
गत हप्ता एउटा कार्यक्रमको शिलशिलामा 'जुवा र रमाइलो'को शहरको नामले संसारभर परिचित 'लस भेगस' जाने अबसर मिल्यो । रातको एघार बजे झुपुझुपु उङगदै शक्ती दिने ओखती ? (लाले गोरु- रेड बुल) पिउदैं त्यहां पुगियो । होटेल त बूकिङ थियो रे दाइले भन्नुभएको तर साथीहरुको चापले कोठा भरिएर गाडीमै सुत्नु पर्यो । फेरी खोइ किन हो कुन्नी, सप्ताहन्तका दुई दिन शुक्र र शनिबार लस भेगसका सारा होटेलका सारा कोठाहरु भरिदां रहेछन ! दोब्बर पैसा तिर्छु नि त बाबा भन्दा पनि नपाईने, सुत्नको लागि कहीं कतै नमिल्ने केही प्रहरको लागि बास । भारतीय तर नेपाली मनका साथी चेतनको गाडीमा नै केही घण्टाहरु बिताइयो । सडकमा गाडी पार्क गरेर गाडीमै सुतौं भने सडक पनि गाडीले पुरै भरिभराउ । यसो बिचार गरेर एउटा होटेलको पार्किङ्को चौथो तल्लाको कुनामा गाडी खांदेर लुसुक्क सुतियो ।
भोलिपल्ट आफ्नो काम सकिवरी नेपाली रेस्टुराँमा खान खान सबै जना (त्यहा ब्यापारिक मेला भएकोले भाग लिन आउनुभएका सबै नेपाली हामीहरु) जम्मा भएर बडो मज्जाले खान खाइयो । हुन त जाजरकोट रोगले र हुम्ला भोकले रोएको बेलामा परदेशको खानाको मज्जा उल्लेख गर्नु उपयुक्त नहोला । सन्दर्भ यस्तो परेकोले मात्र उल्लेख गरेको हुँ । यत्तिकैमा काकाले आफ्नो होटेलमा आउन र कोठा मिलाइदिने आश्वाशनलाई हृदयमङगम गर्दै उनैको पछी लागियो । शनिबारको त्यो रात के का मिल्थ्यो कोठा ? चप्पल पड्काउदै साथी चेतन र म सुट्केश घिसार्दै लाग्यौं, आफ्नै गाडीतिर । बास मिल्लाकि भन्ने आशले यसो शेरोफेरो घुमियो, दुई चार होटेल चारियो । हामीलाई कसैले पत्याएनन गांठे । त्यहां त खाली युगल जोडी मात्र हुंदा रहेछन । पुरै सडक उनिहरुकै हिडाइले जाम । अनी सप्ताहन्तका ति दिनहरु किन खाली हुन्थे र मिल्ने कोठा ? हुन पनि निर्बस्त्र तिनिहरु भनुम भने पुरै भन्न नमिल्ने । लगाएका छन कपडा भनुम भने एक बित्ते टालोलाई कसरी बस्त्र भनुम ? धर्मले नै दिएन । धर्म सम्झदै कही पर राखिएको गाडी कता पार्क गरेर सुत्ने सोच्दै लाग्यौं, चेतन र म लस भेगसका चम्किला सडकतिर ।
रातको ३ बजे लखतरान पर्दै हिजो गाडी राखेर सुतेको ठाउंमा लाग्यौं । मज्जाले कोदाली मच्चाउदै मकैबारिमा कोदो रोप्ने मेलो बनाउंदै बुवा र आमासँग हाँस्दै गरेको सपनी देख्दै थिएं, कसैले गाडीको शिशा ट्याक्-ट्याक पार्यो । चेतन मस्त निन्द्रामा थिए । मैले क्वाइक्-क्वाइक घुमाउने कुरो घुमाउदै गाडीको शिशा खोलें । होटेलको सुरक्षा वाला रहेछ । परिचय पत्र माग्यो । गाडीमा सुत्नुपर्नाको कारण सोध्यो । हामी किन गाडीमा सुत्नुपरेको बिबशता त्यो भुशतिघ्रेलाई के थाहा ? उपयुक्त कारण दिन नसकेपछी हामी त्यो पार्किङ क्षेत्र छोड्न वाध्य भयौं । नत्र भने पुलिस पो बोलाउछु भन्छ त, अम्रिकाने गार्ड त । चेतनले " आइ विल टेक केयर यु म्यान, गिभ अस फ्यु आवोरस टू स्लीप " भन्दै अङ्रेजी छाट्दै थिए । घूस लिन पटक्कै मानेन मोरोले । एका बिहानै आफ्नो देशको 'भ्रस्टाचार - धर्म' सम्झदै त्यो तिघ्रेलाई बाइ गर्दै निस्क्यौं हामी ।
