07 June 2013

खुराफातमा रम्ने नेपाली मानसिकता र नेपाली संस्थाहरु

समस्यामा झेलिएकाहरूको हित र मर्कामा परेकाहरूको ब्यथा बुझ्न शुरु हुन्छ, जहांसुकै पनि कुनै संस्था । आजकाल फेशन, रहर, टकराव, घुर्की, देखासिकी र बदलाभावले जन्मने गरेका छन्, संस्थाहरू । नेपालमा स्थापना भएका अन्दाजी १४५ पार्टीहरूको स्थापनाको वास्तविक अर्थ पनि रहर, टकराव र पद गुमेका वा छाडेकाहरूको स्वार्थपूर्तिका खातिर खोलिएका उदाहरणहरू कसैका सामु छिपेको छैन । कुनै पनि राजनैतिक दल मुख्यत: राजनैतिक सिद्धान्त र निश्चित कार्यदिशा बोकेर समाज सुधार्नका लागि जन्मिन्छन । तर नेपाली चलचित्र क्षेत्रले चलचित्रको नाम नपाएसरी बिभिन्न अर्थ र वाहनाहरू जोडेर खोलिएका राजनैतिक पार्टीहरूको स्थापना देख्दा जो कोहिलाई पनि उदेक लाग्नु स्वाभाविकै हो । कुरो के जोड्न खोजेको भने, जुन रोग नेपालमा छ, परदेश छिर्दा परदेशीले हाम्रो रोग जांच गरेपनि हामी हाम्रो 'देशको रोग' लिएरै भित्रेका छौं । 'नेपालीको त्यो रोग' न कुनै प्रख्यात डाक्टरले पत्ता लगाउन सक्छ, न कुनै बिश्वबिद्धालयले त्यसको बारेमा अनुसन्धान गर्न सक्छ । हामी र हाम्रो मन-मस्तिस्कबाट नछुट्ने रोगको शिकारी-रोगी हौं, हामी । त्यसै रोगले संस्थाहरू छन्, र हाम्रो मनको आंगनीको पवित्र मण्डपबाट स्वार्थहरु अन्मेका छन् ।

