28 July 2009

जननी, जन्मभुमी र जन्मदिन :


बालखामा मलाई झोलुङ्गोमा छाडेर निबेक लगाउन आमा सधैं मेला जानुहुन्थ्यो रे । सानै उमेरमा धन कमाउने उदेश्यले बुवा परदेशमा हुनुहुन्थ्यो । आफु थाहा पाउने बेला भएदेखी भन्नु नै पर्दा बुवासँग बसेर धित मरुन्जेल मासु खाइ दसैं मनाउने अबसर मिलेको छैन । सदाका दसैं ठुलोबाको घरबाट किनिने एक बिसौली मासुले टारियो । परिवार परदेशमा भारी बोक्न हिंडेपछी जस्तासुकै भनौते चाड पनि नमिठा लाग्दरहेछन । सधैंको निबेकको आमको दैनिकी, झुलुङगोमा अरुले नहल्लाएनी रुवाबासिको एकान्तताको रुवाइको आफ्नो बाल्यकाल र बुवाको परदेशी बासले आज सम्झदं'नी खल्ला लाग्दरहेछन, ति दिनहरु । च्यातिएको गुन्युको त्यो झोलुङ्गोमा हुर्किएनी, रिमोटले चल्ने आधुनिक झोलुङगोमा हुर्किएनी मान्छेले पाउने शरीरको रुपरेखा त एउटै हुनेरहेछ । स्वादिस्ट चनाको पिठो खानेहरुको ज्यान खदिंलो र खोले खानेहरुको ज्यान अली दुर्बिलो । आखिर फरक यति नै रहेछ । तर आमाको काख भन्दा न्यानो मायाको खानि, स्नेहको चौतारी र ममताको भन्डार यो संसारमा कही कतै नपाईने रहेछ ।

बाख्राका बरकम्लासँग खेलेको गोठ, आमालाई हजुरबुवाले पेवा दिनुभएको रतौली बाख्रा र गाई चराउने ति सुन्दर खोरियाहरु, आफुले लाले-चम्रे गोरु नारेर जोतेका कान्ले बारीहरु, त्यो समाज,अनि ति गोठाले साथीहरु । सब बिराना भए । जन्मेको सुन्दर गाउ सुनसान भयो । आज बाध्यताले आफु परदेशिनुपर्दा सोचिंदो रहेछ, के मैले घांस झार्ने टांकिका बुट्टाहरु अहिले सम्म जिबितै होलान ? ओराले बनका सालका ठुटाहरु लम्पसार परेर म बन्चरे-भाइ कहिले आउँला भनी हेरीरहेको होला ? बुवाको जडौरी पैन्टमा आइरन लगाउन मैले तताएको कसौडी आमाले अझै साचिराख्नु भएको होला ? अनि जुनियर रेडक्रस र स्काउट गठन गर्न हामीले धाएका जिल्लाभरिका स्कुलहरु कस्ता भए होलान ? साथीहरु पनि सबै परदेशमा छन । ठुलाबा पनि बुढा हुनुभो बिचरा । हजुरआमा बित्नुभो । उता मामाघरमा मलाई कपुरी क सिकाउने हजुरबुवा पनि बित्नुभो । गाउं यसै सुनसान छ । पहिला हामी हुंदा गडगडाउने दरौंदी नदी अहिले साउने झरिमा पनि सुसाउन डराउंछ रे । सिर्दी खोलो पनि सुक्यो होला । पानी नपरेर कसैले खेत रोप्न पाएका छैनन रे, यिनाताका माससम्म । सम्झेर बसेको छु, आफुले खेली बिताएका उकाली, ओराली र दरौंदी फांटका खेतहरु ।

जीबन सार्थक नभए पनि यो धर्तिमा आफ्नो जन्माइ बाचुन्जेल एउटा सम्झना भएर ब्युंतिदोरहेछ, हरेक सालको एक दिन । सफल र असफल भनेर जिन्दगी छुट्टयाउने कुनै तराजु नभएपनी आफ्नो जन्मदिन कसलाई पो नराम्रो लाग्दो होला र ? आज त्यही जन्मदिनमा यो सांझपख आफ्नी जननीको सम्झना आयो । ममतामयी मेरी आमाको प्यारो कोखको याद आयो । 'दिशा' खाँदै सकी नसकी मच्चिएको गुन्ये झोलुङ्गोको याद आयो । कस्तो बिचित्रको हुदोरहेछ, आमाप्रतिको माया, बुवाप्रतिको श्रद्धा र आफन्तहरुको सम्झना - त्यो पनि यो बिरानो मुलुकबाट ! आमाको आशिर्बाद लिन भरे फोन गरुम भने सधैं भन्नुहुन्छ, 'गाउका सबै दाजुभाइ कती चोटि आएर गए । तिमी आउने कहिले बाबु ?' लेख्दा त झर्ने यि आशुहरुलाई म आमाको सामु कसरी ब्यक्त गर्न सक्छु र ? गला अड्की-अड्की, रुमालले आशु पुछ्दै परदेशका यि सारा दु:ख, झन्झट र बाध्यता कसरी बिलौना गरौ । आमाको मन न हो । परदेशमा रहेको छोरोको स्वर अलिकती गडबड भयो कि आँफै सुक्सुकाउन थाल्नुहुन्छ अनि भक्कानिएर झरेको मेरा आंशु देखेर श्रीमती आशु पुछ्न रुमाल दिन्छिन भने हजुरआमा र हजुरबुवासँग गफ गर्न तम्सने छोरो मेरै काखमा आएर मसंगै रुन थाल्छ ।

केबल सम्झनामा दिन बिताउने त बानी नै हो, सबै परदेशिहरुको । अत; यो जन्मदिनमा म आमाको त्यो कोखलाई फेरी सम्झन चाह्न्छु । स्नेहमुर्ती आमाको आशिर्बादले यो जिन्दगी सधै सत्यको बाटो हिंड्ने साहसको लागि मेरी आमा सम्झेर भगवानसँग प्रार्थाना गर्दछु । बुवाको कर्मठ छोरो हो भनी छाती फुलाउंछु । जन्मभुमी नेपालको परदेशी पुत्रको रुपमा सम्झनाका आंशु चढाउदै सत्यताको प्रतिफलको आशमा जन्मदिनको आभार जननी र जन्मभुमिप्रती ।
Read more >>

24 July 2009

प्रधानमन्त्रीलाई खुल्ला पत्र :


सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार,
सिंहदरबार, काठमान्डौं ।

बिषय : दिल रोएको बारे ।

प्रधानमन्त्रीज्यू,
बिहान उठ्ने बित्तिकै देशको खबर बुझ्न उत्सुक मेरा परदेशी नजर आज फेरी एउटी अबोध बालिका बलात्‍कृत भएको समाचार पढ्न वाध्य भए । नपढुम् भने आफ्नै देशमा निर्दोशीको अस्मिता लुटिएको कथा, त पढुम् भने आँशु चुहाउनै पर्ने बाध्यता । यसैकारणले 'मिठो सम्बोधन', 'भाषिक शुद्धता' हरुलाई पर सारी आँखाबाट झरेका आंशुका थोपाहरु यहाँ जथाभाबी राख्ने अनुमती चाहन्छु । नेपाली हुलाक सेवाले तपाईं सामु छिट्टै पुर्याएछ यो पत्र र तपाईंको हात लाग्यो भने मन लागे पढ्नुस् , नलागे प्रेस सल्लाहकारलाई सोध्नोस, के गर्ने भनेर !

