20 January 2010

प्रेम, विवाह र एक दशक :


हिजो जस्तो लागेको थियो, बालाखामा स्कुल गएको । साथीहरुसँग तितेपातिलाई झुप्पो बनाएर चुङ्गी खेलेको, सडकको किनारामा बस्तुभाउका दिशापिसाब प्रबाह नगरि आँफैले बत्ताएको गुच्चा टिपेको । समय त धेरै अघि बढिसकेछ, गांठे, पत्तो नपाइकनै । जुनियर रेड्क्रस, स्काउट र बिद्धालय स्तरिय कर्यक्रममा जिल्लाका कुन कन्तरा घुमेका दिनहरु पनि हिजै जस्तो लाग्छ । झम झम पानी परिरहंदा लुदी खोलो तर्न नसकेर ढुङ्गा-गाडे भञ्ज्याङको उकालो हुँदै मामाघर जानेगरेको पनि हिजो जस्तो लाग्दैछ । दरौंदिमा मात्र होईन लुदी र सिर्दी खोलोमा पनि धेरै पनि र भेलहरु बगिसकेछन । बिगत सम्झदा झल्यास्स हुन्छु, यो जिन्दगीले पनि जवानी र सम्झनाका धेरै अत्यास र झेलहरु भोगिसकेछ ।

टन्टलापुर घाममा घैया गोड्दा-गोड्दै के सुर चलेर पो हो, नेपाल(काठ्मान्डौं) छिरियो । हिजै जस्तो लाग्छ, कमाउन राजधानी छिर्दा साझा बसको झ्यालबाट बान्ता गर्दै बीर अस्पताल निर झरेको । त्यो सांझ बासको लागि गाउलेहरुको कोठा चाहारेको, गोङ्गबु जानु पर्ने मान्छे गल्कोपाखा तिर लागेको । अस्कलको अगाडि जीवनमा पहिलो चोटि म:म: खाएको, बुढी भैसिंका ती डल्लाहरु 'पाचन' नभएर साथीको कोठामा जीबन-जल पिउंदै सात दिन लम्पट परेको । कहिल्यै केही देखेको भए न हो, यो जिन्दगीले बुझ्ने । कहिल्यै केही सिके न हो यो ज्यानले जान्ने ! त्यसो त हिजो जस्तै लाग्छ, पहिलो जागिरमा अफिसको भुइं पुछीवरी टालो पखाल्न धारो खोल्दा सावर खुलेर जाडो याममा लगाएको सुइटर सहितको आफ्नो सारा कपडा भिजेको । अहिले हिजो सम्झदा दङ्ग लाग्छ, यो ज्यानले चाइनाका धेरै जाकेटहरु लगाइसकेछ, धेरै जोर गोल्ड्स्टार जुत्ताहरु फटाइसकेछ, कयौं जोर बङगाली मोजाहरु प्वाल पारिसकेछ ।

अनुभब र भोगाइ संगै जिन्दगीले 'प्रेम' पनि चाहंदो रहेछ । त्यो प्रेमलाई जसरी अर्थाए पनि मज्जाले सरल रुपमा अर्थिंदो रहेछ । नौलो जवानीको अनौठो प्रेमको खोजिमा शायद सबैका आत्मा लागेकै हुने होलान । मेरा कल्पनाहरु पनि लागे होलान । र भन्नै पर्छ, मेरो कल्पना केबल कल्पनामा मात्रै सिमित नरहेर 'त्यसको' खोजाइमा लाग्यो । वास्तविक बुझाइमा लाग्यो । प्रेम खोज्ने लालसामा कतिका किताब पढ्न मागेर फर्काउंदा 'पत्र' सामाबेश गरिकन फर्काइयो होला भनेर पनि कसरी भनुम ! स्कुलको कक्षामा भलाया सित कापिका पानाहरु साट्दा मनका तर्कानाहरु पनि त्यसैमा लेखी साटियो की भनेर पनि कसरी भनुम ? स्कुलको सदन छुट्याउंदा आफु टोली नेता हुँदाको बखतलाई मौका छोपेर 'मन परेका' हरुलाई आफ्नै टोलिमा पार्न पाए हुन्थ्यो या पारियो कि पनि कसरी भनुम ? मन परेकाहरुलाई कांचो आंप टिपेर मन जित्ने आशामा कति कांचा आंपका गेडाहरु हल्लाइयो पनि कसरी भनुम ? यस्तै सोचाइ र कल्पना हुदैं बित्दो रहेछ, जिन्दगी । र पो पत्तो नहुंदो रहेछ, यति चाडो समय बितेको र आफ्नो जिन्दगीले नेटो काटेको ।

