08 June 2011

नेताहरु र पाहुनाहरुसंगको बिदेशमा भेट : मिठो भात, बकम्फुसे आश्वाशन वा कार्यक्रम ?


आ-आफ्ना क्षेत्रमा स्थापित भएपछि मान्छेहरुलाई बिदेशमा पनि त्यसको प्रचार गर्न मन लाग्छ । एउटा गायकको एल्बम प्रचार होस् वा नायकको चलचित्र । निर्देशकको डकुमेण्ट्रि होस् वा निर्माताको लगानी । प्रतिस्पर्धाको यो जमानामा उनिहरु त्यसको "मार्केटिङ्" खोज्न थाल्छन । फलस्वरुप स्वदेश छाडी बिदेशको बजार भेट्न र प्रबर्धनको खोजाइमा भौतारिन्छन । आफ्नो पसिनाको लागतले निर्मित सिर्जनाहरु नेपाली समाजको खोजी गर्दै 'शेयर्' गर्न लागिपर्नु कलाकारहरुको मानेमा यो साँच्चै सकरात्मक प्रयास हो । तर चारैतिर घिर्णित 'राजनिति' को उपमा जोडेर परदेशका नेपाली समाजमा बिचारको भाषण गर्न सपनाहरु पालि आएका राजनितिकर्मीहरु भने कहिल्यै सफल हुन सकेका छैनन् । कसैलाई पचोस् वा नपचोस्, घोचोस् वा दुखोस्, चिलाओस वा कनाओस्, हांसुन वा उडाउन्, नेताहरु परदेश आएर कसैको घरमा चरेशको थालिमा "मिठो भात र दर्जनौं प्याक' लगाइ सफा बिस्तारामा डकार्नु बाहेक केही सफलताहरु देखिएका छैनन्, हाम्रा अनुभबहरुले ।

कलाकारहरुका बिदेशी कार्यक्रम प्राय: बिफल हुंदैनन् । सुन्दर अभिनय र न्रित्य, गायन र ठट्टा, आदिले बिदेशमा रहेका नेपालीहरु माझ तिनीहरुको प्रस्तुती सफलाई भएको मानिन्छ । अमेरिकामा रहेका नेपाली समाजमाझ प्रस्तुत भएका कलाकार रामकृष्ण ढकाल, यमा बराल, अन्जु पन्त, शिबहरी पौडेल्, दिपक-दिपाश्री, नलिना चित्रकार, दिपक बज्राचार्य र राजु लामा लगायतका कलाकरहरुको कार्यक्रममा नेपाली समाजको उपस्थिति गर्ब गर्न लायकै हुन्छ । मीठास र सत्यतामा चुर्लुम्म डुबी प्रस्तुतिएका तिनका कला र गला थकानले मरेतुल्य परदेशी नेपाली ज्यानहरुलाई मनोरन्जनको 'क्षणभर्' आनन्द साबित हुने गरेको छ । जगदिश समालको गजल, कर्ण दासको गायकी, सन्जीब प्रधानको पुरानोपन, यमन श्रेष्ठको युवा जोश, पुजा चन्दको अभिनय, सरोज खनालको सक्रियता, प्रेमराजा महतको अभिभाकत्व र लोकशैलि, दिपेश किशोर भट्टराईको जोश, सारङ्गाको नाच, सपनाश्रीको गला, रबी लामिछानेको उद्घोशण, सरिश्माको पप र राजु लामाको प्रतिभा अहिले पनि अमेरिकामा रहेका नेपाली समाजले उत्तिकै रुचाएका पात्रहरु हुन । गत साल प्रस्तुत भएका महानायक राजेश हमालको उपस्थितीको बयान गरि साध्यै नहोला ।

तर 'राजनैतिक बिल्ला' भिरेर बिरालो झैं आइ बाघ झैं गर्जने नेताहरुको कुनै पनि उपस्थिती फलदायक भएनन । केही बर्ष पहिले राजनैतिक कर्यक्रममा अमेरिका आएकी कांग्रेस नेत्री चित्रलेखा यादबको भब्य स्वागत भयो, बोस्टनमा । आफ्नै कलहको क्यान्सरले ग्रसित नेपाली जनसम्पर्क समिति भन्ने काग्रेसको प्रबासी संगठनको आधिकारिकताको सवालमा 'भात खाउन्जेल' उनले निर्बाचित समितिलाई बधाई दिइन्, खुबै प्रशंशा गरिन । भोलिपल्ट न्यूयोर्क पुगेर 'डिक्याफ कफी पिउंदै' बिभाजित अर्कै समितिको गुणगान गाइन । शुशिल कोइराला आए, बाल्टिमोरमा बाल्टिमा पानी हालेर नुहाए, न्यूयोर्कमा चिया पिए, भर्जिनियामा भात खाए र सान्-फ्रान्सिस्कोमा गएर डकारे । उतैबाट नेपाल उडे । बिबादले अहिले सम्म बिभाजित समिति "डबल क्यान्सर्'ले प्रताडित हुँदै प्रख्यात वकिल खगेन्द्र जि सी को अस्पतालमा उपचार गराइरहेको छ । रामशरण महत आए, पुरानो अफिस यू एन गए । पुराना साथिहरु भेटे, हात मिलाए, कांग्रेसको भवन बनाउन पैसा उठाए, टन्सिलले ग्रस्त घांटीलाई लेमन टी पिउंदै नेपाल लागे । प्रकाशमान सिंह आए, सान्-फ्रान्सिसकोको गोल्डेन पुल हेरे फोटो खिचाए, उतै बाट बाटो तताए । गत महिना तारानाथ रानाभाट आए । अमेरिकामा पनि उनी "भटटट" भटभटे चढे । १० जना उपस्थित अन्तर्क्रिया कार्यक्रममा आफ्नै संगठनका अरु साथिहरुको अनुपस्थितीप्रति 'टेन्सन्' लिएनन । खट्टे चपाए र अहिले नेपालमा अनशन बस्दै छन् क्यार । तर ब्यक्तिबादको रोग लागेको, कोहि माथी गएको देख्न नचाहने इर्श्यालुहरुको जमातले कब्जा गरेको, परिवारबादको आशिर्बादले ग्रस्त, डाहा र क्रोधले लठ्ठीको साहारामा उभिएको कांग्रेसको समिति कहिल्यै बिबाद मुक्त हुन सकेन । चिरा चिरामा फुटेको फोरम, परिवार दल र चुरे भावर जस्तो भएर बसेको छ, यहाँको काग्रेस । सबै बाठा, सबै टाठा । नेपालमा राजनीतिको भाटा नउठाएकाहरु यहाँ आएर 'नेता' को गुलामी गर्ने बानीले असन्तोशमा अल्झिरहेको छ ।

