निरिह देश, बलबान नेता र मजदुरी आशु :
धेरै मेलम्चिहरु बगे, बगेको बग्यै छन कालिगण्डकी र महाकाली हरु भने तुरुक्क-तुरुक्क रोइरहेको छ हाम्रो बागमती । अन्धकारमा नयाँ नेपालको नक्सा त अब के कोरिएला खै ? मातृभूमीको लाम्टो केही भाग नेता तिर, केही भाग तिनका भाई-संगठन तिर त केही भाग सेना तिर । यिनिहरुले आफुसक्दो लुछिरहेका छन - आमाको लाम्टो । अझै आफन्तहरु लगाएका छन, अरु चुस्न । चुसी चुसी सक्ने भए मुलुक । गोर्खाका कृष्ण प्रशाद भट्टराईले ल्याउने भनेको "सिङापुरे मेलम्ची" गोरखाकै अर्का भट्टराईको बाउको पनि केही लागेन । बरु उनैको श्रीमतिको बल लागेको छ, मन्त्रालयमा सारा आफन्तहरु भर्ती गर्नमा । आफन्तिले मजाले चुस्न पाएपछी जनताको के पीर ? यि नयाँ पुराना भट्टराई अनी यमिहरुलाई ?
धुलिखेलको रिजोर्टमा प्यालाको सुरमा लडेका प्रधानमन्त्री पुत्रको हातमा छ लाख मुल्य पर्ने घडी छ रे । कर अनी अझ कर भन्दा भन्दा थाकेका नयाँ भट्टराईको आँखै अगाडि भन्सार नतिरी ल्याएको तीन लाख पर्ने खाटमा सुत्छन - प्रधानमन्त्री । रोल्पा र गोरखाको कुनाबाट "जनक्रान्ती" गरेकाहरुलाई आराम गर्न "झुले रिजोर्ट" चाहिने भएछ, आज । यि त नयाँ नेपालका नेताहरुका उदाहरण भए । पुरानी भइसकेकी सुजतालाई उप-प्रधानमन्त्री दिन मन्जुर छ रे माओवादी । आफ्नो बाबुप्रती सम्मान नगर्ने र पार्टीको निर्देशन नमान्ने यि राजाकुमारी कोइरालाले के गरी देश चलाऊछु जस्तो सोचेकी होली, सुन्दा पनि हासो उठ्छ । त्यसो त बागमतिको सुगन्ध लिदै मेलम्ची सम्झेर रुने हाम्रो देश कहिले साचो रुपमा हाम्रो देश होला ? कहिले नेपाली जनताले सुखका सास फेर्न पाउने होलान ? हाम्रा बा-आमाका हातमा पनि लाखौं रुपैयाको घडी लगाइदिने दिन कहिले आउला ? साचो रुपमा हामी स्वतन्त्र भएर बाँच्न पाउने दिन कहिले आउँला ? यही भजन भन्दा भन्दै बर्शौ बितिसकेछन । हिजो हामीसङै गोल्ढयाक खेली पढ्ने प्रकाश र प्रचन्डहरु कहाँ पुगे, माहिली बहिनीसङै मेलापात नगरे पनी त्यही उमेरकी सुजता देश हाक्ने धमास लागाउछिन, हजुरबुवा सँङै राजनीति गरेका बुढाहरुको अझै प्रधानमन्त्री बन्ने धोको छ । त हामीले के पायौ ? संततिले के पाए ?
भत्किएको मन्दिर बनेन । बिकासका टावरहरु ट्वाल्ल परेर हेरिरहेका छन अनी देश चाँही कृष्णभिर जसरी निरन्तर पहिरेको पहिर्यै । क्रान्तिका नाममा भत्केका पुलहरु त अब कसरी जोडीएलान कुन्नी ! चरित्रवान नेता कोही भएनन । हिजो क्रान्तिका नाममा जलेका आगाका तप्काहरु ननिभ्दै हिमाल, तराइ र पहाडबाट बिभिन्न नामबाट बिद्रोह शुरु भएको छ । अनेक नाममा संगठन र सशस्त्र समुहहरु जन्मेको जन्म्यै, रोकिने कहिले हो ?
जती देश भास्सिएको छ, त्यती नेता बलवान । जती गरीब रोएका छन, त्यती नेता खुशी । जती धाराबाट पानी चुहीदैनन, त्यती नेताहरुका मनमा आनन्द जाग्रित हुन्छन । रोएका छ्न जनता । रोएको छ देश - नेताहरुलाई सधैं दसैं । फाटेको छ मुलुक, चुहिएको छ मुलुक, गन्जागोल भएको छ मुलुक । तर मतलब छैन कसैलाई ।
सत्तामा नेता पुगे पनि नेपाली मजदुर्हरुको हालत आखिर कमाराको भन्दा भिन्न छैन । कहिले मजदुरी नगरेका लक्ष्मण बस्नेत १८ बर्ष ट्रेड युनियनको सभापति छन । हिमालमिडियामा आक्रमण गर्नेहरु अहिले नेपाली मजदुरका स्वघोशित नेता भएका छन । संसारका मजदुरहरु एक हौ भन्नेहरु आपसिमा खिचातानिमा छन भने नबालाकहरुले बुनेका कार्पेट बेची करोड्पती हुनेहरु मजदुरी सेमिनारका आयोजक हुन्छन ।
ज्यालामा काम गर्ने धादिङ्का बुद्धिबहादुर, रिक्सा चलाऊने गोरखाका मिलन, राती ठेलागाडामा मकै भुटेर बेच्ने खोटाङका खेम प्रशादका कुरा कसले सुनुदिने ? उनिहरुका दु:ख कसले बुझिदिने ? राजधानीमा मध्यरातमा नाङ्गै नाच्नेहरुका साहरा छन यो मुलुकमा । ति बुद्धिबहादुरका दु:ख कुन चरोको नाम हो कसलाई के मतलब ? गोस्ठिमा सिरिङ्ग तात्ने भाशण छाटेर के गर्ने ? दुखियारिको लागि न कानुन छ, भए पनि न लागु हुन्छ त न परिमार्जनको लागि सन्सद नै कहिले चल्छ । फटाहाहरु बोल्ने, भाषण गर्ने । गरीब ताली पड्काउने । भरे घर गयो, खाने कुरो केही छैन, न छ बत्ती । लाला बालाको ड्वा-ड्वा रुवाबासी सुन्यो अनी स्वास्निको टोकसो । यस्तै छ, गरीबको कथा अनी मजदुरको जिन्दगी, सधैं पुर्पुरोमा हात हजुर । जय मजदुर दिवस ! जय नेपाल !!
0 Comments:
Post a Comment
Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