14 September 2010

भुइंमा खसेका सिक्काहरु संगाल्दै :


जीबन पाउन सजिलो भएसरी बांच्न त्यति सहज शायदै कसैलाई होला । दरबारमा जन्मेका राजकुमारहरु होउन वा झुपडिमा जन्मेका बिचराहरु अथवा ओढारमा जन्मेका राउटेका सन्तति नै किन नहोउन । दरबारमा जन्मेकाहरुले त तरबारको भरमा जीबन गुजार्छन, शक्ती र धनको आडमा । झुपडिमा जन्म लिनेहरुको हालत यहाँ शब्दमा कसरी लेख्न सकिएला र ? तिनका दर्द र बेदनाहरु, गुन्युका सुताइहरु, लाम्खुट्टेका टोकाइहरु । त्यो दु:ख त भोग्नेलाई मात्र थाहा हुन्छ ।

सादा जीबन सबैभन्दा उत्तम जीबन । धन हुने उपेन्द्र महतो, शिक्षा हुने डा. दुर्गा भण्डारीहरु र मन हुने मह जोडीका जिबनका अ-आफ्नै पाटाहरु छन । महाकबि देवकोटाले जीबनमा दिएरै सिद्ध्याए । महात्मा गान्धी अहिंस्रक भएरै मानब बने । अनुराधा कोइराला बेचिएकी चेलीहरुको अस्मिता अझै बचाउने अभियानमा लागेकी छिन् । त्यसैले त प्रख्यात अमेरिकि समाचार संस्था सिएनएनले आयोजना गर्ने "सिएनएन हिरो" मा मनोनयन भएकी छन । उत्तम संजेलको १०० रुपैयाको शिक्षा अभियान आज देशभर प्रख्यात छ । उपेन्द्र महतो - धन हुने देखी लिएर, मह - मन हुनेहरुले पनि दिलोज्यान सहयोग गरिरहेका छन, उनलाई । यसरी हेर्दा, जन्मनु मात्र जिन्दगी भन्दा पनि आफुले सकेको ठाउंबाट सकेको चीज गरेर मान्छे 'मान्छे' भएका रहेछन ।

चिन्तन र तपस्याले बुद्ध भगवान भए । त्यागले राम भगवान भए । दिएर र लिएर मात्र भन्दा पनि केही गर्न खोजेमा मात्रै मान्छे 'मान्छे' हुन सक्दोरहेछ । जीबन सार्थक बन्दोरहेछ । धनी कोही कसैको अपुताली पाएर हुन्छ । तर त्यो अपुताली पनि सहि रुपमा प्रयोग गरेर समाजसेवामा लाग्ने मान्छेहरु न महान हुन्छन । ठगेर, लुटेर र छद्मभेशि भएर कमाएको धन 'देखाउनको लागि' सेवामा लगाउनेहरुको कर्तुत त कति दिन पो टिक्छ र ? अत : देखासिकिमा गरिने समाजसेवा भन्दा आत्माबाटै प्रस्फुटित सेवाभाव शायद सर्बश्रेस्ठ हुंदो हो ।

एउटा स्टोरमा खुर्सानी बेच्ने रित्तो भांडोमा जम्मा भएका केही सिक्काहरु माथि नजर परे आज । धेरै बर्ष देखि परदेशको सडकमा खसेका, अरुले फालेका सिक्काहरु थिए, ति । एउटा ठीक्कैको पाथी जाने भांडो भरिएछ । अरुले गलत्याएर अर्थ नसम्झी फालेका एक पाथी सिक्काहरु पक्कै नै धेरै नै होलान । मानौं, एक पाथी गाई पैसा । परदेशको एक पैसाको मेरो देशमा कम से कम सत्तरी पैसा हुन्छ क्यार, आजकाल । परदेशको एकपाथी पैसाले मलाई लाग्दछ, सत्तरिले गुणा गर्दा मेरा गाउं वा छर-छिमेकका दुई जना निमुखा-गरिबले मज्जाले पढ्ने पैसा पुग्नेछ । मैले कसैकोमा कामा गर्दा पार्किङ बढार्दा टिपेका सिक्कहारु, सडकमा हिड्दा भेटिएका सिक्काहरु संगालिंदा गुणाले सयौं हुन्छ र एउटा निमुखाको शिक्षाको लागि काफी हुन्छ भने हामीले किन लजाउने ? आफ्नै अगाडिको टल्केको परदेशी सिक्का टिप्नलाई ?