प्रधानमन्त्रीज्यू,
नडराइ लेख्नुपर्छ कि, उपेन्द्र महतोका बाबुले बलत्कार गरेको घटना तपाईंहरुको आदेशले थन्किएको फाइलका कारण १२ बर्षकी कबिता (नाम- परिवर्तन) आज मालिकद्धारा बलात्‍कृत हुनुपरेको छ । तपाईं बस्ने 'सरकारी घर' कै छेउमा बत्ती मुनिको अध्यारो बनि कबिताले आफ्नो अस्मिता खोपिमा बुझाउनु पर्छ भने ति दुर्गम गाउंहरुकी चेलीको हालत के होला ? जनताका काम गर्न ?, कार्यालय जाने समयमा उपत्यका भरिका सडक जाम गराउदै तपाईं सवार हुनुहुँदा तपाईंका आँखै सामुन्ने रत्नपार्कमा निर्दोश महिला अकारण नाङ्गिनु पर्छ भने दुर्गम बस्तिहरुका हालत के होलान ? सरकार बचाउने निहुंमा तपाईं नयांबजारमा प्रचन्डजीको निवासको भर्र्याङ् उक्लदै गर्दा त्यही भर्र्याङ्को झ्यालबाट बिरेनले ख्यातिको शरीर टुक्रा-टुक्रा पारेको देख्नुहुन्छ भने कर्णालीका ति बिकट बस्तिका हालत के होलान ?

प्रधानमन्त्रीज्यू,
एक्काइसौ शताब्दिको यो आधुनिक युगमा हैजाले जाजरकोट लगायतका जिल्लाहरुमा करिब १५० ब्यक्तिहरु अनाहकमा मर्नुपरेको छ । एउटा जाबो सडेको जीबनजलको प्याकेट नपाएर यतिबिघ्न मृत्‍यु ? असंग्लग्न राष्ट्रको सम्मेलनमा तपाईं यूरोप जांदा यो कुरा थाहा पाएर कती हांसे होलान, तपाईंका समकक्षीहरु ? संसार बनाउने सपनाको सम्बोधन गर्नुभयो, तपाईंले यूरोपमा । तपाईं बोलिरहनुहुँदा नेपालको संबिधानसभामा सभासदहरु निदाएसरी निदाइरहेका थिए रे, मनमोहन सिंहहरु । किनकी तपाईंले समकक्षिहरुलाई नेपालमा मरेका ति १५० ब्यक्तिहरु झाडापखालाले नभइ "पहिरोले" मरेका भन्नुभयो रे । अनि नेपाल फर्किएर तपाईं लाग्नुभयो - जाजरकोट । सरर हेलिकप्टर चढेर । दुई रुपैयाको जीबनजल नपाएर मरेका जनताको लाश हेर्न दुई लाख भाडा तिरेर हेलिकप्टरमा सवार हुनुभो, तपाईं । १५० गुना दुई बराबर ३०० रुपैया । ३०० रुपैयां छैन राष्ट्रसँग ? कठै बिचरो नेपाल ! कठै बिचरा जीबनजल पीडित जनता !! कठै तिनका प्रधानमन्त्री !!! भारतीय भुसतिघ्रेहरुले सीमा मिच्दा सिमाबलोकन गर्न त तपाईं परै जाओस, न पररास्ट्र मन्त्रीज्यू सवार हुनुभो, न त रक्षा मन्त्रीज्यू ? के लोकतन्त्रमा म तपाईंलाई प्रश्न गर्न सक्छु ? किन पाल्नुहुन्छ, सिमाको बारेमा नबोल्ने मन्त्रीहरु ? सरकार टिकाउन मात्र हो भने ईतिहाससले तपाईंलाई फेरी अर्को असक्षम प्रधानमन्त्री भनेर सदैब धिक्कार्ने छ । होइन भने जाजरकोटका प्रमुख जिल्ला अधिकारिले तपाईंको स्वागत गर्दै माला पहिराउदैंमा घांटी फुलाउनु पर्दैन, प्रधानमन्त्रीज्यू ।

प्रधानमन्त्रीज्यू,
तपाईंका गृह मन्त्रीज्यूले सात दिनमा देशमा शान्ती सुरक्षाको प्रत्याभुती दिलाउने आश्वासन दिनुभयो, हामीलाई । आज सात महिना बितिसक्दा सातओटा माखा मरेका छैनन । बरु माखाहरु कति बढेका छन् भन्ने त तपाईंलाई यूरोपबाट फर्कदा ङिचिक्क हांसिरहेको तिनकुनेको थुप्रोले बतायो होला वा जाजरकोटका 'हैजे झिङ्गाहरु'ले । हुन त टल्कने दौरा सुरुवाल त झिङ्गाहरुका शत्रु हुन् क्यार । अत्तर लगाएको तपाईंको काखी सुंघ्न ति झिङ्गाहरु पक्कै आएनन होला । आखिर जे होस् । दुई जना डनहरु समाउदैमा राझधानी आनन्दले सुत्छ ? तपाईं सुत्नुहोला, आनन्दले । तपाईंका मन्त्रीहरु सुत्लान, आनन्दले । तर, यो गर्मिमा जाजरकोट त रातभर जागा छ भने अब तराइमा असली 'डन'हरुसङै लामखुट्टेका डनहरुले गरेका तमसा, लाग्ने महामारी र मारिने जनताहरुको बेलिबिस्तार तपाईं भारत जादासम्म देखिएला शायद । मलाई लाज लाग्यो प्रधानमन्त्रीज्यू, एउटा मामुली लामखुट्टेको 'खतरा' बारे पनि मैले तपाईंलाई लेखी पठाउनुपर्ने ? तर तपाईंको राष्ट्र महामारिले बान्ता गरिरहेका बेला, तपाईंका 'युथ फोर्स' कता जान्छन् कुन्नी ? मैले बुझेको अर्थ त 'पिपल्स भोलेन्टियर्स' भनेका त 'जनताका सेबक' हुन् । तर यो महामारिमा तपाईंका ति भोलेन्टियर्स जाजरकोट जान सक्दैनन ? कथम कदाचित, यो पत्र तपाईंले पढुनु भयो भने भन्नुहोला, महामारिमा 'वाइ सि एल' किन गएन भनेर ? तर मेरो बिन्ती छ प्रधानमन्त्रीज्यू, तपाईंले अस्ती नयांबजारमा यो प्रश्न सोध्नुभएन ?

प्रधानमन्त्रीज्यू,
अरब गई पैसा कमाएर परिवार पाल्ने सपनामा झिटी झाम्टा बन्दकी राखेर उडेका नेपालीहरुका कथा यहाँ लेखिरहनु नपर्ला । तपाईंका महामहिम राजदूतहरुले त्यहां दु:खले, दर्दले र शोषणले मर्माहत नेपालीका राम-काहानी भन्न छाडेर अरबमा 'मट्टितेल र सुन बढी बिक्ने' कथा शायदै सुनाउलान ! प्रधानमन्त्रीज्यू, मेरा एक हितैशी मित्र ट्रेक्किङ गर्नुहुन्थ्यो । गाउंमा उहांको अथाह ॠण थियो । ट्रेक्किङ्को शिलशिलामा एक जना जापानी साथीसँग उहांको घनिस्टता बढेछ । पछी तिनै जापानिको सहयोगले मेरा मित्र 'श्रीमान' बन्दै सुन्दर सपनाका साथ जापान हानिनुभयो । जापान पुगेपछी मेरा मित्र ति 'जीबनसङ्गिनी'को साथमा पुलमुनी बास बसेछन । मतलब, मित्रकी जापानिज श्रीमतीको जेथा केही रहेनछ । भर्खरै परदेश छिरेका, त्यसमाथी पनि जापानजस्तो बिकसित देशको कुना-कुना उनलाई यती छिट्टै कसरी थाहा होस् ? 'श्रीमति'ले घांडो ठानेर मित्रलाई छाडिदिछन् । तीन महिने उनको भिसा सकियो । दुर्भाग्यले, अबैधानिक उनी पुलिसको फन्दामा परेछन । सपना बुनेर हरियो पासपोर्ट सहितको उनको जिन्दगी कालो पासपोर्टसहित नेपाल फर्काइए । उनी नेपाली दुताबास धाएछन, पुलिससंगै । नेपाली कर्मचारी न हुन, आइनो-वास्ता केही भएनछ । यसैले प्रधानमन्त्रीज्यू, जापानजस्ता देशमा त तपाईंका राजदूतहरु तास खेल्छन भने अरु कथा यो चिट्ठीमा नलेखुम होला । अहिले पनि २५ लाख तिरेर अमेरिका प्रबेश गर्न तयार छन, नेपालीहरु । हैजा लाग्यो भनेर अमेरिका र जापानहरु आफ्ना जनतालाई नेपाल घुम्न नजानु भनेर टि भि मा समाचार दिन्छन । तर २५ लाख ॠण तिरेर अमेरिका जाने नेपालीलाई २५ लाख कहिले काम गरेर उठ्छ भनेर सिकाउने निकाय छैन । देश बन्न टाइ सुटले सज्जित भाषण होइन, सानो सानो निकायदेखी नै पारदर्शिता र दुरदर्शिता चाहिने रहेछ । हुन त म मुलाले भनेर यो कुराहरुले यहाँको घैंटोमा घाम लाग्ला र ?

