14 November 2009

कृत्रिम ओखतीले धानेको दिनचैर्या :


यतातिर बिहानिपख भालेहरु बास्दारहेनछन्, न त सुनौलो घाममा हिमाल नै हांस्दारहेछन । सबेरै उठ्ने परदेशको बाध्यता अनी आफ्नो मुलुकमा भाले बास्ने समयमा काममा पुग्नुपर्ने अपरिहार्यताले प्राय; सबै परदेशीहरुलाई सताएकै हुन्छ होला, शायद । अदभुत बिकासको यो जमनामा हाम्रा कति भाई बहिनीहरु नोकर चाकरको रुपमा स्वदेशमै पीडित रहेको बेलामा 'पैसा कमाउने' ध्येयले परदेशिनेहरुको दु:खको पोको दुई शब्दमा कहाँ लेखेर सकिएला र ?

आफ्नै देशमा हल गोरुले खोरिया जोत्दा कहिल्यै थकाईको आभाश भएन । बिहान चार बजे उठेर दांइ गर्दा यो ज्यान थाकेन । एक घण्टाको उकालोमा मुरिका मुरी धान यही पिठ्युले खेप्यो र पनि ज्यान गलेन । बाउ छोरा भएर घैयाका परालका टौवाहरु ठड्याइन्थ्यो र पनि ज्यान अझै फुर्तिलो हुन्थ्यो । परदेश, तर यो परदेशमा आफुले बिगतमा खेपेका भारिहरु भन्दा केही कम शक्ती लगाउनु पर्ने काम गर्दा पनि ज्यान सडेर छैन उही हल गोरु जोत्ने "नारा" जस्तो भएको छ । यताउती जांदा केही मोटाएका आफन्तीहरु पनि भेटिन्छन्, या बडा भूंडि हल्लाउदै हिडेका । तर तिनीहरु सहि रुपमा मोटाएका होइनन । उनीहरु आँफै भन्छन्, 'घन्टा हान्दा हान्दै (काम गर्दा गर्दै) मरिएला भनेर शक्ती दिने ओखती (इनर्जी ड्रिन्कस) को कमाल हो, बाबु यो मेरो बढेको भूडि ।" आफु पनि त्यहि ड्याङ्गको 'घन्टे' भएकोले ज्यादै थकित होइन्थ्यो, भइन्छ । बिहान सबेरै सुनसान सडकको किनारै किनार काम र दामका खातिर यो ज्यान चलाउंदा राती कति बेला फर्कने खासै ठेगान हुदैन । निरन्तर छलेको मेशिन त बिग्रन्छ भने हाम्रो त ज्यान, यही एउटा शरीर । कति थाक्दो हो, दर्द हुदो हो ! फेरी दु:ख सबैलाई भनिरहने कुरो पनि त होइन रहेछ । त्यसैले साच्चै के रहेछ त, इनर्जी ड्रिन्क ? यसले थकित शरीरलाई शक्ती दिलाउला त भनेर केही दिन खोजतलासमा भौतारिएं । आफ्नो जन्मभुमिमा मियो हल्लाउने ज्यान सडेर जाने पीरले कामको चापलाई कम तुल्याउन शक्ती पिलान अमृत खोज्न केही पसलहरु चाहारें, मैले पनि ।

परदेशका सबै किराना पसलहरुमा पाइने लाले गोरु (रेड बुल) र राक्षस (मोन्स्टर्) नामका शक्ती दिलाउने भनि लेखिएका झोलहरु फेला परे । आफु काम गर्ने ठाउंमा पनि त पाइने रहेछ, त्यो झोल । तर के थाहा ? कुन चराको नाम हो, पहीले त्यो ! शक्ती पाउने लालसामा कूलरमा लुकी लुकी खुबै पिएं, पहीले मैले त्यो । अरुण थापा दाईले प्याला पिए जसरी नै । पिएर बोत्तल सक्न पाएको छैन, के का शक्ती दिने ? ज्यान त काठ्मण्डौको सडकमा टेम्पो चढे जस्तै थर थरी काम्न थाल्ने । ग्राहकको सेवाको लागि हात बढाउंदा त गैडाको खाग चोरेर भाग्दै गर्दा सिमाका पुलिसले समाउंदा अभियुक्तको काम्ने हात जसरी काम्न पो थाले त हातहरु त लाले गोरुका बलले ।

