04 September 2011

तराई, मुस्ताङ र छत्रे टोपी :

हिमालको चिसो पानीको बहावले पहाडको मल बगाउंदैं सिंचित हुने समथर भु-भाग, तराई । बाहुन, क्षेत्री, नेवार र जराइ लगायत सबैको बसोबासको सुन्दर सपना, तराई । राणा खान्दानलाई थोत्रो भोटो दिने कृष्णप्रसाद देखि जननिर्बाचित प्रधानमन्त्रीहरु मातृका र महामानब बी पी जन्माउने अनि बिराटनगर जुट मिलको आन्दोलनले गिरिजाप्रसाद र मनमोहनहरु जन्माउने, तराई । दाईजो कम ल्याएको झोंकमा छोरी-बुहारीको लाश अन्माउने, तराई । एउटा नेपालीलाई हिमालदेखी पहाड हुंदैं संगम हुन मन लाग्ने जग्गा, तराई । कृष्णप्रसाद र उनका तीन भाइ प्रधानमन्त्री छोराहरु मात्रै होईन, प्रथम कम्युनिस्ट प्रधान्मन्त्री मनमोहन अधिकारी, नेपाली कांग्रेसका नेता महेन्द्रनरायण निधी र मधेशका धरोहर गजेन्द्रनारायण सिंह जन्माउने गर्भ, तराई । तर आज तराई, तराई नभएर भारतको खिंचडि पाक्ने कराइ भएको छ । आफ्नै दाजुभाईलाई शत्रु देख्ने पराई भएको छ । एउटा गजेन्द्रनरायण देखि फुटेर दुगड हुदैं हराइरहेको छ । एन जी ओ को नाममा खुलेको जयप्रकाशको गुप्त योजना भ्रस्टाचारको खोल ओड्दै फोरम पार्टी बाट मन्त्रीको हलो अड्कदा आज हामीलाई 'सेन्सर्' लगाउन सक्ने पावरको संचारमन्त्री हुँदै जोतिन थालेको छ । टुक्रा-टुक्रामा बिभक्त मधेश र तराइका पार्टीहरुमाझ इमान्दार महन्थ ठाकुरको 'इमेज' हराइसकेको छ । महापन्च देखि महाकांग्रेसी भएका गणेश लामाका सिर्जक गच्छेदारको हातमा गृह मन्त्रालय छ । नेपाल सरकारको तथ्यांकमा सबैभन्दा 'धनि, खतरनाक र महाडन' रक्तचन्दन कम्पनीका मालिक लामाका आंखाले अब एउटा मात्रै आंखा देख्ने गृह मन्त्रीज्युको नजरले 'स्वच्छ प्रशाशन' मा के के देख्ने हो, हेर्न बाँकी छ । श्रीमती र आफन्त बरु नहोस्, सरकारैपिच्छे मन्त्री नभै नहुने, नत्र दोस्रो आंखा पनि नदेख्ने बिजय प्रब्रितीले गांजेको तराईबाट अब कति गांजाका बोराहरु बिदेशिने हुन्, त्यो त कि गांजा तान्ने निर्जिब पशुपतीनाथलाई थाहा होला, कि त गणेश लामा भगवानलाई । यी यस्ता भ्रस्टाचारीहरुलाई जन्माउने, हुर्काउने अनि आंखै फुटेपनि निर्बाचित गराउने जन्मभुमि, हाम्रो तराई । चिरन्जिवी वाग्लेसंगै जांड तानेका जयप्रकाश गुप्तालाई चोखो देख्ने आंखा नभा'को तराई । गोली र बन्दुकको भरमा राजनीति गर्ने 'सर्प कांचुले' गच्चदारलाई दुइ-दुइ क्षेत्रबाट निर्बाचित गराउने, बिशुद्ध भुभाग, तराई । गजेन्द्रनारायणको लाशमा कात्रो ओढाउन नपाउंदै आनन्ददेबीलाई थर्काएर 'मधेश एकता'मा २४ टुक्रा हुने पार्टीको कर्मभुमि, तराई । गद्दाफीले तेलको फुर्तीमा शाशन गरे जसरी धोती र कुर्ता लगाएर मन्त्रालयबाट भारतलाई तेल बेच्ने कागजमा रबर स्टाम्प लगाउने राजेन्द्र महतो जन्माउने, तराई । अबसरका लागि आफन्तको घांटी निमोठ्न पछि नपर्ने, रास्ट्रबादको नाममा 'पैसावाल' मन्त्रालयमा रजाइं गर्न पल्केका नव-भ्रस्टाचारी उत्पादन गर्ने थलो, तराई । सिमापारीको देश, मुस्ताङ । केन्द्रमा राजा हराएपनि मुस्ताङे राजाको अगाडि प्रचन्ड र बाबुराम त के गांजा उपहार लिएर गच्छेदार गए पनि गल्छन रे । स-शस्त्र युद्ध ताका माओवादीले 'जनसरकार' चलाए जस्तो । उनको आफ्नै खटन-पटन छ रे । मैले त देखेको छैन् त्यो देश । केही हप्ता भयो बरु, 'मुस्ताङ गाडी' देखेको । तर हामीलाई