14 January 2009

सरकार, कलम र दुई थोपा आशु

ईतिहासको यो कालखन्ड सम्म शायद नेपाली जनताले हजारौ शासकहरु देखे र भोगे, चाहे ति शासक पृथ्वीनारायणको रुपमा हुन वा बहादुर शाहको भेशमा । जङ्बहादुर वा चन्द्रशमसेरको रुपमा होउन वा मनमोहन, गिरिजा वा नयाँ नेपालका नयाँ शासक प्रचन्ड कै घमन्डताको स्वरुपतामा नै किन नहोउन । ति सबैका रुप र भेशमा तातो खरानी भन्दा केही देखिएन । भनिन्छ नि, जुन जोगी आए पनि कानै चिरेका । शाहहरुले कान चिरेर दासता, सामन्ती सोच र पाखन्डिपनाको गहना लगाएका थिए भने ०४६ साल पछी आएका प्रजातन्त्रका हिमायाती भनाउदा हरुले भ्रस्टाचार, परिवारबाद र नोकारीपनाको मुन्द्रा लगाए - कानमा भने, पन्ध्र हजार नेपालीको ज्यान जाने गरी थालिएको "प्रजातान्त्रिक र गणतान्त्रिक अभ्यास" बाट आएका शासकहरुले आज महङ्गी, हत्या र आतंकका गहना लगाएका छन ।
हिजो यिनिहरु सबै काशिका जोगीले जसरी पहेलो बस्त्र पहिरिएर जनता सँग भिख माग्थे, आज जनतालाई नाङै बनाएर लुट्न सिकाएका छन । सिंह दरवार अगाडि महिलाले नाङै बिकासको भिख माग्दा पनि यिनका घैटामा घाम लागेनन । आज जनता सबै जोगी भएका छन । सबै जोगी भएपछी भिख दिने को ? को सँग माग्ने भिख ? त्यसैले परिवार पाल्न नसकेर राम कृष्णहरु बिख पीइ आत्महत्या गर्न वाध्य भएका छन । हामी जनता चाँही लाटो कोसेरो जसरी राम कृष्णको परिवार बिचल्ली भए जसरी भोको पेट र बढेका नङ्रा देखाएर बस्न वाध्य भएका छौ । अब यहाँ सम्झन मन लाग्छ, हाम्रा पुर्खाले स्वतन्त्रताको लागि लडेका लडाईंका के अर्थ ? सुक्रराजहरु फासिमा झुन्डिएर छातीमा गोली थापेको के अर्थ ? जीवनहरु लोकतन्त्रको लागि लडेर अपाङ्ग भएको के अर्थ ? पुर्खाको बलिदानिको नाममा बनेको ट्रस्ट पञ्चेहरुको मागी खाने भाडो भएको छ, सुक्रराजहरुका नाममा बनेका स्कुलहरुमा केबल समानती र शोषक-शासक हरुका बचेँरा खेल्ने पाठशाला भएको छ भने जीवनभर अपाङ्ग बनेका जीवनहरुको नाममा ति शासकका भाई भतिजाहरुले मोटरसाईकल र महङा मोबाईल सेटहरु बोक्ने माध्यम बनएका छन । अतएब: हामीले के पायौ त आखिर ? जनताको सहि बिचार छापिने कुनै पत्रीका छैन देशमा । सबैका आवाजहरु धम्किले पेलिएका छन, निमिट्यान्न भएका छन । स्वतन्त्रताको कसम खाइ खुलेका संचार माध्यामहरु कि त कांग्रेसी मुखपत्र भएका छन, कि त तिनिहरु एमालेको महाधिबेशनको घोषणापत्र बनेर बासिरहेका छन कि त भने याइ. सि. एल . का आतंकको गुणगान गाउँ मै ब्यस्त छन । १३० सालको राणा शासनले नदेखाएको बर्बर आतंक आज हामी खेप्न वाध्य छौ । कोही बोल्यो कि भोलिपल्टै अपहरण अनी सदा भरी बनमारा घारिको बास - खुकुरिको छप्काइले । बल्ल बुझियो, यही रहेछ, प्रजातन्त्र । यती दिन आएको रहेछ लोकतन्त्र । धन्य शाहहरु, कोइराला र अधिकारीहरु अनी बर्तमान दाहालहरु ।
