30 September 2009

तिमीसँग मैले के-के मागें !


तिमीसँग मैले फूल मागें,
तिमीले मलाई भूल दियौ ।
आशा मागें, खुशी मागें,
दिल मागें, सुख मागें,
तिमीले केबल खेलौना दियौ ।
प्रोत्साहन मागें, उमंग मागें,
तिमीसँग मैले सान्त्वना मागे ।
तिरस्कार दियौ, निराशा दियौ,
तिमीले मलाई खरानी दियौ ।

एक चोटि होइन, लाखौं पटक मागें
यसै होइन, हात जोडी मागें,
निहुरेर मागें, ढोगेर मागें,
मलाई तिमीले श्राप दियौ ।
लेखेर मागें, चिच्याएर मागें,
जोगी भै मागें अनि भोगी भै मागें,
तिमीसँग मैले रोगी भै मागें ।
उपहास दियौ, अन्धकार दियौ,
अब कहिल्यै नखुल्ने ढोका दियौ,
तिमीले मलाई धोका दियौ ।


तिमीसँग मैले वाह्-वाही मागें
तिमीले मलाई रिस दिलायौ,
मैले तिमीसँग ओखती मागें,
मलाई तिमीले बिश पिलायौ ।
मल्हम मागें, पट्टी मागें,
एउटा टेक्ने लठ्ठी मागें,
म फलेको फल सम्झेर होला
तिमीले मलाई झट्टी दियौ ।

मैले बिलौना मागें, फेरी आंशु मागे,
मलाई तिमीले रवाफ दियौ, घमन्ड दियौ ।
तिमीसँग मैले थपडी मागें,
तिमीले मलाई थप्पड दियौ,
सम्झना मागें, बिर्सना मागें
मलाई तिमीले झझल्को दियौ ।
तिमीसँग मैले,
एक त्यान्द्रो जिन्दगी बांच्ने रहर मागें,
मलाई तिमीले,
रातका हजारौं प्रहरहरु दियौ ।

मैले तिमीसँग के-के मागें ?
तिमीले मलाई के-के दियौ ?
Read more >>

26 September 2009

बड़ा दशै - ०६६ को शुभकामना !


बड़ा दशै - ०६६ को सुखद उपलक्ष्यमा संसारभर छरिएर रहनुभएका बुवा-आमा, दाजू-भाई, दीदी-बहिनी तथा मित्रहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु / तपाइका हरेक पाइलाहरु सदा प्रगतिपथतिर लम्किरहुन अनि दुर्गा भबानी सदा दाहिना रहुन /
Read more >>

05 September 2009

हाम्रो इज्जत :


एक लाख अर्जेन्टिनी सेनालाई १० हजार गोर्खाली बिरहरुले खुकुरिको भरमा युद्ध जितेकाले संसारभर प्रख्यात 'द्धितिय विश्वयुद्ध र गोर्खालिको बहादुरी' हाम्रा लागि बिरताको एउटा इज्जत भएर बचेंको छ । चाइनाले सगरमाथा आफ्नो भु-भागमा परेको दावा गरिंरहदा हाम्रो तर्फ "टाकुरो" को मुख परेकाले ? सगरमाथा छ है भन्ने सत्यताले हाम्रो इज्जत बचिंरहेको छ । नेपालबाटै अलिशान दरबारको मोह त्यागेर एकाबिहानै बोधगया भागेका ति महान बुद्ध भगवानलाई आफ्नो साख्खै छोरो दावी गर्ने भारतको अगाडि लुम्बिनिमा केही अस्थिपन्जर बचेँकाले बुद्ध नेपाल भन्ने मुलुकमा जन्मेको भन्ने दबाबले हाम्रो इज्जत बचेँको छ ।


