12 November 2011

लुटेराहरुको देश :


एउटी आमा घांस काट्न जान्छिन
अनाहकमा तातो गोली खान्छिन,
बाबुरामजीको घरको पल्लो बनमा पनि
यो घटना घटेको बाबुरामजीलाई थाहा छ ।

चुरे डांडांमा बस्तु चराउन एउटी बहिनी जान्छिन
नरपिपासुद्दारा रक्ताम्य बलात्‍कृत हुन्छिन्,
प्रचन्डजीको घरमाथीको डांडामा घटेको घटना
प्रचन्डजीलाई पनि राम्ररी थाहा छ ।

एउटा बच्चा स्कुल जान्छ
बाटोमा अपहरणमा पर्छ,
रौतहटको मैदानको यो अपहरण
माधबजीलाई मज्जाले हेक्का छ ।

पूजा गर्न मन्दिर हिडेकी कान्छीको
पूजा-थाली सहित गहना लुटिन्छ,
शुशिलजीले पूजा गर्ने मन्दिरको घटना
शुशिलदालाई सम्झाउनै नपर्ला ।

बिहान पसल खोल्न हिंडेको पसले
भारतीय गुन्डाको छुरी खान्छ,
गच्छदारले लेबी उठाउने बजारको कथा
हामी मुलाले के सम्झाउनु पर्ला र ?

बाटो बनाउन आयोजित गाऊको कचहरीमा
लठैतहरुले भाटाले टाउको फुटाउंछन,
झलनाथजीको गाउंको कथा
त्यहि गाउंलेहरुलाई सोधे मात्र थाहा हुन्छ ।

पूल बनाउने ठेक्कामा गुण्डाहरुको बोलवाला
परशुराम र चरीले लुटेका सम्पत्ती,
भारतीय नम्बर प्लेटको गाडी चढ्नुहुने
के पी दाईलाई थाहा होला ।

बी पी स्टाइलको दाह्री काटेर
मार्क्सबादी भ्रस्टाचार गर्नुहुने,
अबसरबादीका पर्याय हाम्रो कर लुट्नुहुने
जे पी दाईलाई के देलान शुशासन ?

बाहुनी बिहे गरेको बाहनामा कुनै श्रेष्ठले
बारीको कुनामा ढुंङ्गेलजीको गोली खान्छन,
भाइ मरेको लगत्तै दाई मारेका कथा थाहा होला
बर्षारामजीलाई पनि राम्रै सित ।

गोरखकालिकाको कसम खाने सेनाहरुले
गोरखनाथ गणमा गरेका हत्याका घटनाहरु,
ब्यारेकै छेउमा भल्भल्ती बगेका रगतका खोला
देखेकै थिए होलान्, छत्रमानजीले पनि ।

आज कमल थापाहरु गर्जिन्छन्, राजा चाहियो रे
कुरो पनि ठिकै होला आखिर,
राजा फालेर जनताले के पाए त ?
कोहि हुनु र नहुनुमा हामीले के पायौ ?

गुन्डाहरुको राज, भ्रश्टाचारीहरुको बिगबिगी
लठैतहरु पछि लगाउने नेताहरुले,
मुस्ताङ चढे'नी, डा. पढे'नी
बैध्य र झांक्रीहरुले झारफूक गर्ने हुन हामीलाइ ।

भुकम्पले ढलेकाहरुले कम्बल पाएनन्,
भोकाहरुले ढिंडो पा'का छैनन्,
झाडापखालावालाहरुले जीबनजल नदेखेको देशमा
नयाँ अनुहारमा जोगीको भेषमा आउनेहरुले के गरे ?
हत्यारा बचाए, आममाफी दिए, आफू मुस्ताङ चढे
प्रथम महिलालाई पजेरो दिए, अघोषित मन्त्रालयहरु दिए ।
हिजो कांग्रेसले, एमालेले जे गरेको थियो,
आज पनि त्यहि भयो ।

चिरिन्जिबी जेलमा, गच्छदार कार्यवाहक प्रधानमन्त्री
गुप्ता सरकारको प्रवक्ता, शरदसिंह मधेशी नेता !
प्रभु शाहहरुको हालिमुहालि, बादलको "र"
बिचरा एक्लो रमेश खरेलले के गरोस ?
खानु खाए देशलाइ, पिउनु पिए रगत
स्विस बैंकमा खाता, जनतालाई आश्वाशन
क्या गजबको देशमा जन्मिइएछ गांठे
लुटेरै-लुटेरा भातमाराहरुको देश,
लुटेराहरुको देश ।

0 Comments:

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