केही दिन रमाइलाका लागि पीइयो । नारायाण गोपाल दाईले 'सुखमा पिएं, दु:खमा पिएं, पिउंदा पिउंदै ............ ' गाए जसै । धेरै पिउन थालियो । बास्तबमा यि राक्षसहरुले हामीलाई नचिनेर पो हो की, त्यति बिघ्न फाइदा गर्दोरहेनछ । लमतन्न हुने गरी सुतिरहन मात्र मन लाग्ने । ज्यान त सधैं भजन नाचे जस्तो । तर क गर्ने काम त गर्नै पर्‍यो । कि हात उठाएर लाग्न पर्‍यो बाटो । हैन बस्न नै छ, यो परदेशमा दु:खको भारी अझै घिसार्नु छ भने त नपीइकन सुख पाइएला जस्तो छैन । सक्नेले किनेर पिउंछन्, कोही कूलरमा छिरेर पिउंछन त म भने पिउन त पिउंछु, कसरी अहिल्यै नभनुम होला । गोठमा पालेको हल गोरु बीच जोडा मीलेन र एउटा गोरुको बलमा अर्को चम्रे गोरु जोत्न सकेन भने बिकल्प खोजिए जस्तै काम कम लाग्ने यी पिउने लाले गोरुहरुको पनि बिकल्प खोज्न थालें, म । परदेशको बिकसित बजारहरु न हो । नपाउने चिज केही रहेनछ, यो दुनियांमा ।

जति डोरी बाटे पनि एउटै गांठो । जति दु:ख गरे पनि एउटै जिन्दगी । त्यसमाथी पनि सात समुन्द्र पारीको, दु:खको यो खैराती जिन्दगी । काम गर्ने स्थानमा पनि सधैं ग्राहकहरु कहाँ बाट आउंथे र ? तिनिहरुका पनि खल्ती रित्तेका छन्, आजकाल । हिजो डेबिट कार्डहरुले भरिने खल्तीहरु हिजोआज 'इबीटी कार्ड' (सरकारले खाना खान दिने नि:शुल्क कार्ड)ले थल्थलिएका छन् । कोही नभएको सुनसान अर्काको त्यो पसलमा मलाई नै हेरिरहेको घन्टाघरको भन्दा अलिकती सानो घडी हेरेर आफ्ना दैनिकी बाँकी घण्टा गन्न थाल्छु, म । 'अझै १३ घण्टा छ, तं पाजी उभिनलाई', यसरी उत्तर दिन्छ मलाई घडीले, मैले सोध्नु अगाबै । आलस्य हुन्छ, मन । जिउ लत्र्याक्क पर्छ । हात पनि चलाएको र चलेको आभास हुदैन, र मनको त के कुरा । कता उड्छ, उड्छ मन । आँफैलाई थाहा नहुंदोरहेछ । आनायसमा बहकिने मन र थिलथिलो परेको ज्यानलाई तन्दुरुस्ती दिलाउनका खातिर काउन्टर अगाडि रहेको '७ घन्टे शक्ती अमृत' राखिएको लोगो पढ्दै म सुटुक्क पिउन थालेको छु । कम से कम सात घण्टा सम्म भने पनी धान्यो भने अरु बाँकी घण्टालाई बासी कफी पिएर चलाउंला भनेर चलाउने गरेको छु । भोली भन्या देखाजायगा ।


