01 July 2010

साइबाबा : आस्था, विश्वाश वा रहर ?


नेपाली समाजमा धर्मको आफ्नै रामकहानी छ । तेत्तिसकोटी देबताहरु, तिनका मठ-मन्दिर र आस्थाका पाटी-पौवाहरु अनगिन्ती । धर्म र मानवताको शान्त मुलुक नेपालमा हरेक किसिमका धर्म र त्यस्तै प्रकारका धर्मालम्बीहरु त छंदैछन । र पनि धर्म अबलम्बन गर्ने तरिकाहरु फरक । पूजा गरिने तरिका फरक होलान् तर गन्तब्य त जुन बाटो गए पनि एकै हो रे । यसरी धर्मलाई प्रचार गर्ने बाहानामा नेपाल र भारततिर उदाएका सयौं- हजारौं गुरुहरु, पास्टरहरुबारे हामीलाई थाहा छदैंछ । आजकालका रामदेब सबैतिर छाएका छन् । राजनीति र नैतिकताको सिन्को भांच्न नसक्ने हाम्रा महान नेताहरुका च्यापू, कम्मर र भूंडि पनि हल्लाइदिए - उनले खुल्लामन्चमा । त्यसरी नै धेरै बर्ष देखि भारतको बैंङ्लोरमा आश्रम गरि बसेका साइबाबाका चर्चा पनि कम छैनन ।

भनिन्छ, मरुभुमी सरहको बैंङ्लोरलाई हराभरा शहर बनाए रे - साइबाबाले । प्रकृतिको चिनो केही नभेटिने साइ आश्रमको बर्तमान थलो आज पर्यटकिय रुपले संसारभर प्रख्यात छ रे । पांच रुपैंयामा मुटुको अप्रेशन हुन्छ रे । साइबाबालाई भेटेपछी वा त्यो ठाउं टेकेपछी ब्यक्तिजिबन नै परिवर्तन हुन्छ रे । म त आजसम्म गएको छैन, बैंङ्लोर । तर 'रे' का यी याबत हल्ला र भाकाहरु साँच्चै सांचो होलान् ? नायक शिव श्रेष्ठ हरेक कामको पछाडि 'बाबाको आशिर्बाद' को फुर्को झुन्डाउछन । नेता महेश आचार्य लगायतकाहरुलाई साइबाबाले सुनको औंठी उपहार दिए रे । तर सामान्य नागरिकले बहुमुल्य त्यस्ता औंठी-उपहार पाउंदैनन रे । सबै 'रे' का यी फुर्काहरु के सांचो होलान् ? त्यो त नायक श्रेष्ठ, नेता आचार्य लगायत आश्रम टेकेकाहरुलाई थाहा होला । तर पनि संसारभर करोडौ साइभक्तहरु रहेको चाँही साचो हो । नेपाल, भारत, पुरै एसिया, युरोप र अमेरिकामा उनका लाखौं भक्तजन छन्, रहेछन । प्रायश: नेपालीका डेरा र घरका भित्ताहरुमा साइबाबाको फोटो र 'बिभुती हुंदारहेछन । र परदेशतिर पनि धेरै साइ संगठन र सभाहरु रहेछन ।