राजधानी छिरे पछि पनि ती भलाया र आंपका गेडाहरु कसरी भुलिन्थे ? काँचो मासुको म:म:ले स्कुले जीवनको काँचो आंपको स्वाद कसरी भुलाउथ्यो र ? शहरको रमझमलाई वास्ता नगरी ती दिनहरुले 'शुरुवाती प्रेम पत्र'हरु सम्झन थाले । स्काउट , रेड्क्रस, बिरेन्द्र शिल्ड, हाजिरिजवाफ प्रतियिगिताहरु र सम्झनाहरु याद आउन थाले । त्यहि त हो, भरखरै लेख्न शुरु गरेको 'शुरुवाती पत्र'को अधुरो उपन्यासलाई पूरा गर्न मन लागेर आयो । राझधानीको कोलाहल बसाइमा जिन्दगीले नयाँ कलम र कापी खोज्न थालेछ । ठमेलको स्टेशनरिमा खोज्न थालिएछ, नयाँ डायरि । कलेजको कक्षा कोठामा खोज्न थालिएछ, उपन्यासको शिर्शक । पुस्तकालयमा खोज्न थालिएछ, उपन्यासलाई सहयोग पुर्याउने खालका अरु खजनाहरु । आफु जता पुग्यो त्यतै खोजिएछ, एउटै शिर्शकको त्यो 'प्रेम' र त्यसको तात्पर्य ।

दिनहरु बित्दै गए । खोजाइहरु रोजाइमा परे । कलेज शुरु भएदेखी पढाइ सकिंदा सम्म लेखिएका उपन्यासका भागहरु फेरी-फेरी बिस्तारमा लेख्दै जाऔंला । तर यो वास्तविक मैले भन्नै पर्छ कि, मैले उपन्यास लेखी सकेछु । बिडम्बना त्यहि हो कि, मैले लेखेको 'प्रेम उपन्यास' प्रकाशित गर्न सकिन । तर लाग्छ, प्रकाशित उपन्यास मात्र 'प्रेम' होईन । अथवा प्रेम सधैं सबै प्रकाशित र प्रचारित हुनु पर्छ भन्ने छैन र नहुंदो पनि रहेछ । मलाई त्यस्तै पर्‍यो र प्रकाशानार्थ असमर्थ भएछु । र पनि जीवनले शिर्शक र त्यसको भावनालाई भुलेन, सत्यतालाई भुलेन । लेखिएका भाबहरु अप्रकाशित भएपनि लेखकले दु:ख गरि लेखेको शिर्शक कहिल्यै भुल्दैन । मैले प्रेम भुलिन । कसैलाई भुलें होला तर अहं प्रेम भुलिन ।

भनिन्छ नि, धनले प्रेम कहाँ किन्न पाइन्छ । अप्रकाशित र असफल माया भन्दा मनले रोजेको आत्मिय प्रेम मेरो जीबनमा बिबाहमा परिणत भएको दिन जत्तीको खुशीको दिन कहीले आउला र ! गुमाएका चिजहरु त गुमिगए, झरेका फुलका थुङ्गाहरु झैं । तर फेरी आँफैले रोपेको गुलाबको बोटमै फलेको सुन्दर ताजा 'गुलाब'को थुङ्गा भन्दा प्यारो के हुन्छ र ? साचो प्रेमलाई शाइत पनि नचाहिदो रहेछ र त आजभन्दा ठीक दश बर्ष अगाडि सरस्वती पूजाको दिन भएको मेरो बिबाह आज 'एक दशक' पो भएछ । कत्ति छिटो बगेको समयको खोलाको पानी । नबगाएपनी बितेको पत्तै नपाइने । धन्य छ जिन्दगि, अनि सरस्वती माता । एक दशकको यो लामो बैबाहिक जिन्दगी आनन्द र सन्तोशका साथ बिताउन 'सरस्वती बरदान' मिलेकोमा । । अनी धन्यवाद मेरी अर्धाङ्गिनी, हरेक कस्ट र अड्चनहरुलाई सहजै सरल ठानी लामो जिन्दगीको प्रत्यक पाइलामा साथ बनेकोमा । धन्यबाद्, असल प्रेम - यो प्रेम, विवाह र एक दशकको दिन ।

16 Comments:

Basanta said...

गोकुल भाइ र बुहारीलाई सुखद् दाम्पत्यको एक दशकका लागि हार्दिक बधाई र अझ सुखद् भविष्यको शुभकामना!