हुन त सेवा प्रचार गरेर गरिने काम होइन । तर ब्लगरको काम जे शिर्शक भेट्यो, त्यसैलाइ कोट्याउनु हो । नजर परेर टिपिएका सिक्काहरु त मेरो देशमा कैयौं गुणा फलदायी हुन्छ भने त्यसमाथिको शिर्शक पनि शायद उपयोगी नै होला । प्रचार-प्रसार भन्दा पनि जम्मा भएका सिक्काहरुको उपयोगिता ठुलो लागेर टांसेको मात्र हो । महानहरु प्रचारले ठुला पक्कै भएका होइनन तर कतिपय बिषयगत कुराहरुलाई टांसो बनाउंदा फरक चाँहीं नपर्ला !

त्यसो त मान्छे बिदेशिएपछि उअसले गरेका काम-कर्तब्य प्रति नजर रहन्छ, समाजको । जसले जति सक्छ त्यति गर्ने हो । फेरी जसका पुर्पुरोमा जती लेखेको छ, पाउने त्यति नै हो, जति खप्पर फुटाएपनि । म चांही, गर्न केही नसके पनि सडकमा खसेका सिक्काहरु संगाल्न लागेको छु, आजकाल । एकपाथी सिक्काहरु सांटेर मेरा एक पत्रकार साथीको रोहबर पठाएर जेहेन्दार-निमुखा केही बिद्यार्थीहरुलाई सहयोग गर्ने धोको छ । धोको भएपछि सहयोग र समाधानका पोकोहरु अबश्य आउंदारहेछन । हेर्दा हेर्दै एक पाथी सिक्का जम्मा भए भने सेवाभाब र कर्मले भोली एकमुरी डलर जम्मा हुन पनि के बेर ? गरीब बिद्यार्थी पढाउने केही सपनाहरु बोकेर आजकाल म सडकमा खसेका सिक्काहरु टिप्दैछु । यसलाई घमन्ड र प्रचार ठान्नु सहि नहोला ।
Read more >>

10 September 2010

मलाई छाडि !


मलाई खोला पारी छाडि गै तिमीले के पायौ त,
एक्लै कुम्ल्याउन गएकि थ्यौ'नी, दर कति खायौ त ?

मैले त मुख छोप्ने टालो पनि पाइन नि यहाँ,
तिमी सिंगारिन कुन कम्पनिको सारी लायौ त ?

म त हारें, तिरस्कार तिम्रो, म जसरी बांचे'नी,
तिम्रो भु पु मायालु भेट्न तिमी कति धायौ त ?

मैले दे'का फूलहरु त पत्थर भए तिमीलाई,
तिम्रो 'मायालु' संग तिजको मन्दिर घुम्न आयौ त ?

चोखो माया मेरो बदनामी भयो तिमीलाई है,
तिम्रो गुणगान त कतै सुन्दिन, खै कता छायौ त ?
Read more >>

25 August 2010

अल्छि, खल्ति र बल्छि :