संसारमा जहाँ युद्ध छ, त्यसको पहिलो पंक्तिमा नेपाली हुन्छन रे । तपाईंका सुरक्षा सल्लाहकारलाई कत्तिको ज्ञान छ कुन्नी ? तर रणभुमिमा लडिरहेका लेबानानबाट मेरा साथी उमेशले भनेका कुरा हुन् यि । उनी हैटी, सोमालिया हुँदै अहिले लेबनानी नेपाली सेनामा छन रे । दोस्रो विश्व युद्धको 'गोर्खाली बिजय' लाई गर्ब ठान्छौं, हामी । तर कसैका स्वार्थका लागि बिजेता बनेका हामी गोर्खाली किन सदा अघिल्लो पंक्तिमा खुल्ला छाती थाप्नुपर्ने ? अमेरिकाको डरले ॠण नमाग्ने संयुक्त राष्ट्र संघको नियम हो यो ? तिनै युद्ध बिजेताको बेदना र अधिकार बारेमा बेलायति नायिकाले जुलुश गर्छे, भाषण गर्छे, गोर्खालिले मुद्दा जित्दा हर्शको आंशु चुहांउछे । तर यि यस्ता घटनाहरु हाम्रा सभासदहरु प्याला पिउंदै सुत्ने बेलामा बल्ल टेलिभिजनमा देख्छन । त्यही पनि फेशन टि भि हेरी सके पछी । हेर्दा-हेर्दै, राष्ट्रियताको लागि बिदेशिले आंशु बगाउनु पर्ने मुलुक भयो, नेपाल । हाम्रा लागि आंशु चुहाउने ति बेलायती नायिकालाई बोलाएर एक छाक भात खुवाउंदैन, नेपाल भने दिशा बस्न खुसुक्क नेपालको झाडीको छेल पार्ने मुखर्जीहरुलाई ल्याएर रातोदिन सम्मान गर्छ, नेपाल ।

प्रधानमन्त्रीज्यू,
यि 'न' बाट निस्कने चिज नेपाललाई फाप्दा रहेनछन । निती, नियम र नैतीकता । पैसा हुनेका बहुबलले जे गरेपनी हुने । सँगै थुनिएका साना 'रणबिर'हरु जेलको चिसो छिंडिमै छन भने 'पावर' भएका ठुला रणबिर 'रिपोर्टर ॠशी' पत्रकारिताका महान पुरुशको परिचयले सम्मान थाप्न सभा हलका पिंडि-पिंडिमा, तपाईंले झै जमिनमा गूड्ने हेलिकप्टरबाट सवार छन । प्रधानमन्त्रीज्यू, यसको उत्तर दिनुस्, एउटै मुद्दामा ॠशी छुट्ने, ति शिशीहरु सड्ने ? मेरा कोही पर्दैनन, कोही पनि । अपराध गरेका हुन् तिनले अनि हामी जनताको ठहरमा त्यो मुद्दाको ठुलो अपराधी र मतियार ॠशी धमला हो । तपाईंलाई लाज लाग्नु पर्ने हो प्र मज्यू, तपाईं प्रधानमन्त्री हुंदाका बखतको भन्दा बढी घांटी भरी माला लगाउन ब्यस्त छन, त्यस्ता अपराधी । तपाईंले त एकचोटी लगाउनु भयो, उसको त कामै सम्मान ग्रहण गर्ने छ, आज हरेक दिन । अनि सम्मान गर्न बोलाउनेहरु को ? माला लगाइदिनेहरु, तपाईंका मन्त्रीज्यूहरु ! के रहरले लगाइदिएका हुन् माला कि अपराधलाई संरक्षण गरेको हो, तपाईंको सरकारले ?

र अन्तमा, प्रधानमन्त्रीज्यू,
झाडापखालाबाट बच्न झोल्-पदार्थ खानु पर्छ रे भनेर पढेको जस्तो लाग्छ । एक किलो दालको भाउ १२० रुपैया ! दुई रुपैयाको जीबनजल किन्न हुती नभएको तपाईंको सरकारले १२० रुपैया किलो पर्ने दाल र गेडा-गूडी खुवाउला ? सुनिदैछ, बडेमानका जहाज आउँदैछन रे, हतियार आउँदैछन रे, तपाईंसङै भारतबाट । सम्झनोस, उसको सिमनामा महामारी फैलदा हामीलाई सडेको जीबनजल नपत्याउनेले किन हतियार बेच्दैछ ? अनि तपाईं किन जानुपर्‍यो भारत ? जानुस्, तपाईंको ब्यक्तिगत कुरा हो । तर हामीले तिरेका करले तपाईं 'सिङ्हहरु'को दर्शन गर्न जांदै हुनुहुन्छ भने सोध्ने अधिकार छ, हामीलाई । यो पनि सोध्ने अधिकार छ कि, अब किन चाहियो हतियार ? जजरकोटको घटनाले जनताको जिउमा तागत छैन भन्ने प्रमाणित भएन तपाईंलाई ? कमजोर जनताको शरीरले अब हतियार होइन काम नगर्ने नेतालाई खोलामा फाल्नेछन । जिबनजल नपाएर सडेका शरीरले हतियार खोज्छन कि तागत वा ओखती ? सोध्नोस, एकचोटी स्वकिय सचिबलाई ।

भोली बिहान उठ्ने बित्तिकै १५० रुपैंया खल्तिमा हालेर तरकारी किन्न निस्कनुहुन अनुरोध छ, प्रधानमन्त्रीज्यूलाई । त्यो किनाइ पक्कै एउटा अभिनय नहोला । तपाईंको निवासमुनिका ति पसलेले अभिनय ठानेर वा तपाईं छड्के हान्न आएको नठानी १५० रुपैंयाको बस्तु दिए भने तपाईं त्यहीं ढल्नुहुनेछ । हाम्रा बा-आमालाई दुख्ने टाउको तपाईंलाई पनि दुखोस् । महङ्गिले आकाश छोएको मुलुकका प्रधानमन्त्रीले आँफै भाउ बुझ्न सामान किनेको पढ्न पाइयोस । "सुर्य ग्रहण' हेर्न अबतारी चस्मा लगाउन समय हुने तपाईंलाई दुइ मिनेट तरकारी किन्ने समय हुँदैन ? हुँदैन भने तपाईंबाट हामीले केही आश राखेका छैनौं । तपाईं पनि हिजो फल्न नसकेका त्यही ड्याङ्का मुला हुनुहुनेछ । धन्यवाद !
Read more >>

