20 January 2010

प्रेम, विवाह र एक दशक :


हिजो जस्तो लागेको थियो, बालाखामा स्कुल गएको । साथीहरुसँग तितेपातिलाई झुप्पो बनाएर चुङ्गी खेलेको, सडकको किनारामा बस्तुभाउका दिशापिसाब प्रबाह नगरि आँफैले बत्ताएको गुच्चा टिपेको । समय त धेरै अघि बढिसकेछ, गांठे, पत्तो नपाइकनै । जुनियर रेड्क्रस, स्काउट र बिद्धालय स्तरिय कर्यक्रममा जिल्लाका कुन कन्तरा घुमेका दिनहरु पनि हिजै जस्तो लाग्छ । झम झम पानी परिरहंदा लुदी खोलो तर्न नसकेर ढुङ्गा-गाडे भञ्ज्याङको उकालो हुँदै मामाघर जानेगरेको पनि हिजो जस्तो लाग्दैछ । दरौंदिमा मात्र होईन लुदी र सिर्दी खोलोमा पनि धेरै पनि र भेलहरु बगिसकेछन । बिगत सम्झदा झल्यास्स हुन्छु, यो जिन्दगीले पनि जवानी र सम्झनाका धेरै अत्यास र झेलहरु भोगिसकेछ ।

टन्टलापुर घाममा घैया गोड्दा-गोड्दै के सुर चलेर पो हो, नेपाल(काठ्मान्डौं) छिरियो । हिजै जस्तो लाग्छ, कमाउन राजधानी छिर्दा साझा बसको झ्यालबाट बान्ता गर्दै बीर अस्पताल निर झरेको । त्यो सांझ बासको लागि गाउलेहरुको कोठा चाहारेको, गोङ्गबु जानु पर्ने मान्छे गल्कोपाखा तिर लागेको । अस्कलको अगाडि जीवनमा पहिलो चोटि म:म: खाएको, बुढी भैसिंका ती डल्लाहरु 'पाचन' नभएर साथीको कोठामा जीबन-जल पिउंदै सात दिन लम्पट परेको । कहिल्यै केही देखेको भए न हो, यो जिन्दगीले बुझ्ने । कहिल्यै केही सिके न हो यो ज्यानले जान्ने ! त्यसो त हिजो जस्तै लाग्छ, पहिलो जागिरमा अफिसको भुइं पुछीवरी टालो पखाल्न धारो खोल्दा सावर खुलेर जाडो याममा लगाएको सुइटर सहितको आफ्नो सारा कपडा भिजेको । अहिले हिजो सम्झदा दङ्ग लाग्छ, यो ज्यानले चाइनाका धेरै जाकेटहरु लगाइसकेछ, धेरै जोर गोल्ड्स्टार जुत्ताहरु फटाइसकेछ, कयौं जोर बङगाली मोजाहरु प्वाल पारिसकेछ ।

अनुभब र भोगाइ संगै जिन्दगीले 'प्रेम' पनि चाहंदो रहेछ । त्यो प्रेमलाई जसरी अर्थाए पनि मज्जाले सरल रुपमा अर्थिंदो रहेछ । नौलो जवानीको अनौठो प्रेमको खोजिमा शायद सबैका आत्मा लागेकै हुने होलान । मेरा कल्पनाहरु पनि लागे होलान । र भन्नै पर्छ, मेरो कल्पना केबल कल्पनामा मात्रै सिमित नरहेर 'त्यसको' खोजाइमा लाग्यो । वास्तविक बुझाइमा लाग्यो । प्रेम खोज्ने लालसामा कतिका किताब पढ्न मागेर फर्काउंदा 'पत्र' सामाबेश गरिकन फर्काइयो होला भनेर पनि कसरी भनुम ! स्कुलको कक्षामा भलाया सित कापिका पानाहरु साट्दा मनका तर्कानाहरु पनि त्यसैमा लेखी साटियो की भनेर पनि कसरी भनुम ? स्कुलको सदन छुट्याउंदा आफु टोली नेता हुँदाको बखतलाई मौका छोपेर 'मन परेका' हरुलाई आफ्नै टोलिमा पार्न पाए हुन्थ्यो या पारियो कि पनि कसरी भनुम ? मन परेकाहरुलाई कांचो आंप टिपेर मन जित्ने आशामा कति कांचा आंपका गेडाहरु हल्लाइयो पनि कसरी भनुम ? यस्तै सोचाइ र कल्पना हुदैं बित्दो रहेछ, जिन्दगी । र पो पत्तो नहुंदो रहेछ, यति चाडो समय बितेको र आफ्नो जिन्दगीले नेटो काटेको ।

