15 July 2010

सुन्छ्यौ भने मेरा कथाहरु ....!


सुन्छ्यौ भने मेरा कथाहरु अनेकन चिसा रातहरुका छन्,
पत्थरले मेरै खप्परमा हानेका तिम्रा कठोर घातहरुका छन् ।

हेर्यो, पढ्यो अनि थन्कायो, तिम्रा प्यारा सम्झनाहरु,
झुटो मायाका ठेलीहरु, त्यस्ता अनगिन्ती खातहरुका छन् ।

दुनियाँ हांस्ने त्यो कस्तो जाली माया भो हाम्रो,
तड्पाइ तड्पाइ तिमिले मलाई बजारेका लातहरुका छन् ।

संगै पानी हालेका सम्झनाका बोटहरु त मरी सके,
हावामा उड्न तयार तिनै फुस्रा पातहरुका छन् ।

कटक्क मन खानेको प्याला एउटै मात्र ओखती,
सडक पेटिमा छादिएका मेरा थुप्रै मातहरुका छन् ।

तिरस्कारले बोछोड खेप्दा मलाई लागेका रोगहरु,
कसैले छुट्याउनै नसक्ने अनौठो जातहरुका छन् ।


सुन्छ्यौ भने मेरा कथाहरु अनेकन चिसा रातहरुका छन्,
पत्थरले मेरै खप्परमा हानेका तिम्रा कठोर घातहरुका छन् ।
Read more >>

01 July 2010

साइबाबा : आस्था, विश्वाश वा रहर ?


नेपाली समाजमा धर्मको आफ्नै रामकहानी छ । तेत्तिसकोटी देबताहरु, तिनका मठ-मन्दिर र आस्थाका पाटी-पौवाहरु अनगिन्ती । धर्म र मानवताको शान्त मुलुक नेपालमा हरेक किसिमका धर्म र त्यस्तै प्रकारका धर्मालम्बीहरु त छंदैछन । र पनि धर्म अबलम्बन गर्ने तरिकाहरु फरक । पूजा गरिने तरिका फरक होलान् तर गन्तब्य त जुन बाटो गए पनि एकै हो रे । यसरी धर्मलाई प्रचार गर्ने बाहानामा नेपाल र भारततिर उदाएका सयौं- हजारौं गुरुहरु, पास्टरहरुबारे हामीलाई थाहा छदैंछ । आजकालका रामदेब सबैतिर छाएका छन् । राजनीति र नैतिकताको सिन्को भांच्न नसक्ने हाम्रा महान नेताहरुका च्यापू, कम्मर र भूंडि पनि हल्लाइदिए - उनले खुल्लामन्चमा । त्यसरी नै धेरै बर्ष देखि भारतको बैंङ्लोरमा आश्रम गरि बसेका साइबाबाका चर्चा पनि कम छैनन ।

भनिन्छ, मरुभुमी सरहको बैंङ्लोरलाई हराभरा शहर बनाए रे - साइबाबाले । प्रकृतिको चिनो केही नभेटिने साइ आश्रमको बर्तमान थलो आज पर्यटकिय रुपले संसारभर प्रख्यात छ रे । पांच रुपैंयामा मुटुको अप्रेशन हुन्छ रे । साइबाबालाई भेटेपछी वा त्यो ठाउं टेकेपछी ब्यक्तिजिबन नै परिवर्तन हुन्छ रे । म त आजसम्म गएको छैन, बैंङ्लोर । तर 'रे' का यी याबत हल्ला र भाकाहरु साँच्चै सांचो होलान् ? नायक शिव श्रेष्ठ हरेक कामको पछाडि 'बाबाको आशिर्बाद' को फुर्को झुन्डाउछन । नेता महेश आचार्य लगायतकाहरुलाई साइबाबाले सुनको औंठी उपहार दिए रे । तर सामान्य नागरिकले बहुमुल्य त्यस्ता औंठी-उपहार पाउंदैनन रे । सबै 'रे' का यी फुर्काहरु के सांचो होलान् ? त्यो त नायक श्रेष्ठ, नेता आचार्य लगायत आश्रम टेकेकाहरुलाई थाहा होला । तर पनि संसारभर करोडौ साइभक्तहरु रहेको चाँही साचो हो । नेपाल, भारत, पुरै एसिया, युरोप र अमेरिकामा उनका लाखौं भक्तजन छन्, रहेछन । प्रायश: नेपालीका डेरा र घरका भित्ताहरुमा साइबाबाको फोटो र 'बिभुती हुंदारहेछन । र परदेशतिर पनि धेरै साइ संगठन र सभाहरु रहेछन ।

