08 February 2010

पर्समा फोटो !


तपाईं खुरुक्क हेर्नु त, तपाईंको पर्समा केको-कसको फोटो छ ?
तपाईं जवान/अबिबाहित हुनुहुन्छ भने त अरु कसको फोटो होला र ?
बिबाहित हुनुन्हुन्छ भने चाँही प्राणप्यारी अर्धाङ्गिनी/जीबनसङीनी कै त होला । भाउजुको फोटो छैन भने तपाईंको खैंरियत ठीक छैन, कुनै दिन कुन चाहिंले पोल खोल्देला है, होसियार !

त पूरानो कुरो याद आयो । म र मेरो दाजु बर्षा याममा एक दिन दरौंदी नदीको फांटमा झाटेंको गहुंको नल लिन भनेर तेर्हकिलो बजार हुदैं झर्दै थियौं । ती दाजुका आफ्ना दाजु चाँही काठमान्डौ तिरका जागिरे । यसो दशैमा मेसो पारेर दिएका पैसा रहेछन्, उनिसित । त्यो पैसा सदुपयोग गर्न पैसा हाल्ने एउटा समान (पर्स} किन्ने कुरा निकाले । म सँग जम्मा सात रुपैया थियो, त्यसदिन । तर पर्सलाई १० रुपैया पर्दो रहेछ । मेरा ती दाजुले मलाई ३ रुपैया हालिदिएर सेन्थेटिकको पर्स किनिएछ है गांठे, जिबनमा पहिलो पटक्, त्यो बेला म आठ कक्षामा पढ्दो हुं !

यति त जतन गरेर राखिएन, मेड इन चाइनाको त्यो सेन्थेटिकको माललाई । पैसा हालेर गोजीमा राख्नुपर्ने बिखयलाई पूजा गरेर खोपिमा राखियो । स्कुलमा साथीहरुले बरफ् किन्दा 'पर्स' निकालेको देखेर सीको गर्न खोपी बाट झिकेर खोल्तितिर हालियो । त्यो भित्र पैसा राखेर गोजिमा हाल्न पाए त हुन्थ्यो नि, रित्तै भोकले गोडा दुई चारेक बर्ष आँशु झार्दै रोयो, बिचरो त्यो सेन्थेटिके । सधैं खाली । म त पेट भर्न च्याख्ला र ढिडो खान्थे, तर त्यसले पैसाको चामलको भात कहिल्यै पाएन, बिचरो । सधैं भोको राख्नु पाप ठानेर मैले बरु फोटोको खाजा दिने निधो गरें ।

केही त राख्नु पर्यो, सम्झना र कल्पनामा बुनिएकाहरुको चित्र मनले खिचेर राखियो । त्यतिबेला क्यामरा कसको बाउको पाउनु । पाखामा भलाया टिप्न जांदा तिनका दाजुहरुले मलायाबाट ल्याएका क्यामराले खिचेका फोटाहरु नदेखिनेगरी छिपाएर त्यो पर्समा राखियो । साल काट्न जादा भारीले किच्न लागेको 'साहिलि'को तस्बिर पनि राखिएछ । पछी काठ्मण्डौ आएपछी सेन्थेटिक छाडेर ल्यादरको पर्स बोक्न थालियो । अनी त्यसभित्र राखिने फोटाहरु पनि फेरिन थाले । ती सबै अहीले नै भन्नु पर्ला र भन्या ?

बिदेशतिर त पर्समा कुकुर र बिरालाका फोटाहरु राख्दा रहेछन्, तिनले 'प्रेमी र प्रेमिका' हरुको फोटो नपाएर हो कि त !
नढांटि हेर्नु त तपाईंको पर्समा कसको फोटो छ ?

12 Comments:

Umesh Gajurel said...

मेरो मा त मेरै फोटो छ, फोटो राख्ने खालकि अहिले सम्म भेटीएको छैन,

Nepaliko Aawaz said...

सायद फोटो राख्ने खालकि अहिले सम्म नभेटीएरै होला मेरो पर्समा चाही कसैको पनि फोटो छैन छ त केवल १/२ सय रुपियाँ !!!!!!!

Milan said...

हे हे ..रमाईलो लाग्यो .. म नि खोतल्छु है...

umm ... दुइटा ड्राईभर लाईसेन्स, केहि क्रेडिट कार्ड ....केहि बिजनेस कार्ड ... नेपाली एक सय र बिस रुपयाँको नोट ..डलर गोटाका तिनटा नोट...र

एउटा फोटो

मेरो मम्मीको...

Basanta said...

रमाईलो टाँसो! मैले पर्स बोक्न थालेको स्नातक शुरु भएपछि हो। त्यहाँभन्दा पहिला त पैसै हुन्थेन, किन चाहिया थ्यो' र पर्स?

