13 October 2009

ब्लगिङको बार्षिकी र एउटा उकालो :



खुबै चिसो शुरु भएको छ, आजकाल । र, यो हो जाडोको मौसम । आज भन्दा ठीक एक बर्ष अगाडि सुन्दर शहर बोस्टनको जाडोमा रहंदा फुर्सदमा के गर्ने भन्ने चिन्ता हुन्थ्यो । बाहिर निस्केर कतै जाऔं भने आंफुलाई पुर्ने हिंउ । केही नगरी खाली हात त्यसै बसौं भने झिन्झ्यार लागेर आउने पिरलो । कामबाट फर्कंदा बेलुकीको समय हुने, र त्यो समय नेपालमा बिहानी पर्ने हुनाले केही साथीभाइ सँग च्याट गरेर बिताइन्थ्यो । रामे र श्यामे लाइनमा आउला र च्याट् गरी समय गुजारौंला भन्ने पनि सधैं कहाँ सम्भब थियो र ? सबैको समय मिल्नु पर्यो, त्यसमाथी पनि नेपालको लोडसेडिङ ! सार्है दिग्दारी लाग्थ्यो, मनमा ।

आफुलाई कम्प्युटर भित्रको गुदीहरु त्यति ज्यादा नआउने । लटर-पटर हटमेल र कोल्डमेल खोल्न र हेर्न मात्र । केही नजाने पछि समय बिताउन गार्हो हुदोरहेछ । साझा डट कममा प्रख्यात 'चौतारी'मा छिरें, एकदिन । त्यहां उपस्थित चौतारिया र भारदारहरुको छुट्टै नाम हुन्थ्यो । जुन अहीले पनि यथाबतै छ क्यार । राहुलभाइ, बसन्त, गोतामे, नेपालियन्, ठरकी दादा लगायत सयौं भारदार मित्रहरुको बिचमा म एउटा बटुवा भएर छिर्दथें ( अझै सयौं साथीहरुको नाम सम्झन नसके पनि मेरो ब्लगिङको यो पुण्य दिनमा सबै मित्रहरुको सम्झना गर्न चाहन्छु )। जानी नजानी केही लेखिन्थ्यो । रमाइलो हुन्थ्यो, रमाइलो लाग्थ्यो अनी खुशी पनि । बोस्टनमा आयोजना गरिन लागेको एउटा साहित्यिक सम्मेलनमा आगमनको निमन्त्रणाको लागि राहुलभाइ दाजुसँग कुराकानी गर्ने अबसर मिल्यो, साझा मार्फत । उहांको संपर्क नम्बर प्राप्तिपछीको कुराकानीले एउटा नातामा एउटा इट्टा थपिदिने काम गर्‍यो । कुराकानीकै क्रममा मैले राहुलभाइ दाजुलाई डट कम मा कुनै साइट चलाउने इच्छा जाहेर गरें । उहांले यसमा जानकारी हुनुपर्ने अनी समय पनि दिनुपर्ने हुनाले बरु भर्खरै खुलेको "दौंतरि"मा सहभागी हुन आग्रह गर्नुभयो । तत्काल "दौंतरि" खोलेर मैले नेपालियनजीलाई संपर्क गरें । उहांले मलाई ब्लग, यसको उपयोगिता र आनन्दको बारेमा जुन जानकारी र सहयोग गर्नुभयो, त्यो अमुल्य सहयोगको लागि उहाँप्रती म खुल्ला दिलले आभारी छु ।


हलुका जानकारी भएपछी ब्लग शुरु गर्ने नशाले छुन थाल्यो । राजाको काम, कहीले जाला घाम भनेजस्तो । कहीले काम सकिएला र जानी नजानी कम्प्युटरमा ब्लगको कखरा कोरुं झै हुन्थ्यो । नाम के राख्ने भन्ने कुरोले नि सतायो । यसो सोचें, घोत्लिएं, खोतलें । मरे जुर्दैन नाम । गोडा बिसै मिनेट सोच्यो, खेस्रा बनायो अनी त्यो नाम राम्रो लाग्दैन । फेरी घोत्लियो, जुरायो अनी चित्त बुझ्दैन । जे पर्ला पर्ला, नाम मात्रै के हो र भन्ने सोचेर आफ्नो ब्लगको नाम "खुल्लामन्च" राख्ने निधो गरें र तत्कालै आफैं त्यसको न्वारान गरिदिएं । खुल्लामन्च लाई 'खुलामन्च' लेख्ने वा 'खुल्लामन्च' राख्ने, त्यो पनि सोच्नु पर्यो भनेर गोड्याड्डी डट कममा 'डोमैन' खोज्न थालें । 'खुलामन्च' नामको साइट पहीलेदेखी नै सुचारु रहेछ । तराइबाट धेरै पहीले एउटा मित्रले सन्चालन गरेर छाड्नुभएको 'एक्स्पाएर-डोमैन्' "खुल्लामन्च" नै मिल्यो । मिती नाघिसकेको, सन्चालनको प्रयास पून: नगरिएको र प्रतिलिपी अधिकारको कानुनपनि नलाग्ने ठहर गर्दै, यसरी मैले आँफै ब्राहमण र वकिल भएर "खुल्लामन्च" आफ्नो नाममा पास गराएं ।

