामा किन गोदावरी कुंदिरहेका छन् ? काम नभए हरिबंश र मदन दाइले जस्तै कुरिलो खेती गरे भैहल्यो । कुर्सीको लागि राजनीति होईन भने बिस्वप्रकाशजीले लेख्नुभएको गीतमा फिल्म नपाएर धिरेन शाक्यले झैं म्युजिक भिडियो खेले भैहाल्यो । इमान्दार नेताले इमानको राजनिती गर्न सकेन भने मरेर पनि आज बि पी को नाममा कहां धूप बलेको छ र ? मदन भन्डारीको जबज खै ? मनमोहनको आफ्नु गाउं-आफैं बनाउन को लागेको छ ? पुश्पलालको अस्तित्व खोइ ? बर्षमा एक दिन शालिकमा टाउकेहरूले फूल अर्पण गरेर हुन्छ र ? त्यत्रो शाशन गरेर बिद्धा भण्डारीले आफ्नो श्रीमानको हत्यारा पत्ता लगाउन के गरिन ? झापा आन्दोलन गर्ने सी पीको हालत हेरे हुन्छ । पन्चायतताकाका निर्णायक बार्तावाल राधाकृष्ण कहाँ पुगे, पुगे ! जातियताको नाममा गोरेबहादुरले राजाको हातको टीका लाएसरीको राजनीति के राजनीति ? एन जी ओ खोले हुन्छ । धन्न अनुराधा कोइराला, रबिन्द्र मिश्र, पुश्पा बस्नेत, दिलशोभाहरूले इज्जत राखिदिएका छन र नेपाली भन्न पाइएको छ । रचनात्मक कामको लागि इमान्दारिताको राजनैतिक पापड नमोलिए, केबल कुर्सीका लागि लटारो रहिरहे झापड्, जुत्ता र थाकेका बुइंहरुले भोलि फेरी-फेरि के गर्लान्, के गर्लान ! अस्तु ।

1 Comments:

Adams Kevin said...

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
ऋण। तपाईं यस इमेल मा अब हामीलाई सम्पर्क गर्न आवश्यक छ भने: adams.credi@gmail.com

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