नयाँ नेपालको सपना बाड्दै 'साम्रज्यबादी' अमेरिकामा शाखा सन्तानको गुल्म बोकेर आएका तत्कालिन प्रधानमन्त्री प्रचन्ड आफ्ना केही भुरे-भाउरेहरुलाई अघि-पछी लगाउन बाहेक केही लचार्न सकेनन । 'ब्रोकन एङ्लिश्'मा यू एन को उनको भाशणलाई प्रचन्डको पाइला-पाइलाको फोटो खिच्ने 'नागरिक पत्रकार्' हरुले यू टुब मा राख्नु बाहेक केही उन्नति भएन । करिब एघार बर्ष 'जनताको लागि' लडेका नेतालाई 'साम्राज्यबादीहरु' मन नपरे पनि यहाँको बिकाश र 'सिस्टम'ले त पक्कै छक्क पार्यो होला । पसिनाले अहोरात्र निर्मित ढलेका ती टावरहरुको याद् आयो होला । टोडिएका जल बिद्धुत कारखानाहरुको याद् आयो होला । छोडिएका आन्दोलनका संगीहरुको याद् आयो होला । उनले लगाएका 'नेपाली टोपी' खस्ने न्यूयोर्कका गगनचुम्बी घरहरुले बन्दै गर्दा बम पड्केका सन्चय कोशका भवनका याद् आए होलान् । 'मिठो भात संगै केही प्याग' लगाएर किचिएका फोटाहरु फेसबूकमा 'ट्याग' त भयो । नयाँ नेपाल बनाउन परदेशमा देखेका उनका बिकाशे आंखाहरुले केही त्याग गरेनन । कर्मठ कर्मचारी रामेश्वर खनाललाई घोक्रेठ्याक लाउने 'अर्थमन्त्री' भरतमोहन अधिकारी आए । दुताबासमा मज्जाले अन्तर्बार्ता दिए, आंखी भौं कनाउदै नेपाल लागे । अब हेर्नुछ, नेपालको ॠणी बजेटमा तिनका आंखाले बिकासका कस्ता खम्बा ठडाउने छन् ! सात बर्ष पहिले नेपाली फोरमका नायक उपेन्द्र यादब आएका थिए, ए न ए को सम्मेलनमा तीनले मज्जाले भाशण ठोके । लाग्थ्यो, यिनले चाँही केही गर्छन्, आज फुटेर उनी आफ्नै टाउको कनाउदैछन । गत साल भिम बहादुर तामाङ् आएका थिए, न्यू योर्क । एउटा जातिले उनलाई रातारात बोस्टन ल्याएछ, खादा ओडाएछन् । रामदेवलाई दिल्ली कटाएजस्तो त्यहांका काङ्रेसीहरुले थाहा पाउलान भनि एकबिहानै बोस्टन कटाउन लागेछन । सदा जीबनका धनी बिचारक उनलाई ब्यक्तिगत रुपमा केही पुस्तकहरु म र एक जना गैर राजनितिक दाजुले उपहार दिन किनेका थियौं । बल्ल भेटियो र दिन पाइयो । त्यहांका अरु काङ्रेसी देखेरे बुढा दंग । कुरो के भने, रंग जे पोते पनि नेपालबाटा आउने पाहुनाहरुलाई जातियताको पोतन गर्ने चलनले ग्रसित छ, यहाँको नेपाली समाज ।

