13 October 2009

ब्लगिङको बार्षिकी र एउटा उकालो :



खुबै चिसो शुरु भएको छ, आजकाल । र, यो हो जाडोको मौसम । आज भन्दा ठीक एक बर्ष अगाडि सुन्दर शहर बोस्टनको जाडोमा रहंदा फुर्सदमा के गर्ने भन्ने चिन्ता हुन्थ्यो । बाहिर निस्केर कतै जाऔं भने आंफुलाई पुर्ने हिंउ । केही नगरी खाली हात त्यसै बसौं भने झिन्झ्यार लागेर आउने पिरलो । कामबाट फर्कंदा बेलुकीको समय हुने, र त्यो समय नेपालमा बिहानी पर्ने हुनाले केही साथीभाइ सँग च्याट गरेर बिताइन्थ्यो । रामे र श्यामे लाइनमा आउला र च्याट् गरी समय गुजारौंला भन्ने पनि सधैं कहाँ सम्भब थियो र ? सबैको समय मिल्नु पर्यो, त्यसमाथी पनि नेपालको लोडसेडिङ ! सार्है दिग्दारी लाग्थ्यो, मनमा ।

आफुलाई कम्प्युटर भित्रको गुदीहरु त्यति ज्यादा नआउने । लटर-पटर हटमेल र कोल्डमेल खोल्न र हेर्न मात्र । केही नजाने पछि समय बिताउन गार्हो हुदोरहेछ । साझा डट कममा प्रख्यात 'चौतारी'मा छिरें, एकदिन । त्यहां उपस्थित चौतारिया र भारदारहरुको छुट्टै नाम हुन्थ्यो । जुन अहीले पनि यथाबतै छ क्यार । राहुलभाइ, बसन्त, गोतामे, नेपालियन्, ठरकी दादा लगायत सयौं भारदार मित्रहरुको बिचमा म एउटा बटुवा भएर छिर्दथें ( अझै सयौं साथीहरुको नाम सम्झन नसके पनि मेरो ब्लगिङको यो पुण्य दिनमा सबै मित्रहरुको सम्झना गर्न चाहन्छु )। जानी नजानी केही लेखिन्थ्यो । रमाइलो हुन्थ्यो, रमाइलो लाग्थ्यो अनी खुशी पनि । बोस्टनमा आयोजना गरिन लागेको एउटा साहित्यिक सम्मेलनमा आगमनको निमन्त्रणाको लागि राहुलभाइ दाजुसँग कुराकानी गर्ने अबसर मिल्यो, साझा मार्फत । उहांको संपर्क नम्बर प्राप्तिपछीको कुराकानीले एउटा नातामा एउटा इट्टा थपिदिने काम गर्‍यो । कुराकानीकै क्रममा मैले राहुलभाइ दाजुलाई डट कम मा कुनै साइट चलाउने इच्छा जाहेर गरें । उहांले यसमा जानकारी हुनुपर्ने अनी समय पनि दिनुपर्ने हुनाले बरु भर्खरै खुलेको "दौंतरि"मा सहभागी हुन आग्रह गर्नुभयो । तत्काल "दौंतरि" खोलेर मैले नेपालियनजीलाई संपर्क गरें । उहांले मलाई ब्लग, यसको उपयोगिता र आनन्दको बारेमा जुन जानकारी र सहयोग गर्नुभयो, त्यो अमुल्य सहयोगको लागि उहाँप्रती म खुल्ला दिलले आभारी छु ।