बालककालमा सोंचिन्थ्यो, घरमुनिको दरौंदी नदी बगेर त्यो पानी कहाँ पुग्ला भनि ? पांच र छ कक्षा हुँदैं भुगोल बिषयमा पछी पढियो, दरौंदी मात्र होइन सप्तगण्डकी जस्ता सयौं बिशाल नदीहरु बगेर भारत जांदा रहेछन । बाफ भएर नसकिने अमुल्य ति सयौं खोलाहरु हामीले सित्तैमा भारतलाई दिंदा पनि पानी र सम्झौतामा भारतसँग हाम्रो इज्जत कहिल्यै रहेन । सयौं सरकार बने, तिनले हजारौं हस्ताक्षार गरे - भारतसँग । ति हस्ताक्षारिहरुले सयौं किल्लाहरु उपहार दिए, फर्कदा श्रीमतिलाई एउटा सारी र राष्ट्रलाई भारतिय होटेलको बासी तन्दूरी पोको पारी ल्याए । ताज महलमा फोटो खिचाए, साउथ ब्लकमा गएर हस्ताक्षर गरे । तिनलाई थाहा छैन, हस्ताक्षार के मा गरेको ! भारतीयहरुले स्वागत पुस्तिका भनि हस्ताक्षार गर्न फुल्टिनी कलम तेर्साउंथे, तिनका बाउका के जान्थ्यो र ? आँखा चिम्लेर धस्काइदिन्थे - पुस्तिकामा सहि । नेपाल फर्कदां सिमा स्तम्भहरु सारीन्थे, सब चुप । किनकी तिनले स्तम्भ सार्ने इजाजत दिन सहि गरेर आ'काथे । यस्ताका सोझा प्रजा हामी,आफ्नै घरको खांबो भत्काउंदा'नी हेरिरहने तिनका कार्यकर्ता, अनी कता हुने हाम्रो इज्जत ?


बहुजाती र बहुभाशी मिलेर बस्ने कुनै जमानाको 'एकताको' देशमा आज राष्ट्रप्रमुखहरु तिनका आमाले बोकेका दर्दका भाषा बुझ्दैनन । सपथ खानु त मामुली भैसक्यो हिन्दिमा । अब हामी छिट्टै नेपाली मन्त्रालयहरुका बोर्डहरु हिन्दी भाषामा लेपन भएका देख्नेछौं । नेपाली राजनेताहरुले बोल्ने भाषा अब हिन्दी मात्र हुनेछ । सुदहरुले भित्र-भित्रै भारतीय भाषा विश्वबिद्धालयहरु खुला गरिसके । केन्द्रिय क्याम्पस किर्तिपुरमा प्रमुखहरु कुटीइरहंदा लैनचौर विश्वबिद्धालयमा हाम्रा राजनेताहरु सुदहरुसँग कक्षा लिइरहेका हुन्छन । त्यसैले त हाम्रा राष्ट्रप्रमुखहरु सुदको आदेशमा चुप लाग्छन, न सपथ खान्छन त न राजिनामा दिन्छन । परदेशी भाषा र नैतीकतामा मानार्थ ति बिद्धानहरुका अनुयायी हामी सोझाका के इज्जत ?