पञ्चायत बखत लेखिने कलमहरु मात्र भाचिदिन्थे रे - शासकहरु । तर आज यहाँ पत्रकारको कार्यालयसङै उनैको घाटी भाचिएका खबरहरु सेलाउन नपाउदै उमा सिंहहरु गिडिन पुग्छन । शासकहरुका गलामा पाच तोलाको सुनको सिक्री हुन्छ, दाईजो प्रथाको बिरोध गर्दा अनी सत्यतामा पत्रकारिताको आफ्नो जीवन देख्ने उमाहरुको घाटिमा पाच जना होइन पन्ध्र जना लफुङाहरु पाच किलोको खुकुरीले टाउको रगेट्छन । आतंकको यो भन्दा बढी सिमा अरु के हुन्छ ? हिजो खुकुरी र बन्दुकहरु प्रधान भए, आतंकको साधन । लोकतन्त्रको बहाली पश्चात कलमहरु टुक्राउने गतिलो सहारा भएर मौलाएको छ फेरी बन्दुकतन्त्र । कृष्ण सेनहरुका जीवन समाप्ती कसरी भए भन्ने कुरो पनि यहाँ उठ्नु स्वाभाबिक छ तर समाज कता गयो ? हामी कता जादैछौ अनी हाम्रा यि शासकहरुले हामीलाई सस्तो डलरको भाउमा कतै बेचिरहेका त छैनन, मोरियार्ती त पावेलहरुलाई ? बिजुली नभएको अन्धकारमा महाकालीको कसम सम्झेर यिनिहरुले मौका छोपी भारतीय मुद्रामा त बेचबिखन गरिरहेका छैनन भन्ने प्रसँग अब अनौठो नलाग्दो भएको जस्तो छ । मुलायम सिंहहरु आउनु अनी उमा सिंहहरु काटिनु, शिवशंकरहरु आउनु अनी नारायण वाग्लेहरु थुनिनु अनी मोरियार्टिहरु फर्कनु, "जनसेनाका" कमाण्डरहरु गर्जिनु के नेपालमा कलम बलियो भएरै हो त ? या त बिचार र कलमका प्रतिमुर्तिहरु तिनै उमाहरुले सत्यताको बखानमा पत्रकारिताको मान्यता निभाएर हो ?
धेरै दियोहरु निभिसके । त्यसै त अन्धकार देश दैनिक सोर्ह घण्टा सुत्छ । महाकालीहरु बगेको बेगले भारतीय दलालहरु ब्युझन्छन तर गण्डकीको आशु सुकेर सगरमाथाको न्याउरो अनुहारमा हाम्रो देश दिनदहाडै निदमा मस्त छ । यही अन्धकारको मौका छोपी दलालहरु चन्दन ओसार्न ब्यस्त छन भने बामदेवले सुकाएका बारहरु झनै मज्जाले नग्नतामा नाच्न मस्त छन । तर उता मैनबत्तिको सहारामा जनकपुर थर्काउने उमाहरु अन्धकारैमा निर्दोश जिन्दगी खुकुरी र भालाले गिडाउन तयार छन । सतिले सरापेर कहिल्यै आमाहरुको आँखा ओभानो न्भएको यो मुलुकमा हाम्री र उमाकी आमाहरु फेरी एकचोटी चिच्याउदै रोइरहेका छन नै अनकन्टारमा बिलौना गरिरहका छन, फर्कन्छन कि फेरी उमाहरु भनेर । सुन्देलान कि हाम्री र उमाकी आमाका चित्कारहरु भनेर । तर रगतको खोली बगेको मुलुकमा आमाहरुका दुई थोपा आशुको के महत्व ? कसले सुनुदिने बिलौना ? देख्ने, सुन्ने र भोग्ने हरुका आँखाबाट मात्रै चुहिदारहेछन, आमाहरुका आशु जस्तै दुई थोपा आशु त केबल दुई थोपा आशु हजुर ।

1 Comments:

Basanta said...

निकै भावुक कुरा गर्नुभयो यार! 'जुन जोगी आएपनि कानै चिरा' को शृंखला कहिले सकिने होला!?

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