18 July 2009

तिमीलाई लेखेको चिठी :


तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद, सपनिमा देखिएको तिम्रो झझल्कोले होला । ती पुराना यादहरुले होलान । टुसुक्क बसेर मसी सकिन लागिसकेको कलम खाली पानाहरुमा कुदाएं । अनी शुरुवात गरें, लेख्न ;

"प्रियतम, सात समुन्द्रपारिको यो परदेशबाट धेरै धेरै सम्झना तिमीलाई । आरामै त हौली भनी आशा मात्र गरेको छु । भरोशा र विश्वाशका खातिर तिमीले अरु कसैको काखी च्यापेपछी मलाई सम्झना भन्दा फगत केही नमिल्नेरहेछ ।"

चिनाजानिमा मैले लेखेको पुरानो अपुरो चिट्ठी को याद आयो । त्यसैमा कोरिएको एक हरफको ;

"आंशु पिइ बांचिरेहें, सपनिमै नांचिरहें,
हेपिएको दिन सम्झन, औंलाहरु भांचिरहें ।"
(मैले लेखेको यो टुक्रा, हाम्रा आदरणिय गुरु, संगीतीज्ञ गुरुदेब कामतको संगीतमा साथी सबनमजीले ०५५ सालको गुरुपुर्णिमामा डोरेमी संगीत पाठशाला जमलमा रेकर्ड गराउनुभएको थियो । )

हो, यिनै माथिका हरफहरु चरितार्थ भएका छन, आजकाल मेरा दैनिकिहरुमा । अनी सकी नसकी मन बुझाई भन्नु परेको छ, म पनि यही संसारको कुनै कुनोमा केबल बांचेको छु । अहिले तिनै हरफहरुलाई सच्चाएर, तिमीलाई लेखेको चिट्ठीमा मैले यो लाइनहरु रिमिक्स गरेर थपेको छु ।

आंशु पिइ बांचिरहेछु म, तिमी आनन्दिको संसारमा डुले'नी,
बाडुल्की बनि कुक्कुकिदो रहेछ माया, तिमीले मलाई भुले'नी ।

तिमीलाई सम्बोधन गरेपश्चात झस्किएं म, म यो चिट्ठी किन लेखिरहेछु ? कसलाई लेखिरहेको छु भन्नेसम्म त याद छ । तर निर्जिब कलमको घांटी थिचि-थिची अर्थ लाग्ने 'अर्थहिन' वाक्यहरु किन ओकाल्न बिबश बनाउदैछु भन्ने बिषय कि त तिमीले भाकेकी भगवानलाई थाहा होला, कि तिमीलाई । त्यसपछी, त्यो चिट्ठीमा यि हरफहरु जोडें ;

"मायालु, तिमीले भाकेका भगवान त साह्रै पापी रहेछन । तिनले फोकटमा तिम्रो भेटी खाए । उनको नाममा मलाई पुकार्दै कुनैदिन तिमीले खुल्ला आकाशमा उडाएका परेवाका बचेँरा ती युगल जोडी, हुर्केर, प्रेममा मस्तले जिएका छन रे भन्ने खबर सुनें, मैले । तर जुन बस्तु प्राप्तिको लागि तिमीले धूप सल्कायौ, नैबेद्ध चढायौ । सल्केको त्यही धुपौरोमा तेलको सट्टा पानी हालेर निभायौ । अनी त तिम्रो पुकाराको के अर्थ लाग्यो ?"

"जे कुरो संसारमा असम्भब छ भन्छन, त्यो प्रेममा सम्भब हुन्छ रे, भन्थ्यौ । रे आखिर रे मै रह्यो । यतिबेला तिमी बडेमानको महलमा आकाशतिर नजर लगाउदै अरुले उडाएका परेवाका बचेरा पहिल्याउदै हुन्छ्यौ रे । मलाई लाग्छ, सुखमय महलको छत माथि त स्वच्छ हावाबाहेक केही उड्दैन । बरु, तिमीलाई तातोपानी दिलाउने सोलारको डब्बामा परेवाहरुले फोहर गरेर तिमीलाई गिज्ज्याउदै उड्छन रे । यो रे पनि अचम्मको हुलाकी भएर आउन थालेको छ मेरो जीबनमा, आजकाल तिम्रो सम्झना बनेर ।"

कलममा मसी सकिएला र लेखिएका हरफहरु धर्-यात धुरुत बनाइ टुक्रा-टुक्रा पारी कापिका पानाहरु फ्याक्छु भन्छु, बेदनामा मेरो सट्टा कलम रुदो रहेछ । मधुर आँखाबाट बलिन्द्राधारा आंशु चुहाए जसरी मरे नसिद्दिने रहेछ, कलमको मसिरुपी आंशु । म सम्झाउछु, कलमलाई । "तं जे मन लाग्यो तेही नलेख्, त्यो खाली कापीमाथि ।' ऊ त उल्टै मपट्टी निपरुपी मुन्टो बटार्दै मसीरुपी आशु चुहाउदो रहेछ र भन्छ, 'मलाई पनि तपाईंसँग रुन मन लाग्यो ।' अनी फेरी यो लेख्यो ;

"प्रिय, बाबा परदेश जानुभो भने घर-ग्रिहस्थिको खबर लेखिने चिट्ठी पुरा हुदोरहेछ । तिमीसँग जान्नु अगाडि म अनो समाउदै चम्रे र लाले गोरु नारेर जोत्दा बाबालाई सबैकुरो लेखी पठाउथें । बाबा भन्नुहुन्थ्यो, अर्को चिट्ठीमा अझ बढी खबर लेखी पठाउनु । भैंसी कम्लाएको, रत्यौली बाख्रीले पाठो पाएको, परेवाको गूड् बनाएको खबरहरु उहा खुशी मानि मानि आंशु चुहाउदै पढ्नुहुन्थ्यो रे । खैर, मेरो बिगत जे होस् । त्यो तिमीलाई सरोकारको बस्तु भएन । तर पनि बरु, मरुभुमिको लडाईंमा भाई मरेको चिट्ठी पुरा हुदोरहेछ । लड्न गएको थियो, शत्रुले मार्यो । अभागी रहेछ, बिचरा मर्यो । मृत्‍युको त्यो चिट्ठी, मृत्‍युको खबर लिएर आयो, पुरा भयो, सकियो ।"

"तर प्रिय, तिम्रा नाममा लेखिएका मेरा हरेक चिट्ठीहरु सदैब अपुरा हुने गर्दछन । खै कुन्नी किन हो ? तिनले बिषय पाएनन भनुम् भने, संसारमा अरुले जस्तै बिषय(प्रेम) गरेको हुँ मैले । रोमियो र जुलियट हुन नसके पनि मुनामदनको पाठकजस्तै बनुम् भन्ने अभिलाषाले पनि मेरा प्रयासहरु सधैं अपुरा रहे । म मात्रै पछी लागेको थिएं भने मेरो कलमले एउटा वाक्य राख्न अनुमती माग्यो ;

मरी सक्यो त्यो भन्ने लाग्छ भने, मेरो चित्र चौबाटोमा टासी देऊ,
बेकार रहेछ मिलन भने, तिमी सँग भएको मेरो बीउ पनि मासी देऊ ।"

बिलखबन्धनमा झेलिएको कथा कलमको निपबाट लगातार छादिरहदा शायद मेरो भावनाको सहारा कलमको पेट अती सारो निमट्ठियो होला । पेट दुख्यो भन्दै अन्तमा मेरो कलम लेख्छ ;

"एकचोटी अप्रेशन गरेको घाऊ डाक्टरले भने जस्तो पुरै निको नहुने रहेछ । फेरी, घाउको दुखाइ केबल बिरामीलाई मात्र थाहा हुदोरहेछ । पैसाको लागि भुँडी नाप्ने तार बोक्ने डाक्टरलाई के थाहा, बिरामिको पिडा ? मायाको बाहनामा रक्तपूर्ण घाउमा धनीले प्रयोग गरी फ्यांकेको 'ब्यान्डेज'ले दुखाइमा सहानुभुति नदिंदोरहेछ । सबैका तिरस्कार र अबहेलनाले जर्जर घाऊमा स्याउ-स्याउती किराहरु पर्दारहेछन । अनी एक एक गरी मायाका अङ्गहरु झर्दारहेछन । निको नभएको रोगिको हालत, तिमीले सारथी बनाएकी लखपतीसँग दांज्न मिल्ला र प्रिय ?"

