जननी, जन्मभुमी र जन्मदिन :
बालखामा मलाई झोलुङ्गोमा छाडेर निबेक लगाउन आमा सधैं मेला जानुहुन्थ्यो रे । सानै उमेरमा धन कमाउने उदेश्यले बुवा परदेशमा हुनुहुन्थ्यो । आफु थाहा पाउने बेला भएदेखी भन्नु नै पर्दा बुवासँग बसेर धित मरुन्जेल मासु खाइ दसैं मनाउने अबसर मिलेको छैन । सदाका दसैं ठुलोबाको घरबाट किनिने एक बिसौली मासुले टारियो । परिवार परदेशमा भारी बोक्न हिंडेपछी जस्तासुकै भनौते चाड पनि नमिठा लाग्दरहेछन । सधैंको निबेकको आमको दैनिकी, झुलुङगोमा अरुले नहल्लाएनी रुवाबासिको एकान्तताको रुवाइको आफ्नो बाल्यकाल र बुवाको परदेशी बासले आज सम्झदं'नी खल्ला लाग्दरहेछन, ति दिनहरु । च्यातिएको गुन्युको त्यो झोलुङ्गोमा हुर्किएनी, रिमोटले चल्ने आधुनिक झोलुङगोमा हुर्किएनी मान्छेले पाउने शरीरको रुपरेखा त एउटै हुनेरहेछ । स्वादिस्ट चनाको पिठो खानेहरुको ज्यान खदिंलो र खोले खानेहरुको ज्यान अली दुर्बिलो । आखिर फरक यति नै रहेछ । तर आमाको काख भन्दा न्यानो मायाको खानि, स्नेहको चौतारी र ममताको भन्डार यो संसारमा कही कतै नपाईने रहेछ ।
बाख्राका बरकम्लासँग खेलेको गोठ, आमालाई हजुरबुवाले पेवा दिनुभएको रतौली बाख्रा र गाई चराउने ति सुन्दर खोरियाहरु, आफुले लाले-चम्रे गोरु नारेर जोतेका कान्ले बारीहरु, त्यो समाज,अनि ति गोठाले साथीहरु । सब बिराना भए । जन्मेको सुन्दर गाउ सुनसान भयो । आज बाध्यताले आफु परदेशिनुपर्दा सोचिंदो रहेछ, के मैले घांस झार्ने टांकिका बुट्टाहरु अहिले सम्म जिबितै होलान ? ओराले बनका सालका ठुटाहरु लम्पसार परेर म बन्चरे-भाइ कहिले आउँला भनी हेरीरहेको होला ? बुवाको जडौरी पैन्टमा आइरन लगाउन मैले तताएको कसौडी आमाले अझै साचिराख्नु भएको होला ? अनि जुनियर रेडक्रस र स्काउट गठन गर्न हामीले धाएका जिल्लाभरिका स्कुलहरु कस्ता भए होलान ? साथीहरु पनि सबै परदेशमा छन । ठुलाबा पनि बुढा हुनुभो बिचरा । हजुरआमा बित्नुभो । उता मामाघरमा मलाई कपुरी क सिकाउने हजुरबुवा पनि बित्नुभो । गाउं यसै सुनसान छ । पहिला हामी हुंदा गडगडाउने दरौंदी नदी अहिले साउने झरिमा पनि सुसाउन डराउंछ रे । सिर्दी खोलो पनि सुक्यो होला । पानी नपरेर कसैले खेत रोप्न पाएका छैनन रे, यिनाताका माससम्म । सम्झेर बसेको छु, आफुले खेली बिताएका उकाली, ओराली र दरौंदी फांटका खेतहरु ।
जीबन सार्थक नभए पनि यो धर्तिमा आफ्नो जन्माइ बाचुन्जेल एउटा सम्झना भएर ब्युंतिदोरहेछ, हरेक सालको एक दिन । सफल र असफल भनेर जिन्दगी छुट्टयाउने कुनै तराजु नभएपनी आफ्नो जन्मदिन कसलाई पो नराम्रो लाग्दो होला र ? आज त्यही जन्मदिनमा यो सांझपख आफ्नी जननीको सम्झना आयो । ममतामयी मेरी आमाको प्यारो कोखको याद आयो । 'दिशा' खाँदै सकी नसकी मच्चिएको गुन्ये झोलुङ्गोको याद आयो । कस्तो बिचित्रको हुदोरहेछ, आमाप्रतिको माया, बुवाप्रतिको श्रद्धा र आफन्तहरुको सम्झना - त्यो पनि यो बिरानो मुलुकबाट ! आमाको आशिर्बाद लिन भरे फोन गरुम भने सधैं भन्नुहुन्छ, 'गाउका सबै दाजुभाइ कती चोटि आएर गए । तिमी आउने कहिले बाबु ?' लेख्दा त झर्ने यि आशुहरुलाई म आमाको सामु कसरी ब्यक्त गर्न सक्छु र ? गला अड्की-अड्की, रुमालले आशु पुछ्दै परदेशका यि सारा दु:ख, झन्झट र बाध्यता कसरी बिलौना गरौ । आमाको मन न हो । परदेशमा रहेको छोरोको स्वर अलिकती गडबड भयो कि आँफै सुक्सुकाउन थाल्नुहुन्छ अनि भक्कानिएर झरेको मेरा आंशु देखेर श्रीमती आशु पुछ्न रुमाल दिन्छिन भने हजुरआमा र हजुरबुवासँग गफ गर्न तम्सने छोरो मेरै काखमा आएर मसंगै रुन थाल्छ ।
केबल सम्झनामा दिन बिताउने त बानी नै हो, सबै परदेशिहरुको । अत; यो जन्मदिनमा म आमाको त्यो कोखलाई फेरी सम्झन चाह्न्छु । स्नेहमुर्ती आमाको आशिर्बादले यो जिन्दगी सधै सत्यको बाटो हिंड्ने साहसको लागि मेरी आमा सम्झेर भगवानसँग प्रार्थाना गर्दछु । बुवाको कर्मठ छोरो हो भनी छाती फुलाउंछु । जन्मभुमी नेपालको परदेशी पुत्रको रुपमा सम्झनाका आंशु चढाउदै सत्यताको प्रतिफलको आशमा जन्मदिनको आभार जननी र जन्मभुमिप्रती ।