सोचेको जस्तो नहुने रहेछ, जिन्दगी । सोचे जसरी प्रयोग गर्नै गार्हो, यो बलवान समयलाई । करिब दुई बर्ष अगाडि रहरै रहरमा कोर्न थालेको ब्लगमा निरन्तर कहिल्यै लेख्न सकिएन । हुन त, आफैलाई धेरै कुरो लेख्न नआउने वा नजान्ने हुनाले पनि होला, लेखाइमा ढिलासुस्ति भएको । शिर्शकहरु फटाफट दिमागमा आउँदा पनि भन्ने बित्तिकै थपक्क राख्नै सकिएन । त्यसैले लाग्छ, रहरले मात्रै पनि ब्लग चल्दो रहेनछ । फेरि, आफैलाई अचम्म लाग्छ, अग्रज ब्लगरज्यूहरुले कसरी भ्याउनु भएको होला, प्रत्यक हप्ता टांसो टांस्न ? यसो त्यहि हेर्यो, मेसो मिले पढ्यो, चित्त बुझायो अनि पल्टियो । अग्रज ब्लगरहरु पनि बेला बेलामा लामो समय हराएर फर्कंदा उहांहरुलाई लागेको 'अल्छिपनाको शिर्शक' नपढेको त होईन । तर फोकटमा गफै गरेर कति समय काटिंदा पनि लेख्नै जांगर नलाग्नु र भोलिबादी हुनु चाँही महा-अल्छि भएर नै हो । यस्तो अल्छि लाग्छ कि ! भनि साध्यै छैन । फेरी यो परदेशि सोडा र पिज्जाले पेट र गिजा बढेर नि होला, जता बस्यो उतै ढल्न मन लाग्छ । अनि मनमा आएका शिर्शकहरु चाहिं नेपालको संबिधान जस्तो, कहीले लेखिने हो कहीले ?

नभ्याउनुको प्रमुख कारण चाँही खल्ति नै हो । रित्तो खल्तिले कहिल्यै दिमाग भराउंदो रहेनछ । खाली खल्तिले मगजमा आएका शिर्शकहरु पनि मेटाउंदा रहेछन । बिहान उठेदेखीको अनाबश्यक चिन्ताको कारण नै हो - रित्तो खल्ती । जिम्मेवारि, कहिल्यै तिरेर नसकिने - तिर्न नभ्याउंदै शुरु हुने परदेशका बिलहरुले खल्ती सधैं रित्तो । रुखमा चढेर पैसाका हांगा हल्लाउंदै असारमा झरेका आंपहरु सरी टिपिने पैसाका सपना जस्ता सजिला रहेनछन्, खल्ती भर्ने हिजाका सपनाहरु । सपना बोकेर त उडिन्छ । आफ्ना भन्दा ठुला हुन्छन् फेरी परिवारका सपना । अब त कमाउंछ र पठाउंछ अनि खान पाईन्छ चामलको भात । यस्तै हुन्छन परिवारका सपना पनि । एउटा महलको सपना पनि बोकेका हुदांरहेछन्, परिवारले । तर कथामा अभिनय गर्ने वास्तविक अभिनय एउटा नायकलाई मात्र थाहा भए जस्तै हुदोंरहेछ, रित्तो खल्तिका हामी परदेशी खलनायकहरुको पिडा । नाम चलेका कथाकारहरुले कल्पना गरेका भन्दा धेरै गहन र वास्तविक हुदांरहेछन, रित्तो खल्तिवालाहरुको कथा । जसमा आफै कथाकार, आफै निर्देशक र आफै कलाकार । करोडौं रुपैयां लगानी गरेर, नाम चलेका कलाकार भर्ती गरेर, होनहार निर्देशकले बनाएका चलचित्र त फ्लप हुन्छन् र चल्दैनन भने जाबो परदेशमा गोरा र धोतीहरुले तुर्काइ-तुर्काइ दिने गाई पैसाले कहीले भरिने खल्ति ?, के खाने आफु ?, के किनिदिने स्वास्नी र छोराहरुलाई ? बचाउने के ? र पठाउने के ? यस्ता परम सत्य घटनाका हामी कमजोर पात्रहरुले अभिनय गर्नुपर्ने वास्तविक जिवनको दुखदायी नाटक त झन कसरी चल्छ त ? सबेरै देखिको यो वास्तविकता र रित्तो खल्तिको पिडाले पनि जांगर लाग्दो रहेनछ, लेख्नलाई ।