गत साल क्यालिफोर्नियामा ढुङ्गाना थरका एक 'ज्योतिश्' आए । खुबै चर्चा भयो, उनको । धेरैका हात हेरे, तिनले । जसको ग्रीन कार्ड छ, तीनलाई उनले कागज बन्न धेरै संघर्श गर्नु पर्ने बताए । घरमा शान्ति ल्याउन सबैलाई उनले 'कुकुर पाल्न' अनुरोध् गरे । अली हुनेखानेहरुलाई त बिगारेर भनेपनि मिलिहाल्छ । त्यो त सबैलाई थाहा भएकै कुरो हो । जसको बढी जुहारत देखे, तिनलाई कम्प्युटरमा औंला घुमाउदैं 'भाग्यरेखा' पढाए, औंठी बिकाए । जो अलि दरिद्री लग्यो, तीनलाई हचुवाको भरमा भाग्य डराइदिए । लगत्तै, लोहनी थरका ज्योतिश आए । नेपालमा नाम चलेका भन्छन् क्यार ! मलाइ थाहा बहेनुसार कुनै जमानामा तिनी पी के कलेज अगाडि रक्सीको दोकान थापेर बस्दथे । बोल्दैमा हात् हेराउन आउने "कस्टमर्' भाग्लान जस्ता । तिनका पछाडि पनि भाग्य देखाउन लाइन लाग्यौं, हामीहरु । कसैलाई उनले क्यालिफोर्निया छाडेर भोलि नै 'क' बाट नाम् आउने अर्कै 'स्टेट' सर्न भने । यहाँ बसे काल आउने र जोगी हुने योग देखाए । कसैलाइ, 'स' बाट आउने नामको पत्रिका खोले चल्ने साध्य सिकाए । कसैलाइ राम्रै द्केह होला, राम्रै भने । ज-जसको मा बसे, तीनको राम्रो भने, जो हेराउन गए, हाइ-हाइ गर्दै निद्राको सुरमा हत्केलाहरु पढे । यसो त बिदेशमा जसले राम्रो खुवायो, जसले बिस्तारा अगाडि पंखा जडान गरिदियो, जसले हलिवूड घुमायो, जसले बिमानास्थलबाट 'पिक अप" गर्‍यो । तिनैका घरको, तिनैका राजनैतिक पार्टीको बेलिबिस्तारी बखन गाउने चलन छ, बिदेशका प्रत्येक नेपाली समाजमा ।
कसैको पक्ष नलिइ बोल्नु पर्दा भन्नै पर्छ, केही साल पहिले डा. बाबुराम भट्टराईको अमेरिकी भ्रमण सबैले अहिलेसम्म 'मिस' गरेका कार्यक्रमहरु हुन । नेपालको प्रख्यात ब्लग साइट 'माइसन्सार डट कम' मा खोज्यो भने अहिले पनि भेटिन्छ, पुराना पोस्टहरुमा कि उनी मन्त्री छदां बखत पनि आफ्नै खर्चमा परदेशको नेपाली समाजमाझ प्रस्तुत हुंदा नेपाली मन्त्रीको धमास दिएनन्, । शालिन तवरले हार्वर्ड बिश्वबिद्धालयको कार्यक्रममा उनले बोलेका प्रत्येक बचनहरु गाई चराउंदै एस एल सी को तयारी गरेको विद्यार्थी बोलेको भान हुन्थ्यो । आफ्ना अनुभबहरुको सरल 'शेयर्' र देश् बनाउन बचेका डलर नेपालमा लगानी गर्न नेपाली समाजमा उनले गरेको आग्रह सबैका मगजमा सदा ताजा रहन्थे । नेपाली समाजमा प्रख्यात 'साझा सवाल्' का प्रस्तोता तन्नेरी पत्रकार नारायण श्रेष्ठको अमेरिकी भ्रमण उनले उतार्न खोजेका 'परदेशिएका युवा शक्ति'को लेखाजोखा हामि आज पनि खोज्यौं भने हेर्न सक्छौं । हरेक पाइलाहरु परिवर्तनको लागि सदुपयोग गरिनुपर्छ भन्ने मान्यताका धनी पत्रकार श्रेष्ठको नेपाली समाज संगको भेट, प्रवल गुरुङ संगको भेट र एउटा कुनामा रहेर पनि यहाँ रहेका नेपाली बन्धुहरुको खोजी साँच्चै सोचनिय थियो । प्रसिद्ध बिद्धान डा. चिन्तामणि योगीको कयौं पटकको अमेरिकी भ्रमण नेपाली समाजसंग मात्रै बित्छ । आफूले जानेका कुरा र जिवनका अनुभवहरु, बच्चादेखी बुढाहरुसम्म सरल तरिकाले पढाउने उनको तरिका सबैका माझ प्रख्यात छ ।

परदेशिएर पनि एकता हुन नसक्नु नेपाली समाजको पुरानो रोगै हो । त्यसमाथीको राजनैतिक आबरण, जातिगत बिभाजन, पाहुने पाल्ने अस्वस्थ प्रतिस्पर्धा, फाइ-फिट्टिको नसुहांदो प्रदर्शन र डाहले ग्रस्त हुदा-हुदै पनि नेपालबाट परदेश आउने नेता, कलाकार र समाजकहरुको भ्रमण आसे-पासेहरुकै यताउती घुमुरहनु सकरात्मक हुदैंन । ईजरायल होस वा अरब, बेलायत होस् वा अमेरिका, अश्ट्रेलिया होस् वा स्पेन अनी जापान होस् वा जर्मनी, आफैमा बिभाजित नेपाली समाजमा ती नेता, कलाकार वा समाजकहरुको भ्रमण 'गुलामि' भन्दा 'गुलाफि' बने र बनाए राम्रो हुने न हो ।
Read more >>

13 April 2011

नयाँ बर्षको शुभकामना !!!


भ्रष्टाचारीहरुको 'लाश' बनेर आओस्, नयाँ बर्ष
संबिधान नलेख्नेहरुको 'उठिबाश' बनेर आओस, नयाँ बर्ष,
निमुखाहरुको 'उल्लास ' बनेर आओस, नयाँ बर्ष
नेपाल आमाको मुहार 'झकांस' बनेर आओस, नयाँ बर्ष ।

नयाँ आशा र प्रगती बोकेर आउने नयाँ बर्ष २०६८ सालको मंगलमय शुभकामना !!!
Read more >>

06 April 2011

सालाहरुको गोलिमा डराइमर्नु जिन्दगी :


