27 October 2010

ब्लगिङको बार्शिकी : उकाली, ओराली र चौतारी


चिसो मौसम शुरु भयो कि ब्लग लेख्न शुरु गरेको याद आउंछ । नजानिकनै, जे आयो त्यहि र जे पायो त्यहि लेखेरै शुरु गरेको दुई बर्ष भएछ । परदेशमा कामकै चटारो । नगरी केही फेरि लाग्दैन, मुखमा माड । आफ्नै देशमा भए त केही अर्थ लाग्थ्यो होला । परदेशमा जिन्दगी सोचे जस्तो पटक्कै हुंदोरहेनछ । न खान भ्याइन्छ, न सुत्न पाईन्छ । दांत माझ्न र नुहाउन त जसरी पनि पर्‍यो । अरु कुराका कुनै ठेगान छैनन । राजदुत होउन् वा परदेशी कम्पनिका अफिसर । पत्रकार होउन वा लेखक, सबैको हालत यस्तै छ । बिद्धार्थी र घण्टामा काम गर्ने हामीहरु जस्ताको हबिगत त जापनी सरकारले फोहोर उठाउन गोरखालाई दिएको र दुई महिनामै बिग्रिएर झाडिमा थन्किएको 'डम्फर' जस्तो छ । जिन्दगी नै ब्लग, हालतै ब्लग, परिबेश र वरपरका सारा चिजहरु पनि ब्लग भा'का छन्, आजकाल । बाटामा हिंड्दा यसो सम्झियो केहि, लेखुंला भरे भन्यो, समयै मिल्दैन । निद्राले मरिसक्छ, ज्यान । सम्झेका र कल्पेका सारा 'शिर्शक'हरु भुलिन्छन । फेरि, रगत बगेको ब्लग भन्दा पसिना बगाउने 'त्यो फेसबूक्' भन्ने जन्तुले पनि सबै बिगार्यो । ब्लग लेख्न समय लाग्ने, बरु फेसबूक खोल्यो, नानाभाती हेर्यो, झपक्क निद्रा लागिसकेको हुन्छ, त्यतै पल्टियो । पल्टिन भ्याको छैन, बिहानी हुन्छ । भाले त यतातिर बास्दारहेनछन । भाले गाडीहरु कराउन थाल्छन्, बलजफ्ती उठ्यो, शुरु भो दैनिकी । फर्क्यो, फेरि फेसबूक । यताबाट एउटाले हेल्लो भन्छ, आर्कोले हाइ भन्छ । आफ्नो हाइ मरिसकेको हुन्छ, सकि-नसकी पल्टियो, पारा उही । र पनि एकचोटि नखोली सन्तोकै लाग्दैन । अनि, कहीले लेख्ने ब्लग ? के राख्ने लेखेर ? बर्बादै भाको छ ।

पहिला खुबै जांगर लाग्थ्यो, लेख्नलाई । ज्यान गलेर आजकाल त लेख्न मात्रै होईन, देख्न पनि जागर मरिसक्यो । यसो भनिरह्यो भने त एउटा बिरामी निद्रामा बरबराएको जस्तो ठहरिएला । तर सांचो के रहेछ भने, ओखती पसलमा पराय सबै रोग निदानका ओखती भए पो बिरामीले किन्छन । बिरामीले ओखती किने पो पसलेले अरु धेरै सिटामोलहरु राख्छन । यस्तै रहेछ, ब्लगमा पनि । हप्तै पिच्छे या नसके पाक्षिक तबरले सिटामोलहरु राख्न सके पो लेख्ने जांगर चल्छ र नयाँ सिटामोलरुपी शिर्शकहरुले पालो पाउंछन । सडेका सिटामोलले दोकान कुरेर बसेर यसै बित्यो, ब्लगको यो दुई बर्ष । पसिना पुछ्दै उक्लनु पर्छ भन्ज्याङ । उकालो बाटो सजिलो त कहां हुन्छ र ? जिम्मेवारी र कर्तब्यपछी बचेका समयमा जे जति टांसोहरु टांसे, त्यसप्रति खुशी नै लाग्छ । समय ब्यबस्थित गर्नै गार्हो हुन्छ । एउटा मुला संबिधान दिन त भत्तावाले ६०१ सभासदहरुले सकेका छैनन् भने म मामुलीले पनि मेरो यो ब्लगे संसदलाई समय दिनै सकेको छैन । चिसो कुलरमा पसेर "रेड बुल" भत्ता पीई बचेँको शक्तिले धेरै लेख्न सकिदोंरहेनछ । नसके पनि, एउटा उकालो पार गरेर दोस्रो बर्शे ओराली झर्दै छु, पल्लो डांडांको भञ्ज्याङ पुग्नलाई ।