चूडामणि/मणि said...

मेरोमा पनि केही क्रेडिट कार्ड, ड्राइभर लाइसेन्स, इन्सुरेन्स पेपर , केही डलर समान खरिद गरिएका रिसिटहरू, रु .१ को पुरानो नेपाली नोट आदि मात्र भेटिए |
कुरो राम्रो हो | स्कुले जीवन सबैको उस्तै रहेछ |

दीपक जडित said...

रमाईलो कुरो गाँठे! मैले पनि त्यस्तै आठ नौ कक्षामा हुँदा पर्स बोक्न थालेको हुँला । आफ्नो गोजीमा पर्स राख्न के के मात्र तिकडम लगाईएन होला तर मलाई भने गोजीमा भएको पर्स पैसा चाहिएको बेलामा समेत निकाल्न लाज लाग्थ्यो । त्यसबेला फोटो कस्को राखेँ भन्ने चैं सम्झन सकिनं । आजभोली भने आफ्नो परिचय कार्डमा भएको आफ्नै बाहेक अरु कसैको रहेनछ । पर्समा फोटो राख्ने कुरालाई सेलफोनको स्क्रिनले पछाडी पारेजस्तो छ बरु सेलफोनमा भने छोरीको फोटो राखेको छु ।

कृष्णपक्ष said...

हे हे, गोकुल जी, पोस्ट खुब रमाइलो लाग्यो .... दिनमा धेरै पटक नजर पर्ने वस्तु हो यो पर्स, त्यसैले तस्विरै राख्न परे आफुले ज्यादा रुचाएको मान्छे या वस्तुकोको राखिनु स्वाभाविकै हो भन्छु म । दिपक जी ले भन्नु भएको पनि ठिक हो, अब यो फोटोको चलन (फेशन) अर्कै कुरातिर सर्दै छ ।

Dilip Acharya said...

साधारण जस्तो लाग्ने विषयलाई लिएर निकै रमाईलो पोस्ट तयार पार्नु भएछ ।

फोटोकै कुरा गर्ने हो भने मेरो पर्समा त सपरिवार कै फोटो छ है !

बेदनाथ पुलामी ( उमेश ) said...

हैन गोकुल दाइलाइ पनि के शुर चलेको नि ! अब अरुको पर्स भित्र क- कस्को फोटो र के के हुन्छ हुन्छ नि ! कहा सबै भनेर साध्ये हुन्छर भन्या ! अनि मेरो पर्स भित्र भएको साहिलीको नाम भने भने पल्ला घरे साइलो/ काइलो रिसाउला उसले पनि त्यही साहिली नै पो हेरेर बस्या छ कि ( हाहा ) ...अनि पर्शनल कुरा त सेक्रेट राख्नु पर्यो नि - मानब अधिकारको कुरा पनि पर्यो - तपाई लाइ थाहै होला ... नया नेपाल मा गणतन्त्र आ'छ (??? ..उफ ..)

तर दाइ ले भने पछी - नमान्ने कुरै भएन ... पर्स त हेरे तर कस्को फोटो छ भनिन है ! (कसैको पनि फोटा छैनन् -के भन्नु, भए पो भन्नु ????)

उमेश जी र आवाज जी ले चाही पुरै ... बनाओटि उतार दिनु भयो कि जस्तो लाग्यो (गेस गर्या है ) तर दिलिप जी ले चाही पुरै परिवारै अटाउनु भएको रहेछ ....(सायद - भाउजुको डर ले हो कि ??)

विवेक said...

मेरो पर्समा पनि मेरो बाहेक कसैको फोटो छैन ।

वसन्त बलामी said...

गोकुल जी एकदम रमाइलो पोस्ट राख्नुभएछ । तपाइँको पोस्ट पढेपछि त सबैले आफ्नो पर्स हेर्दै आफ्नै पोल पो खोल्न थाले त ।

हाम्रा सौखहरू अरूको देखेर नै बढ्ने रहेछन् हगि । अरूले पर्सबाट पैसा झिकेपछि नै त रहर लागेछ पर्सको ।

के गर्ने आफुसँग त पैसा नै हुँदैन, त्यसैले अहिले सम्म पनि पर्स बिहिनै भएर हिड्ने गरेको छु । आइडी कार्डहरू चाहिँ सर्टको खल्तीमै हुन्छन् ।

Dhruba Panthi said...

तपाईंको अनुभव पढेर आफूले पनि त्यस्तै ६-७ कक्षातिर पढ्दा गोडाएक दश रुपैयाँ हालेर किनेको सेन्थेटिकको पर्स याद आयो। फोटो त म आफ्नै राख्छु पर्समा, त्यो पनि कतै टाँसिहाल्न पर्‍यो भने सजिलो हुन्छ भनेर।

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