सुन्दर सपनाहरु बोकेर बिदेशिनु सोचेजस्तो कहाँ सबल हुन्छ र ? धन कमाउंला, जस्ताको छानो छाउंला, साहुहरुको ॠण तिरौंला, केही बचेका सुकीहरु लागेर परिवार संगै बाँकी जिन्दगी मानो पाथिमा बिताउंला भन्ने सपना पनि सबैका कहाँ सफल हुंदा रहेछन् र ? सबल सपना सफल हुनु सजिलो रहेनछ । दशैंमा टीका लगाउन तयार निधार ॠणको पोको बोकेर धनको धोकोमा हिड्नु शायदै सहज होला । हाम्रा पसिना चुसेर पनि नपुगेर राश्ट्रको ढुकुटी लुट्ने भ्रश्टाचारीहरु, दिनभरी भारी बोकेर खाने कांधमा गोली ठोक्ने लठैतहरु, संबिधान बनाउने नाममा घरको छाक बचाएर संसद भवनमा लन्च र डिनर खान पल्केका बकम्फुसेहरुको जगजगीले अबसर गुमेपछी परदेश भासिएका लाखौं नेपाली युबक र चेलिहरुका सपना कहाँ साकार भएका छन र ? उपायनास्ती जिन्दगीलाई दुई पैसा कमाउने प्रलोभनले जब अरबको मरुभुमी पुर्याउंछ, ती नेपालाई चेली त्यहि बलात्क्रीत र हत्या भएका कयौं घटनाहरु ताजै छन्, हाम्रा सामु । धेरै कमाउने अशामा जायज्याथा बेचेर किनिएको हवाइ टिकेटको म्याद नसकिदैं कामको सट्टा जेलमा चिसिनुपर्ने बाध्यताहरु पनि हाम्रै दाजुभाईहरुले भोगेकै कुरा हो ।

गत बर्ष अमेरिकाको बोस्टनमा एउटा सन्कीले वहियातमा हाम्रा दाजुको हत्या गर्‍यो । अमेरिकाको टेक्सास पनि यस्ता हत्या बढी नै हुने स्थानमा गनिन्छ । बाल्टिमोरमा कन्चटमा पेस्तोल नतेर्स्याइएका कमै नेपाली होलान् । अबसरको खोजिमा यसरी परदेशिंदा आफ्नो कर्तब्य निर्बाहको क्रममा सित्तैमा यहाँका 'साला' अपराधीहरुको गोलिमा जिन्दगी जाने डराइमर्दो अवस्था छ । र हिजो, झापाका हाम्रा भाई रोशन भण्डारीको हत्या भएको छ । दर्दनाक यस्ता घटनाका पछाडि धेरै खेलहरु छन्, त्यो भन्दा बढी संसारमा आफूलाई सर्बेसर्बा ठान्ने कथित अमेरिकी कानुनको । आफूले काम गर्ने ठाउंमा कसैले डकैत (Robbery) गर्‍यो । आफ्नै आंखा अगाडि घटेका घटनाको बेलिबिस्तार स्थानिय प्रशाशनलाई जानकारी गराउनै पर्ने । प्रशाशनले चोर् देखेको थीइस् भन्छ, सांचो बोलुं - चोरको अगाडि अदालतमा साक्षी बस्न जानु पर्ने । नभनुं, साहुले चोरीले आफूलाई घाटा लागेको बहानामा जागिरबाट लात मारिदिने । जाबो सात डलरको लोभमा काम गर्नुपर्ने हाम्रो मजदुरी जिन्दगी, त्यो पनि सालाहरुको पेस्तोलको गोलीको डरमा । कर्तब्यवान रोशनले चोरको अगाडि प्रस्तुत हुन अदालत जानुपर्ने भो । साला अपराधीहरुले उनलाई अदालत जना लगेकै बखत रोशनले काम गर्ने स्टोरकै अगाडि उनकै कारभित्र गोली ठोके, उनी त्यहिं मरे । कानुनी राजको बखान गरि नथाक्ने अमेरिकी आडम्बरी नियम्, चोरको अगाडि 'हो, त्यहि हो अपराधि' भन्न जानु पर्ने । साहु हामीले जाबो पानी मिसाएको कोक पियौं कि भनेर घरमा बसेर भिडियो हेर्छ, हामी भने साहुको दोकानमा पानी मिसाएको कोक पनि खेर नजाओस भनेर ट्र्यासमा फ्यांकिएका कपहरु पनि धोइ पखाली राखिदिन्छौं । कसैले मात्रा भन्दा बढी पिएमा 'रिफिल चार्ज' भन्दै ९९ सेन्टस चार्ज लगाउछौं, झगडा गर्छौं, बिएर चोरेर भाग्न लागे भने आफ्नो अगाडि भएको स्टापलरले चोरको टाउकोमा हान्छौं । इमन्दारिताको त्यो प्रयास कहाँ लागु हुन्छ र ? कहाँ अमेरिकी जिससले देख्छन र ? बदालामा साला अपराधीहरुको गोली हामि नै खान्छौं । लस एन्जलसमा हिजो अपराधीहरुले 'साक्षि' बिचरा भाइ रोशनको जिन्दगी नै उडाइदिए, २ घन्टा पछि पुलिस आयो रे, अपराधी भग्यो । साहुले के गुमायो त ? मुला सात डलरे हाम्रो जिन्दगी त्यसै जान्छ । बेरोजगारीले डकैती बढेको छा अमेरिकाको कुनै पनि कुनामा । फेरि जहाँ कुनो, त्यहि ७-११ भने स्टोर । डकैतहरु त लुट्न कुनो खोइज्दै न आंउछन्, त्यहि कुनामा हामीहरु काम गरिराखेका हुन्छम्, अनाहकमा आफ्नै दुनो मासिरहेका हुन्छौं, त्यहां सिंगो अमेरिका हुन्छ, जहां अपराधीहरु धेरै हुन्छन् ।

त्यो सुन्दर जन्मभुमिमा बत्ति बल्दैन । यहाँ बत्ति बलिराखेकै बेलामा हामीलाई गोली ठोक्छन । चोर नेताहरुका सन्तान पजेरोमा सवार हुदैं भारतिय बोर्डिङ पढ्छन्, यहाँ हामि घन्टाको सात डलरमा काम गरेर, कलेजको शुल्क तिरेर बचेँको पैसाले एउटा खटारो किन्छम । रास्ट्रको ढुकुती डकैत गर्नेका सन्तानहरु सुरा र सुन्दरीको साथमा तिनका बाउका शेयर भएको क्यासिनोमा च्याखे थाप्छन्, यहाँ हामी थोत्रो फ्रिजरमा राखेको बासी पिज्जा टोक्दै साहुलाई अझै साहु बनाउन छातीमा गोली थाप्छम । जांदले लठ्ठ भ्रश्टाचारिका सन्तान लिन क्यासिनो र नाङ्गा बारमा गार्ड सहित पजेराहरु पुग्छन्, ती अर्धम्रित जाडका पोकाहरु उठाउन । यहाँ हाम्रो लाश उठाउने कोहि हुदैन । बियोग र बेदनामा बित्दो रहेछ, परदेशको जिन्दगी । कसलाई भनेर के नै पो मिल्दो रहेछ र ?