थाहा छ, मुस्ताङको स्याउले बजार पाएको छैन । दन्तलहरे तरिकाले फलेका ती सुन्दर स्याउका दाना उचित बजारमा पुर्याउन हुन त कसलाई पो फुर्शद छ र ? भारत र चाइनामै मात्र त्यो फलेको भए, प्रहरी र सेनाले बजार पुर्याउंथे । जनताको घरमा पुग्थ्यो । हामीकहां त्यस्तो भैदिएको भए, दिनभरी खेतमा काम गरेर फर्कदा बजारमा किन्न पाइन्थ्यो होला । कुटु-कुटु चपाउंदै लुदी खोला तरेर मास्केछापको उकालो चढ्न पाउंथे होलान्, किसानहरु । बस लागेर झ्यालबाट छाद्दै आउंदा मुग्लिनमा आफ्नै देशको मुस्ताङे स्याउ टोक्न पाइन्थ्यो होला । दिनभरी ज्यालामा काम गर्ने भरिया दाईहरुले काउली किन्न नसकेपनि बाल-बच्चालाई एक दानो स्याउ लिएर बासस्थानतिर बाटो तताउंथे होलान् । अरु केही नभए आन्दोलन र चक्काजामको बखत वाइ सी एल, यू फो र त द ले ढुङाको सट्टा स्याउले सरकारी गाडीको सिसामा बजार्न पाउंथे होला । तर यहाँ प्रहरीलाई डनहरुसंग हातेमालो गर्दैमा फुर्सद छैन । सेनालाई नागर्जुनहरुमा गरेका बलत्कारका घटनाहरुको फाइल मिलाउंदै फुर्सद छैन । सशस्त्रलाई बर्दीको लागि चाकरी गर्दैमा फुर्सद छैन । तीन लाख सेना र प्रहरीको संख्याबाट बीस हजार बललाई मात्र मुस्ताङको स्याउ ओसार्न लगाए हुदैंन ? तिघ्रा पिटेर भात बजाउनु भन्दा बढ्ता के काम छ तीनको ? सुडान घोटला खान सक्ने, एतिहासिक हतियार बिदेश पैठारी गर्न सक्ने, सर्ब-साधारण जनताको टाउकोमा कटबांसको लठ्ठी बजार्न सक्ने भूस्-तिघ्रेहरु के का लागि पाल्नु पर्‍यो त ? राजनैतिक पहुंचको भरमा तराई देखि पहाडका टाकुराबाट 'राजनैतिक चाकरीको बिरामी' बोक्न सक्ने हेलोकोप्टरले मुस्ताङको स्याउ बोक्न सक्दैन ? सबैभन्दा अग्लो स्थानमा मन्त्रीपरिशदको बैठक गरि आफन्त बोकेर सोल्टी होटेलको भात 'लन्च' गराउने खर्चले मुस्ताङ्बात स्याउ आउंदैन ? सपरिवार बिदेश भ्रमण गराउने र गोदावरिमा रक्सीले छोरा टिल्ल परि सोफामा लडेको ट्वाल्ल हेर्न सक्ने जनवादी नेताले वाइ सी एल लगाउन सक्दैन, मुस्ताङको स्याउ टिप्न ? महाराजाहरुको शालिक र दुर संचारको टावर हल्लाउन सक्नेहरुले जाबो हिउंमा फलेको स्याउको बुटा हल्लाउन सक्दैनन ? चार करोड खर्च गरेर राजधानीबाट गुन्डा ओसारेर बिराटनगरमा 'परशुराम बचाउ आम्-सभा' गर्न सक्ने यु फो ले मुस्ताङको स्याउ ल्याउन सक्दैन ? नारायण वाग्लेलाइ थर्काउनेले तनहुंको खैरेनी चोकमा स्याउ बांड्ने हिम्मत गरोस न ! कहिले खुम बहादुर त कहिले गोबिन्दराजको हत्केलामा नाच्ने तरुण दलले लछारेर ल्याओस न, मुस्ताङे स्याउको हांगा बाट, सुन्दर दाना । यहाँ तपाइ हामीले घोक्रो सुकाएर केही हुने वाला छैन । बिचरा प्रधानमन्त्री डा. सा'बको 'मुस्ताङ गाडी' त्यहां पुगेर फर्कदा बाटोमा मोहन बैदयका झांक्रीहरुको मशाल जुलुशले स्याउ बाटोमै कुहिने खतरा । जना सेनाका ब्यारेकमा पुर्याउदिउं, कुन पक्षलाई भाग लगाउने ? यसरी अलपत्र पारेको बेला हाम्रो साहारा को ? नेपाली जनताको संबिधानको लेखक को ? लाग्छ, मुस्ताङ गाडिमा चढाएर डा. सा'बले यी ६०१ लाई त्यहांका झाक्री लगाइ फुकाउनुको बिकल्प छैन । नाङ्गै राखेर त्यो चिसोमा, जब झांक्रीले प्रत्येक सभासदलाई पालैपालो अश्ठोत्तर सय (१०८) चोटि स्याउका गेडाले टाउकोमा हान्छन । अनि त्यो ठन्डिमा यिनका दिमागमा चिसो पस्ला । एस एल सी पास पनि नगरेका बायू