हलुका जानकारी भएपछी ब्लग शुरु गर्ने नशाले छुन थाल्यो । राजाको काम, कहीले जाला घाम भनेजस्तो । कहीले काम सकिएला र जानी नजानी कम्प्युटरमा ब्लगको कखरा कोरुं झै हुन्थ्यो । नाम के राख्ने भन्ने कुरोले नि सतायो । यसो सोचें, घोत्लिएं, खोतलें । मरे जुर्दैन नाम । गोडा बिसै मिनेट सोच्यो, खेस्रा बनायो अनी त्यो नाम राम्रो लाग्दैन । फेरी घोत्लियो, जुरायो अनी चित्त बुझ्दैन । जे पर्ला पर्ला, नाम मात्रै के हो र भन्ने सोचेर आफ्नो ब्लगको नाम "खुल्लामन्च" राख्ने निधो गरें र तत्कालै आफैं त्यसको न्वारान गरिदिएं । खुल्लामन्च लाई 'खुलामन्च' लेख्ने वा 'खुल्लामन्च' राख्ने, त्यो पनि सोच्नु पर्यो भनेर गोड्याड्डी डट कममा 'डोमैन' खोज्न थालें । 'खुलामन्च' नामको साइट पहीलेदेखी नै सुचारु रहेछ । तराइबाट धेरै पहीले एउटा मित्रले सन्चालन गरेर छाड्नुभएको 'एक्स्पाएर-डोमैन्' "खुल्लामन्च" नै मिल्यो । मिती नाघिसकेको, सन्चालनको प्रयास पून: नगरिएको र प्रतिलिपी अधिकारको कानुनपनि नलाग्ने ठहर गर्दै, यसरी मैले आँफै ब्राहमण र वकिल भएर "खुल्लामन्च" आफ्नो नाममा पास गराएं ।

शुरुका दिनमा बोस्टन वरपर कर्यक्रममा वाचित कबिता र साझाको ब्लगमा राखिएका कबिताहरु राखें । गूगलबाट ब्लगभित्र छिरेर जानी नजानी चलाउदा चलाउदै एउटा रुप निस्क्यो । नेपालियनजीको निरन्तर सहयोग र बसन्त गौतम दाजुको सल्लाहलाई हृदयमंगम गर्दै अघि बढें । धन्यबाद, नेपालियनजी । निरन्तर तपाईंको सहयोगको लागि । धन्यबाद्, बसन्त गौतम दाजु, सल्लाह र सुझाबको लागि । र पनि ब्लगिङ एउटा उकाली रहेछ । पारिबाट हेर्दा सजिलो देखिने उकाली चढ्दै जांदा पसिना नचुहाइ त कसरी शिखरमा पुगिइन्छ होला र ? हरपल एउटा आशा लिएर हिड्दै जांदा भगवानले मलाई दिलिप आचार्य दाजुसँग अन्लाईन मार्फत भेट गराए । खुल्ला दिलका धनी उनै दिलिप आचार्य दाजुले झारै झार भएको एउटा पाटीलाई "खुल्लामन्च" बनाइदिनुभएको छ । र यो पक्की मन्च, दरिलो घर र आंटिलो सहयोगको लागि दिलिप दाजुलाई मुरी मुरी धन्यवाद ।

हुदैं जांदा केही कोरिदैं गैयो । केरिदैं आइयो । ब्लग, यो गार्हो काम र गर्हुङो भारी रहेछ । एउटा बालकलाई फकाएसरी फकाइ रहन पर्ने । कुराउनी जसरी पकाइरहन पर्ने । त्यसैले लाग्छ, ब्लगको नाम जुराउनु मात्र भन्दा पनि यसको गुणस्तरियताले ज्यादा महत्व लिंदोरहेछ । कोर्दा र केरिदां भावना र अर्थहिन टासाहरु बेकार लाग्दा रहेछन तर बेकार जिन्दगीका बेकारका सम्झनाहरु भने ब्लगमा आँफै टांसिदो रहेछ । आ-आफ्नो परिभाशा छ, ब्लगको । मेरो लागी ब्लग एउटा बैंक हो । म यसमा च्यातिएका नोटरुपी भावनालाई डिपोजिट गर्छु । बहादुर शाहका पालाका पुराना सुका र मोहोररुपी सम्झनाहरु डिपोजिट गर्छु । तर ब्याजको आशा छैन, न जिन्दगीले ब्याज पायो, न जिन्दगी ब्याजमा राखिन्छ, न जिन्दगी डिपोजिट नै हुन्छ । नपाउने चिजहरु पाउन ब्लग चाहिंदो रहेछ । पाउने चिजहरु राख्न ब्लग चाहिदो रहेछ । बिरक्त, उमङ, सम्झना, कथा र जिन्दगीको सारांश रहेछ - ब्लग । मैले त यसरी पो बुझेछु ।

