02 June 2009

परदेश, परिवार र पैसा :


परेदेशको दु:खले भनेको समयमा काट्न नसकेको कपाल कन्याउदै स्वदेश, आफन्ती र परिवारको सम्झना गर्दा प्रायश: मुटुमा साह्रो धक्का दिदो रहेछ । नयाँ पत्रिकामा हिजो " चैते, छिटो घर 'आ " शिर्शकको लेख पढ्दा मुटु भकास्सिएर आयो । त्यो लेखको पुरा भाग पढि नसकी बिचमै आशु पुछ्दै माउसलाई अन्यत्रै चलाऊन वाध्य भए, म । साहुको १५ हजार रुपैया ऋण तिर्न बोकेको भारिका नाम्लाका पाताले कपाल सबै झरेको ब्यथा पोख्दैथिए, चैते आमासँग फोनमा । स्कुलमा काम गरेर चलाएको जिबिका, बासी ढिडोले झाडापखाला लागेर बहिनी मरेकी घटना, गत महिना रामे साहुले घर पनि कब्जा गरेको आशुको बेलिबिस्तार र सेउलाले बारेर गुजारा चलाएको आमाको बियोग, बिरानो ठाउबाट फोन मार्फत छोरा चैतेलाई बताएकि दर्दनाक कथा । आफ्नै देशको तितो यथार्थ पढ्दा साह्रै नमिठो लाग्नु स्वाभाबिकै थियो । यहाँ यो वास्तविकता उल्लेख गर्नु सान्दर्भिक यस अर्थमा लाग्यो कि, आखिर चैते बाबुको मृत्‍युको ब्यथा र ऋणको बोझले १४ बर्षको उमेरमा परदेशको चिसो छिडिमा रात गुजारि-गुजारी दु:ख गर्दा पनि आय-आस्थाले नपुग्नु दैबको कत्तिको न्याय हो ? चैते भाई देशको मात्र एउटा उदाहरण हो, ऊ त एउटा पात्र मात्र हो । लाखौ चैते जस्ता भाईहरु आज मुलुक छोडि परदेशिनु पर्ने कटु बाध्यता र परदेशको अथाह दु:खका जन्जिरहरुले पोलेका मनहरु छन, हामीसित । परदेश भासिएका कयौ मध्यको एक पात्रको नाताले यहाँ केही कोर्ने दुस्साहस गरेको मात्र हुँ ।


अरब, अमेरिका, जापान वा मलाया । जहाँ रहेपनी हामी माता र मातृभूमी भन्दा अलग र टाढा छौ । परेदेशिनुपर्ने अनेकन कारणहरु त आफ्नो ठाउमा छदैछन् । त्यसभन्दा अलग हामीलाई परदेश पठाउने नाउमा दलाल, संस्थाहरुबाट गरिएका ब्यक्तिगत र आर्थिक शोशणको पिडा दु:खदायी भएको सबैलाई ज्ञात भएकै बिषय हो । बहिनिको बिहे गर्दा लागेको ऋण, बाबुले जुवा तास खेली सम्पत्ति स्वाहा पारेको ऋण, गुजारा चलाउन मागिएको ऋण र ऋण बापत महाजनहरुलाई तिर्नुपर्ने असिमित ब्याजले लगाउने अर्को घाऊ झनै बढी चहर्याउने हुदोरहेछ । अब, हवाइजहाजमा छाडेर, भर्खरै बिहे गरेकी श्रीमती छाडेर, गर्भवती प्रेयसी छाडेर, माता-पिताको न्यानो स्नेहलाई चटक्क छाडेर, छोरो रोला भनी एकबिहानै उसलाई नउठाइ चुप्प निधारमा चुम्बन गरी मायालाई सम्झनामै छाडेर, साथीभाइ, इस्टमित्र, आलो मायाकी प्रियतमालाई छाडेर काठमान्डौको मैदानमा उड्नैको लागि गूड्न पर्दा बिहानै एअर-होस्टेजसँग एक प्याग प्याला माग्न मन लाग्दो रहेछ । भयो पनि त्यस्तै । भर्खरै प्याला पिउने बानी बसेको थियो क्यार । म परदेशिदा हाजात् (हवाइजहाज)मा आन्टी (होस्टेज)ले जितु नेपालले भनेसरी सोधिन्," ओइ, के खान्छस ? " परिवार बिछोडको रन्को अनी बहुतै गह्रुङो ऋणको बोझ । साथीहरुले भन्थे, प्यालाले चिन्ता हटाउछ । त्यसैले मलाई के मागुम्, के मागुम् भाको'थ्यो । नाम पनि आएन । " रेड लेबल दिनु न, हजुर " भने । आन्टी दङदास् । एउटा सानो बोत्तल र प्लास्टिकको गिलास दीइन । मैले पनि मारा दन्काइदिए पो । जहाज थियो, कतार सम्मको लागि । त्यसभित्र आन्टिहरुले स्वदेशिलाई गर्ने व्यबहार त यहाँ के उल्लेख गर्नु पर्ला र ? त्यसमाथि पनि एकाबिहानै रक्सी मागेपछी ! आन्टिहरुको व्यबहार उल्लेख गरेर आफ्नो नाक आँफै नकाटौ भो ।