बल्छी जस्तै भएर पनि होला जिन्दगी, स्वतन्त्र कहिल्यै नहुने । माझी दाईले गल्छीको किनारामा बसेर बल्छिको टुप्पोमा माछा झुक्याउने खानेकुरो राखी टन्टलापुर घाममा अल्छी गर्दै माछा मारे जस्तो लाग्यो यो जिन्दगी त । माझिदाइलाई जांगर लागेर र भाग्यबश मरे केही माछा भने भरे घरको कुनोमा कुटो र कोदालो संगै थन्किने बल्छी जस्तै जिन्दगी । भाग्य र समयले मनोपरी प्रयोग गरि बल्छी जस्तै थन्किने, निर्जिब हाम्रो जिन्दगी । कथा र भूमिका बेग्ला-बेग्लै भए पनि अभिनय एकै प्रकारका, सबैका जिन्दगी । जो भाग्यमानी भयो, राम्रो अभिनय गर्‍यो । राजेश हमालका जस्ता चले, उसका जिन्दगिका फिलिम । जसले सकेन, अभागि भयो । फ्लप भए उसका नाटकहरु, बिना दर्शक मन्चमा देखाइएका जस्ता । समयको बल्छिमा अल्झिने अभागि जिन्दगीलाई समय नमिलेर पनि सकिंदो रहेनछ, ब्लगलाई साथ दिन ।

यहांहरुको आफ्नै मजबुरी होला, यस्तो छ मेरो कथा त ।
जय ब्लगिङ । ह्याप्पी ब्लगिङ ।
Read more >>

15 July 2010

सुन्छ्यौ भने मेरा कथाहरु ....!


सुन्छ्यौ भने मेरा कथाहरु अनेकन चिसा रातहरुका छन्,
पत्थरले मेरै खप्परमा हानेका तिम्रा कठोर घातहरुका छन् ।

हेर्यो, पढ्यो अनि थन्कायो, तिम्रा प्यारा सम्झनाहरु,
झुटो मायाका ठेलीहरु, त्यस्ता अनगिन्ती खातहरुका छन् ।

दुनियाँ हांस्ने त्यो कस्तो जाली माया भो हाम्रो,
तड्पाइ तड्पाइ तिमिले मलाई बजारेका लातहरुका छन् ।

संगै पानी हालेका सम्झनाका बोटहरु त मरी सके,
हावामा उड्न तयार तिनै फुस्रा पातहरुका छन् ।

कटक्क मन खानेको प्याला एउटै मात्र ओखती,
सडक पेटिमा छादिएका मेरा थुप्रै मातहरुका छन् ।

तिरस्कारले बोछोड खेप्दा मलाई लागेका रोगहरु,
कसैले छुट्याउनै नसक्ने अनौठो जातहरुका छन् ।


सुन्छ्यौ भने मेरा कथाहरु अनेकन चिसा रातहरुका छन्,
पत्थरले मेरै खप्परमा हानेका तिम्रा कठोर घातहरुका छन् ।
Read more >>

01 July 2010

साइबाबा : आस्था, विश्वाश वा रहर ?


नेपाली समाजमा धर्मको आफ्नै रामकहानी छ । तेत्तिसकोटी देबताहरु, तिनका मठ-मन्दिर र आस्थाका पाटी-पौवाहरु अनगिन्ती । धर्म र मानवताको शान्त मुलुक नेपालमा हरेक किसिमका धर्म र त्यस्तै प्रकारका धर्मालम्बीहरु त छंदैछन । र पनि धर्म अबलम्बन गर्ने तरिकाहरु फरक । पूजा गरिने तरिका फरक होलान् तर गन्तब्य त जुन बाटो गए पनि एकै हो रे । यसरी धर्मलाई प्रचार गर्ने बाहानामा नेपाल र भारततिर उदाएका सयौं- हजारौं गुरुहरु, पास्टरहरुबारे हामीलाई थाहा छदैंछ । आजकालका रामदेब सबैतिर छाएका छन् । राजनीति र नैतिकताको सिन्को भांच्न नसक्ने हाम्रा महान नेताहरुका च्यापू, कम्मर र भूंडि पनि हल्लाइदिए - उनले खुल्लामन्चमा । त्यसरी नै धेरै बर्ष देखि भारतको बैंङ्लोरमा आश्रम गरि बसेका साइबाबाका चर्चा पनि कम छैनन ।