'एउटा बिरामीको बिछोड प्रेम कथा' लेखें । आँफैलाई रमाइलो लाग्यो । सत्य घटनालाई यसरी मज्जाले राख्न पाउंदा । 'प्रधानमन्त्रीलाई खुल्ला पत्र' टांसे, दु:ख लाग्दो रहेछ, देश रोएको लेख्न । 'तिमिलाई लेखेको चिठ्ठी' राखें, मन कुडिंदो रहेछ, बिरक्तका दिनहरु सम्झदा । र पनि ब्लग एउटा नशा भएको छ । बरु श्रीमतीको माया छोड्न सकिंदो रहेछ । तर ब्लग त अ हं, मरेपनी भुल्न गार्हो । यो कस्तो अनौठो नशा गांठे । 'श्रीमती, कम्प्युटर र सौता' धेरै पढिएको लेख भएछ । सधैं श्रीमतीको सौतामाथी लर्बराउने हातहरु लजाउदां रहेछन्, श्रीमतीको नजिक जान । खै, कुन डरले पो हो ! त्यसो त, यात्रा, स्मरण, अनुभब, घटना र सम्झना जति कुवाए पनि नअघाउने भएको आजकाल, यो ब्लग भन्ने जात ।


र, अन्तमा, मेरो खुल्लामन्चे एक बर्षको यो उकालिमा साथै यो चौबाटो जिन्दगीको अनौठो उकालिमा चौतारी, दौतरी, मित्र भएर हौसला, साथ र प्रोत्साहन दिनुहुने सम्पुर्ण तपाईंहरुमा खुल्ला दिलले यो "खुल्लामन्च" को आभार छ । आगामी दिनमा पनि यो जिन्दगीको उकालिमा हामीहरु सबै, सधै, संगै उक्लने नै छौं । दिपावलीको मंगलमय शुभकामना सहित्, फेरी पनि धन्यवाद । ह्याप्पी ब्लगिङ !!!

17 Comments:

N K M said...

Happy Blogging!!!

I also had the rounder 3 col blog. It is not very SEO friendly, thats why I changed it.
Looking at the sliding door css menu at the top, my guess was "Dilip Sir". :)

Happy Blogging!!!

DEEPENDRA said...

We have seen you growing with your blog. Thanks for those insightful posts. Congratulations for completing a successful year of blogging and best wishes for many fulfilling years to come...

Happy birthday dear blogger! Happy blogging!!

Basanta said...

हार्दिक बधाई गोकुल भाइ र खुल्लामञ्चलाई! ब्लग यात्राको यसपछिका दिनहरु पनि अझ सफल रहुन्, निरन्तरताको शुभकामना!

यात्रा शुरु नगरुञ्जेलसम्म मात्रै कहालीलाग्दो देखिन्छ, शुरु गरेपछि, घुम्तीहरु पार गरेपछि 'यो यात्रा नभैदिएको भए जिन्दगी कति निरस र अर्थहीन हुँदो हो जस्तो लाग्छ। ब्लग जिन्दगीलाई आकार दिने एउटा सार्थक यात्रा हो।

गोकुल भाइको विषय चयन, शिर्षक चयन र लेखन शैलीमा निरन्तर प्रगति देखिएको छ यस बीचमा। निरन्तरताको पूँजीको लगानी बढाऊँदै जाँदा त्यसमा अझ सुधार हुने निश्चित छ।

नेपालियन said...

खुल्लामञ्च एक बर्ष पुगेको मा गोकुलजीलाइ धेरै धेरै बधाइ। राम्रो लेख र निरन्तरता नै ब्लगको सहि फर्मुला हो जुन गोकुलजीले १००% आत्मसात गर्नुभएको छ।

जसरी तपाईले ब्लगमा सहयोग पाउनुभयो त्यसरी नै तपाइले पनि नया ब्लगरलाइ सहयोग गरेर ब्लगिंग ज्ञानको दियालो बाढ्दै जानुहोला।

यात्रा त आशमानको हो तर हरेक पलमा सफलता चुम्दैजानूहोला। तपाइलाई पून बधाइ छ।

कुरोमा कुरो चियामा चिउरो भने जस्तै खुल्लामञ्च र दौंतरीको जन्मदिन त नजिकै नजिकै पर्दो रहेछ नि ?