यो टाँसोले मेरो मनलाई तरंगित पा-यो, पूराना दिनका धेरै मेरा सम्झनाहरु पनि ताजा भएर आए।

रमेश केसी said...

happy anniversary. मैले प्रेम भुलिन । कसैलाई भुलें होला तर अहं प्रेम भुलिन । ramro laageyo mitho yaad haru sa sanaa kuraa haru pani milayara raakheyo bhane kati ramro laagne raichha....

Chaitanya said...

Explicitly sprinkled innocent feelings! Happy anniversary Gokulji and the Saraswati you mentioned.

सूर्य/सिकारु said...

सफलता पूर्बक दशक पार गरेकोमा बधाई गोकुल जी । आउदा दिनहरुमा पनि यस्तै सफलता सहित शताब्दीको यात्रा तय गरोस तपाइको जीवनले, मेरो पनि कामना !

Umesh Gajurel said...

happy anniversary,

Anonymous said...

Happy Anniversary brother GOGO.I wish you all the best.My wishess & blesses are always with you guyzs.And have a fun.
Cheers!!!!
(Beer ko ho)
From Pasadena

DEEPENDRA said...

Writer Gene Perret once said, 'our wedding was many years ago. The celebration continues to this day'. Happy marriage anniversary! congratulations on completing a 'lovely' decade... best wishes for many such years to follow!

Ashesh said...

शव्दहरूमा सरर वगियो एकतमासले । कतिखेर सकिएच थाहै पो भएन । यो लेखकिय कौशलको अन्तरमनले तारिफ गर्छु म ।

'हिजै जस्तो लाग्छ, कमाउन राजधानी छिर्दा साझा बसको झ्यालबाट बान्ता गर्दै बीर अस्पताल निर झरेको'

यस्तै यस्तै वाक्यहरूले लेखलाई साह्रै रोचक वनाएको छ ।
last but not least,
happy anniversary both of you!!!!

राजेश बुढाथोकी 'नतांश' said...

गोकुल जी, जीवनको प्रतिविम्बहरुलाई नियाँल्दा निकै भयावह लाग्ने गर्छ मलाई । सायद् जीवन भनेको नै दुःख र सुख संयोजन हो कि । गोलाकार कक्षमा घुमिरहेका हुन्छौं हामी ।

सुखद दाम्पत्य जीवनको शुभकामना तपाई र भाउजुलाई । तपाईहरुको प्रेम लैला मज्नु, मुनामदन, भ्यालेनटाइन, निलरँझाको भन्दा उच्च रहिरहोस् ।

बेदनाथ पुलामी ( उमेश ) said...

गोकुल दाइ - दाम्पत्य जीवनको एक दशक पार गरिसक्नु भएको मा हार्दिक बधाई छ र आउदा नव बिहानीहरु सदा उज्जल रहोस !

दूर्जेय चेतना said...

मेरो पनि तपाईहरुलाई शुभकामना है। म तपाईलाई लैला मज्नु वा मुना मदन जस्तो असफल प्रेम कथाको पात्र बन्न भन्दिन तर जति जे छ र जे गर्न सकिन्छ त्यसैमा खुसी हुनु होला। मेरो फेरि पनि शुभकामना।
तपाइले लेखेको लेखले मलाई पनि निकै अगाडि पुर्‍यायो र काठ्मान्डू बसाइ हिडाईको याद दिलायो ।

Dilip Acharya said...

म सायद अलिक ढिला भएछु जस्तो छ । तर कमालसंग लेख्‍नु भएछ जीवनको आरोह अवरोहहरुका सम्झनालाई।

मेरो पनि सुखद् दाम्पत्यको लागि शुभकामना !

Dhruba Panthi said...

धेरै-धेरै बधाइ साथै अगाडिको यात्राका लागि शुभकामना। तपाईंको लेखनमा झल्किएको ग्रामीण जीवनको मिठासपूर्ण चित्रणले साह्रै प्रभावित बनायो। पढ्न पाइरहुँ।

Sujan Sharma said...

Happy marriage anniversary!

Milan said...

Perfectly written article...

Happy Marriage Anniversary ...

ashok nepal said...

'हिजै जस्तो लाग्छ, कमाउन राजधानी छिर्दा साझा बसको झ्यालबाट बान्ता गर्दै बीर अस्पताल निर झरेको'

यस्तै यस्तै वाक्यहरूले लेखलाई साह्रै रोचक वनाएको छ

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