"भो, नदांज । मेरो माया, अकुत सम्पत्तिसित । किरा लागेको मायाको घाऊ धमिरा लागेको धनको महल भन्दा ठुलो हुन्छ रे ।"

त्यसैले अर्धलिखित यो गन्तब्यहिन चिट्ठी म फेरी तिमीलाई पठाउं कि नपठाउं ? दोधारमा थिएं । सडकमा बसेर चिच्याइ सुनाइदिउंकी झैं पनि नलागेको होइन । यही भित्तामा टांसिदिएको छु । मन लागे पढ । नलागे थुक, आफ्नो बाटो लाग । तिमी बाटो लागे पनि यो मनबाट सम्झना कहिल्यै बाटो लाग्दोरहेनछ । ठिकै छ । तिमीलाई यो हरफ उपहारस्वरुप, कलम बन्द !

"मै मरे भने फेरी मेरो, त्यो प्याला कसले भर्छ नि,
नसक्ने रैछु केही गर्न आँफै, जे लेख्छ भावी उहि गर्छ नि ।"
Read more >>

12 July 2009

एउटा मन्च, निर्माण र आभार :


एकदिन कामबाट डेरामा फर्कदै थिएं । बाह्र इन्चको हिउ परेकोले जता सक्यो त्यतै टेक्दै आइयो, सकि-नसकी । फुर्सदिलो भएपछी, त्यही त हो । कि त प्याला नत्र श्रीमतिको सौता माथि लुटुपुटु (कम्प्युटर माथि हात ) ! समय खर्चन गाह्रो हुन्थ्यो । साझातिर "चौतारी"मा चल्ने गफ्-गाफ सुनेपछी पनि समय केही बाँकी रहन्थ्यो । ति बेलाहरु सदुपयोग गर्नाका खातिर मन बहकाइ रहेको बखत प्रख्यात ब्लग्गर नेपालीयनजी सँग संपर्क भयो । त्यतिबेलाका संसारहरुबाट आजित मनले एउटा छुट्टै मन्च निर्माण गर्ने ठहर गर्‍यो । त्यस्तै सल्लाह प्रदान भयो, नेपालीयनजीबाट पनि ।

नजान्ने हातहरु त्यत्तिकै सलबलाउन थाले, ब्लगको खोजिमा । नाम के राख्ने ? डोमेन खोजियो, सोचियो, । नाम जुर्यो - खुल्लामन्च । खल्तिमा पैसा नभएर घर बनाउन जग खने जस्तै । तरिका र जानकारी बिना त्यसै कुदे म धेरै दिन, मन्च सजाउन । यता उती गरेर केही लेख्न त जानियो । तर पनि जागर मरेन । अब बचेँका बखतहरु मन्चमा कहिले एक्लै भाषण गरेर त कहिले नजानि-नजानी कबिता भट्टाउदै बित्न थाले । छिमेकिहरुले राम्रा राम्रा घर बनेको देखेर होला'नी, यो रिसले मरेको मन कहाँ मान्दोरहेछ र ? आफुलाई पनि अझै दुई तीन ट्रक इट्टा र सकेको जती रड झारेर केही पिल्लर ठड्याउन मन लाग्यो ।

खल्ती रित्तै भएकोले आँफै सकेको गारो लगाइयो । कहिले अरुको हेरेर त कहिले चोरेर । ठडिएका ति कमजोर पिल्लरहरु मात्र भएर के गर्ने ? बस्नको लागि छानो छाउन पर्नेरहेछ । भएको रकम सबै सकिइसकेको थियो । अब जुक्ती लगाउन पर्‍यो भनेर बहुतै सोचें । प्यालाका मात्राहरु बढ्न थाले । फेरी त्यो बिखय, जसको खल्ती टाट, त्यसलाई नै बढी चाहिने रहेछ,। जो बुङ्गा, उसैलाई बढी तल्-तल् ।

धेरै सोचें । अब ॠण नमागी सुख छैन । ट्वांक् प्रशादलाई फेरी कसले ॠण पत्याउने ? मनमा त धेरै जनाको नाम राखेको थिएं । "दौतरि"मा सुजनाजीको अन्तर्बार्ता पढ्ने सु-अबसर मिल्यो, त्यसै बखत । उहाको घर बनाउन धेरै सहयोग दिलिप आचार्य सरले ॠण सापट दिनुभएको कुरो खुल्न आएपछी त एउटा दह्रो साहु (दिलिप सर, साहु भनेकोमा दु:ख नमान्नु होला ) भेटेकोले खुशीको सिमा रहेन । संसारको प्राय सबै कुनामा शाखा भएको "फेसबूक बैंक" मा आफुसँग सुको नभएको खाता खोलें । दिलिप सरको खातामा भनेजती पैसा रहेछ । उहालाई बिनम्रपुर्बक सापटिको लागि आग्रह गरें । बढो दिलदारी हुनुहुदो रहेछ । यो भनिरहदा उहाको बढी चर्चा गरेर मैले दिलिप सरलाई तेल घसेको ठहर्ला । कृपया; त्यो पाप हुनेछ । खुल्ला दिलले मैले गरेको सहयोगको याचनालाई शहर्श स्विकारी मलाई भावनाको ॠण प्रदान गराइदिनुभएर उहाले एउटा भयकर ठुलो गुन लगाउनु भएको छ । म त उहाको सधैको ॠणी ।

कल्पनामा पनि नसोचेको एउटा साधारण मन्च यती बिधी श्रीङ्गारित हुँदा बास नपाएको सुकुम्बासिलाई आधुनिक महल उपहार मिलेको आभास भएको छ, मलाई । एउटा घर रङाउनु मात्र ठुलो कुरो होइन रहेछ । रङ्गाईएको घरमा अरुका नाराहरु नलेखिउन भन्ने सन्देश र सुझाबले केही नजानेको सुदामालाई कृष्णको सहयोगले भाबनात्मक अर्थ पनि राख्दोरहेछ । किन हो किन, मनमा राख्नै सकिन, उहाका सहयोगका इट्टाहरु । आफ्नो नाममा आँफैले सहयोग गरेको घरबाट नाम किटेको नठान्नुहुन दिलिप दाजुलाई आग्रहको साथमा हृदयदेखी आभार प्रकट गर्दछु ।