ब्लागिङ उपन्यास जस्तो एउटै पुस्तक पनि भएन । भरिएको संगितको सि डि पनि भएन । धोका, सपना, रहर र पिडालाई अटाउने उकालीको सिढी रहेछ बरु, ब्लग । दुई बर्ष पहिले ब्लग नहुंदा जसरी मडारिन्थ्यो यो मन । अहिले २ बर्षको यो हुंदा जन्मेर बिरामी भएर पनि मुश्किलले बांचेको छोरोको जस्तै माया लाग्छ, भित्रैबाट । यो अबधिमा सबैभन्दा धेरै पढिएको, 'एउटा बिरामीको बिछोड प्रेम कथा' सम्झदां लाग्छ, म पनि कति भाग्यमानी । त्यो पिडा मैले ब्लगमा डिपोजिट गर्न पाएं । मन लागेको बेलामा ए टी एमले निकाल्छु, सम्झनाको नगद गन्छु, पिडाको नोट पढ्छु, आंशुले खर्च चलाउंछु म, म ब्लगबाट पिडा झिकेर । भावना र कल्पना संगाल्ने तर आवाज नआउने सि डि चाँही भएको छ, मलाई ब्लग । लखतरान जिन्दगीलाई छहारी दिने चौतारी भएको छ, मलाई ब्लग । ओरालिमा टेक्ने लौरी र उकालिमा 'तिर्खाएको भरियालाई महि' भएको छ, मलाइ ब्लग र उत्सब अनि उमंगमा अक्षताको दही भएको छ, मलाइ ब्लग । बैंकमा पैसा नभएपनि खाता भए जस्तो । मौसम सफा रहे पनि साथमा छाता भए जस्तो । एक हल गोरु नभएपनि अग्राखको हलो भए जस्तो भएको छ, मलाइ ब्लग । नराखे पनि, नभए पनि छ न त छ । हावा-हुरी, बर्शात्-असिना र उकाली-ओराली हुंदै दुई बर्शे यो चौतारिमा सुस्केरा सुस्काउन पाउनु पनि काम भाग्यमानी र आनन्ददायक कुरो होईन ।

यस अवसरमा मलाइ सहयोग गर्नुहुने सम्पुर्ण मित्रजन, टाढा टाढाबाट पनि हौसला प्रदान गराउनुहुने महानुभाब र सधैं उन्नति र प्रगति मात्रै रुचाउनुहुने शुभेच्छुकहरुमा हार्दिक आभार ब्यक्त गर्न चाह्न्छु । बिगतमा दौंतरीले गरेका ब्लगिङ भेलाहरु र अग्रज ब्लगर दाजुहरु र मित्रहरुको प्रयाशमा निकट भबिश्यमा आफ्नै मुलुकमा गरिन लागिएको 'ब्लगर भेला'को लागि मेरो पनि सात समुद्र पारीको यो परदेशबाट मंगलमय शुभकामना । तपाईं हाम्रो दैलोमा आएकी लक्ष्मीको पर्व शुभ दिपावलिको पुनित उपलक्ष्यमा यहाँहरुको उन्नति र खुशीको मंगलमय कामना गर्दछु । ह्याप्पी ब्लगिङ !!!

9 Comments:

Aakar said...

ब्लगिङ उपन्यास पढे जस्तो त पक्कै होइन ! ब्लगलाई जन्मदिन को शुभकामना ! Happy Blogging.

Chaitanya said...

बडो घतलाग्दो अनुभब लेख्नुभएको रहेछ | बधाई र शुभकामना छ है यहाँलाई !

Pradeep Kumar Singh said...

Ramro lagyo. Lekhdai janu hos, Yehi Subhakamana!

NKM said...

This should be a chapter in Nepali Book and a question on saprasanga byakhya garnuhos would be:

धोका, सपना, रहर र पिडालाई अटाउने उकालीको सिढी रहेछ बरु, ब्लग । दुई बर्ष पहिले ब्लग नहुंदा जसरी मडारिन्थ्यो यो मन । अहिले २ बर्षको यो हुंदा जन्मेर बिरामी भएर पनि मुश्किलले बांचेको छोरोको जस्तै माया लाग्छ, भित्रैबाट |
Great!!!
Happy Blogging!!!

डीआर न्यौपाने'सूर्य' said...

दोस्रो बर्षको सफल आरोहणमा शुभकामना तथा बधाई गोकुल जी
Happy blogging !!

वेदनाथ पुलामी (उमेश ) said...

गोकुल दाइ लाइ ब्लग दुनियामा दोश्रो बर्षमा लाग्नु भएकोमा यहाँ लाइ हार्दिक बधाई छ !
अनि आउदै गरेको दिपावलीको पावन अबसरमा सुख, शान्ति, समृद्री एवम् उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभ कामना गर्दछु ! यहाँको समय शुभ होस, शुभ रहोस !! धन्यबाद !

निकै मिठो तरिकाले कुराहरु प्रस्तुत गर्नु भएको रहेछ .... " बैंकमा पैसा नभएपनि खाता भए जस्तो । मौसम सफा रहे पनि साथमा छाता भए जस्तो । "

Jotare Dhaiba said...

ब्लगिङ यात्राको कुरालाई जोडेर सेरोफेरोमा लेख्नुलभएको भावनात्मक बयान मननीय लाग्यो । समयको चटारो र परिस्थितिको घोडा त यस्तै हो, उफारिरहन्छ हामीलाई ।
जिम्मेवारीको बोझ सम्झिए ब्लगिङ 'भ्याउनुपर्ने काम' लाग्दो हो, नत्र जीवन नै बनायो भने परमानन्दकै स्रोत बन्छ कि जस्तो लाग्छ मलाई ब्लग लेखन ।
ब्लगको तेस्रो वार्षिकोत्स वका साथै दीपावली २०६७ को गोकुल जी र खुला मञ्चलाई हार्दिक शुभकामना !

Prakash said...

Blog ramro chha, tara template le blog ko standard match garena nee bro! i think this template will match your blog !

नबिनकुमार कार्की said...

like us on facebook and get 50 mobile recharge card for more information here: www.nbsansar.blogspot.com

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