शुरुका दिनमा बोस्टन वरपर कर्यक्रममा वाचित कबिता र साझाको ब्लगमा राखिएका कबिताहरु राखें । गूगलबाट ब्लगभित्र छिरेर जानी नजानी चलाउदा चलाउदै एउटा रुप निस्क्यो । नेपालियनजीको निरन्तर सहयोग र बसन्त गौतम दाजुको सल्लाहलाई हृदयमंगम गर्दै अघि बढें । धन्यबाद, नेपालियनजी । निरन्तर तपाईंको सहयोगको लागि । धन्यबाद्, बसन्त गौतम दाजु, सल्लाह र सुझाबको लागि । र पनि ब्लगिङ एउटा उकाली रहेछ । पारिबाट हेर्दा सजिलो देखिने उकाली चढ्दै जांदा पसिना नचुहाइ त कसरी शिखरमा पुगिइन्छ होला र ? हरपल एउटा आशा लिएर हिड्दै जांदा भगवानले मलाई दिलिप आचार्य दाजुसँग अन्लाईन मार्फत भेट गराए । खुल्ला दिलका धनी उनै दिलिप आचार्य दाजुले झारै झार भएको एउटा पाटीलाई "खुल्लामन्च" बनाइदिनुभएको छ । र यो पक्की मन्च, दरिलो घर र आंटिलो सहयोगको लागि दिलिप दाजुलाई मुरी मुरी धन्यवाद ।

हुदैं जांदा केही कोरिदैं गैयो । केरिदैं आइयो । ब्लग, यो गार्हो काम र गर्हुङो भारी रहेछ । एउटा बालकलाई फकाएसरी फकाइ रहन पर्ने । कुराउनी जसरी पकाइरहन पर्ने । त्यसैले लाग्छ, ब्लगको नाम जुराउनु मात्र भन्दा पनि यसको गुणस्तरियताले ज्यादा महत्व लिंदोरहेछ । कोर्दा र केरिदां भावना र अर्थहिन टासाहरु बेकार लाग्दा रहेछन तर बेकार जिन्दगीका बेकारका सम्झनाहरु भने ब्लगमा आँफै टांसिदो रहेछ । आ-आफ्नो परिभाशा छ, ब्लगको । मेरो लागी ब्लग एउटा बैंक हो । म यसमा च्यातिएका नोटरुपी भावनालाई डिपोजिट गर्छु । बहादुर शाहका पालाका पुराना सुका र मोहोररुपी सम्झनाहरु डिपोजिट गर्छु । तर ब्याजको आशा छैन, न जिन्दगीले ब्याज पायो, न जिन्दगी ब्याजमा राखिन्छ, न जिन्दगी डिपोजिट नै हुन्छ । नपाउने चिजहरु पाउन ब्लग चाहिंदो रहेछ । पाउने चिजहरु राख्न ब्लग चाहिदो रहेछ । बिरक्त, उमङ, सम्झना, कथा र जिन्दगीको सारांश रहेछ - ब्लग । मैले त यसरी पो बुझेछु ।

'एउटा बिरामीको बिछोड प्रेम कथा' लेखें । आँफैलाई रमाइलो लाग्यो । सत्य घटनालाई यसरी मज्जाले राख्न पाउंदा । 'प्रधानमन्त्रीलाई खुल्ला पत्र' टांसे, दु:ख लाग्दो रहेछ, देश रोएको लेख्न । 'तिमिलाई लेखेको चिठ्ठी' राखें, मन कुडिंदो रहेछ, बिरक्तका दिनहरु सम्झदा । र पनि ब्लग एउटा नशा भएको छ । बरु श्रीमतीको माया छोड्न सकिंदो रहेछ । तर ब्लग त अ हं, मरेपनी भुल्न गार्हो । यो कस्तो अनौठो नशा गांठे । 'श्रीमती, कम्प्युटर र सौता' धेरै पढिएको लेख भएछ । सधैं श्रीमतीको सौतामाथी लर्बराउने हातहरु लजाउदां रहेछन्, श्रीमतीको नजिक जान । खै, कुन डरले पो हो ! त्यसो त, यात्रा, स्मरण, अनुभब, घटना र सम्झना जति कुवाए पनि नअघाउने भएको आजकाल, यो ब्लग भन्ने जात ।


र, अन्तमा, मेरो खुल्लामन्चे एक बर्षको यो उकालिमा साथै यो चौबाटो जिन्दगीको अनौठो उकालिमा चौतारी, दौतरी, मित्र भएर हौसला, साथ र प्रोत्साहन दिनुहुने सम्पुर्ण तपाईंहरुमा खुल्ला दिलले यो "खुल्लामन्च" को आभार छ । आगामी दिनमा पनि यो जिन्दगीको उकालिमा हामीहरु सबै, सधै, संगै उक्लने नै छौं । दिपावलीको मंगलमय शुभकामना सहित्, फेरी पनि धन्यवाद । ह्याप्पी ब्लगिङ !!!
Read more >>