जब मान्छेलाई दु:खले चेप्दछ नि , त्यसबेला अनेक कस्टहरु पनि चौघेरो भएर घेरिदा रहेछन । सम्पत्ति के सबैभन्दा ठुलो चिज हो ? पैसा हुनेलाई मात्र समाजले स्विकार गर्दछ ? निर्धनहरुको चाँही के जीबन होइन ? चैते भाईको पिडा र आमाको अस्मितामा किन तथाकथित समाजको गिद्धेद्रिस्टी पर्दैन ? फेरी महाजनहरुले परिवारलाई दिने दु:ख र टोकसो सम्झदा हरेक परदेशिको मन कटक्क कुट्किदो रहेछ । कहाँ हो, कता हो ! बस्ने कुनै ठाउँ छैन । खाना त कुन चराको नाम पो हो ? यस्तै हुदो रहेछ । एक छाक कम खान पाए मात्र पनि ऋण थोरै घट्थ्यो कि भन्ने पिरलो मात्रै । त्यसपछी बसोबासको त केही न केही अर्थ लाग्ने नै भयो । बिचरा चैते भाई पनि कसको सहरामा घर छोडि हिंडेको हो र, मनको सपना बाहेक ?


टोकसो किन पो घट्थ्यो र, महाजनहरुको ? आउने बित्तिकै, फेरी भन्ने बित्तिकै पैसा कमाउन पनि नसकिदो रहेछ । परदेशमा बस्ने ठाउँ पनि भन्ने बित्तिकै कसरी मिल्दो रहेछ र ? सबै आ-आफ्नै धुनमा । चिने जानेको कोही नहुँदा स्वस्थानीमा पढेको नरक जस्तो हुदो रहेछ, परदेश । रात त जता गए पनि पर्दो रहेछ फेरी । रातमै सम्झना बढी, आमाको, छोराको, बुवाको र बुढा हजुरबुवा-हजुरआमाको । तर पीर सधैं ऋणको । "कागज" (वोर्क पर्मिट् ) चाहिने रहेछ फेरी काम पाउन । बिस्तारबादी भनी गाली गरेर के गर्ने ? त्यही भईयाहरुको धोती नमसारे काम मरु । रातमा काम गर्नुपर्ने भो । ऋणको पीरले परिवारले मर्नुपर्ने भन्दा त परदेषिलाई बाध्यताको लागि जे पनि गर्नुपर्ने ठुलो हुदोरहेछ । लागियो काम । हिजो अस्ती पीरले निद्रा हराम हुन्थ्यो भने आजबाट कामले सबैथोक हराम ।


गर्दै जादा दु:ख र कस्ट त कहाँ पो नहुदो हो र ? प्रबल ईच्छा र घनघोर बाध्यताले समय गएको पनि पत्तो नहुदो रहेछ । २ पछी आउने ३ र चारै रहेछ, रैतिको मुलुकमा पनि । वर्शौ बिते, दु:खमा, सम्झनामा । रोदनमा अनी कस्टमा । चाडबाडमा सम्झना र शुभकामनाका खातिर परिवारलाई गरिने फोनहरु पनि बढो अश्रुपूर्ण हुँदा रहेछन । सम्पत्तिवालहरु गरीबका छोरी बलत्कार गर्दै हिडिरहेका छन रे मुलुकमा । धनीले गाडीले हानेर हजुरआमा मारिदियो रे अस्ती । यि र यसै खबरहरु हुँदा रहेछन, हरेक सम्झनाका फोनहरुमा । आमा भन्नुहुन्छ - "बाबु कहिले आउछस ? कती दशै-तिहार आए, गए । सबैका छोराहरु आउछन बिदेशबाट । तं भने ।" बुवा फोन समायो कि खाली रुनुहुन्छ, केही नबोली । हजुरआमा भन्नुहुन्थ्यो, " बाबु म त तिमीलाई देख्न नपाइकन मर्छु कि क्या हो ।" क्यान्सरले केही महिना अघी हजुरबुवा बित्नु भो ।