हाम्रा प्रधानमन्त्री भारत जान्छन, बिचरा स्वागत गर्न फुर्सदमा बसेकी बिना बिभागीय मन्त्री आउंछिन । हात मिलाउंछिन, संगै लिएर जान्छिन । तिनतारे होटेलमा बस्छन, प्रधानमन्त्री । ससुराली जांदा बरु बढी इज्ज्त पाईन्छ गांठे । भारत जांदा राम बनबास गए जस्तो । मनमोहन सिंह ससुराली गएका रहेनछन भने झुल्दै आउँलान भेट्न नत्र सोनियासँग हात मिलायो, कोलकोटा गयो, भतिज भेट्यो अनी फर्कन्छन, हाम्रा राजनेता । न तिनका मन्त्रीका बोली सुनिन्छ ! न तिनका सम्झौताका फाइल खोलिन्छन ! तर, उता भारतका बकम्फुसे जो आए पनि राष्ट्रपती पहिल्यै बिमानास्थल पुग्लान भन्ने डर ! हिन्दी बोल्ने भारतीय मामुली अधिकारी नेपाल आउने बेला रुखका पात पनि हल्लिन छोड्छन, सुर्यका तेज काम हुन थाल्छन, हंसिया सोझिन थाल्छन, मादल बज्न छाड्छन् । मार्क्सका फोटोहरु टेबलमुनि घुसारिन्छन । पुरा नेपाल बन्द हुन्छ । कस्तो अचम्म, हाम्रा राजनेता सत्तरी जना साथ भारत सवार हुंदा रिक्सामा साउथ ब्लक पुग्छन भने पाजी भारतीय अधिकारी नेपाल आउंदा सब ठप्प । तिनलाई राजाकिय सम्मान । स्वर्गबाट ईन्द्र झरे जस्तो । अनाहकमा दु:ख दिने यस्ता रैथानेहरुका जनता हामीहरुका के इज्जत ?

भैरहवा हुंदै कलकत्ता बन्दरगाह निर्यात हुन्छ, हाम्रो इज्जत । रक्सौलबाट मुम्बई थुपारिन्छ, हाम्रो इज्जत । साउथ ब्लकमा निर्णित हुन्छ, हाम्रो इज्जत । नेपाली बिद्धालयका भन्दा बढी पूजित हुन्छ, भारतीय प्रमाण-पत्रहरु । गोल्ड स्टार जुत्ता भन्दा शानदार लाग्छन, भाईयाका उत्पादनहरु । तिनका धोतीहरु बढी बिक्छन, हाम्रा सुतिका कपडा भन्दा । हामीले फेर्ने श्वास पनि उतैबाट आए जस्तो । जन्मेदेखी अन्तसम्म जिबनका हरेक पाइलाहरुमा प्रभाबित हाम्रा यस्ता दिनचैर्याहरुमा के चैन अनि हाम्रो के इज्जत ?
Read more >>

02 September 2009

मेरो देश बन्द :


निमुखाको मुख सदा बन्द
गरीबको गांसै बन्द,
रुकुम जाने बाटो बन्द
जाजरकोटमा जीबन जल बन्द ।

पाइपबाट आउने पानी बन्द
सुन पग्लने खानि बन्द,
खुन बग्ने शरीर किन हुँदैंन, मर्न बन्द ?
हामी केबल जन्मेका हौं र आमाको मुख, गर्न बन्द ?

झापामा चामलको डिपो बन्द
कुलेखानिको मुहानै बन्द,
अस्पताल बन्द,
मेलम्चिको आश अब बन्द,
त्यो गाउं बन्द, यो गाउं बन्द
सतिले सरापेको बुद्धभुमी बन्द !

यो युद्धभुमी सधैं हुने भो बन्द
यो रणभुमी नखुल्ने गरी हुने भो बन्द,
मेरो आँखाको आंशु नहुने भो बन्द
आशाको श्वास बरु हुने भो बन्द ।

हामीलाई ठग्नेहरुको काम नहुने भो बन्द
चुस्नेहरुको अभिलाषा पनि नहुने भो बन्द,
सिमामा गोरुले चर्न नगर्ने भो बन्द
राष्ट्रघातीले आश्वासन छर्न नगर्ने भो बन्द !!

त्यो ढोका बन्द, उनको गोठै बन्द,
बोल्नेको मुख बन्द, नबोल्नेको आस्था बन्द,
गांस बन्द, कपास बन्द, म बन्द, तिमी बन्द,
मेरो घर बन्द, गांउ बन्द, शहर बन्द
गरीबका ति कठोर रहर बन्द ।
सब चिज बन्द अनी सबथोक बन्द
कहीं नभएको मेरो मात्र देश किन बन्द ?
मेरो देश सधैं बन्द,
मेरो देश बन्द ।
Read more >>