नेपाली ब्ल्लग्गरहरु कती सकृय हुन थालेका छन भन्ने कुरो त यहाँ उल्लेख गरिरहनु नपर्ला । तर पनि स्तरियताले मात्र स्थान पाउदो रहेछ । त्यो स्थान ब्लगिङ्को दुनियाँमा अनी पाठकको हृदयमा । परिवारसँग घुम्न जादा, आफु काममा जादा वा यत्रतत्रका बिषय बस्तुलाई थन्काउन र भावना बांढ्न कुनै पत्रीकाको गुलामी गर्नु नपर्नेभएकोले मात्र होइन आफ्नो निजी बिचार बैंकमा सुरक्षित तवरले चाहेजती वास्तविकता र सत्यता डिपोजिट गर्न पाइने भएकोले पनि ब्लगिङ दिनानुदिन एउटा दैनिकी भएको छ जस्तो लाग्दछ । हुन त यो खुल्ला खुल्लामन्चमा म एक्लै पनि बर्बराउछु, कहिलेकाही । आखिर जे होस्, एउटा सुरक्षित मन्चबाट कमसेकम चराले मात्र भने पनि आवाज सुनोस भन्ने पुकारा हुदोरहेछ । धन्यवाद !
Read more >>

28 June 2009

श्रीमती, कम्प्युटर र सौता :

Pic अर्थतन्त्रको गिर्दो अवस्थाले ज्यादै गाजेको छ, अमेरिकालाई । जि एम सि जस्ता कुनै बेला संसारको सबैभन्दा ठुलो मोटर कम्पनी डुबेको छ भने दिनानुदिन बेरोजगारिहरुको सन्ख्या क्रमश; बढ्दो छ । रेस्टुरेन्ट चलाऊने एक्जना नेपाली साथी भन्नुहुन्छ, 'पहिले ग्राहकहरु मेनु हेरी थपी-थपी खान्थे । अहिले एउटा नान (रोटी) र तरकारी चार जनाले बाडेर खान्छन, चुडी-चुडिकन ।' बफेट लगाउने रेस्टुरेन्टमा आउने ग्राहकहरु पहिले भन्दा बढी खाना प्लेटमा हाल्ने अनी बढी भएको चाँही प्याक गरी "डिनर" को लागि लैजाने बाठाहरु बढ्न थालेका छन रे । त्यसो त अर्थतन्त्र बिग्रिए पछी सबै कुरो बिग्रदो रहेछ । खल्ती बिग्रदो रहेछ । गाडी बिग्रदो रहेछ । भोक र तिर्खा बिग्रदो रहेछ त बानी बिग्रदो रहेछ । हुनुपर्ने रफ्तारमा काम नभएपछी, नचलेपछी मन बिग्रेर प्यालाको साहारा लिना पुग्दो रहेछ । गर्ने काम केही छैन, भएको पनि तुरुन्तै खत्तम अनी मान्छे ज्यादै फुर्सदिलो । फूर्सदिहरुको औषधी, पढ्नेहरुलाई किताब अनी नपढ्नेहरुलाई प्याला ।

 

हातमा प्याला, परिवारको साथमा । त्यो पनि बिदेशमा । कती रमाइलो छ, सोच्दा त । तर मनभरी पिडा, दिमागभरी चिन्ता र जिन्दगीभरिको परदेशबास के रमाइलो र सुखमय छ र ? कसैको होला र आनन्दी मन, परदेशमा ? स्वदेशमा त मान्छेहरु सोच्लान, बिदेशमा रुखमा पैसा फल्छ, फलेको छ । तिनिहरुका बुढा-बुढी मध्ये बुढो रुखमा चढेर पैसाको हागो हल्लाउने, श्रीमती सम्हाल्ने, हुँदा-हुँदा सम्हाली साध्य नभएर छोरोलाई पनि टिप्न लगाउदाहुन पनि भन्लान । तर गाठे, आफ्नु दु:ख आफुलाई मात्रा थाहा हुदो रहेछ । यो नरक जिन्दगी भन्दा त बरु स्वदेशमै बुवा सँगै हलोको अनोक समाउन पाएको भए उहालाई अलिकती सहयोग गरेको अनुभुती त हुने थियो । यि र यस्तै पीरले प्याला तर्फ लम्केका हातहरुसँगै दिमागमा चिन्ताका अनेकन छालहरु आउँदा रहेछन । त्यही बील तिर्न बाँकी भएको कुनामा राखिएको कम्प्युटर समाउन गयो, समय गएको थाहा नै हुदोरहेनछ । अनी त श्रीमती सँग बोल चालै बन्द । नहोस् पनि कसरी ? मुला बुढो, जाड धोकेको छ । अनी कम्प्युटरमा नानाथरिका खजनाहरु हेरेको छ, बसेको छ । कहिले फेसबूक रे । कहिले माइस्पेस त कहिले ब्लग । घरमा खाने बिखय छैन, बुढोलाई फेसबूक हेर्दै प्याला चाहिने !


हुन पनि हो । गाउमा आमा बुवासगै कोदाली खानेको बानी । पढ्न पनि राजनीति शास्त्र पढियो । त्यो शास्त्र पढियो, जुन शास्त्र आफ्नै मूलुकको लागी अभिशाप शास्त्र भयो । उ बेला हटमेल खोल्ने भन्दा कम्प्युटरमा केही जानिएन । बल्ल बल्ल सिकेको ब्लग लेख्ने तरिका त जसो तसो चलेको थियो । तर फेसबूक भन्ने जन्तु ! त्यो, त्यो फेसबूक हो कि "फेकबूक" हो पनि थिच्या-थिच्यै गरेको, जानेको र सिकेको सामान्-बस्तुहरु थप्दै गा'को । एकदिन बिहान आफुले राखेको "टाइटलको" कमेन्ट हेर्न खोलेको त - फेसबूक खाता बन्द रे । गयो, सबै गयो । बाबुराम भट्टराई देखी लिएर, प्रचन्ड सम्म । मिनेन्द्र रिजाल देखी गिरिजा सम्म । गच्छेदार देखी उपेन्द्र सम्म । गणेश शाह देखी ज्ञानेन्द्र शाह सम्म कताबाट, यताउतिबाट जोडीएका सारा नाम स्वाहा । बाबुराम भट्टराईले त चर्चित भएर अनी बदनाम गराउला भनेर आँफै बन्द गराए रे, पि ए लाई भन्न लगाएर । तर म जाबो न चर्चित, म मामुलीलाइ कसको बदनाम ? मेरो न पि ए, न कम्प्युटरमा बि ए न बि कम । बन्द गर्देछन । मैले के नै पो बिराएको थिएर प्रभु । बिगार्नु भन्दा पनि दु:खाएको थिए होला, श्रीमतिको मन । धेरै बेर कम्प्युटरमा बसेर । छोराको पढाईप्रती ध्यान नदिएर । त्यो बाहेक केही गल्ती गरेको जस्तो लागेन ।

जानी नजानी लेखिएका केही लेखनहरु, जिन्दगीको चौबाटोमा देखिने देखनहरुलाई, यसो यताउतिका पानाहरुमा टासोको रुपमा प्रेशित गरेपश्चात, मिले नमिलेको चिन्ताले होला । कहिले दौतरी त कहिले चौतारीका पोस्टहरु हेर्ने मन र रहरले हत्त न पत्त नजानेपनी कम्प्युटरमा हात पुग्दो रहेछ, बासस्थान पुगेपछी जुत्ताको तुनो खोलु भन्दा पहिले नै । श्रीमान आए, दिनभरिका दु:ख या सुखका गाथा बेलिबिस्तार लाउलान । भोक लाग्यो कि, भएको अनी चुलोमा पाकेको खाजा खालान । के गर्यौ आज, बाबुले के खायो ? सामानहरु केही सिद्धिएको छ कि भनी सोध्लान ! तर, यि यस्ता कुराहरुलाई गलहत्याएर प्याला र ब्लग खोज्न माउस समाएपछी हिजो श्रीमतिले भनिन, 'फेसबूकमा तस्बिर खोजाउने, ब्लगमा प्रेम-पत्र लेखाउने र माइस्पेसमा गोपनियता भन्डारण गराउने यो कम्प्युटर मेरो "सौता" हो । म भए - नाजबाफ । होइन गाठे भनेर उनिसङै प्रतिवाद गरौ भने सबै साचो हो । फेसबूक हराएपनी, आफुलाई अर्कै बनाएर नयाँ खाता खोलिनु । त्यसभित्र 'हराएकी कोही' सदैब खोज्दै जानु अनी खोजिरहनु । ब्लगमा प्रेमका भुतपुर्ब श्रीङ्खलाहरु लिपिबद्द गरिनु । मेरो संसार र तेरो संसार अनी उहाको आगन र हजुरको आगन माउसले हिर्काइ-हिर्काइ खोज्दा-खोजिरहदा न प्यालाको प्यास मेटिदो रहेछ । न समय टक्क अडिदोरहेछ त न कही, कतै केही भेटिदो रहेछ । अनी किन नहोस् त यो निर्जिब कम्प्युटर श्रीमतिको 'सौता' ?