महाराजगंन्ज, काठमाडौंमा रमेश नेपालीको घरमा रहेको साइ थलोमा साथीहरुसंग धेरै पहिले साइ जन्मोत्सबको कार्यक्रममा जाने 'चानास' मिलेको थियो । दिनभरि आस्थाको लागि भनेर भोकै बसियो । त्यसदिन मान्छेहरु पनि हजारौं आएका थिए । अत्यन्त ब्यबस्थित र अनुशाशित थियो, त्यो कार्यक्रम । एकै स्वरमा साइ भजन, पालै-पालो पूजा । लाग्थ्यो, मान्छेहरुमा साइबाबाप्रति ठुलो आस्था रहेछ । यो सांचो थियो कि, एउटा राजनैतिक पार्टीले आयोजना गरेको आन्दोलनमा आउने बेरोजगारहरुको भिड अबश्य थिएन, त्यो । उपस्थितहरुको अगाडि साइबाबाको बडेमानको फोटो राखिएको थियो । भजन किर्तन पछि त्यसबाट खरानी 'बिभुति' झरेको मेरै आंखाले देखेको पनि सांचो हो । तर अचम्म, एउटा फोटोको फ्रेमबाट बिभुती कसरी झर्छ र झर्यो, त्यो त साइबाबा नै जानुन । त्यसपछी साइ सम्बन्धि केही पुस्तकहरु पनि पढियो । हातमा साइ औंठि लगाइयो । हार्मोनियम बजाउंदै केही बिहान साइ भजन पनि गाइयो । एक दुई महिना शाकाहरी भैयो । धेरै नै साइ पुस्तकहरु पढियो । भनिन्छ नि, संगित र पुस्तक सबै राम्रा हुन्छन् । हामीहरुको लागि गीता, महाभारत, कुरान र बाइबलहरु ठुला हुन रे । बिद्धानहरुले लेखेका किताब पढ्नु नराम्रो त कहाँ हो र ? साइबाबाले पनि धेरै पढेका छन रे । उनी त अझ डा. हुन रे । तर उनका किताब पढेरै मान्छेहरु साइभक्त भएका हुन त ? रहर त पक्कै होईन होला । यही गुदी कुरो भने बुझ्न सकेको छैन ।

बत्तिसै लक्षणले त शिव भगवान पनि युक्त थिएनन रे । बुढा गांजा खाने, पार्वती कुट्ने । सतिदेबिसित लभ गर्ने । कृष्णजी गोपिनीहरु भनेपछि भुतुक्कै । राम सिता हरण गर्ने राबणलाई केही गर्न नसक्ने । यस्तै होला, ठुला धर्म गुरुहरुलाई लाग्ने आक्षेपहरु । साइबाबालाई 'यौन' सम्बन्धि लागेको एउटा आक्षेप वा काण्ड पनि बढो प्रख्यात रह्यो । त्यो कति सत्य थियो । देख्नेहरु जानुन । हामिसंगै पढ्ने कलेजका एक साथी थिए । गांजा भनेपछि शिव भगवानलाई भन्दा बढी चाहिने । पढ्न फेरी 'खतरा' । साथी टाठो । राजनितिमा खप्पिस । सबै त भन्न मिल्दैन । जे होस्, सफलता सधैं उसका दाहिने हुन्थे । साथी पुट्टपर्ती लाग्यो, साइबाबा भेट्न । साइबाबालाई भेट्ने अबसर पनि पाएछ, सोल्टीले । फर्केर कलेज आएको थियो त शब्दै पिच्छे 'साइराम्' र 'साइकसम' भन्दा केही भन्दैन बा । तर हामीले उसको बानी र ब्यबहारमा चाँही साँच्चै उन्नति पायौं, जुन कुरो सबै साथिमाझ चर्चा पनि हुन्थ्यो । अहीले त उनी धेरै ठुलो मान्छे भएका छन् । तर उनी आफ्नो सफलता लगन्, मेहनत अनि साइ आशिर्बादको कारण भन्दछन । यो बैज्ञानिक युगमा एउटा ब्यक्तिमाथिको आस्था त 'रुढिबादी' ठहरिएला । तर पनि अरु धर्म, गुरु र प्रबचन संगै आजका मान्छेहरुमा साइबाबा प्रतिको भक्तभाब आस्था हो वा विश्वाश वा हो रहर ! गांठि कुरो बुझ्न सकेको छैन ।
Read more >>