तिमीसँग मैले के-के मागें !
तिमीसँग मैले फूल मागें,
तिमीले मलाई भूल दियौ ।
आशा मागें, खुशी मागें,
दिल मागें, सुख मागें,
तिमीले केबल खेलौना दियौ ।
प्रोत्साहन मागें, उमंग मागें,
तिमीसँग मैले सान्त्वना मागे ।
तिरस्कार दियौ, निराशा दियौ,
तिमीले मलाई खरानी दियौ ।
एक चोटि होइन, लाखौं पटक मागें
यसै होइन, हात जोडी मागें,
निहुरेर मागें, ढोगेर मागें,
मलाई तिमीले श्राप दियौ ।
लेखेर मागें, चिच्याएर मागें,
जोगी भै मागें अनि भोगी भै मागें,
तिमीसँग मैले रोगी भै मागें ।
उपहास दियौ, अन्धकार दियौ,
अब कहिल्यै नखुल्ने ढोका दियौ,
तिमीले मलाई धोका दियौ ।
तिमीसँग मैले वाह्-वाही मागें
तिमीले मलाई रिस दिलायौ,
मैले तिमीसँग ओखती मागें,
मलाई तिमीले बिश पिलायौ ।
मल्हम मागें, पट्टी मागें,
एउटा टेक्ने लठ्ठी मागें,
म फलेको फल सम्झेर होला
तिमीले मलाई झट्टी दियौ ।
मैले बिलौना मागें, फेरी आंशु मागे,
मलाई तिमीले रवाफ दियौ, घमन्ड दियौ ।
तिमीसँग मैले थपडी मागें,
तिमीले मलाई थप्पड दियौ,
सम्झना मागें, बिर्सना मागें
मलाई तिमीले झझल्को दियौ ।
तिमीसँग मैले,
एक त्यान्द्रो जिन्दगी बांच्ने रहर मागें,
मलाई तिमीले,
रातका हजारौं प्रहरहरु दियौ ।
मैले तिमीसँग के-के मागें ?
तिमीले मलाई के-के दियौ ?