भनिन्छ, मरुभुमी सरहको बैंङ्लोरलाई हराभरा शहर बनाए रे - साइबाबाले । प्रकृतिको चिनो केही नभेटिने साइ आश्रमको बर्तमान थलो आज पर्यटकिय रुपले संसारभर प्रख्यात छ रे । पांच रुपैंयामा मुटुको अप्रेशन हुन्छ रे । साइबाबालाई भेटेपछी वा त्यो ठाउं टेकेपछी ब्यक्तिजिबन नै परिवर्तन हुन्छ रे । म त आजसम्म गएको छैन, बैंङ्लोर । तर 'रे' का यी याबत हल्ला र भाकाहरु साँच्चै सांचो होलान् ? नायक शिव श्रेष्ठ हरेक कामको पछाडि 'बाबाको आशिर्बाद' को फुर्को झुन्डाउछन । नेता महेश आचार्य लगायतकाहरुलाई साइबाबाले सुनको औंठी उपहार दिए रे । तर सामान्य नागरिकले बहुमुल्य त्यस्ता औंठी-उपहार पाउंदैनन रे । सबै 'रे' का यी फुर्काहरु के सांचो होलान् ? त्यो त नायक श्रेष्ठ, नेता आचार्य लगायत आश्रम टेकेकाहरुलाई थाहा होला । तर पनि संसारभर करोडौ साइभक्तहरु रहेको चाँही साचो हो । नेपाल, भारत, पुरै एसिया, युरोप र अमेरिकामा उनका लाखौं भक्तजन छन्, रहेछन । प्रायश: नेपालीका डेरा र घरका भित्ताहरुमा साइबाबाको फोटो र 'बिभुती हुंदारहेछन । र परदेशतिर पनि धेरै साइ संगठन र सभाहरु रहेछन ।

महाराजगंन्ज, काठमाडौंमा रमेश नेपालीको घरमा रहेको साइ थलोमा साथीहरुसंग धेरै पहिले साइ जन्मोत्सबको कार्यक्रममा जाने 'चानास' मिलेको थियो । दिनभरि आस्थाको लागि भनेर भोकै बसियो । त्यसदिन मान्छेहरु पनि हजारौं आएका थिए । अत्यन्त ब्यबस्थित र अनुशाशित थियो, त्यो कार्यक्रम । एकै स्वरमा साइ भजन, पालै-पालो पूजा । लाग्थ्यो, मान्छेहरुमा साइबाबाप्रति ठुलो आस्था रहेछ । यो सांचो थियो कि, एउटा राजनैतिक पार्टीले आयोजना गरेको आन्दोलनमा आउने बेरोजगारहरुको भिड अबश्य थिएन, त्यो । उपस्थितहरुको अगाडि साइबाबाको बडेमानको फोटो राखिएको थियो । भजन किर्तन पछि त्यसबाट खरानी 'बिभुति' झरेको मेरै आंखाले देखेको पनि सांचो हो । तर अचम्म, एउटा फोटोको फ्रेमबाट बिभुती कसरी झर्छ र झर्यो, त्यो त साइबाबा नै जानुन । त्यसपछी साइ सम्बन्धि केही पुस्तकहरु पनि पढियो । हातमा साइ औंठि लगाइयो । हार्मोनियम बजाउंदै केही बिहान साइ भजन पनि गाइयो । एक दुई महिना शाकाहरी भैयो । धेरै नै साइ पुस्तकहरु पढियो । भनिन्छ नि, संगित र पुस्तक सबै राम्रा हुन्छन् । हामीहरुको लागि गीता, महाभारत, कुरान र बाइबलहरु ठुला हुन रे । बिद्धानहरुले लेखेका किताब पढ्नु नराम्रो त कहाँ हो र ? साइबाबाले पनि धेरै पढेका छन रे । उनी त अझ डा. हुन रे । तर उनका किताब पढेरै मान्छेहरु साइभक्त भएका हुन त ? रहर त पक्कै होईन होला । यही गुदी कुरो भने बुझ्न सकेको छैन ।

