04 November 2011

ब्लगको जन्मदिन :


मलाइ आमाले कटेरामा पाउनुभा'को रे । श्राबणको झरीको बेला थियो रे, त्यो । चिसो मौसम । मेरो ब्लगको जन्म चाँही अमेरिकाको पुष (जाडो) महिनामा भा'को । आजभन्दा तीन बर्ष अगाडी गूगल चलाउंदै गर्दा माउस संगको सहबासले एकै छिनमा जन्मिएको मोरो "खुल्लामन्च", तीन बर्ष लागेछ । नेपालबाट निर्यातित कम्बल ओढ्दै शायद अमेरिकाको सबैभन्दा चिसो ठाउं बोस्टनको जन्मभुमीको खुल्लामन्चले दुई बर्ष पूरा गरेछ । यसको जन्म खास गरेर अक्टोबर १३ तारिखका दिन तदानुसार रक्सीको मातमा जाडोको तिथिमा भएको हो । परदेशी जिन्दगी, अनाहकको चिन्ता र बेबारिसी तालले गर्दा नभ्याएर १३ तारिख मैले बिहानै यस्सलाई एउटा माउसको क्लिक्के केक खुवाएर आज जन्मदिनको पार्टी मनाउंदैछु ।

साझेदारी ब्लग दौंतरिको 'फलो लिन्क्'का अनुसार अहिले ३३१ जना नेपाली ब्लगरहरु प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सक्रिय हुनुहुन्छ । आज भन्दा तीन बर्ष अगाडि नवनिर्मित ब्लग दुई जनाले फलो गरिदिए "आहा !!!" हुन्थ्यो । ३६१ जनाको ब्लगिङ सक्रियताले साहित्य, संगित र सक्रियताका कम से कम सबै क्षेत्र र शिर्शकलाई समाबेश गरिरहेको छ । ३६१ जनामा ६१ जनाले मात्रै आ-आफ्नो क्षेत्र र जानेका रचना समाबेश गरि लेखेमा'नि जिबनचैर्याका हाम्रा दु:ख - सुख र भोगाइका हरेक पाटाहरु समाबेश हुनेछन । आखिर जुन मातमा बच्चा जन्माए पनि सहि संस्कार सिकाउनु र त्यसलाई भरण्-पोशण गराउनु त जन्मदाताको कर्तब्य भित्रै पर्ला । जन्मदाता ब्लगका माता-पिताहरुले पोस्ट देखाउन र रङ्याउन मात्र भन्दा पनि सन्देश, सूचना र शेयरका लागि लेखे भने आफैले जन्माएको ब्लग (बच्चा)को अर्थ रहला । हुन त रचनाका लागि सुझाब दिने हैसियत त ममा छैन, र म ठुलो लेखक पनि होईन । बतासे छोरो (ब्लग)को पिताजी हुं, म । बतासेको बाउले परिवार नियोजनको तरिका सिकाउन अलि नमिल्ला । फेरि, फुर्शदमा जन्मदिनको पार्टी खान आउनुहुने तपाइहरुलाई म बेसम्मान गर्न पनि चाहन्न । आफूलाई फेरि धेरै लेखिरहने जांगर पनि लाग्न छाड्यो, आजकाल त । बोदो दिमाग । लेखनीय शिर्शक र क्षमता नभएर होला वा अल्छिपना । त्यसो त, यसबिचमा माइसंसार जन्मेपछि सक्रिय प्रख्यात "सामुहिक चौतारी - दौंतरी" को सक्रियता, ब्लगर भेला आयोजनालाई ब्लगिङ्प्रतिको प्रगति र एकजुटता प्रशंशायोग्य छ ।

कपी र पेस्ट प्रब्रितीको बिरोधी हुं, म । आदरणीय दाजु दिलिप आचार्यज्यूको लेख चोरिएका घटनाहरु हाम्रा सामु ताजै छन् । अरु आदरिणीय अग्रज ब्लग्गरहरुका लेख चोरिएका पनि बेला-बेलामा देख्न-पढ्न पाईन्छ, त्यो ठीक पक्कै होईन । दौंतरीको ब्लगर भेलामा उठेका "कपीचोर्" तरिकालाई निरुत्साहित पार्ने प्रयास पनि उत्तम भएको ठान्दछु । अर्को कुरा, लेख लेखेपछि कमेन्टको आशा गर्ने बानीको पनि म सपोर्टर होईन । म दार्शनिक बन्न खोजेको होइन, तर देखाउनको लागि म झुटो बोल्न चाहन्न । ध्रुब सत्य कुरो के हो भने ब्लगरहरुले कमेन्टको आशैले लेख लेख्छन भन्ने कुरो चाँही सांचो होईन । अब हामी परिवर्तन हुनुपर्छ । भाशण गरेको होइन, अब हामीले कमेन्ट नआएपनि लेख्ने गर्नुपर्छ । म अल्छि भएपनी आजका आदरणीय पाहुनाहरुलाई मेरो लेख्न आग्रह छ । सक्रिय बसन्त दाजु, दिलिप दाजु, बेदनाथजी, जोतारेजी, आकारजी, दूर्जेयजी (नाम छुटेका साथीहरु - मन मस्तिष्कमा हुनुहुन्छ) लगायतका मित्रहरुको जागरुकताको प्रशंशा गर्नै पर्छ ।