सेवा निगमका जी एम साहेबलाई एउटा "मुस्ताङे हाजात" किन्न लगाएर हिमालपारीको त्यो देशमा झारफूक गर्न लागे कसो होला ? नत्र दुई चिराको नासपाती कांग्रेस, तीन चिराको बेलाउंती माओबादी, चार चिराको फर्सी एमाले र पांच चिराको कुभिण्डो मधेशीहरुबाट केही हुने वाला छैन । यो गर्मी र बर्शादले झाडा-पखाला लागेका पहाडेहरुलाई जीबन-जल दिलाउने, आगलागी र सर्पको टोकाइले ग्रसित तराइयाहरुलाई मल्हम दिलाउने र चिसोले कठाङ्रिएर चाउरिएका हिमालेहरुलाई कम्बल दिलाउने 'बहादुर' कुन आउंला, यो देशमा ? दश बर्शे आन्दोलनताका बाबुरामको अनुहार हेर्न सबै आतुर हुन्थे । रबिन्द्र मिश्रसंगको उनको 'लेखकीय जुहारी', शाही शाशन बारेको लेख र पार्टीको कारबाहीको स्पष्टिकरण । उनले लेखेका सम्पुर्ण लेखहरु 'हट केक' हुन्थे । बेला बेलामा सार्वजनिक हुने उनको शिरको 'छत्रे टोपी'मा सजिएको उनको अनुहार निकै प्रख्यात थियो । सबै बादीहरुका पत्रिकाहरुले बडा मजाले छाप्थे, उनको अनुहार । कुनै जमानामा टाउकोको मुल्य तोक्दा लाग्थ्यो, उनको टोपीको नै १६ लाख पर्दथ्यो । तर आज १६ लाख पर्ने टोपी बराबरको गाडी चद्छन्, प्रधानमन्त्री । नेपाली इतिहासको अलौकिक उदाहरण । डेढ लाखको पलङ्ग र लाखौंको उपहारे 'राडो' घडीलाई चुनौती । चमेलिया र मध्य मर्स्याङ्दीका करोडौं रुपैंयाका गाडीहरुको बे-वास्ता । 'छत्रे टोपी'ले त्यहि साधारणता देखाउंछ । कसैको बयान गाए जस्तो हुन्छ, भ्रम नपरोस्, नेपालीहरुका आशाका केन्द्र डा. सा'बको शेखी नझरोस । क्रान्तिकारिताको रेखी नमेटियोस । गाउंले हुनुको बिगतको 'देखि' नछुटोस । हिजोका दिनमा हिसिला यमिले नेपाल सरकारका भ्याएसम्मका संस्थानमा सासु, दिदि, बहिनि, नन्द, फूपु र भाउजुहरु भर्ती गरेको घटना नघटोस । नेपालका प्रत्यक भाग र प्रत्यक मौसममा ओडिने नेपालमा बनेको ? 'मुस्ताङे गाडी' जस्तै नेपाली हातले बनेको नेपाली छाता 'छत्री' को प्रतिक 'छत्रे टोपि'ले त्यहि नमुना जनाउंछ, जुन छत्रीले प्रत्यक गरीब नेपालीको घनघोर बर्षा र टन्टलापुर घामलाई सजिलै छेक्दछ । डा. सा'बको टोपिमा अल्झाउने डोरी थिएन होला, सायद् । त्यसैले उहाँको पार्टी टाइ र सुट लगाउंछ । उहांका पार्टिका प्रत्यक एरिया इन्चार्जहरुसंग मध्य-मर्स्याङ्दीका महंगा गाडीहरु छन् । तर प्रत्यक छत्रीमा घांटीमा अल्झाउने डोरी राखिएको हुन्छ । जत्रै ठुला बतासले पनि त्यसलाई उडाउंन सक्दैन, बरु हावाले किसानको घांटी नै किन नछिनालोस । अब डा. सा'बको छत्रे टोपीमा गणेश लामाले रक्तचन्दनको बोरा बांध्ने डोरी अल्झियो भने, गच्छेदारले लगाउने चश्माको तुनो अल्झियो भने, महतोले लगाउने सुरुवालको इंजार अल्झियो भने, यादबले लगाउने भारतीय कमिजको धागो अल्झियो भने, गुप्ताको टेलिफोनको तार अल्झियो भने, बैध्यको मशालको रांकोको झिल्का अल्झियो भने र टोपीमा दाहालको "राडो" घडीको पिन अल्झियो भने हिजोका कोइराला, देउबा, नेपाल र खनाल भन्दा भट्भटिन भट्टराइको पनि बेर लाग्दैन । एउटा "मुस्ताङे गाडी'मा आखिर के नै पो अट्न सक्छ र ?

1 Comments:

Adams Kevin said...

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
ऋण। तपाईं यस इमेल मा अब हामीलाई सम्पर्क गर्न आवश्यक छ भने: adams.credi@gmail.com

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