बत्तिसै लक्षणले त शिव भगवान पनि युक्त थिएनन रे । बुढा गांजा खाने, पार्वती कुट्ने । सतिदेबिसित लभ गर्ने । कृष्णजी गोपिनीहरु भनेपछि भुतुक्कै । राम सिता हरण गर्ने राबणलाई केही गर्न नसक्ने । यस्तै होला, ठुला धर्म गुरुहरुलाई लाग्ने आक्षेपहरु । साइबाबालाई 'यौन' सम्बन्धि लागेको एउटा आक्षेप वा काण्ड पनि बढो प्रख्यात रह्यो । त्यो कति सत्य थियो । देख्नेहरु जानुन । हामिसंगै पढ्ने कलेजका एक साथी थिए । गांजा भनेपछि शिव भगवानलाई भन्दा बढी चाहिने । पढ्न फेरी 'खतरा' । साथी टाठो । राजनितिमा खप्पिस । सबै त भन्न मिल्दैन । जे होस्, सफलता सधैं उसका दाहिने हुन्थे । साथी पुट्टपर्ती लाग्यो, साइबाबा भेट्न । साइबाबालाई भेट्ने अबसर पनि पाएछ, सोल्टीले । फर्केर कलेज आएको थियो त शब्दै पिच्छे 'साइराम्' र 'साइकसम' भन्दा केही भन्दैन बा । तर हामीले उसको बानी र ब्यबहारमा चाँही साँच्चै उन्नति पायौं, जुन कुरो सबै साथिमाझ चर्चा पनि हुन्थ्यो । अहीले त उनी धेरै ठुलो मान्छे भएका छन् । तर उनी आफ्नो सफलता लगन्, मेहनत अनि साइ आशिर्बादको कारण भन्दछन । यो बैज्ञानिक युगमा एउटा ब्यक्तिमाथिको आस्था त 'रुढिबादी' ठहरिएला । तर पनि अरु धर्म, गुरु र प्रबचन संगै आजका मान्छेहरुमा साइबाबा प्रतिको भक्तभाब आस्था हो वा विश्वाश वा हो रहर ! गांठि कुरो बुझ्न सकेको छैन ।
Read more >>

25 May 2010

परदेशमा हामीले खेलेको भकुन्डो र संबिधान :



सानै छंदा कपडालाई पोको पारी बनाइएको पोके भकुन्डो खेलिन्थ्यो, गांउमा । पछी स्कूलको नि मा बि तह देखी यसो छुन सम्म पाइन्थ्यो, स्कुलको भकुन्डो वा भलिबल । आफु सानो कदको भएकोले ठग्थे सबैले । रहर हुंदा पनि छुन र खेल्न पाईदैनथ्यो । कहिले कहिले त छुन नपाएको रिसले स्कुलमुनी भलयो टिप्न जांदा मैदानबाट कसैले "स्याटर" हानेको बल आयो भने क्यात्तुक्केको कांडाले घोचेर हावा फुस्काइदिन्थे, म बलको ।