तीन बर्षको यो दौरानमा मैले सोचे जति लेख्न त सकिन । पहिला शुरु गरें, तरिका र शुद्धता मिल्दैनथ्यो । अलि-अलि मिलाउन थालें, लेखिन्थ्यो । अहिले समय नै मिल्दैन । ब्यस्त भएको धमास त लगाएको होईन नै, तर पनि बच्चा हुर्कदैं गए पछि प्यार पनि कम हुंदोरहेछ कि क्या हो, 'यस्तै भैरहेछ' भनेर चल्नुपरेको छ । तीन बर्षमा लेखिएका लेखहरुमा "एउटा बिरामीको बिछोड प्रेम कथा" सबै भन्दा चर्चित भएर होला, 'धेरै पढिएको' लिस्टमा छ । परदेशमा गुजारा चलाउन दु:ख गर्नुहुने साथीलाई कालेहरुले गोली हानेको सत्य घटना "सालाहरुको गोलीमा डराइमर्नु जिन्दगी" दोस्रो धेरै पडिएको दर्जामा छ । "तिमीलाई लेखेको चिट्ठी" तेस्रो र "कात्रोमा खल्ती नहुनेरहेछ" चौथो दर्जामा रहेको रहेछ । जे लेखे सबै सत्यमा आधरित लेखें, जे देखें, त्यो लेखें, जे भोगें, त्यो लेखें । भोगाइहरु धेरै थिए, एउटै शिर्शकमा सबै अटाउन खोजाएर सबै सकिए, त्यसैले लेख्ने धेरै कुराहरु छैनन । जे अब देखिन्छ, त्यो अबश्य अब लेख्ने नै छु । छोराको जन्मदिनमा यहि छ, बाचा ।

अन्तमा, सहानुभुति प्रदान गराउनुहुने, लेख पढिदिनुहुने, सल्लाह-सुझाब दिलाउनुहुने, माया गर्नुहुने, गाली गर्नुहुने र समय मिलाएर "खुल्लामन्च" छिर्नुहुने सबैप्रति आभारी छु । तीन बर्षको अबधिमा ११९६८ चोटि खुल्लामन्च छिर्नुहुने सबैप्रति साधुबाद ! खुल्लामन्च मन पराई जोडिनुहुने ८८ मित्रहरुप्रति धन्यबाद ! जय ब्लगिङ !!!

6 Comments:

Palpali Milan said...

गोकुलको दाजुको यो ब्लगले सयौँ वर्ष पुरा गरेको हेर्न पाइयोस । सत्यताको जगमा रही हजुरले लेख्ने मार्मिक एवं वास्तविक लेखहरु फेरी फेरी पनी पढ्न पाइयोस । पुनः एकपल्ट शुभकामना अनि अझै प्रगतिको कामना गर्दछौ

Aakar said...

Best Wishes!

Dilip Acharya said...

त्यसो त निरन्तरता दिन सकेको राम्रै हो । पछि कुनै बेला आफ्नै ब्लग पनि आफ्नै लागि एउटा 'जीवन गाथा' वा 'पूर्व-स्मरण'को सेतु बन्न सक्छ त्यसैले सकेसम्म निरन्तर लेख्नुस् । तर ब्लग परम स्वतन्त्रताको अभिव्यक्ति हो, त्यसैले यसमा निरन्तर हुन सकिन भन्ने भाव पनि मनमा रहनु जरूरी देख्दिन म ।

तपाईँले पनि लेख्नु भएको छ, कमेन्ट काउन्ट, पोस्ट सफल भएको प्रमाण हैन् र त्यसले मात्रै पोस्ट कति पटक पढियो भन्ने देखाउँदैन् । त्यसैले तपाईँको "जे अब देखिन्छ, त्यो अबश्य अब लेख्ने नै छु" भन्ने बाचाको स्वागत गर्छु । ब्लग र ब्लगर दुबैको उन्नती र प्रगतिको कामना !!!

दूर्जेय चेतना said...

सधै एउटै कुरा मेरो मनमा पनि आउछ, त्यो हो निरन्तरता र क्रमिक सुधार कसरी गर्न सकिन्छ। ब्लग लेखनमा सबैको ईतिहास उस्तै छ, तर हजुरको लेखको स्तर साह्रै राम्रो र कदरलाएक छ। हामी ब्गरले ईमान्दार भएर लेख्ने हो आफ्नो अनुकुल, पाठकहरुलाई मन पर्ने लेखकको लेख खोजेरै पढ्छन्। तर कहिले काही आफैले नियमित लेख्न नसक्दा निकै दु:ख लाग्छ। यहाको निरन्तरता रहोस मेरो हार्दिक शुभकामना

वसन्त बलामी said...

ब्लगको जन्मदिनको शुभकामना ।

बिष्णु मरासिनी said...

हुन त ब्लग लेखन एक पेशा नभएर सोखको रुपमा र आत्मसन्तुश्टी को लागि मात्रै लेखे पनि निरन्तरता दिन त साह्रै गर्हो नै हुने रहेछ । अझ नेपालीमा पाठक सिमित हुने हुनाले कहिलेकाही हतोत्साह हुन्छ । तैपनी निरन्तरता दिनु भएको मा बधाई छ ।

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