रामेश्वर खनाल जस्ता कर्मठ कर्मचारी अट्दैनन्, देशको काममा । कुलेखानी सुक्यो, मर्श्याङ्दी बग्दैन । कालिगन्डकी कहीले बनेर देश्ले बिजुली पाउने ? भारतबाट 'दो रुपये' लिएर नेपाल छिरेका धोतीहरुको भलाइका लागि झलनाथ खनाल र भरतमोहनहरुको लालमोहर लाग्छ । १० औं खर्ब रुपैया कर छल्ने चौधरी र गोल्छहरुको पन्जामा अडेको छ, मुलुक । रास्ट्र बनाउन खलाती खियाउने गोल्छेहरुको आरान बन्द, आवाज बन्द र आवास बन्द । ससुरालीको आडमा अबैध धन्दा गर्ने रुबेल चौधरीहरुको पेवा रहेछ, नेपाल । मामाघरमा मजाले फलेको मेवा रहेछ, नेपाल बिनोद चौधरीहरुको । यी देश् लुटुवाहरुलाई दिने पैसा नेपाल आमाले अरबको खाडिमा पसिना चुहाउने ज्यानहरुलाई दिएको भए, कति कुखुराहरु पालिन्थे होला ? काउली कति फल्दाहुन्, खोरियाहरुमा ? कोरियाहरुमा सपना सजाउन पासपोर्ट लिना पररास्ट्र मन्त्रालयमा तीन दिनदेखी लाइन लागेका 'शक्ति'लाई सक्छन भने झलनाथले लाइनमै कम्तिमा १० हजार रुपैया ॠण हातमा राखिदिने शाहस गरुन् । अनी हेरौं, कहाँ के फल्दोरहेछ ? त्यसो त, हाम्रो त न पेवा न मेवा ! आमाले पेवामा पाल्नुभाको रतौली बाख्रा र मामघरका हजुरबुवाले दिनुभाको खोरिया बेचेर परदेश आइयो । काम नगरौ, के खाने ? ॠणको त कुरै छाडौं, गरौं, सालाहरुको पेस्तोलको डराइमर्दो जिन्दगी ।


रोशन भण्डारीको आत्माले शान्ति पाओस् । हार्दिक श्रद्धान्जली तिमीलाई !!!
Read more >>

22 December 2010

कात्रोमा खल्ति नहुनेरहेछ !


तेरो र मेरो । फलानाको यस्तो, ढिस्कानाको त उस्तो । म पराइ, तपाईं आफन्त । अचम्मको छ, यो संसारको रीत । "हेर, रामे पढेको, रात भारी बत्ती झिपिक्कै नपारी पढ्या र'च । हाम्रो चाँही !" एकाबिहानै पधेंर जांदा बत्ती बलेको देखि हजुरआमाको रिस हो यो, आफ्नै दुई नाती बीचको । बत्ती बाले रामे पराइ, नपढ्ने श्याम आफ्नु । आबैको गजबको भेदभाब । आबैको मायाले केही फुरुक्क देखिए पनि अल्छी श्यामे सम्झदो हो, आफ्नै कोखका दुई फरक छोराका हामी छोराहरु बीच किन आबैको फरक माया ? हो, यसरी नजानिंदो तरिकाले डेरा गाड्न थाल्दो रहेछ, मान्छेको मनमा इर्श्याले । राजाका जहानमा जन्मेका राजकुमारहरु होउन्, वा कटेराको छेउमा जन्मेका निमुखा हुन्, मात्रा मात्रै फरक, चिज हुंदोरहेछ, इर्श्याको ।