हाफछुट्टिमा मलाई सबैले भलिबलको रेफ्री बनाउंथे । साथी र मास्टरहरुका घडी बाँया हातभरी बोकेर दाँया हातले 'रेफ्री-सिट्ठि' फुक्थें, म । जीबनमा धेरै बढिएन, त्यसैले रहर लागे पनि जांगर पुर्याएर भलिबल कहिल्यै खेलिएन । 'सर्भिस' गरेर नेट कटाउन चांही मज्जाले सक्छु ।

परदेशमा भए पनि हप्तामा एक्/दुइ दिन साथीहरु भेट्ने निहुंले आजकाल हामी भकुन्डो खेल्न थालेका छौं । आनन्द आउंदो रहेछ । खेल्यो, बिदेशी पानी पियो, त्यहि चौरमा सबै जना ब्यायाम गर्यो, ज्यान मर्कायो, दु:ख सुखका गफ गर्यो, समाजका-देशका कुराहरु गर्यो, लास्टां (अन्तमा) देशको कन्तबिजोक सम्झदैं दु:खले आ-आफ्ना छाती पिट्यो, अनि सबै जना बाटो लाग्यो ।

हामीले खेल्ने भकुन्डो र नेपाली राजनितिका खेलाडीले खेल्ने भकुन्डो (संबिधान) 'उस्तै उस्तै हो, नानू,' रहेछ । भेला भएका १४/१५ जना साथीहरु हामी यति अनुशाशित भएर खेल्छौं नि राम्रा रेफ्री आएभने अनुशाशनमा हामीलाई पुरस्कार दिनेछन् । हामी दुई टिम बांडिएर बाजी खेल्छौं । त्यो बाजी सबैलाई जित्नुको हुनेछ, बाजि जितेको पैसा हामी जम्मा गर्छौं । केही धेरै भएपछी नेपालमा कुनै गरीब बिद्धार्थी पढाउन पठाउछौं । बचेका रकमले कसैलाई सहयोग गर्ने पाटो त एकापट्टि छदैंछ । तर भन्न खोजेको चाँही के भने, 'गर्नुपर्छ' भन्ने जिम्मेवारीले कर्तब्यलाई अंगाल्न वाध्य बनाउंदोरहेछ । हामी दुई टिम जो जिते-हारे पनि नेपाली दाजुभाइ बीचको हार त हो आखिर । त्यो बाजीको पैसा नेपालै त जाने हो आखिर । बैमनश्यता केहिमा नराखे हामी अझै अगाडि बढ्न सक्थ्यौं होला, जस्तो लाग्छ । थकित हाम्रा ज्यानहरु पनि परदेशमा त्यहि भन्छन्, किन हामी हामी नमिलेका हौंला र ६०१ जनाले खेल्ने संबिधान सभारुपी त्यो 'भकुन्डो' किन जसले जता पायो त्यतै "स्याटर" हानेको होला ।

खेलमा नियम हुन्छ, अबधि हुन्छ । रेफ्रीको हातमा सिट्ठी हुन्छ । त्यो सिट्टिले सतर्कता बनाउंदो रहेछ । हाम्रो देशमा धेरै पटक भए, भकुन्डोका म्याच । २०५ जनाले खेले, मैदानको बालुवा समेत खाएर भ्याए । मैदानको दुबाहरु आफ्ना करेसाबारिमा रोपाए । आफ्नो घर सुन्दर बनाए, तर आफैले खेलेको मैदानमा हगे, मुते । अरुहरु जानै नहुने-नसक्ने गरि दुर्गन्धित बनाए । पछी हामीले मैदान सफा गर्यौं, दुर्गन्धको प्रबाह नगरी । तिनैलाई '६०१' बनाएर खेल्न पठायौं, एउटा राम्रो भकुन्डो दिएर । भकुन्डो खेल्न गा'काले कुस्ती खेले । अहिले भकुन्डो हराए । तिनका कर्तब्य एकातिर, खेल एकातिर । तिनलाइ न लिनु, न दिनु । तिनैमा बैमनश्यता र घमन्ड । हामीलाई थाग्नामा सुताए, आफुहरु आलिशान महलमा । हाम्रा रित्तो हात, तिनका हातमा रोलेक्स र राडो घडिहरु ।