गल्ली गल्लिका हरेक स्थानमा पैसा राखेर खेल्ने ठाम हुंदारहेछन । प्रत्यक स्टोर, रेस्टुरेन्ट लगायतका ठाउमा पैसा मास्ने भाडो राखेको हुदोरहेछ । मान्छेहरु त्यसलाई जुवा खेल्ने ठाउँ भन्दारहेछन । म आफु जुवाको चोखो हुन खोजेको होइन । सत्य धरोधर्म, अमेरिकि समाजलाई त्यो जिबिका उनिहरुको तरिका होला तर मैले त्यो छाडापन कहिल्यै देखेको थिइन र जीबनमा जुवा देखेको थिइन । फेरी अर्थतन्त्र संकट लाग्यो भन्थे बजारतिर । तर त्यहां त चौबिसै घण्टा मानिसहरु सुरा, सुन्दरी र जुवामा मस्त । अरुले खेलेका नजर लगाइयो, देखियो । खेलाउनेले पैसा सोरेको देखियो तर खेल्नेले जितौरी सोरेको यि आँखाले धेरै कम देखे । हारेका छन र पनि पैसा झिकेका छन, च्याखे थापेका छन गांठे । पिएका छन, झुम्म भा'का छन । कस्तो अचम्मको जिन्दगी, हे भगवान । ब्यापारिक मेला जांदा बिचमा पर्ने बाटाहरुमा पनि हाम्रो समाजले पचाउन नसक्ने खालका पत्रीकाहरु । पैतला टेक्ने हरेक पाइलामा अनैतीक सम्बन्धका लागि संपर्क गर्न भनी फालिएका रङगीन 'बिजनेस कार्डहरु' । होटेलहरु त यसै झिलिमिली भइहाल्छन नि । तर त्यहां त झिलिमिली पनि चाहिने भन्दा बढी श्रिङ्गार गरिएकी दुलही जस्ति । त्यस्तो पो रहेछ, लस भेगस ।
भन्न पनि लाज लाग्छ, यसो फोटो खिच्न भनेर क्यामेरा बोकेर नगएको पनि होइन । तर के को खिच्ने फोटो ? बाटामा देखिएका बस्तुका खिचुं भने नपच्ने ति चिजका तस्विर कुन ब्लगमा टांस्नु ? अरुले खेलेका जुवा खालको खिचु भने के खिच्यौ त बुढा भनेर श्रीमतिले क्यामेरा हेर्दा जुवा खेलेर आइछस होइन भनी गाली खाने डर ? अनिदै सुतेको तस्विर खिंचु भने तीन बजे बिहान निन्द्रामा लुक्दै खिचेको फोटोको के माने र ? साउदी अरबमा हाम्रा दाजुभाइलाई पैसा नदीइकन दलाउने शोषकहरुको लगानिका ति ठुला भवनहरुका पनि फोटो खिचिन मैले त । दुलही लिन गएर रित्तो फर्किएको ताम्दानी जस्तो भयो बिचरा मेरो क्यामेरा, यसपाली ।
धेरै दिन भयो, देशका समाचार पनि पढ्न पाइएन । मित्रहरुका रमाइला र सुन्दर प्रस्तुतिका ब्लग पनि पढ्न पाइएन । चट्ट लाएर होटेलको आठौं तलामा बसेर समाचार हेरुम्ला भनेर दाजुको भरमा गा'को, आँफै गाडीमा सुत्नुपर्यो । अनी कता जोड्ने कम्प्युटर ? कम्प्युटरको ब्लग बैङ्लोरको दिशातिर फर्काउदैमा इन्टरनेट आउंदो रहेनछ न त नासातिर फर्काउंदा नै ! जे भए पनि आफ्नै मुन्टो सधैं दुर्घटना हुने लस भेगसका सडकमा पिल्पिलिएका पुलिसका गाडीतिर फर्काउंदै कर्मठाम फर्कीइयो । यो ब्लगको नशा त यस्तो पिडादायक हुदोंरहेछ कि ? जिन्दगिको दैनिकिमा के छुटे के छुटे जस्तो क्या ! गाली गर्नुभए पनि म त भन्छु, बरु श्रीमतिको अनुहारको याद आउंदो रहेनछ, तर यो ब्लगको अनुहार भने ! के भनुम र खै ? के नपाए के नपाए जस्तो । ब्लगको अनुहार हेर्न नपाउंदा त मन ज्यादै नमज्जा हुदोंरहेछ । ढिलै भएपनी यो साहिलि (ब्लग) सँग भेट भा'को छ । अब मिलाएर कुरा मिलाउनुपर्ला, साहिलिको अनुहार हेर्दै उनको अनुहारमा यो 'क्रिम'(लेख) दलिदिएको छु, यिनलाई फकाउन आजलाई ।