पैसा मात्रै केही होइनरहेछ । तर पैसा सबथोक हो रहेछ । सम्पत्ती केही होइन भनुम् भने, राजा बिरेन्द्रले नागर्जुन् बनदेखी गोरखकाली मन्दिरसम्म आफ्नै नाममा गरेका थिए । सम्पत्ती केही हो भने, बिरेन्द्र मरेर के लगे त ? उनले त लान केही पाएनन्-पाएनन्, शाखा-सन्तानको मृत्‍यु संगै के गयो त ? त्यत्रा सम्पत्ति र बिर्ताका मालिक ज्ञानन्द्र महाराज बनमा थुनेको बाघ झै बस्नुपरेको छ । रुपैयाको मुल्य छैन भने, किन महाजनहरु सदा गरीबमाथि खनिन्छन ? चैतेभाइ, म र खाडीका मेरा दाजुहरु, इजरायलमा मेरा दिदिहरु किन रातदिन रोएर बस्नु परेको छ ? के यो संसारको नियम हो ? गरीबको लागि मात्र भनेर बनाएको परिधी हो ? हो के र होइन के त ? खै के खै के ???? म त आश्चर्यमा छु ।

9 Comments:

दूर्जेय चेतना said...

मननै कस्तो कस्तो भयो। यथार्थ परक लेख।

सिकारु said...

लाखौ नेपालीहरुको समसामयिक पाटो गोकुल जी तर चिन्ता र बिबशतालाई मनमा तैराएर आत्मबललाई कमजोर बनाउनु भने हुदैन है ।

आकार said...

निकै मार्मिक लेख्नुभएछ । आफ्नो व्यथा आफूलाई मात्र थाहा हुन्छ । परदेश, परिवार र पैसा, परदेशिएका नेपालीहरु को व्यथा बोल्न सफल भएको छ । यस्ता कुरा सुन्दा पनि मन मा कस्तो नराम्रो भएर आउँदो रहेछ । हाम्रा नि दिन आउँछ भन्नु सिवाय अहिले लाई अरु केही उपाय देखिँदैन ।

Jotare Dhaiba said...

निकै हृदयविदारक र विचारणीयय पाटो खोतल्नुभएको छ । विदेशिएकाहरूको आँसुको लेप अक्षरको भल बनेर फुटको छ । विदेश जान नपाएका नौजवानहरू विदेस गएका दाइ-काकाहरू मोजमा होलान्, पैसा त कुन टाढाको कुरा होला र भनेर अड्कलको तीर हानेर मनको लड्डु खान्छन् र उडिहाल्न चाहन्छन् । तर विदेशिनुको पीडा र क्षति कति गहिराइमा उकुच पल्टिएको छ, त्यो कहालीलाग्दो सत्य तपाईँले एकै लेखमा उजागर गर्नुभएको छ ।

निस्‍चय पनि चुनौती जीवनसँगै सुरु हुन्छ प्राणीको, अझ सपनाको नयाँ-नयाँ खेतीमा नङ्ग्रा खियाएसँगै चहर्‍उने गरी माटोको फाँको तिनै नङका चेपमा गाडिएर आउँछन् । लाखौँ विदेशिएका दाजु-भाइसँगै तपाईँको लेखकीय पात्रसँग मेरो समभाव छ गोकुलजी । सन्तुलन मिलाउने शक्ति मिलोस् ।

B.J. Dummali said...

Paisaa nai sabai thoka ho paisaa nai sabai thoka haina kina? - paisaale Medicine kinna sakinchha tara aayu kinna sakinna.
paisaale sabai cheeja kinna sakinchha tara tyahaa santustee kinna sakinna.

Dilip Acharya said...

तपाइको पोष्ट पढेर म त निशब्द भएँ ।

प्रबिण थापा said...

गोकुल जि तपाईंको यो लेखले हामी जस्तै बाध्यतामा बिदेशियका सम्पूर्ण नेपालीको पिंडा बोलेको छ।

Anonymous said...

Most touching !Gokul ji has the great potential to become one of the greatest writers of Nepal.Very impressive.Hope the politicoes like dahal,Nepal,Koirala et all read his blogs.-Ram B. Chhetri,VA,USA

Adams Kevin said...

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
ऋण। तपाईं यस इमेल मा अब हामीलाई सम्पर्क गर्न आवश्यक छ भने: adams.credi@gmail.com

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