जब मान्छे ठुलो हुन्छ, परिवारमा सिकेको बानी र इर्श्यालाई फोटोकपी गर्न थाल्छ । रवाफ र घमन्ड माथि इर्श्याले राज गर्‍यो भने चितवनको लजमा सुजाताको ज्वाँई र पारसको गोली काण्ड जस्तो घटनाले स्थान पाउंछ । हावामा हानेको पारसको त्यो गोली 'ज्वाइं बिचरो'लाई लागेको भए, यो धर्तिबाट बिदा !!! अनी अबैध रुपमा नेपालमा बसेर दुई नम्बरी काम गर्ने उसको सपना चकनाचुर ! धन्न बांच्यो, अब सासूले हेर्लिन नि, ज्वाइसाहेबलाई पैसा कमाउने धन्दाका अबसरहरु । एउटी महिला शिक्षिकाले निरन्तर आफुमाथी शक्तिको भरमा बलत्कार गरेको आरोपमा छुरा रोपेर मारिदिइन, भारतका एक सांसदलाई । शक्तिको भरमा गाउंकी सोझी महिलालाई बलत्कार गर्ने बिहारीले ज्यान गुमायो । पाकिस्तानको पन्जाब प्रान्तका गभर्नरलाई आफ्नै अङ्गरक्षकले आज गोली हानी मारिदियो । जीवन मरणको सजाय पाएको पापीलाई बचाउन खोजेकोले गार्डले ६ गोली ठोकेको रे ! तर हाम्रो मुलुकका एउटा इमान्दार प्रहरीले समाएको अबैध पजेरोका भोकाहरु बन्दुकको भरमा प्रहरी अड्डामा चाबी बुझ्न शरम मान्दैनन्, कोहि यिनीहरुलाई गोली ठोक्नेहरु ? जहाज बेच्न खोज्नेहरु, जहाज किनेर कमिशन खाने र खान खोज्ने तस्करहरु, पत्रकार मार्ने हत्याराहरु, आफ्नै चेली बेच्ने पिपाशुहरु, भ्रश्टचारी र घूसखोरीहरुलाई जांकेर चिस्याउनेहरु खोइ ? कांग्रेसमा गगन थापा छन्, यिनी कहीले माथि आउने ?, जहाँ परिवारबाद मात्रै लागु हुन्छ । माओबादिका बाबुरामलाई कहिल्यै माथि आउन दिएनन, बन्दुकेहरुले । निर्बिकल्प प्रधानमन्त्री उनका हरेक काम लाग्ने बिषयहरु केबल 'नोट अफ डिसेन्ट' बनेर थन्किन्छ, जहाँ राणाबाद लागु हुन्छ । बरु पोइल आका प्रकाशहरुको बोलवाला हुन्छ तर डा. साहेबलाई कोहि सुन्दैनन । प्रहरीका रमेश खरेलले केही गर्लान भन्ने आश् थियो, चाकरिवाजको कारखाना नेपाल पुलिस । रावल र चन्दका भरौटे पुरस्क्रित, खरेल बिदामा ।

माथिका उदाहरण र सत्य चिजहरु जिबनमा मान्छेले पाउने कर्म रहेछ । जिम्मेवारी र कर्म सत्य सम्झेर गर्नेहरु जिन्दगीमा हार्दैनन भने सांसद भएर शिक्षिका बलत्कार गर्नेहरु, शक्तिको भरमा लाशमाथी राजनीति गर्नेहरु नै हुन, असफल हुने । सबैलाई थाहा छ, जिबनमा मरी लाने केही छैन । पृथ्वीनारायण शाहको पालादेखीको सम्पत्ति सोरेका राजा बिरेन्द्रको बंशै सखाप भो । त्यत्रो तागत भा'का तिनैका भाईलाई नपुग्दो के थियो र ? आज एउटा डांडांमा जोगी भएर बस्नु परेको छ । तिनी भन्दा चैनले बसेका छन, पल्लो पाटोमा बरु ओशो आश्रमका गुरुहरु । त्यसैले जन्मेर मान्छेले लाने भनेको सम्झना मात्र रहेछ । अरुले सम्झेर स्वर्गमा लाग्ने बाडुल्की रहेछ, जिन्दगीको धन । पैसा-पैसा भनेर नेपालको बिल गेटस बन्ने सपना बोकेका नारायण सिंह पुनलाई एक चम्चा ग्लुकोज खुवाउने मान्छे भएन रे, मर्ने बेलामा । उनका तरुनीहरु त नेपालको एउटा राम्रै पार्टीको भाइ संगठनका कार्यकर्ताहरु जति थिए रे । पैसाका पछाडि दकुरेका ती 'दुइ दिनेहरु' पुनलाई ओखती खुवाउन्जेल के बस्थे र ? भारतको अस्पतालमा रोइ रोइ प्राण त्यागे, बिचरा पुनले । नेपाली राजनेताका भन्दा बढी पावर चलाउने मोहन खेतान मरे, न गोरखा ब्रुवरी संगै गयो, न त पैसाको मारबाडी बोरा नै । रित्तो हात गए उनी पनि । सबैको प्राण केबल प्राण मात्रै त्यागेर जान्छ । मारबाडी, नेता, भ्रस्टाचारी, तपाईं, हामी सबैको ।

अपराध गरेर बनेको भारतिय ती सांसदको मरण पनि मरण्, माहात्मा गान्धीको पनि मरण । अङगरक्षकको गोलीले मर्ने गभर्नरको पनि मरण, बेनिजिर भुट्टोको पनि मरण । मिर्जा दिलसा बेगको पनि मरण, बी पी कोइरालाको पनि मरण । समर्पणमा जस्सका जिन्दगी त्यागले बिते, तिनका जिन्दगी सफल । बेइमान र रवाफले मर्ने बेलामा जेरि-जुलाफी दिंदोरहेनछ । मरेका सहि आत्माका सम्झना पो जिन्दगी, धनको रवाफले अडेको के जिन्दगी ? आफुले दुध हालेको चिया पिए, निमुखालाई कालो चिया पिलाउने साहस पो जिन्दगि, खीरको खाएर सुकुम्बासी बस्तिमा झुसीले डकार डकार्नेको के जिन्दगी ? झुपरीको सुखद दाम्पत्य पो जिन्दगि, आलिशान महलका महंगा बत्ती र फर्निचर भांचिने झगडाको के जिन्दगी ? संबिधान नै नलेखिएको बेलायती कानुनी राजको जनताको पो जिन्दगी, हाम्रा पसिना र करले एउटा मिटिङ्गमा जांदा तीन चोटि खाने अनी हामीलाई स्संबिधान नदिने ६०१ बेइज्जेतीहरुको के जिन्दगी ? त्यसो त जसले जसरी निर्बाह गरे पनि लास्टां कसैले साथमा लाने केही कुरो बनेको रहेनछ, यो धर्तिमा किनकी कात्रोमा खल्ती नहुने रहेछ ।
Read more >>

04 December 2010

आमा !