महाराजगंन्ज, काठमाडौंमा रमेश नेपालीको घरमा रहेको साइ थलोमा साथीहरुसंग धेरै पहिले साइ जन्मोत्सबको कार्यक्रममा जाने 'चानास' मिलेको थियो । दिनभरि आस्थाको लागि भनेर भोकै बसियो । त्यसदिन मान्छेहरु पनि हजारौं आएका थिए । अत्यन्त ब्यबस्थित र अनुशाशित थियो, त्यो कार्यक्रम । एकै स्वरमा साइ भजन, पालै-पालो पूजा । लाग्थ्यो, मान्छेहरुमा साइबाबाप्रति ठुलो आस्था रहेछ । यो सांचो थियो कि, एउटा राजनैतिक पार्टीले आयोजना गरेको आन्दोलनमा आउने बेरोजगारहरुको भिड अबश्य थिएन, त्यो । उपस्थितहरुको अगाडि साइबाबाको बडेमानको फोटो राखिएको थियो । भजन किर्तन पछि त्यसबाट खरानी 'बिभुति' झरेको मेरै आंखाले देखेको पनि सांचो हो । तर अचम्म, एउटा फोटोको फ्रेमबाट बिभुती कसरी झर्छ र झर्यो, त्यो त साइबाबा नै जानुन । त्यसपछी साइ सम्बन्धि केही पुस्तकहरु पनि पढियो । हातमा साइ औंठि लगाइयो । हार्मोनियम बजाउंदै केही बिहान साइ भजन पनि गाइयो । एक दुई महिना शाकाहरी भैयो । धेरै नै साइ पुस्तकहरु पढियो । भनिन्छ नि, संगित र पुस्तक सबै राम्रा हुन्छन् । हामीहरुको लागि गीता, महाभारत, कुरान र बाइबलहरु ठुला हुन रे । बिद्धानहरुले लेखेका किताब पढ्नु नराम्रो त कहाँ हो र ? साइबाबाले पनि धेरै पढेका छन रे । उनी त अझ डा. हुन रे । तर उनका किताब पढेरै मान्छेहरु साइभक्त भएका हुन त ? रहर त पक्कै होईन होला । यही गुदी कुरो भने बुझ्न सकेको छैन ।

बत्तिसै लक्षणले त शिव भगवान पनि युक्त थिएनन रे । बुढा गांजा खाने, पार्वती कुट्ने । सतिदेबिसित लभ गर्ने । कृष्णजी गोपिनीहरु भनेपछि भुतुक्कै । राम सिता हरण गर्ने राबणलाई केही गर्न नसक्ने । यस्तै होला, ठुला धर्म गुरुहरुलाई लाग्ने आक्षेपहरु । साइबाबालाई 'यौन' सम्बन्धि लागेको एउटा आक्षेप वा काण्ड पनि बढो प्रख्यात रह्यो । त्यो कति सत्य थियो । देख्नेहरु जानुन । हामिसंगै पढ्ने कलेजका एक साथी थिए । गांजा भनेपछि शिव भगवानलाई भन्दा बढी चाहिने । पढ्न फेरी 'खतरा' । साथी टाठो । राजनितिमा खप्पिस । सबै त भन्न मिल्दैन । जे होस्, सफलता सधैं उसका दाहिने हुन्थे । साथी पुट्टपर्ती लाग्यो, साइबाबा भेट्न । साइबाबालाई भेट्ने अबसर पनि पाएछ, सोल्टीले । फर्केर कलेज आएको थियो त शब्दै पिच्छे 'साइराम्' र 'साइकसम' भन्दा केही भन्दैन बा । तर हामीले उसको बानी र ब्यबहारमा चाँही साँच्चै उन्नति पायौं, जुन कुरो सबै साथिमाझ चर्चा पनि हुन्थ्यो । अहीले त उनी धेरै ठुलो मान्छे भएका छन् । तर उनी आफ्नो सफलता लगन्, मेहनत अनि साइ आशिर्बादको कारण भन्दछन । यो बैज्ञानिक युगमा एउटा ब्यक्तिमाथिको आस्था त 'रुढिबादी' ठहरिएला । तर पनि अरु धर्म, गुरु र प्रबचन संगै आजका मान्छेहरुमा साइबाबा प्रतिको भक्तभाब आस्था हो वा विश्वाश वा हो रहर ! गांठि कुरो बुझ्न सकेको छैन ।

5 Comments:

Bed Nath Pulami said...