अस्ती हेर्दा हेर्दै माइकल ज्याक्सन मरे । डाँडै उनको रहेछ । भयन्कर, अलिशान भबन । चारै तर्फ हरियाली । हरियालिको बिचमा हेलिप्याड । उनी त यो धर्तिबाट गए । तर भोकले आवाज निकाल्न नसक्ने अमेरिकिहरु उनको देहबसानमा धुरुधुरु रोए । भएभरका अमेरिकी टेलिभिजनहरुमा माइकल भन्दा अरु कुनै खबरै छैनन, कहिले हलिउडको डाडाबाट त कहिले लस एन्जलसबाट । मान्छे मरेपछी मान्छेहरुले बढी श्रद्धा गर्दारहेछन । अरुण थापा मरेपछी सम्मानित भए । उनी जिउदो हुँदा जिन्दगीको निरशाले बागबजारमा बिश पिउदा सम्झाउने कोही भएन । बिचरा मरे अनी उनको सम्मानमा उनका गीतहरु सन्कलित होइन, रिमिक्सिकन थाले । शैलाजा मरेको भन्दा सुजाता मन्त्रेको बढी चर्चा गर्छ, मेरो देश । कुख्यातिहरुले गरेको ख्याती बहिनिको हत्यामा मौन छ, मेरो देश । काकिलाई रत्नपार्कमा नाङ्गै घुमाउदा पेट मिचि-मिची हास्छ, मेरो देश । गगनहरु बोल्दा खोला सुसाउदैन, कोइरालाहरु, दाहाल र नेपालहरु बोल्दा गगन थर्कन्छ, मेरो देशको । त्यसैले मन पोल्छ । बासस्थान पुग्नेबित्तिकै यि पिडाहरु सधैं श्रीमतिसँग बिसाउनु भन्दा कुनामा कोचारिराखेको "खोयाबिर्के"को सहाराले कम्पयुटरमा जता मन लाग्यो, त्यतै माउसले घोच्न मन लाग्छ । औलाले थिच्न मन लाग्छ । थिच्दा थिच्दा बिचरा मेरो बुढीको यो सौता पनि थिल्थिलो भइसकी । भो, आजलाई नथिचुम । यत्तिकै !!! अस्तु !!!
Read more >>

25 June 2009

अल बिदा माइकल ज्याक्सन !


प्रख्यात पप गायक माइकल ज्याक्सनको आज बिहान लस एन्जलसमा मृत्‍यु भएको छ । हलिउडमा, म सानो ब्यापार गर्छु । अमेरिकि सेलिब्रेटिहरुको बासस्थान हलिउडमा आज सन्नाटा छाएको छ । सुनसान छ, हलिउड । त्यसै क्षेत्र वरपर आज उनका छिमेकिहरू बडो दुखित देखिंथे - एकाएक उनको मृत्युको खबरले । आज प्रख्यात सिटी बेवरली हिल्स, लस एन्जलस र वरपर सडकभर ज्याक्सन प्रती श्रद्धाभाव दर्शाउदै थिए, उनका शुभचिन्तकहरु । लस एन्जलसस्थित आफ्नै निवासमा ह्रदयाघात भएका ज्याक्सनलाई युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलसको मेडिकल सेन्टरमा लगिदै गर्दा दिउँसो २ बजेर २६ मिनेटमा उनी यस संसारबाट बिदा भएको घोशित गरिएको थियो ।
१३ ग्रायमी अवार्ड र १३ नम्बर वन सि‌गल्स जित्ने उनको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेका छैनन्। चार दशकसम्म उनी विश्वभरका मिडियामा छाइरहे। पछिल्लो पटक भने विभिन्न स्क्याण्डलमा जोडिएर उनको नाम आउने गर्थे। बाल यौन दुर्व्यवहारको आरोपमा उनीमाथि छानबिन समेत भयो। तर आरोप प्रमाणित हुन सकेन।
आफु पनि स्वदेशमा रहदा संगीतको बिद्यार्थी पनि रहेकोले होला - एउटा पप सम्राटको देहबसानले हृदय चिसो भयो । अल बिदा - माइकल, अल बिदा !!!
Read more >>

02 June 2009

परदेश, परिवार र पैसा :


परेदेशको दु:खले भनेको समयमा काट्न नसकेको कपाल कन्याउदै स्वदेश, आफन्ती र परिवारको सम्झना गर्दा प्रायश: मुटुमा साह्रो धक्का दिदो रहेछ । नयाँ पत्रिकामा हिजो " चैते, छिटो घर 'आ " शिर्शकको लेख पढ्दा मुटु भकास्सिएर आयो । त्यो लेखको पुरा भाग पढि नसकी बिचमै आशु पुछ्दै माउसलाई अन्यत्रै चलाऊन वाध्य भए, म । साहुको १५ हजार रुपैया ऋण तिर्न बोकेको भारिका नाम्लाका पाताले कपाल सबै झरेको ब्यथा पोख्दैथिए, चैते आमासँग फोनमा । स्कुलमा काम गरेर चलाएको जिबिका, बासी ढिडोले झाडापखाला लागेर बहिनी मरेकी घटना, गत महिना रामे साहुले घर पनि कब्जा गरेको आशुको बेलिबिस्तार र सेउलाले बारेर गुजारा चलाएको आमाको बियोग, बिरानो ठाउबाट फोन मार्फत छोरा चैतेलाई बताएकि दर्दनाक कथा । आफ्नै देशको तितो यथार्थ पढ्दा साह्रै नमिठो लाग्नु स्वाभाबिकै थियो । यहाँ यो वास्तविकता उल्लेख गर्नु सान्दर्भिक यस अर्थमा लाग्यो कि, आखिर चैते बाबुको मृत्‍युको ब्यथा र ऋणको बोझले १४ बर्षको उमेरमा परदेशको चिसो छिडिमा रात गुजारि-गुजारी दु:ख गर्दा पनि आय-आस्थाले नपुग्नु दैबको कत्तिको न्याय हो ? चैते भाई देशको मात्र एउटा उदाहरण हो, ऊ त एउटा पात्र मात्र हो । लाखौ चैते जस्ता भाईहरु आज मुलुक छोडि परदेशिनु पर्ने कटु बाध्यता र परदेशको अथाह दु:खका जन्जिरहरुले पोलेका मनहरु छन, हामीसित । परदेश भासिएका कयौ मध्यको एक पात्रको नाताले यहाँ केही कोर्ने दुस्साहस गरेको मात्र हुँ ।