नजन्मिनु जन्मिएपछी संस्थाको कर्तब्य केबल जनहितका पक्षमा काम गर्नु हो । दादागिरी, आधिकारिक पदाधिकारीहरूको मनोमानी र अघोशित निर्देशनले टाउकाहरू चल्छन भने जतिसुकै पवित्र नाराले संस्थाहरूको प्रार्दुभाव भए पनि सकरात्मक सोंचको बिकास भएन र साधारणहरूलाई बुझ्न सरल भएन भने 'पवित्र नारारुपी स्थापना' बेकार ठहरिनेछ । संस्थाको एउटा प्रारुप हुन्छ, ढांचा हुन्छ, कार्यतालिका हुन्छ, पवित्र मन बोकेका र सिर्फ सेवालाई धर्म ठान्नेहरूको जमघट हुन्छ, सोच र बिचार हुन्छ, पवित्रवालाहरुको बिचमा सकरात्मक गन्थन हुन्छ, नयाँ-नयां योजनाहरूको मन्थन हुन्छ, कार्यसमितीको बैठक हुन्छ, माइन्युटिङ हुन्छ, बिचार मोथिन्छ र अन्तमा निचोडरुपी नौनी निस्कन्छ । तर आजकाल संस्थाहरुमा धोका हुन्छ, बेइमानी हुन्छ, झुटो बोलिन्छ, आरोप लगाइन्छ, योजनाहरू च्यातिन्छ, आवाजहरू निशेधित हुन्छन्, कोठे बैठकहरूको आयोजना हुन्छ, फोन मार्फत मन मिल्नेहरूको एजेन्डा आउंछ र बैठक हुन्छ, तोकिएको अवधिको दुई घन्टापछी बैठक शुरु हुन्छ, मन लागेका जान्छन्, जसले जे बोले पनि हुन्छ, योजनाहरू मतलब हुंदैनन, ब्यक्तिगत टकरावको हानथाप हुन्छ, फोनवालाहरूको एजेन्डा पास हुन्छ अनि सकिन्छ । कार्यक्रमको आयोजना हुन्छ, ३२ जनाको कर्यसमिती छा भने मानौं, ४ जना काम गर्न खट्टिन्छन्, पद पाएकाहरू लरक लरक लर्कदैं आउंछन्, तीनलाई माइक चाहिन्छ, तीनलाई भाशण गर्नैपर्ने हुन्छ र सकिन्छ । यहां स्पष्ट के पार्नु छ भने देख्दा नजिकैको जस्तो लागे पनि वा भनौं कुनै संस्थालाई नजिकै औंला ठड्याएजस्तो लागे पनि हामीले 'नेपालदेखी लिएर आएको त्यहि रोगले' गालेका मनहरूको संस्थाको हविगत संसारैभरी यस्तै छ । फेरि देखिंदा र केही लेखिंदा, हिजो आफू बसेको बेलामा राम्रो र निस्किएपछी आरोप भन्ने गाल पनि आउंन नसक्ने त कहाँ हो र ? काग कराउंदै छ, पिना सुक्दैछ र सत्य कहिल्यै डग्दैन । आरोप भन्दा सुध्रनुको पछाडी मान्छेहरू लागे भने मात्र संस्था जिवित बन्छ । प्रचुर प्रचारवाजीमा समय खेर फालेर आफ्ना एजेन्डाको बेलिबिस्तार गर्नेहरूको हातमा संस्था पुग्यो भने भोलीका दिनमा संस्था भित्र पार्टीगत गुटबन्दीको राजनीति भन्दा केही नहुने ग्यारेन्टी छ ।
यहां संस्थाले कुनै कार्यक्रमको आयोजना गर्छ, त्यसै भित्रका कार्यसमितिका सदस्यहरूलाई थाहा हुंदैन । र फेरि कुनै सदस्यहरू थाहा पाएपनि जानकारी बिहिनको नाटक गर्छन् । आयोजित कार्यक्रममा कसले माइक समाउने होडबाजी हुन्छ । मन्चमा बोल्नेहरूको कुस्ता-कुस्तीले बोल्ने चिट्ठा अर्कैलाई पर्छ । सहभागीहरू मनोरन्जन खोज्छन्, तर बैशाखमा देउसिरे घन्किन्छ । प्रवासमा हुने यस्ता कार्यक्रमहरूले समाजको हित कसरी हुन्छ ? अगाडी बिशिष्ठ अतिथि चस्मा लगाई लगाई घोरिएर कार्यक्रम हेर्छन्, पल्लो गाऊंको कुनै संस्था वालाको संस्थापकले प्रमाण पत्र बांड्छ । बुझ्नेहरू भित्रै भितरी चुप हुन्छन्, नबुझ्नेहरू नौटंकीको ताली पड्काउंछन । अब हेर्दै जानुपर्छ, प्रवासमा संस्थाका लागि राखिने नामहरूको अभाब हुने छ र नामको संकट लाग्ने छ । हामीले समाजसेवाको रवाफमा जतिसुकै छाती पिटेपनि हिजोकी एसएलसी फेल रेखाले हामीलाई होमलेस भन्दै जानेछिन । र, होम भएर पनि सन्तोष नपाएकाहरूको आवाज लेस हुनेछ र अर्को बर्ष आउने