तिमी त शहर पो पसेछौ !

भोकले तिम्रा सन्तान थुतुनो आं गरि बसेका छन् । 
तिमी भने भाईबहिनी पढ्ने स्कुल कब्जा गरि
मासु र भात खाएर 'आन्दोलन' गर्न ? शहर पसेका छौ । 
तिमी चामल खोज्न हिंडेको भए
कम से कम एक मानो कोदो त पाउथ्यौ । 
अनि,
तिम्रा जहानका मुखमा एक फांको आहार पर्थ्यो,
र तिमीलाई शायद्, सन्तोश मिल्थ्यो होला । 
तिम्रो घरको टुकिमा टालो मात्रै छ,
मट्टितेल छैन,
तिम्रा गह्राहरुमा बिजुलिका खम्बाहरु छन्, 
करेन्ट छैन, 
न तिम्रो बचेरो पढ्ने स्कुल खुलेको छ,
न महाजनका छोराहरु पढ्ने बोर्डिङ नै !
बीरामी ती तिम्रा बुढा बालाई अस्पताल लाने डोको छैन गाउंमा,
तीनलाई बोक्न न छिमेकी भतिजो छ, न तिम्रो भाई 
न त तिमी नै छौ । 
एउटा डोको खोज्न हिंडेको भए 
कम से कम थुन्से त पाउथ्यौ । 
तर, 
तिमी हो-हल्लामा 'आन्दोलन्' ? गर्न
शहर पसेका छौ ।
तिमी किन तामाका ती कलिला मुनाहरु काट्छौ ?
र कटबांसहरु तिखार्छौ ?
तिमिले कटबांसले बजाउने टाउकाहरु पनि त 
आफ्नै भाइ-भतिजाहरुका हुन नि । 
तिनका घाउबाट निस्कने रगतले तिम्रो ज्यान शिरिङ्ग हुदैन र ?
बरु, तिमी कलम खोज्न हिंडेको भए
मलम पाउथ्यौ होला । 
तिमी त सलाम खाने लालशामा 
शहर पो पसेछौ ।  
हिजो भरौटे बनेर हिडेका हाम्रा दाजुहरुले के पाए ?
हेर त तिनका कन्तबिजोक । 
आन्दोलनमा गोली खाए, 
फटाहा नेताका बोली पाए, 
तिनका छोराहरु ओहोदामा, 
हाम्रा दाजुहरु, गाउ फर्के । 
यसरी फर्केका अपाङ्ग दाजुहरु तर्साउन तिमी 
गोली बोक्दै छौ ?
खुकुरी भिर्दै छौ ? 
दाजु 'तह लाउन' टुडिखेलमा कसरत गर्दै छौ ? 
हलो कांधमा हलेर बरु बांजो जोत्न हिंडेको भए हुन्थ्यो, 
तिमी त खुल्लामन्चमा नेताको योगा हेर्न,
चमात्कार हेर्न, होटेल भत्काएर बनाएको नेताको निवासमा 
मासु भात खान हिंडेछौ, 
तिमी त शहर पो पसेछौ !
 
 
 
 
 
4 Comments:
इकदमै यथार्थपरक र चित्त बुझ्ने भाव !!!
Saral Tara gahan yathartha ho . Aasha garau tinle padhun ani arth bujhun pani .
सरलतामा जटिल भाव बोकेको यथार्त। धन्यवाद गोकुल जी पस्कनुभाको मा ।
यथार्थ कुरा ।
Post a Comment
Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