आकार said...

धेरै धेरै बधाइ एवम् शूभकामना छ है ! लेख्दै गर्दा, धेरै कुरा जान्दै र बुझिँदै आइने रहेछ । चिसो मौसम को सुरुवात सँगै आफ्ना अनुभवहरु बाँड्नुभएको मा हार्दिक धन्यवाद !

Dilip Acharya said...

कतै पढेको थिएँ: "
To remain ordinary is the most extra-ordinary thing in this world

तपाईको ब्लगको विशेषता मलाई यही नै हो जस्तो लाग्छ । जीवनका विविध परिवेशहरुलाई तपाई एकदमै सरल तर रोचक ढंगले लेख्‍ने गर्नुहुन्छ र मलाई त्यो एकदमै मन पर्छ । यस अर्थमा खुल्लामञ्च साँच्चै खुल्ला छ भन्दा फरक पर्दैन ।

अँ त, श्रीमती, कम्प्युटर र सौता ' मलाई पनि एकदमै मन परेको एउटा पोष्ट हो । म पढन नभ्याउनु भएका साथीहरुलाई पनि त्यो पोष्ट एकचोटी पढन सल्लाह दिन्छु ।

लेखनलाई निरन्तरता दिनु होला र आफ्नो शैली कायम राख्‍नु होला ।

धेरै धेरै शुभकामना !!!

Sujan Sharma said...

धेरै धेरै बधाई एवम् शुभ कामना ब्लगिङ यात्राको वर्षिकोत्सवको लागि ।लेखन यात्रा निरन्तर रहोस!!

Happy Blogging!!

gufgaf.com said...

खुल्लामञ्चले चढ्दै गरेको उकालोमा मिसिन पाउँदा धेरै खुसी लागेको छ । लेखन यात्राको निरन्तरताको शुभकामना !!

कैलाश said...

धेरै धेरै शुभकामनासहित बधाई छ खुलामञ्च र गोकुलजीलाई। Happy Blogging!

एकल यात्री said...

के नै हो र जिन्दगी खै, निरन्तरको यात्रा न हो ।
के लेख्नु र राजनीति, हाँडीगाउँको जात्रा न हो ।

Umesh Gajurel said...

धेरै धेरै शुभकामनासहित बधाई छ खुलामञ्च र गोकुल दाजुलाइ Happy Blogging!

Anonymous said...

Bloging ko first anniversary ra aairaheko dipawaliko eakmustha rupama tapailai shubhakamana.

दीपक जडित said...

ब्लगको वर्षदिन पुरा भएकोमा हार्दिक बधाई ! तथा निरन्तरताको शुभकामना !!

Jotare Dhaiba said...

वर्षिकोत्सवको हार्दिक बधाई तथा आगामी प्रभावकारी यात्राको लागि शुभकामना खुला मन्चलाई ।
गर्दै जाँदा आकार मिल्दै जान्छ, अर्थ खुल्दै जान्छ, एउटा रहर र लहडले पनि अनेक मनलाई जोड्ने औषधीको काम गर्छ ।

खुल्ला मन्च यस्तै बाटोमा अग्रसर छ । अझै ब्लगिङ यात्राले तिक्खरता पाउँदै जाओस् ।

Chaitanya said...

तिहारको बेला छ, वर्षिकोत्सव मनाउंदै गरेको तपाईंको ब्लग अजम्मरी रहोस, रंग नसुकोस | त्यो गरिराख्ने शक्ति तपाइंलाई मिलोस | शुभकामना छ है मेरो पनि |

दूर्जेय चेतना said...

मेरो तपाईलाई र तपाईको ब्लग यात्रालाई धेरै धेरै शुभकामना। बास्तबमै तपाईले भने जस्तै गरि जन्मेका छन् धेरै बल्गहरु। तपाईको सुन्दर लेखहरुले निरन्तरता पाईरहोस है।

Shiva Prakash said...

एक वर्षे शिशुलार्इ शुभकामना ।

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