पाहुनाको कलममा भाई ईश्वरको रचना सान्दर्भिक लागेकोले कपि पेस्ट गरेको छु :

नरोउ अझै बलिन्द्र बलिन्द्रधारा आसुँ झारेर
नबुन, सपनाहरु छोराको आधार मानेर
बिर्स यो अभागीलाई।
यो कपुत अनी तिम्रो मुटु दु:खाइरहने
सधैं बाहाना मात्र बुनेर झुक्क्याइरहने गफाडीलाई।

सायद, छोरो जन्मियो भनेर
खुशीका आसुँहरु झारेकीथियौ होला
तर आज
त्यो आसुँ अभिसाप बन्दैछ, तिमीलाई
तिम्रो खुशीमाथी दुख र पिरहरु,
घाऊ र चोटहरु दिने
चर्किएको आलो घाऊमाथी
अमिलो घसेर नुन र बेसार छर्दैछ।
यो कपुत र बेइमानी छोरोले।

तैपनी हेर अझै केही बर्षहरु
तिम्रो आसुँ पुछ्ने रुमालका
एक एक धागाहरु बुन्दैछु म।
कती बर्षहरु लाग्ने हुन, थाहा छैन
तैपनी अझै धैर्ये गर।

फेरिपनी एक्चोटी गफ लडाउदैछु म
आसाका त्यान्द्रो गास्दैछु,
नटुटाउ धैर्येका बाधहरु
एकदिन त सक्छु कि
त्यो आसुँ पुछ्न
एदी अझैपनी सकिन भने,
गालामा थप्प्ड मारौली।

आजसम्म तिम्रो सपना साकार पार्न सकिन
सोच गरे धेरै सपनाका महलहरु,
बालुवाको दलदले हिलोमा
जग खनेर घर ठड्ड्याउन खोज्दैछु।
तर भात्किये सारा सपनाहरु

तैपनी आमा पर्खनुस्!
केही हिउद र बर्षाहरु
यो साउनको झरिले एकपटक
अबस्य पखल्छ मेरा ग्रह दशाहरु.
अनी नयाँ बसन्तका पलुवाहरु पलाउनेछन।
जिबनमा रङी-बिरङी फुलहरु फक्रनेछन
नयाँ मकर सक्रन्तीपछी
सुर्येले मलाई शुभ फल दिनेछ।
सधैं औशीमात्र आउने मेरो जिबनमा
पुर्णिमाको एक झुल्को उज्ज्यालो छाउनेछ।
अनिमात्र म तिम्रो मुख हेर्नेछु,
मेरो जिबनका उपहारहरु
तिम्रा सपनाका प्रतिफलहरु
म एउटा पछ्येउरीमा पोको पारेर
उपहारस्वरुप तिम्रो हातमा थम्याउनेछु।

पख्ननुस् आमा! केही हिउद र बर्षाहरु,
आउनेछ,औसीको रातपछीको पुर्णिमा
अनिमात्र हेरौला तिम्रो मुख
र पुछौला, तिम्रा आसुहरु
पुरा गरौला मेरा र तिम्रा अतितका सपनाहरु।

अनी बल्ल त्यती बेला
भन्लेउ मलाई शिरमाथी हात राखेर
"छोरा"! त कपुत होइन रहेछस।
तेसैले पर्ख आमा! पर्ख!!
Read more >>

27 October 2010

ब्लगिङको बार्शिकी : उकाली, ओराली र चौतारी


चिसो मौसम शुरु भयो कि ब्लग लेख्न शुरु गरेको याद आउंछ । नजानिकनै, जे आयो त्यहि र जे पायो त्यहि लेखेरै शुरु गरेको दुई बर्ष भएछ । परदेशमा कामकै चटारो । नगरी केही फेरि लाग्दैन, मुखमा माड । आफ्नै देशमा भए त केही अर्थ लाग्थ्यो होला । परदेशमा जिन्दगी सोचे जस्तो पटक्कै हुंदोरहेनछ । न खान भ्याइन्छ, न सुत्न पाईन्छ । दांत माझ्न र नुहाउन त जसरी पनि पर्‍यो । अरु कुराका कुनै ठेगान छैनन । राजदुत होउन् वा परदेशी कम्पनिका अफिसर । पत्रकार होउन वा लेखक, सबैको हालत यस्तै छ । बिद्धार्थी र घण्टामा काम गर्ने हामीहरु जस्ताको हबिगत त जापनी सरकारले फोहोर उठाउन गोरखालाई दिएको र दुई महिनामै बिग्रिएर झाडिमा थन्किएको 'डम्फर' जस्तो छ । जिन्दगी नै ब्लग, हालतै ब्लग, परिबेश र वरपरका सारा चिजहरु पनि ब्लग भा'का छन्, आजकाल । बाटामा हिंड्दा यसो सम्झियो केहि, लेखुंला भरे भन्यो, समयै मिल्दैन । निद्राले मरिसक्छ, ज्यान । सम्झेका र कल्पेका सारा 'शिर्शक'हरु भुलिन्छन । फेरि, रगत बगेको ब्लग भन्दा पसिना बगाउने 'त्यो फेसबूक्' भन्ने जन्तुले पनि सबै बिगार्यो । ब्लग लेख्न समय लाग्ने, बरु फेसबूक खोल्यो, नानाभाती हेर्यो, झपक्क निद्रा लागिसकेको हुन्छ, त्यतै पल्टियो । पल्टिन भ्याको छैन, बिहानी हुन्छ । भाले त यतातिर बास्दारहेनछन । भाले गाडीहरु कराउन थाल्छन्, बलजफ्ती उठ्यो, शुरु भो दैनिकी । फर्क्यो, फेरि फेसबूक । यताबाट एउटाले हेल्लो भन्छ, आर्कोले हाइ भन्छ । आफ्नो हाइ मरिसकेको हुन्छ, सकि-नसकी पल्टियो, पारा उही । र पनि एकचोटि नखोली सन्तोकै लाग्दैन । अनि, कहीले लेख्ने ब्लग ? के राख्ने लेखेर ? बर्बादै भाको छ ।