भकुन्डो खेलेर पदक दिलाउने बाचा गर्नेहरुले हामीलाई नै हराए, बिदेशी मन पराए । न देशले पदक पायो, न सम्मान । तारे होटेलहरुमा तिनका लन्च र डिनर पाक्छन्, हाम्रा बच्चाहरुको 'कुरि' छोप्ने एकसरो 'जांगे' छैन । संबिधान त यिनले दिएनन र अब ती बच्चाहरु आफ्ना नाङ्गा ज्यान लिएर यिनका थाङ्ना च्यात्न आउन मात्रै बाँकी होला, अब । जय संबिधान ।
Read more >>

28 April 2010

तिमी त शहर पो पसेछौ !


भोकले तिम्रा सन्तान थुतुनो आं गरि बसेका छन् ।
तिमी भने भाईबहिनी पढ्ने स्कुल कब्जा गरि
मासु र भात खाएर 'आन्दोलन' गर्न ? शहर पसेका छौ ।
तिमी चामल खोज्न हिंडेको भए
कम से कम एक मानो कोदो त पाउथ्यौ ।
अनि,
तिम्रा जहानका मुखमा एक फांको आहार पर्थ्यो,
र तिमीलाई शायद्, सन्तोश मिल्थ्यो होला ।

तिम्रो घरको टुकिमा टालो मात्रै छ,
मट्टितेल छैन,
तिम्रा गह्राहरुमा बिजुलिका खम्बाहरु छन्,
करेन्ट छैन,
न तिम्रो बचेरो पढ्ने स्कुल खुलेको छ,
न महाजनका छोराहरु पढ्ने बोर्डिङ नै !
बीरामी ती तिम्रा बुढा बालाई अस्पताल लाने डोको छैन गाउंमा,
तीनलाई बोक्न न छिमेकी भतिजो छ, न तिम्रो भाई
न त तिमी नै छौ ।
एउटा डोको खोज्न हिंडेको भए
कम से कम थुन्से त पाउथ्यौ ।
तर,
तिमी हो-हल्लामा 'आन्दोलन्' ? गर्न
शहर पसेका छौ ।

तिमी किन तामाका ती कलिला मुनाहरु काट्छौ ?
र कटबांसहरु तिखार्छौ ?
तिमिले कटबांसले बजाउने टाउकाहरु पनि त
आफ्नै भाइ-भतिजाहरुका हुन नि ।
तिनका घाउबाट निस्कने रगतले तिम्रो ज्यान शिरिङ्ग हुदैन र ?
बरु, तिमी कलम खोज्न हिंडेको भए
मलम पाउथ्यौ होला ।
तिमी त सलाम खाने लालशामा
शहर पो पसेछौ ।

हिजो भरौटे बनेर हिडेका हाम्रा दाजुहरुले के पाए ?
हेर त तिनका कन्तबिजोक ।
आन्दोलनमा गोली खाए,
फटाहा नेताका बोली पाए,
तिनका छोराहरु ओहोदामा,
हाम्रा दाजुहरु, गाउ फर्के ।
यसरी फर्केका अपाङ्ग दाजुहरु तर्साउन तिमी
गोली बोक्दै छौ ?
खुकुरी भिर्दै छौ ?
दाजु 'तह लाउन' टुडिखेलमा कसरत गर्दै छौ ?
हलो कांधमा हलेर बरु बांजो जोत्न हिंडेको भए हुन्थ्यो,
तिमी त खुल्लामन्चमा नेताको योगा हेर्न,
चमात्कार हेर्न, होटेल भत्काएर बनाएको नेताको निवासमा
मासु भात खान हिंडेछौ,
तिमी त शहर पो पसेछौ !
Read more >>