अरब, अमेरिका, जापान वा मलाया । जहाँ रहेपनी हामी माता र मातृभूमी भन्दा अलग र टाढा छौ । परेदेशिनुपर्ने अनेकन कारणहरु त आफ्नो ठाउमा छदैछन् । त्यसभन्दा अलग हामीलाई परदेश पठाउने नाउमा दलाल, संस्थाहरुबाट गरिएका ब्यक्तिगत र आर्थिक शोशणको पिडा दु:खदायी भएको सबैलाई ज्ञात भएकै बिषय हो । बहिनिको बिहे गर्दा लागेको ऋण, बाबुले जुवा तास खेली सम्पत्ति स्वाहा पारेको ऋण, गुजारा चलाउन मागिएको ऋण र ऋण बापत महाजनहरुलाई तिर्नुपर्ने असिमित ब्याजले लगाउने अर्को घाऊ झनै बढी चहर्याउने हुदोरहेछ । अब, हवाइजहाजमा छाडेर, भर्खरै बिहे गरेकी श्रीमती छाडेर, गर्भवती प्रेयसी छाडेर, माता-पिताको न्यानो स्नेहलाई चटक्क छाडेर, छोरो रोला भनी एकबिहानै उसलाई नउठाइ चुप्प निधारमा चुम्बन गरी मायालाई सम्झनामै छाडेर, साथीभाइ, इस्टमित्र, आलो मायाकी प्रियतमालाई छाडेर काठमान्डौको मैदानमा उड्नैको लागि गूड्न पर्दा बिहानै एअर-होस्टेजसँग एक प्याग प्याला माग्न मन लाग्दो रहेछ । भयो पनि त्यस्तै । भर्खरै प्याला पिउने बानी बसेको थियो क्यार । म परदेशिदा हाजात् (हवाइजहाज)मा आन्टी (होस्टेज)ले जितु नेपालले भनेसरी सोधिन्," ओइ, के खान्छस ? " परिवार बिछोडको रन्को अनी बहुतै गह्रुङो ऋणको बोझ । साथीहरुले भन्थे, प्यालाले चिन्ता हटाउछ । त्यसैले मलाई के मागुम्, के मागुम् भाको'थ्यो । नाम पनि आएन । " रेड लेबल दिनु न, हजुर " भने । आन्टी दङदास् । एउटा सानो बोत्तल र प्लास्टिकको गिलास दीइन । मैले पनि मारा दन्काइदिए पो । जहाज थियो, कतार सम्मको लागि । त्यसभित्र आन्टिहरुले स्वदेशिलाई गर्ने व्यबहार त यहाँ के उल्लेख गर्नु पर्ला र ? त्यसमाथि पनि एकाबिहानै रक्सी मागेपछी ! आन्टिहरुको व्यबहार उल्लेख गरेर आफ्नो नाक आँफै नकाटौ भो ।


जब मान्छेलाई दु:खले चेप्दछ नि , त्यसबेला अनेक कस्टहरु पनि चौघेरो भएर घेरिदा रहेछन । सम्पत्ति के सबैभन्दा ठुलो चिज हो ? पैसा हुनेलाई मात्र समाजले स्विकार गर्दछ ? निर्धनहरुको चाँही के जीबन होइन ? चैते भाईको पिडा र आमाको अस्मितामा किन तथाकथित समाजको गिद्धेद्रिस्टी पर्दैन ? फेरी महाजनहरुले परिवारलाई दिने दु:ख र टोकसो सम्झदा हरेक परदेशिको मन कटक्क कुट्किदो रहेछ । कहाँ हो, कता हो ! बस्ने कुनै ठाउँ छैन । खाना त कुन चराको नाम पो हो ? यस्तै हुदो रहेछ । एक छाक कम खान पाए मात्र पनि ऋण थोरै घट्थ्यो कि भन्ने पिरलो मात्रै । त्यसपछी बसोबासको त केही न केही अर्थ लाग्ने नै भयो । बिचरा चैते भाई पनि कसको सहरामा घर छोडि हिंडेको हो र, मनको सपना बाहेक ?


टोकसो किन पो घट्थ्यो र, महाजनहरुको ? आउने बित्तिकै, फेरी भन्ने बित्तिकै पैसा कमाउन पनि नसकिदो रहेछ । परदेशमा बस्ने ठाउँ पनि भन्ने बित्तिकै कसरी मिल्दो रहेछ र ? सबै आ-आफ्नै धुनमा । चिने जानेको कोही नहुँदा स्वस्थानीमा पढेको नरक जस्तो हुदो रहेछ, परदेश । रात त जता गए पनि पर्दो रहेछ फेरी । रातमै सम्झना बढी, आमाको, छोराको, बुवाको र बुढा हजुरबुवा-हजुरआमाको । तर पीर सधैं ऋणको । "कागज" (वोर्क पर्मिट् ) चाहिने रहेछ फेरी काम पाउन । बिस्तारबादी भनी गाली गरेर के गर्ने ? त्यही भईयाहरुको धोती नमसारे काम मरु । रातमा काम गर्नुपर्ने भो । ऋणको पीरले परिवारले मर्नुपर्ने भन्दा त परदेषिलाई बाध्यताको लागि जे पनि गर्नुपर्ने ठुलो हुदोरहेछ । लागियो काम । हिजो अस्ती पीरले निद्रा हराम हुन्थ्यो भने आजबाट कामले सबैथोक हराम ।


गर्दै जादा दु:ख र कस्ट त कहाँ पो नहुदो हो र ? प्रबल ईच्छा र घनघोर बाध्यताले समय गएको पनि पत्तो नहुदो रहेछ । २ पछी आउने ३ र चारै रहेछ, रैतिको मुलुकमा पनि । वर्शौ बिते, दु:खमा, सम्झनामा । रोदनमा अनी कस्टमा । चाडबाडमा सम्झना र शुभकामनाका खातिर परिवारलाई गरिने फोनहरु पनि बढो अश्रुपूर्ण हुँदा रहेछन । सम्पत्तिवालहरु गरीबका छोरी बलत्कार गर्दै हिडिरहेका छन रे मुलुकमा । धनीले गाडीले हानेर हजुरआमा मारिदियो रे अस्ती । यि र यसै खबरहरु हुँदा रहेछन, हरेक सम्झनाका फोनहरुमा । आमा भन्नुहुन्छ - "बाबु कहिले आउछस ? कती दशै-तिहार आए, गए । सबैका छोराहरु आउछन बिदेशबाट । तं भने ।" बुवा फोन समायो कि खाली रुनुहुन्छ, केही नबोली । हजुरआमा भन्नुहुन्थ्यो, " बाबु म त तिमीलाई देख्न नपाइकन मर्छु कि क्या हो ।" क्यान्सरले केही महिना अघी हजुरबुवा बित्नु भो ।


पैसा मात्रै केही होइनरहेछ । तर पैसा सबथोक हो रहेछ । सम्पत्ती केही होइन भनुम् भने, राजा बिरेन्द्रले नागर्जुन् बनदेखी गोरखकाली मन्दिरसम्म आफ्नै नाममा गरेका थिए । सम्पत्ती केही हो भने, बिरेन्द्र मरेर के लगे त ? उनले त लान केही पाएनन्-पाएनन्, शाखा-सन्तानको मृत्‍यु संगै के गयो त ? त्यत्रा सम्पत्ति र बिर्ताका मालिक ज्ञानन्द्र महाराज बनमा थुनेको बाघ झै बस्नुपरेको छ । रुपैयाको मुल्य छैन भने, किन महाजनहरु सदा गरीबमाथि खनिन्छन ? चैतेभाइ, म र खाडीका मेरा दाजुहरु, इजरायलमा मेरा दिदिहरु किन रातदिन रोएर बस्नु परेको छ ? के यो संसारको नियम हो ? गरीबको लागि मात्र भनेर बनाएको परिधी हो ? हो के र होइन के त ? खै के खै के ???? म त आश्चर्यमा छु ।
Read more >>