जीवन उपयोगी यथार्थ दर्शन बाड्ने जो कोहि व्यक्ति मलाइ आदरणीय लाग्छ र ती कुराले पक्कै पनि हाम्रो जीवनशैलीमा कुनै न कुनै रुपले भिन्नता ल्याउछ तर सबै जे हुन्छ त्यो भगवान ले गरिदिया'जस्तो यो पनि साइबाबा ले गर्दा , त्यो पनि साइबाबा ले गर्दा भन्ने कुरामा चाही - म सहमत छुइन !
तर "बैज्ञानिक युगमा एउटा ब्यक्तिमाथिको आस्था त 'रुढिबादी' ठहरिएला" भन्ने कुरा अलिक होइन कि ? बैज्ञानिक युगमा चाही आदर्श व्यक्ति हुनै सक्दैन भन्ने छैन नि ! तर पक्कै पनि अन्ध भक्त भएर यो भयो उनकै कारणले / यो भएन उन्कै कारणले भन्ने जस्ता आसक्ति चाही रुढिबादी कुरा हो !गोकुल दाइ !

डीआर न्यौपाने'सूर्य' said...

दिनानुदिन साइ भक्तहरुको संख्यामा वृद्धि भएको देखिरछु मैले पनि। यो सच्चा मानव प्रतिको सदभाव त पक्कै हो तर चमत्कारका कुरामा मलाई बिस्वास छैन। कसैमाथि आस्थावान त पक्कै हुनुपर्छ जीवनको गतिलाई सहि मार्गमा डोरयाउन। यो पनि त्सैको उपज होला ।

Dilip Acharya said...

साइबाबाका सामजिक कार्य र उनको वा उनको संस्थाका नामबाट हुने सहयोगी कार्यको त सराहना गर्नैपर्छ । तर मलाइ यो बिनासित्ती फोटोबाट विभूति झर्ने र चमत्कारका कुरा भने चित्त बुझ्दैनन् । सामान्य कुरा हो कतै फोटोबाट विभूति झर्छ भने अर्को कुनै ठाउँमा त्यो विभूति बनाइन्छ नै । अस्तित्वमै नभएको कुनै कुरा बनाउनुलाई मात्रै म चमत्कार ठान्छु, हैन भने यो साधारण चटक गर्न सक्ने मानिस भारतमा मात्रै लाखौंको संख्यामा छन ।

मलाई यहाँनेर अर्को एउटा प्रसंग याद आयो । धेरै वर्ष पहिले, जुन बेला साइबाबाले आफूलाई शिवको अवतार भएको दावा गरेका थिए, भारतकै अर्का एकजना हठयोगी एल.एस. राव ले साइबाबालाई आफूले ल्याएको कोब्रा सर्पको विष पिउन चुनौती दिएका थिए। तर साइबाबाले स्विकारेनन् । कालकूट विष पिउनेको अवतार भएको भए कोब्राको बिष पिउन समस्या नहुनु पर्ने हो ।

अरु साथीहरुलाई चित्त नबुझ्ला तर मेरो आफ्नो विचारको कुरा गर्ने हो भने चाहीँ चमत्कारको पछि लाग्नेलाई लाई काम लागे पनि साँच्चै सत्य, अध्यात्म वा ईश्वरको खोजी गर्नेकालागी भने साइबाबा काम लाग्दैनन् ।

Ddus said...

फ्रेमबाट बिभुती कसरी झर्छ र झर्यो अरे भन्ने कुरा मैले पनी धेरै सुनेको छु तर देखेको छैन,

साथै साइबाबाको कुरा गर्दा भारतमा दुइ जाना साइ साइबाबाहरू भेटीनु हुन्छ , स्रिद्दी साइ र साइराम, सबका मालीक एैक , भुका मानीसलाइ खाना खुवाउ, अरूको बारेमा नराम्रो नसोच ..... सन्देस फैलाउनु भएका स्रिद्दी साइ , जब स्रिद्दी गइयो त्यहाँ देखीयो मानीसहरू को आस्था, विश्वाश ,

कृष्णपक्ष said...

रे का सबै कुरा पक्कै पनि सत्य हैनन्, तर प्रेम, धर्म, दया र मानव सेवाको भाव वा अनुशासित जीवनशैली उनका भक्तहरुले मात्र हैन सबैले अनुशरण गर्नु पर्ने सकारात्मक बिषयहरु हुन् र त्यसको हामीले प्रसंशा गर्नु पर्छ । मानिसमा सत्य साइ प्रति बढ्दै गएको आस्थाको कारण यही हो ।

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