नव-नायिकाले तपाईं हामीलाई भिखारीको सम्मान दिएर जानेछिन । समुदायको सेवा चाहनेहरूको आवाजमा हेल्लो भन्ने कोहि हुनेछैन । दहिचिउरेहरूको बोलवाला हुनेछ । कसैले सत्य लेख्यो भने 'पत्रकारिता'को प्रमाण खोज्नेहरूको बिगबिगी हुनेछ । सत्य बोल्ने, सुन्ने र जान्नेहरुलाईं 'एक बोत्तल बियर' मा बिक्ने ट्याग लगाइनेछ र तिनीहरू चाहिं ह्विस्कीको चुस्किमा बदनाम र खुराफातको राजनीति रच्नेछन । त्यसैले लाग्दछ, संसारमा क्यान्सर रोग निदानको ओखती भन्दा खुराफातमा रम्ने नेपाली मानसिकताको निदानको ओखती पहिले पत्ता लागोस् ।
कुलतमा फसेर खल्ती रित्तिएको अभागी अभावीले सहयोग नपाएका उदाहरणहरू यहि आंखाले देखेका छन् । एक छाक खानलाई सहयोग पाएपनि एक निद्रा सुत्ने ओछ्यान नपाएको यहि आंखाले देखेका छन् । हामी मिलियन डलरको प्रोपर्टीमा ३५० जना अट्ने सभाहल भएको गर्ब गर्छौं, तर निद्राले झुलुम त्यो अभागीलाई एक प्रहर सुत्ने र स्वदेशको सपना देख्ने निद्राको लागि एउटा च्यादर र तालाबन्दी कोठाको सोफा दिंदैनौं । र हामी भृकुटी नेपालकी छोरी, सगरमाथा नेपालमा, बुद्ध नेपालमा जन्मेको र रामको ससुराली जनकपुर भन्दै उफ्रन्छौं । हाम्रा अगाडी चाहे कुलतमा फसेको धनी बाउको छोरो होस्, तर उसको अभावमा साथ् दिदैंनौं भने हाम्रा मुलुकमा बुद्ध जन्मे नि के ?, सगरमाथा संसारको टुप्पो भए पनि के ? के अब बुद्ध आएर प्रवासमा दु:ख परेकालाई पैसा दिन्छन् ?। या सगरमाथा आएर नडराओ नेपाली हो, म यहां छू भनेर ठिङ्ग उभिन्छ ? यसरी नै देखिन्छ कि, अमेरिकाको मात्रै उदाहरण लिने हो भने पनि न्यूयोर्कमा करिब सय वटा संस्था छन्, खोइ त ? भोकभोकै सडकमा सडेका ती युवाको हरिबिजोगमा कसले सहयोग पुर्यायो ? बाल्टिमोरमा ३५ वटा संस्थाहरू होलान्, कालीको प्रेममा अनाहकमा मरेका एक युबकको लागि के सहयोग भयो ? टेक्सासमा त्यति नै संस्थाहरू छन्, तर समुदायको बिकासमा लागेका भन्नेहरूले पोहोरको ए एन ए सम्मेलनमा केही सहयोग गरेरन । बोस्टोनमा १५ वटा जति संस्था छन्, पवित्र लागे पनि ती पनि राजनीतिबाट ग्रसित छन् र लस एन्जलसमा छोटो अबधिमा १०/१२ संस्थाहरू भए  । कसले के कति गरे, 'पत्रकारिताको परिचय-पत्र' नभएकाहरूले लेखेर के हुन्छ र ? तर सत्यमेव जायेते, कन्ना पछाडि खुराफात गर्नेहरूको पर्दाफास भगवानले एक न एक दिन गर्नेछन र अत्याचार, ब्यभिचार र अमिल्दो किस्ताबन्दीको कथा कुनै न कुनै कलमले एक न एक दिन त अबश्य लेखिनेछन । समाज बनाउंछु भन्नेहरू पनि चेपारेको लेपन लगाएर तेल घस्ने बहानामा गोपनियता खोतल्दै नजिक हुने बानी नपरेको कहाँ हो र ? अत: समाज परिवर्तनको बिचार र आवाज मिचेर, सत्यवादीहरुका निरन्तर् प्रयासलाई थिचेर, र सम्भावनाका याबत कुराहरूलाई मिचेर संस्था सायद् अगाडी नबढ्ला, नेपालमा होस् या प्रवासमा ।

3 Comments:

Anonymous said...

गहिरो सत्यता लाई छर्लङ्याइएको वोजनदार लेख। लेखक लाई धन्यबाद ।

Kamal Budha इमान्दार said...

साहित्यकार तथा पत्रकार दिया चन्द को यो लेख अबस्य पढ्नुहोला http://www.imandarmedia.com/2017/01/diya-chand.html

LOP said...

गहिरो सत्यता लाई छर्लङ्याइएको वोजनदार लेख
http://www.lumbinionlinepatrika.com/

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