बजारमा सामान किन बिक्छ ? अर्थशास्त्रका मित्रहरुलाई बढी थाहा होला । मलाई भने यत्ती थाहा छ । मेरा घरका भकारीहरु रित्तिए भने, कोदो र मकैले पनि छाक टरेन भने म चामल किन्न बजार जान्छु । मेरा छिमेकिहरुका भकारी पनि यसरी नै रित्तिए भने डांडां गामका रत्नेको पसलको चामल बिक्छ । अतएब; दु:खमा पिल्सिएर हामी परदेशिएकाहरुको मनको भकारी जब कमजोर हुन थाल्छ, अनी कमजोर मन प्रफुल्ल पार्न, रोएको आत्माको खुसियाली चेहेरा देखाउन शक्तीको चामलको झोल नपीइ परदेशी साहुहरुका फांटहरु जोत्न साहस नआउने रहेछ । त्यसैले '७ घन्टे शक्ती-बर्धक' झोलहरु पिउंदै म आफ्ना घण्टाहरु कटाउंदै दैनिकी ढाल्दै छु । उन्नाइस घण्टा हर दिन र रात परदेशमा अनेक तरहले खट्ने दाजु-भाइ दिदी बहिनीहरुको पनि आ-आफ्नै दु:खका पोका हरु छन् । फेरी बढी बिकसित देशमा हुदैमा दु:ख कम हुने कदापी सत्य होइन । कुरुप भए पनि आफ्नै जन्मभूमी भन्दा प्यारो अन्त कहाँ के छ र ? त्यसैले जन्मभूमी र आमालाई छोडेर परदेशिएपछि अंमेरिका, भारत्, मलाया, दुबइ, कतार्, जापान्, युरोप सबै एकै हुन । त्यो त परदेशमा दु:खले छाला खुइलिएकाहरुलाई थाहै छ । यी यस्तै परदेशिनुपरेको पिडा, परदेशिएपछी मुखमा माड लगाउन शक्ती मिल्ने लालशामा शक्तिबर्धक कृत्रिम ओखती पिएर हनिएको छ घण्टा र चलेकै छ, जिन्दगी ।

7 Comments:

Prabesh said...

यस्ता कुरा सुन्दा त कहिल्यै पनि विदेश नजाऔँजस्तो लाग्छ हौ मलाई त ! बरू यहिँ सबै ठिक रै'छजस्तो !

Ashesh said...

बढो सम्बेदनशील कुरो गर्नु भो तपाईँले । मैले त यो शक्तिबर्धक झोलको बारेमा सुनेकै थिइन । हो निर्जीव मेसिनलाई भन्दा पनि बढि दू:ख रहेछ हाम्रा दाजुभाईहरूलाई बिदेशमा । तर म यि कुराहरू सुन्न र पढ्न बाहेक केहि गर्न सक्दिन । आफै देखि हिनताबोध भइरहेछ ।

आशा गुरुङ said...

यो बारेमा त मैले पनि नसुनेकी हैन अझै अनुभब गर्न त पिएकी पनि छु तर खासै त्यस्तो प्रतिकृया मैले पाईन शायद अवस्था पो मिलेन कि :)
जे भएपनि रमाइलो लेखको लागि धन्यवाद गोकुल जी लाई !

Shiva Prakash said...

मैले पनि पढेँ है ,

Dilip Acharya said...

आफैंले नभोगे पनि परदेशको यो पिडाको बारेमा धेर-थोर जानकारी भने मलाई पनि छ । तर तपाईको "खुलस्त" वा 'जे छ, त्यही लेख्ने' शैलीले भने फेरि एक पटक कायल बनायो ।

चित्त बुझ्यो तपाईको लेखाई !!!

Milan said...

कुरा सहि गर्नु भो, यहाँको धेरै जसोको दैनिकी यी यस्तै ईनर्जी ड्रिंक्सले धानेको छ | तर केहि साईड ईफेक्ट हुँदा हुँदै पनि यी झोलहरु पुरै बिनासक चाहिं होइनन |

काम गर्न सक्नेले काम-परिश्रम नगरी खान पाउनु हुँदैन | त्यसको लागि यी औषधि ठुलो बरदान साबित भएका छन | काम गर्नु र ईनर्जी लिनुलाई म दु:ख अनि हिनता बोधको रुपमा लिन्न | यो अमेरिकी जीवन शैलीको एक अभिन्न अंग हो |

जे होस् दाइको लेखन शैली चाहिं एकदम गज्जबको छ ...

Adams Kevin said...

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
ऋण। तपाईं यस इमेल मा अब हामीलाई सम्पर्क गर्न आवश्यक छ भने: adams.credi@gmail.com

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