राजधानी छिरे पछि पनि ती भलाया र आंपका गेडाहरु कसरी भुलिन्थे ? काँचो मासुको म:म:ले स्कुले जीवनको काँचो आंपको स्वाद कसरी भुलाउथ्यो र ? शहरको रमझमलाई वास्ता नगरी ती दिनहरुले 'शुरुवाती प्रेम पत्र'हरु सम्झन थाले । स्काउट , रेड्क्रस, बिरेन्द्र शिल्ड, हाजिरिजवाफ प्रतियिगिताहरु र सम्झनाहरु याद आउन थाले । त्यहि त हो, भरखरै लेख्न शुरु गरेको 'शुरुवाती पत्र'को अधुरो उपन्यासलाई पूरा गर्न मन लागेर आयो । राझधानीको कोलाहल बसाइमा जिन्दगीले नयाँ कलम र कापी खोज्न थालेछ । ठमेलको स्टेशनरिमा खोज्न थालिएछ, नयाँ डायरि । कलेजको कक्षा कोठामा खोज्न थालिएछ, उपन्यासको शिर्शक । पुस्तकालयमा खोज्न थालिएछ, उपन्यासलाई सहयोग पुर्याउने खालका अरु खजनाहरु । आफु जता पुग्यो त्यतै खोजिएछ, एउटै शिर्शकको त्यो 'प्रेम' र त्यसको तात्पर्य ।

दिनहरु बित्दै गए । खोजाइहरु रोजाइमा परे । कलेज शुरु भएदेखी पढाइ सकिंदा सम्म लेखिएका उपन्यासका भागहरु फेरी-फेरी बिस्तारमा लेख्दै जाऔंला । तर यो वास्तविक मैले भन्नै पर्छ कि, मैले उपन्यास लेखी सकेछु । बिडम्बना त्यहि हो कि, मैले लेखेको 'प्रेम उपन्यास' प्रकाशित गर्न सकिन । तर लाग्छ, प्रकाशित उपन्यास मात्र 'प्रेम' होईन । अथवा प्रेम सधैं सबै प्रकाशित र प्रचारित हुनु पर्छ भन्ने छैन र नहुंदो पनि रहेछ । मलाई त्यस्तै पर्‍यो र प्रकाशानार्थ असमर्थ भएछु । र पनि जीवनले शिर्शक र त्यसको भावनालाई भुलेन, सत्यतालाई भुलेन । लेखिएका भाबहरु अप्रकाशित भएपनि लेखकले दु:ख गरि लेखेको शिर्शक कहिल्यै भुल्दैन । मैले प्रेम भुलिन । कसैलाई भुलें होला तर अहं प्रेम भुलिन ।

भनिन्छ नि, धनले प्रेम कहाँ किन्न पाइन्छ । अप्रकाशित र असफल माया भन्दा मनले रोजेको आत्मिय प्रेम मेरो जीबनमा बिबाहमा परिणत भएको दिन जत्तीको खुशीको दिन कहीले आउला र ! गुमाएका चिजहरु त गुमिगए, झरेका फुलका थुङ्गाहरु झैं । तर फेरी आँफैले रोपेको गुलाबको बोटमै फलेको सुन्दर ताजा 'गुलाब'को थुङ्गा भन्दा प्यारो के हुन्छ र ? साचो प्रेमलाई शाइत पनि नचाहिदो रहेछ र त आजभन्दा ठीक दश बर्ष अगाडि सरस्वती पूजाको दिन भएको मेरो बिबाह आज 'एक दशक' पो भएछ । कत्ति छिटो बगेको समयको खोलाको पानी । नबगाएपनी बितेको पत्तै नपाइने । धन्य छ जिन्दगि, अनि सरस्वती माता । एक दशकको यो लामो बैबाहिक जिन्दगी आनन्द र सन्तोशका साथ बिताउन 'सरस्वती बरदान' मिलेकोमा । । अनी धन्यवाद मेरी अर्धाङ्गिनी, हरेक कस्ट र अड्चनहरुलाई सहजै सरल ठानी लामो जिन्दगीको प्रत्यक पाइलामा साथ बनेकोमा । धन्यबाद्, असल प्रेम - यो प्रेम, विवाह र एक दशकको दिन ।
Read more >>