पहिला खुबै जांगर लाग्थ्यो, लेख्नलाई । ज्यान गलेर आजकाल त लेख्न मात्रै होईन, देख्न पनि जागर मरिसक्यो । यसो भनिरह्यो भने त एउटा बिरामी निद्रामा बरबराएको जस्तो ठहरिएला । तर सांचो के रहेछ भने, ओखती पसलमा पराय सबै रोग निदानका ओखती भए पो बिरामीले किन्छन । बिरामीले ओखती किने पो पसलेले अरु धेरै सिटामोलहरु राख्छन । यस्तै रहेछ, ब्लगमा पनि । हप्तै पिच्छे या नसके पाक्षिक तबरले सिटामोलहरु राख्न सके पो लेख्ने जांगर चल्छ र नयाँ सिटामोलरुपी शिर्शकहरुले पालो पाउंछन । सडेका सिटामोलले दोकान कुरेर बसेर यसै बित्यो, ब्लगको यो दुई बर्ष । पसिना पुछ्दै उक्लनु पर्छ भन्ज्याङ । उकालो बाटो सजिलो त कहां हुन्छ र ? जिम्मेवारी र कर्तब्यपछी बचेका समयमा जे जति टांसोहरु टांसे, त्यसप्रति खुशी नै लाग्छ । समय ब्यबस्थित गर्नै गार्हो हुन्छ । एउटा मुला संबिधान दिन त भत्तावाले ६०१ सभासदहरुले सकेका छैनन् भने म मामुलीले पनि मेरो यो ब्लगे संसदलाई समय दिनै सकेको छैन । चिसो कुलरमा पसेर "रेड बुल" भत्ता पीई बचेँको शक्तिले धेरै लेख्न सकिदोंरहेनछ । नसके पनि, एउटा उकालो पार गरेर दोस्रो बर्शे ओराली झर्दै छु, पल्लो डांडांको भञ्ज्याङ पुग्नलाई ।

ब्लागिङ उपन्यास जस्तो एउटै पुस्तक पनि भएन । भरिएको संगितको सि डि पनि भएन । धोका, सपना, रहर र पिडालाई अटाउने उकालीको सिढी रहेछ बरु, ब्लग । दुई बर्ष पहिले ब्लग नहुंदा जसरी मडारिन्थ्यो यो मन । अहिले २ बर्षको यो हुंदा जन्मेर बिरामी भएर पनि मुश्किलले बांचेको छोरोको जस्तै माया लाग्छ, भित्रैबाट । यो अबधिमा सबैभन्दा धेरै पढिएको, 'एउटा बिरामीको बिछोड प्रेम कथा' सम्झदां लाग्छ, म पनि कति भाग्यमानी । त्यो पिडा मैले ब्लगमा डिपोजिट गर्न पाएं । मन लागेको बेलामा ए टी एमले निकाल्छु, सम्झनाको नगद गन्छु, पिडाको नोट पढ्छु, आंशुले खर्च चलाउंछु म, म ब्लगबाट पिडा झिकेर । भावना र कल्पना संगाल्ने तर आवाज नआउने सि डि चाँही भएको छ, मलाई ब्लग । लखतरान जिन्दगीलाई छहारी दिने चौतारी भएको छ, मलाई ब्लग । ओरालिमा टेक्ने लौरी र उकालिमा 'तिर्खाएको भरियालाई महि' भएको छ, मलाइ ब्लग र उत्सब अनि उमंगमा अक्षताको दही भएको छ, मलाइ ब्लग । बैंकमा पैसा नभएपनि खाता भए जस्तो । मौसम सफा रहे पनि साथमा छाता भए जस्तो । एक हल गोरु नभएपनि अग्राखको हलो भए जस्तो भएको छ, मलाइ ब्लग । नराखे पनि, नभए पनि छ न त छ । हावा-हुरी, बर्शात्-असिना र उकाली-ओराली हुंदै दुई बर्शे यो चौतारिमा सुस्केरा सुस्काउन पाउनु पनि काम भाग्यमानी र आनन्ददायक कुरो होईन ।

यस अवसरमा मलाइ सहयोग गर्नुहुने सम्पुर्ण मित्रजन, टाढा टाढाबाट पनि हौसला प्रदान गराउनुहुने महानुभाब र सधैं उन्नति र प्रगति मात्रै रुचाउनुहुने शुभेच्छुकहरुमा हार्दिक आभार ब्यक्त गर्न चाह्न्छु । बिगतमा दौंतरीले गरेका ब्लगिङ भेलाहरु र अग्रज ब्लगर दाजुहरु र मित्रहरुको प्रयाशमा निकट भबिश्यमा आफ्नै मुलुकमा गरिन लागिएको 'ब्लगर भेला'को लागि मेरो पनि सात समुद्र पारीको यो परदेशबाट मंगलमय शुभकामना । तपाईं हाम्रो दैलोमा आएकी लक्ष्मीको पर्व शुभ दिपावलिको पुनित उपलक्ष्यमा यहाँहरुको उन्नति र खुशीको मंगलमय कामना गर्दछु । ह्याप्पी ब्लगिङ !!!
Read more >>

13 October 2010

बिजया दशमीको शुभकामना !


महान चाड बिजया दशमीको सुखद उपलक्ष्यमा नेपाल र परदेशमा रहनुभएका सम्पुर्ण दिदी-बहिनि, दाजु-भाइ, बुवा-आमा लगायत मित्रजनहरुमा सु-स्वास्थ्य र उन्नतिको हार्दिक मंगलमय शुभकामना !!!
Read more >>